site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गिरीशको र्‍याप गाथा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

 

जीवन नदी हो । भीमकाय पाषाण र अजंगका पहराहरूमा ठोक्किएर नै उसले निर्मल बन्ने सौभाग्य पाउँछ । त्यतिमात्र होइन, खोलो धमिलिन्छ कहिलेकाहीँ तर आफूभित्रैकै गुणले फेरि सङ्लिएर सफा हुन्छ ।
 
बिहीबार ललितपुरको कुसुन्तीस्थित आफ्नै निवासमा भेटिएका र्‍यापर गिरीश खतिवडा जीवनको त्यही निहितार्थ सुनाइरहेका थिए । दन्त्यकथाजस्तो लाग्ने उनका जीवनका उतार–चढावहरू कुनै कहानी या किस्सा थिएनन् । त्यो त उनको जिन्दगीको हिस्सा र समय–सन्दर्भका निस्सा अथवा निसर्ग बन्न पुगेका थिए ।
 
बाल्यकालमा इन्जिनियर बन्ने सपना मथिंगलमा सजाएर हिँडेका गिरीश अन्ततः संगीत साधनामा ठोक्किन आइपुगे । जीवन सरल रेखा होइन, साधारण हेराइमै गन्तव्य तय होस् । यो त वक्र रेखा हो, जहाँ गन्तव्य चुम्न असाधारण दृष्टि लगाउनुपर्छ । यसलाई सृष्टिको कटु सत्य नै मान्छन् गिरीश ।
 
