एउटा बैंकबाट पैसा निकालेर अर्को बैंकमा राख्न खोज्दा नोटका बन्डलमा केही जाली नोट भेटिएको समाचार बेलाबेला सञ्चार माध्यममा आइरहन्छ । यस्ता खबर प्रकाशित भएपछि समाचारका कमेन्ट बक्स तथा सामाजिक सञ्जालमा भने दोहोरी नै चलेको हुन्छ । सो दोहोरी मूलतः एउटै विषयवस्तुमा केन्द्रित हुन्छ - 'आखिर दोष कस्को ? '
एउटा बैंकबाट पैसा निकालेर अन्यत्र कतै नगई अर्को बैंकमा राख्न जाँदा पनि त्यसभित्र जाली नोट छ भनेर भनिन्छ भने त्यसमा दोषी को होला ? एकातिर नोट जाली भेटिएको छ र अर्कोतिर अघि तपाईँले दिएको बन्डलमा एउटा नोट जाली परेछ भनेर बैंकमा भन्न जाँदा उल्टै आफूमाथि नै दोष लगाइँदा कस्तो लाग्ला !
पहिलो बैंकबाट निस्कनेबित्तिकै दोष ग्राहकको हुनपुग्न्छ । किनभने बैंकवालाले "ग्राहकले बैंक काउन्टरमै दिइएको नगद ठीक भएको नभएको हेर्नुपर्छ । बैंकबाट बाहिर गइसकेपछि त आफैँले पनि जाली नोट राख्न सकिन्छ नि " । थप लाञ्चना लाग्नसक्छ "यो बैंकलाई बदनाम गर्ने खेल हो" । सहजै भनिदिन्छन् यसमा बैंकको कुनै गल्ती छैन ।
प्रायः सबै बैंकको काउन्टरमा लगभग यस्तै सूचना लेखिएको हुन्छ "कृपया बैंकको काउन्टरबाट निस्कनु अगावै प्राप्त गर्नुभएको नोट हरतवरले ठीक दुरुस्त भएको यकिन गर्नुहोस् , अन्यथा बैंक जवाफदेही हुनेछैन" । बैंकका कर्मचारीले पैसा लिने बेलामा नै नोट जाली भएको नभएको चेक जाँच गरी लिने भएकोले भनिएजस्तो जाली नोट बैंकबाट प्राप्त हुन नसक्ने दाबी गर्छन् बैंकहरू ।
बैंकमा विशेष किसिमको सुरक्षा घेरा रहेको हुन्छ। चारैतिर क्लोज सर्किट (सीसी) क्यामेराको निगरानी रहेकाले बैंकका कर्मचारीले जाली नोट राख्नसक्ने अवस्था पनि देखिँदैन । ग्राहकसँग पैसा लिँदा पनि नोटका बन्डल चेक गरेरमात्र लिइन्छ । यसै कारणले पनि जाली नोट भेटिएमा त्यसको दोष बैंकलाई दिन मिल्ने देखिँदैन ।
बैंकबाट नोटका बन्डल लिँदा त्यसमा बैंकले भनेजस्तो काउन्टरमै बसेर "हर तबरले दुरुस्त" रहेको यकिन गर्ने वातावरण छैन । सबै बैंकका शाखामा टोकन प्रणाली लागुभएको छैन । टोकन नभएका ठाँउमा लाइनमा बस्नैपर्छ । लाइनमा आफूभन्दा पछाडि बसेकाको "छिटो गर्नुस्" भन्ने सुन्दासुन्दै काउन्टरमा धेरै बेर बस्न असहज हुन्छ। टोकन भएकोमा पनि टेलरले हातमा पैसा थमाउने बित्तिकै "ट्वाङ्-डाङ्" गरेर "टोकन नम्बर ... " को आवाज आइसक्छ । अर्को व्यक्ति उही काउन्टरमा आइसकेपछि परिस्थिति फेरि उस्तै हुने नै भयो ।
बैंकबाट एक लाख निकाल्दा प्राप्त भएको नोटका बन्डलमा कति नोट छन् भनेर गन्न बानी नपरेकालाई कति समय लाग्ला?
