site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रेमको ‘जुइनो’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सरोज जीसी
सामान्यता जुइनोले घाँसको भारी÷मुठा कस्छ । तर, नायिका र कृषि व्यवसायी विनीता बरालले ‘जुइनो’ले प्रेमको भारी कसिन् ।
सान्दर्भिक पनि छ– जुइनोले प्रेम कस्ने प्रयास । किनकि, प्रेम अक्सर चिप्लिन्छ । कहिले परिस्थितिले, कहिले विवशताले वा अन्य कुनै कारणले । त्यसैले यसलाई अपेक्षित गन्तव्यमा पुर्‍याउन गाह्रो हुन्छ । पुरातन समाजमा प्रेमलाई बर्जित गरिए पनि प्रेमी, प्रेमिका भने सधैं थिए । समयले सय वर्षका एक्काइसौं खुड्किला काट्यो । कति समाजमा प्रेमले समयझैं खुड्किला उक्लिन सकेको छैन । त्यसैले यसलाई परिस्थिति वा समयअनुसार आत्मीयताको जुइनोले कहिले कस्नुपर्छ, कहिले डोर्‍याउनु पर्छ । ‘जुइनो’ले परिपक्व साहित्यिक मार्कामा प्रेमको बलियो भारी कस्न सकेको त छैन तर किशोरवयका पाठकलाई प्रेमको पिल्साइ, पर्खाइ, रोदन तथा सुखद अनुभूतिको आभास भने दिन्छ ।
कथावस्तु प्रेम भए पनि ‘जुइनो’मा प्रेमी–प्रेमिकालाई जोड्ने जुइनो भने कृषि व्यवसाय हो । व्यावहारिक कृषिलाई नै जीवनको अन्तिम लक्ष्य बनाएकी एक युवती कथाले प्रयोगशालाको खोजीमा मामाघर (मदानपुर) पुग्दै गर्दा आफ्नो प्रेमरेखा पनि कोर्छे । विदेश जाने सपनाको असफलताले कञ्चट सेकेपछि रन्थनिँदै आफ्नै गाउँ फिरेको पात्र अशोक उही कथासँग ठोक्किन्छ । अशोकलाई ‘लभ एट फस्र्ट साइट’ हुन्छ, जुन घटना वा परिस्थति प्रेमकथा परम्परामा नयाँ पटक्कै होइन । यो घटनाबाटै अशोकको एकतर्फी प्रेमावतार सुरु हुन्छ । धेरै समयको लुकाछिपीपछि दुई फरक–फरक लक्ष्यको जुइनो समाएका पात्र प्रेमको एउटै जुइनोको दुई किनारा समाउन पुग्छन् । त्यही प्रेमको आरोह—अवरोह नै ‘जुइनो’को वस्तुतः गुदी हो ।
प्रेमबाहेक अशोकको आफ्नो परिवार र विशेषगरी बुवासँगको द्वन्द्व पनि एउटा विषय हो । यसको असर कथा र अशोकको प्रेमिल संसारमा प्रत्यक्ष छ ।
नेपाल कृषिप्रधान देश भन्दै आएको सदियौं भयो तर यो जहिल्यै सामान्यज्ञानमा मात्रै सीमित भयो । विनीता कृषि व्यवासायमा आबद्ध भएकैले होला– उपन्यासले उक्त कथनलाई औपन्यासिक रूपमै भए पनि शाश्वत बनाएको छ । उत्साह, जाँगर र दृढ इच्छाशक्ति भए युवाहरूले देशमै विकास गर्न सक्ने आत्मविश्वास जगाउँछ । कृषि र प्रेमको संगम नवीन लाग्छ ।
पुस्तकमा सबैभन्दा खड्किएको पक्ष हो– प्रेमकथाको क्लाइमेक्स । एक कल फोन नउठाउँदा अशोक—कथाको संसारमा ल्याउने उतारचढाव अपत्यारिलो त छँदैछ, यसका साथै उक्त प्रसंगले एक पात्रको रूपमा अशोकको विश्वसनीयतामा पनि प्रश्न गर्छ, वास्तवमा कमजोर पार्छ । अशोक उपन्यासमा परिवारको विद्रोही, हक्की स्वााव भएको र परिपक्व पात्रका रूपमा स्थापित छ । दाइको एक कल फोनको प्रतिउत्तर समयमै पठाउन नसक्दा प्रेम संसारमा आउने छाल अलि अपत्यारिलो लाग्न सक्छ । यो सानो कम्पनको प्रभाव— उसलाई करिब दुई वर्षसम्म हुने आत्मउपेक्षा, ग्लानी र वियोगको संयोग अलि अतिरञ्जित नै लाग्छ । उसको यो चरित्र समग्र (उसको) कथामा देखिने चरित्रसँग मेल खाँदैन । तर, जीवन अपवादहरूको पिरामिड हो ।
कथावस्तुका केही प्रसंग अस्पष्ट छन् । अशोकले आफ्नो परिवारको पृष्ठभूमि बढी रुढीवादी, परम्परागत र कडा भएको जानकारी गराएपछि कथा अशोकसँग रुष्ट हुन्छे, जसलाई ऊ औधी माया गर्छे । तर, ऊ रुष्ट हुनुको कारण खुलस्त छैन । उपन्यासको कथावस्तुबाट पनि बुझिँदैन । आफ्नो कामप्रति लगाव छुट्छ भनेर, प्रेमको भावले पुरिएर वा परिवारप्रतिको नकारात्मक धारणाले ?
