मानव विकास क्रमको अध्ययन गर्नेहरूले समाज विकासको क्रमलाई प्रारम्भदेखि नै नीति र नेतृत्वसँग जोडदै आएका छन् । समाज तथा सामाजिक विकासको क्रम व्यक्ति तथा व्यक्तित्व विकाससँग प्रत्यक्ष तथा परोक्षरूपमा सम्बन्धित हुन्छ ।
व्यक्तित्व विकासको क्रममा नै नेतृत्व विकास हुने गर्छ । नेतृत्वले नै समग्र समाजलाई मूल धारमा एकीकृत गर्न नीति निर्माण गर्छ । त्यस्ता नीतिलाई समुदायले स्वीकार गरेर अपनाएमात्र कार्यान्वयन गर्न सकिन्छ ।
पछिल्लो समय विश्वका विभिन्न मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा बढ्दै गइरहेको असामञ्जस्य, असहिष्णु व्यवहार, व्यक्तिगत स्वार्थलाई प्रधानता दिइने कारण सामाजिक सद्भाव खलबलिएको विषयलाई समाजमा देखापरेको सामाजिक विचलनको कारक मान्न थालिएको छ ।
समाज मार्ग निर्देशक सिद्धान्त तथा नीतिका आधारमा संचालित हनुपर्छ । त्यसका लागि सामाजिक सद्भाव, न्याय, सहिष्णुता, सामञ्जस्यसहितको दूरदर्शी नेतृत्व अपरिहार्य हुन्छ ।
समाज नै राष्ट्र निर्माणको प्रस्थान विन्दु हो । विश्वका विभिन्न मुलुकको सामाजिक संरचना भिन्नाभिन्नै प्रकृतिको देखिन्छ ।
एउटै मुलुकभित्र पनि समाजको संरचनागत स्वरुप विभिन्न जात, जाति, धर्म, संस्कृति, रीतिरिवाज, आकांक्षा आदिमा रहने भिन्नताका कारण अझै जटिल मूल्य र मान्यतामा जेलिएर रहेको हुन्छ ।
तापनि यसमा समाज निर्देशक सिद्धान्त तथा नीतिको सही तथा प्रभावकारी प्रयोगद्वारा एकरूपता कायम गर्दै सामाजिक सद्भावसहितको विकासलाई अगाडि बढाउन सकिन्छ । यसका लागि कुशल नीति निर्माण र व्यावहारिक प्रयोगमा जोड दिनुपर्छ । र, त्यसका लागि नेतृत्व कौशल अपरिहार्य हुन्छ ।
विश्व इतिहास हेर्ने हो भने राष्ट्रकै लामो इतिहास नभएको संयुक्त राज्य अमेरिकाले आजभन्दा २०० वर्ष अगावै दासत्वको जन्जिर चुँडाल्दै आधुनिक विश्वको सबैभन्दा शक्तिशाली मुलुक हुन पुग्नुको कारण कुशल नेतृत्व र त्यसैले सृजना तथा निर्माण गरेको नीति तथा ऐन नियमको कार्यान्वयन हो भन्ने सहजै बुझिन्छ ।
त्यसैगरी गरिबी र आन्तरिक दासत्वको चँगुलमा परेको चिनिया समाज नेतृत्वको दूरदर्शिताका कारण अहिलेको अवस्थामा पुगेको हो भन्न हिचकचिाउनु पर्दैन ।
पृथ्वीनारायण शाहको नेतृत्व कौशलकै कारण उनले नेपाल एकीकरण गर्न सकेका हुन् । ससाना मुलुकलाई एकीकरण गरेपछि उनले तत्कालीन सामाजिक र सामरिकमात्र हैन भौगोलिक अवस्थितिका आधारमा पनि काठमाडौंलाई नै राजधानी बनाउनु आवश्यक भएको बुझे ।
उनले उपत्यकाको सामाजिक संरचनालाई यथार्थ वस्तुपरक विश्लेषण गर्न सकेकैले यहाँको सामाजिक, सांस्कृतिक, धार्मिक, नैतिक मूल्य मान्यतालाई निरन्तरता दिए । यसैले उनी इतिहासमा अविस्मरणीय पात्र भए । साँचो अर्थमा कुशल नेतृत्व पनि यही हो ।
आधुनिक नेपालको पछिल्लो कालखण्डमा मुलुक झनै दुर्र्बल, गरिब, परनिर्भर हुँदै जानुको कारण समग्रमा खोज्दा नेपाली समाज, नीति र नेतृत्वकै कमजोरी हो भन्ने अझ प्रष्ट हुन्छ ।
नेपाली अर्थतन्त्रको आजको दुरवस्थाको मुख्य कारक नेतृत्वको अदूरदर्शिता नै हो । नेतृत्वको कुशलतामा नै सामाजिक नीति नियमको स्थायित्व, अपनत्व र परिचालन निर्भर रहन्छ । कुशल नीतिको तर्जुमा, निर्धारण र प्रयोगबाट मात्र न्याय, समानता, आदर्शोन्मुख समाज निर्माण सम्भव हुन्छ ।
नेपाली समाजमा यस्ता तत्वको भने २०६३ पछि झनै अभाव हुनगएको देखिन्छ । नेपाली समाजको वस्तुपरक रुपान्तरणविना गरिएको र गरिने संरचनागत स्वरुपको परिवर्तन नै वर्तमान नेतृत्वको अदूरदर्शी दृष्टिकोणको उपज हो । यसलाई बेलैमा सम्बोधन गर्न नसके यसले नेपाली अर्थतन्त्रलाई ध्वस्त पार्छ ।
साथै संरचनागत परिवर्तनसहितको नयाँ आधार संरचना निर्माण गर्न पनि सक्तैन । फलतः मुलुक अझै विकराल शून्यतर्फको यात्रामा लाग्नेछ ।
अतः समायमा नै नेपाली अर्थतन्त्तका वास्तविक सरोकारवाला हामी जनता, प्रशासनिक कर्मचारी, राजनीतिकर्मी, समाजसेवी, नागरिक समाज सबैको ध्यान उपयुकत नीतिसहितको आदर्शवादी समाज निर्माणका लागि कुशल नेतृत्व विकासतर्फ लाग्नुपर्ने देखिन्छ ।
(लेखक आर्य स्कुल÷कलेज सितापाइलाका संस्थापक प्राचार्य हुन् ।)