हजार हजारका नोटको बन्डल भए त अलि छिटै सकिएला पाँच पाँच सय भए अझ बढी लाग्छ। निकालिने पैसा बढ्दै गए अवस्था के होला ?
नोट गन्ने मेसिन ग्राहकको पहुँचमा राखिए केही सहज अवश्य नै हुन्छ। गन्न त सजिलै नसक्ने ग्राहकले नोट सक्कली हो कि नक्कली भनेर पत्ता लगाउन त सम्भवै छैन ।
त्यसैले नोट गन्ने मेसिनमात्र नभै जाली नोट पत्ता लगाउने मेसिन पनि सँगसगै हुनु आवश्यक देखियो । साथमा सहयोगी पनि चाहिएला जसले कसरी सक्कली र नक्कली भनेर यकिन गर्ने भनेर सिकाइदेओस् ।
तर, के यो सहज होला त ? हाल सबैले काउन्टरमा यस्तो मेसिन नभएकोले हेड टेलरको डेस्क या कुनै साझा डेस्कमा गएर नोट चेक गरेको देखिन्छ । तत्कालै पर्याप्तमात्रामा यस्ता मेसिन उपलब्ध हुने देखिन्न । काम चलिरहेकै अवस्थामा बैँकले थप लगानी पक्कै गर्दैन । राष्ट्र बैंकले नै निर्देशन जारी नगरेसम्म यो सम्भव नहोला ।
बैंकमा धेरै नोटको कारोबार गर्दा प्रायः आइरहने व्यक्तिले पैसा राख्न ल्याएको भए टेलरले "अहिले त्यसमा आफ्नो खाता नम्बर् लेखेर सही गरिदिएर जानुस् पछि फुर्सदमा हेरौँला" भनेको त सुनिन्छ तर के ती सबै बन्डल चेक गरिन्छन् त ? के बैंकले पैसा लिँदा एक नोट पनि नछुटाई जाली हो कि होइन होइन चेक गर्छ ? गर्दैन भने त बैंकबाट पनि ग्राहकको हातमा जाली नोट पर्न सक्ने देखिन्छ नि !
जनतामा कसरी सक्कली र नक्कली नोटको पहिचान गर्ने भन्नेमा बारे ज्ञान भएमा जाली नोटको बारे सबै सतर्क हुन्छन् । जनसञ्चारमाध्यमको प्रयोग गरी यस किसिमको जानकारी दिन सकिन्छ ।
अर्को उपाय कानुन बनाएर नगद कारोबारको गर्दा सीमा तोक्नु पनि हो । यसमा बुद्धिमत्ता र दूरदर्शिता पनि देखिन्छ । बैंकिङ् च्यानलमार्फत् पैसा परिचालन गर्नसके जाली नोटको असर कम हुनुको साथै पारदर्शिता कायम गर्न सजिलो हुन्छ।
पसलमा पचास हजारको सामान खरिद गरे नोटमार्फत भुक्तान गर्न नपाइने बनाइयो भने जाली नोटको धन्दा गर्नेलाई असहज त हुन्छ नै त्यसको साथमा कर छली र राजस्व चुहावटमा कमी आउँछ ।
डेबिड कार्डबाट किनमेल गर्ने बानीको विकास गराउन सके नोट छाप्दा लाग्ने पैसामा पनि व्यापक कमी ल्याउन सकिन्छ । यसले राज्यकै स्रोतको बचत हुने भयो । जाली नोटको डर पनि कम हुने भयो ।
जाली नोटका कारोबार निरुत्साहित हुनेछ। भए । सोझै खातामा पैसा आउने भएकाले नोटको हिफाजत र सुरक्षा गर्न पनि व्यापारीलाई सजिलो हुनेभयो । पसलमा किन्न जाँदाजाँदै नोट हराएर हुने नोक्सानीबाट ग्राहक लाभान्वित हुने थिए ।