प्रेमालापका कुरा उपन्यासको मध्यतिर धेरै दोहोरिएका छन् । मध्यभागतिर अशोक र कथाबीचको प्रांगारिक प्रेमलाई व्यावहारिक कृषि प्रोजेक्टले लगभग पूर्ण रूपमा विस्थापित गरेको छ । त्यो भागमा हुने क्रियाकलापको वर्णन सपाट र अरोचक छ । केही पृष्ठलाई छाडे पनि कथासारमा कुनै फरक आउँदैन । त्यस अर्थमा उपन्यासको प्लट अलि फितलो छ । प्रेमकथा त अझै बढी कसिलो हुनुपथ्र्यो ।
उपन्यासको रूपमा ‘जुइनो’मा परम्परागत सरल र सरस कथा छ । कथाभित्रका केही उपकथा तथा प्रसंग प्रष्ट छुट्टिएका छैनन् । कतिपय अवस्थमा मूल कथामा जोडिन आउने उपकथा बढी सशक्त हुन्छन् । यिनले पाठकलाई अल्झ्याउने भन्दा पनि कथालाई बढी सुबोध बनाउने र मूल कथामा बेतोड औपन्यासिक आयाम थप्ने काम गर्छन् । राम्रोसँग सम्हाल्न सके कुनै पुस्तकलाई पृष्ठभूमिका कथाले बढी बल प्रदान गर्छन् । यो पक्षमा लेखकको ध्यान कम गएको जस्तो लाग्छ । ‘जुइनो’मा कथाको जुइनो नितान्त एक्लो छ ।
पढ्दै जाँदा हाँसो, आँशु, मिलन–बिछोडका अवस्थामा पाठकीय संवेगको ग्राफ बढाउने भाषिक शिल्प खड्किएको छ । जस्तो ः अशोकले छोटो समयमा भोग्ने दुई दुखद घटनामा प्रयोग भएको भाषाले मानवीय संवेदनालाई तान्दैन । प्रेम संवेदनात्मक विषयवस्तु हो, पाठकलाई प्रेमिल संवेगले बाँध्न सक्नुपथ्र्यो । छोटो कदको पुस्तकमा पनि भाषिक सम्पादनको जाँगर मरेको छ । जस्तो : दोस्रो पेजमै स्त्रीलिंगवाचक सर्वनाम प्रयोग र आदरार्थी क्रियापदबीचको विषमताले बिझाउँछ ।
समग्रमा ‘जुइनो’ नेपाली साहित्यको आख्यानिक गर्मागर्मीमा एउटा मध्यम प्रवेश हो । पुस्तक साहित्यिक परिपक्वतामा भन्दा पनि पाठककेन्द्रित छ । यसका निमित्त पाठक उत्तरकिशोर अवस्थाका युवा हुन् । गाउँले परिवेश, प्रेम, मिलन, बिछोड, शंका, प्रतीक्षा, अपेक्षा आदिको मिश्रणले यो उमेर समूहलाई काउकुती भने अवश्य लगाउँछ ।
विधा : उपन्यास 
लेखक : विनीता बराल
प्रकाशक : फाइनप्रिन्ट 
पृष्ठ : २०३
मूल्य : २९४।—
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC