उचित तापकक्रममा नराखिएका कारण करिब ३ करोड मूल्यको फ्य्राक्सनल डोज इन्एक्टिभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी)े खोप खेर गएको छ । बाल स्वास्थ्य तथा खोप शाखाले गत साउनमा क्षेत्रीय मेडिकल स्टोर हेटौँडामा पठाएको ९ हजार भायल खोप २ – ८ डिग्री तापक्रममा राख्नुपर्नेमा शून्य डिग्री तापक्रममा राखिएकाले खोप काम नलाग्ने भएको बताइएको छ । विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहितले निरीक्षण गर्दा भण्डारमा राखिएको खोप काम नलाग्ने भएको थाहा भएको थियो । एफआईपीभी पोलियोविरुद्धको नयाँ भ्याक्सिन हो । पहिलो र थप (बुस्टर) मात्रा दुवैका रूपमा प्रयोग गर्न मिल्ने हुनाले एफआईपीभी निकै उपयोगी खोप मानिन्छ । नेपाललाई उक्त खोप खोपसम्बन्धी विश्व सञ्जाल गावीले उपलब्ध गराएको हो ।
नेपालमा सबै बालबालिकालाई पोलियोकै खोप पनि उपलब्ध गराउन सकिएको छैन । यसैले पनि त्यति ठूलो मात्रामा एफआईपीभी खेर जानु पक्कै पनि गम्भीर चिन्ताको विषय हो । कुनै भवितव्य वा प्राकृतिक विपत्तिका कारण यति धेरै खेप खेर गएको हैन । नितान्त मानवीय लापरबाहीका कारण यति ठूलो क्षति भएको हो । सरकारी कर्मचारीले खोपको भण्डारणमा गरेको हेलचेक्य्राइँले हजारौं बालबालिका खोपबाट वञ्चित हुने जोखिम उत्पन्न भयो । यो अत्यन्त चिन्ता र आपत्तिको विषय हो । बेलामा निरीक्षण नगरिएको भए यही खोप बालबालिकालाई दिइनेसमेत जोखिम रहेछ । उचित भण्डारणका अभावमा काम नलाग्ने भइसकेको एफआईपीभी खोप बालबालिकालाई दिइएको भए थप स्वास्थ्य समस्या उत्पन्न हुनसक्थ्यो । यसले स्वास्थ्य मन्त्रालयको भण्डारणलगायत गुणस्तर कायम राख्ने संयन्त्र र अभ्यासमा पनि सन्देह उत्पन्न गराएको छ ।
स्वास्थ्य मन्त्रालयले बेलैमा निर्णय नगर्दा खोपलगायत अत्यावश्यक औषधिको अभाव भएका घटना विगतमा पनि धेरैपटक सार्वजनिक भइसकेका छन् । औषधि खरिदलगायतका विभिन्न काममा भ्रष्टाचारका थुप्रै मुद्दा अझै पनि चलिरहेका होलान् । अर्थात्, एफआईपीभी बिगार्ने काम पहिलो र एउटामात्र हैन । स्पष्टै छ, दोषी कर्मचारीलाई स्वास्थ्य मन्त्रालयभित्रैबाट संरक्षण गर्ने प्रवृत्तिले हेलचेक्य्राइँ गर्ने प्रवृत्ति बढ्दै गएको हो । यसैले भविष्यमा यस्ता घटना दोहोरिन नदिने हो भने दोषी कर्मचारीलाई नियमअनुसार कडा कारबाही गर्नुपर्छ । कर्मचारीको लापरबाहीका कारण हुने क्षतिको उसैलाई असुल गर्ने अभ्यास थालेमात्र पनि उनीहरू आफ्नो कामप्रति बढी जिम्मेवार हुनेछन् । यस प्रकरणका स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखा पनि दोषी देखिन्छ । त्यति ठूलो मात्राको खोपको भण्डारण सहीरूपमा भए नभएको किन बेलैमा हेरिएन ? दोषीलाई कारबाही नगर्ने हो भने स्वास्थ्य मन्त्रालयले दिने खोपको गुणस्तरमा पनि सन्देह उत्पन्न हुनसक्छ । अर्कातिर, दाताहरूले पनि आफूले दिएको सहयोग खेर फाल्दा पनि कारबाही नहुने हो भने किन दिने भन्ने प्रश्नसमेत गर्नसक्छन् ।