गिरीशको परिवारसँग संगीतको सामीप्यता खासै थिएन भन्दा हुन्छ । कहिलेकाहीँ रेडियोमा गीत बज्थ्यो । लोकभाका र भजनहरू सुन्ने त प्रायःको घरमा हुन्छ नै । उनको घरमा पनि त्योभन्दा फरक हुँदैनथ्यो । तर, एकाएक खतिवडा परिवारमा अचम्मको जाई फुल्यो, जसबाट घर, टोल, गाउँमात्र होइन, देशै बसायो ।
० ० ०
०३६ भदौ १४ गते मोरङको रंगेलीमा आमा सन्ध्या खतिवडा र बाबु उत्तर खतिवडाको जेठो सन्तानका रूपमा गिरीश जन्मिएका हुन् । बाबुआमा दुवै बैंकको जागिरे भएकाले घरमा नपुग्दो केही थिएन । त्यसो त उनी परिवारको एक्लो छोरा पनि हुन् । एउटी दिदी र उनीभन्दा मुनि जुम्ल्याहा दुई बहिनीहरू थिए । राम्रो स्कुलमा पढाउने र सके इन्जिनियर नसके व्यापार–व्यवसायमा लगाउने बाबुआमाको धोको थियो । त्यसैले उनका पिता दुई वर्ष बेतलबी बिदा बसे र काठमाडौँ आएर छोराछोरीको सुन्दर भविष्य सपना रेखांकन गर्न थाले ।
काठमाडौं आएलगत्तै बाबुले कलंकी बासस्थान तय गरे र सपरिवार काठमाडौं लैजाने निधो गरे । तर, मावलीले ‘अहिले तिमीहरू मात्रै जाओ, भाञ्जा यतै पढ्छन्’ भनेपछि उनी विराटनगरमै छाडिए ।
दुई वर्ष उनी मामाघरमै बसेर पढे । बाबुआमाको मन न हो, छोरालाई विराटनगर छोडेर उनीहरू काठमाडौँमा कसरी अडिन सक्थे र ! त्यसपछि उनी पनि काठमाडौंमै ल्याइए र कलंकीकै एलआरआई विद्यालयमा कक्षा ५ मा भर्ना गरिए । एलआरआई काठमाडौँको प्रतिष्ठिन विद्यालय हो । दार्जिलिङका प्याट्रिक विलसन विद्यालयका प्रिन्सिपल थिए । समय–समयमा अतिरिक्त क्रियाकलाप गराइरहने र विद्यार्थीहरूका अन्तरनिहीत प्रतिभा मुखरित गराउन उनी माहिर थिए । आफैँ पनि गितार बजाउँथे र विद्यार्थीहरूलाई मन्त्रमुग्ध तुल्याउँथे । कहिलेकाहीँ जिस्क्याउँदै भन्थे, “ओई केटाकेटी हो ! तिमीहरू पनि बजाउँछौ ?” बालसुलभ मस्तिष्कले कति बुझ्थ्यो र ! तैपनि गिरीशलाई लागिरहन्थ्यो– त्यस्तै गितार बजाउन पाए, अनि प्रिन्सिपलजस्तै हुन पाए !
प्रिन्सिपल अद्वितीय थिए । बाल मनोविज्ञानलाई आत्मसात गर्न सक्ने र उनीहरूको रुची र चाहनालाई बुझेर सोहीअनुरूप सिकाइमा ढाल्न सक्ने खुबी उनमा थियो । र त, उनी बेलाबखत विभिन्न कविता प्रतियोगिता आयोजना गर्थे । भित्ते पत्रिका र विद्यालयको मुखपत्रसमेत प्रकाशन गर्थे र त्यसमा प्रतिभावान विद्यार्थीहरूलाई स्थान दिन्थे ।
सानैदेखि तीक्ष्ण बुद्धिका उनलाई काठमाडौँको वातावरणमा समायोजित हुन खासै समय लागेन । यहाँको रहनसहनमा उनी भिजिहाले ।
गिरीश कक्षामा सधैं प्रथम हुन्थे । अतिरिक्त क्रियाकलापहरूमा पनि उनी अब्बल नै थिए । कविता प्रतियोगितामा उनलाई कसैले उछिन्न सक्दैनथ्यो । मौलिक पारामा कविता भन्ने शैली देखेर विद्यालयका प्रधानाध्यापकले ‘एसेम्ब्ली लाइन’ बसेका बेला वाचनका लागि बोलाउँथे । यसले उनीभित्रको सिर्जनात्मक क्षमतालाई अझ तिखार्दै लग्यो ।
“कक्षामा म केही न केही सिर्जना गरिहेको हुन्थेँ, कविता प्रशस्त लेख्थेँ । आफ्नोमात्र कविता छाप्न नमिल्ने हुनाले मैले मेरो कविता साथीहरूको नाममा समेत छपाउथेँ,” उनले बाल्यकाल सम्झिए ।
उनमा कविताप्रतिको रस बस्नुको एउटा कारण रहेछ– उनका बाबु पनि कविता पढ्न अति रुचाउने । फुर्सद हुनेबित्तिकै कविताका पुस्तकमा आँखा डुलाइहाल्ने पिताको बानीबाट उनी ज्यादै प्रभावित भएका रहेछन् ।
“म जतिबेला बुबाको बेड रुममा पुग्थेँ, नजिकैको टेबलमा भूपि शेरचन र लक्ष्मीप्रसाद देवकोटाको कविताका पुस्तकहरू पल्टिरहेको पाउथेँ । त्यसले पनि मलाई कविताप्रति कौतुहलता जगायो,” उनी हाँसे । 
त्यसो त उनका बाबु बीपी कोइरालाका उपन्यास, विभिन्न कथा र जीवनीका पुस्तकहरू पनि पढ्थे तर गिरीशको दृष्टि कविताकै पुस्तकमा पुग्थ्यो ।
“बाल्यकालका ‘रोल मोडल’ विद्यालयका प्रधानाध्यापक, शिक्षक र बाबु नै हुन् । प्रअले अगाडि उभिएर सबै विद्यार्थीलाई ‘अटेन्सन’ गराएको, बाबुले घरको व्यवस्थापन मिलाएको देखेर उहाँहरू जस्तै बन्न पाए कस्तो हुन्थ्यो होला अहो ! भन्ने लाग्थ्यो र उहाँहरूकै सिको पनि गरिन्थ्यो,” उनले भने ।
 
