साहित्य
– निरा शर्मा
म
बगरको तातो बालुवामा गडेका
आफ्नै पदचाप खोज्दै थिएँ ।
तिमी यसरी गयौ,
जसरी–
नजिकैबाट छोएर जान्छ बतास !
जसरी–
घण्टौं बस कुरेर बसेको बेला
आफ्नै मान्छे
आफ्नै आँखा अगाडिबाट
हुइँकेर जान्छ मोटरसाइकलमा
र बिलाउँछ टाढा कतै
जसरी–
हुत्तिन्छ मट्यांग्रो गुलेलीबाट
जसरी–
हराउँछ सानो बालक मान्छेकै भीडमा !
जसरी खस्छन्,
औंलाका कापहरुबाट
हत्केलाले थेग्न नसकेको
एक मुठ्ठी पानी
र, जसरी
उडिजान्छ फूलबाट बास्ना
उसै गरी गयौ तिमी ।
म निर्मिमेष हेरिरहेँ
पर .....पर .... परसम्म
पछ्याइरहेँ
तिमीले छोडेर गएको तिम्रो आकृति
र, हराइरहेँ
तिमीले छरेर गएको
तिम्रो मगमगाउँदो सुवाससँग ।
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३ १०:३१
प्रतिक्रिया दिनुहोस्