८ कक्षामै गीत रेकर्ड
बाल्यकाल जिज्ञासाको सँगालो पनि हो । बाबुको अँगालोमा बस्दा पनि अरिमुट्ठे जुँगा देखेर कौतुहलता जाग्ने उनलाई नयाँ कुराले आकर्षित तुल्याइहाल्थ्यो । त्यस्तैमा एकदिन धरानबाट उनका दाइ पर्ने कुन्दन त्रिताल आएका थिए । उसै त पूर्वेलीको बोली मीठो, त्यसमाथि त्रिताल बेजोडको ‘ब्रेक डान्स’ गर्थे । आफैँ हिपअप गाउँदै बान्की पारेर जिउ हल्लाउँदै नाचेको देखर उनी असाध्यै प्रभावित भए ।
उतिबेला धरान ‘फेसनको सहर’ पनि भनिन्थ्यो । हङकङ, ब्रुनाई, सिंगापुर सेनामा गएका ‘लाहुरे’हरूको बस्ती र तिनै लाहुरेहरूले विदेशमा देखेका फेसनहरू भित्र्याउँदा धरान ‘हिपअप सहर’ भएको थियो । त्यसबेला अहिलेको जस्तो टिभी च्यानल र ई–मेल, इन्टरनेट थिएनन् । त्यसैले पनि काठमाडौँमा फेसन कमै भित्रिन्थ्यो । उनले त्रितालको अचम्मको गाउने शैली र नाच्ने शैलीको सिको गर्न थालिसकेका थिए । 
कविताको पुस्तक पल्टायो, फगत लहरा, पहरा, छहरा, कुना कन्दरा र गरिब–दुःखीको टहरा र खेतका गह्राका कथामात्र लाग्ने । सहरका कविता त कसैले लेखेकै छैनन् कि क्या हो जस्तो लाग्थ्यो उनलाई । सानैदेखि अंग्रेजी वातावरणमा हुर्किए । कविता पनि अंग्रेजीमै लेख्थे । नेपाली सर्जकहरूले लेखेका अंग्रेजी कविताका पुस्तक पढ्नै नपाइने भएकाले उनलाई खिन्न लागिरहन्थ्यो । 
त्यसैले उनको मथिंगलमा सहरी प्रेम, रोमान्स, सुख र जीवनशैलीको बारेमा लेख्ने इच्छा गहिरो गरी बसेको थियो । उनले ‘हिपअप’ र ‘र्‍याप’लाई सहारा बनाए । टिभीमा केही विदेशी च्यानलहरू प्रसारण हुन्थे, उनका आँखाहरू त्यता पनि दौडिन थाले । फुर्सद हुँदामात्र होइन, किताब पढेको छु भनेको जस्तो पार्ने र बाबुआमाको आँखा छल्दै कितावको पत्रमा कापीको पाना लुकाएर त्यसमा गीत कोर्न पनि थाले । 
स्कुलबाट फर्कंदा होस् या शौच गर्न शौचालय पस्दा, उनी त्यही गुनगुनाउँथे । 
उनी कक्षा ८ मा पढ्थे । कलंकीमा डिङडङ कफी सप त्यतिबेला प्रख्यात थियो । दुई भागमा बाँडिएको क्याफेको बाहिरी भागमा बुज्रुकहरू आएर चिया पिउँथे र राजनीतिक गफ चुट्थे । पर्दा लगाइएको भित्री भागमा चाहिँ स्कुल/कलेज पढ्ने ठिटाहरू लुकेर चुरोट तान्दै बेग्लै ‘संसार’ बनाउँथे । 
उनी त्यहाँ टेबल ठोक्दै गाइरहेका थिए ।
 
नो मिनिङर्‍ याप  यो हो, मिनिङलेस र्‍याप
नो मिनिङ र्‍याप  इज मिनिङलेस र्‍याप 
 
गाउँदै गर्दा एकजना सिनियर दाइ उठेर भित्र आएर आश्चर्य व्यक्त गर्दै सोधे, “अरे भाइ ! तिमी त बडो मज्जाले र्‍याप  गाउँदा रै’छौ । कस्तो राम्रो सुनिएको !”
उनी तीनछक परे । भित्रभित्रै लाग्यो– बल्ल र्‍याप  बुझ्ने मान्छे फेला पारेँ । अबचाहिँ काठमाडौँमा र्‍याप सुन्ने मानिस पनि फेला पर्न थाले !
उनी ‘टिअर्स ब्यान्ड’का बालकृष्ण तामाङ रहेछन् । उनैले गिरीशलाई आग्रह गरे, “सुन्यौ भाइ ! हाम्रो ब्यान्ड छ, अभ्यास गर्न आऊ । यसलाई गज्जब बनाउनुपर्छ । तिमीले धेरै गर्न सक्छौ ।”
कलंकी चोकको घरको छतमा ठूलो गोरखकाली टायरको होर्डिङबोर्ड राखिएको थियो । नियोन लाइटसहितको होर्डिङबोर्डले रातिको समयमा टोलै झलमल्ल बनाउँथ्यो र बेग्लै प्रकाशमय तुल्याउँथ्यो । खै कसरी उनको आँखा त्यहाँ परेछ । ‘आयो गोरखकाली टायर...’ विज्ञापन पनि टिभीमा देख्थे र त्यसैलाई मिलाएर एक टुक्रा उनले ‘मिनिङलेस’मा घुसाएका थिए ।
होर्डिङ बोर्ड राखिएको घरको तल सुपिन्दर सिंह र सुदिन्दर सिंह भन्ने पञ्जाबी दाजुभाइले टायर पसल खोलेका थिए । भाइ ट्रक चालक पनि थिए र उनले गोरखकाली टायरको विज्ञापनमा अभिनय पनि गरेका थिए ।
एकदिन उनी त्यहाँ पुगेर सुनाए, “सुदिन्दर दाइ ! मैले मेरो मिनिङलेस र्‍यापमा तपार्इंको गीत पनि राखेको छु नि !”
उनले खुसी हुँदै कौतुहलता व्यक्त गरे, “खै सुनाऊ त कस्तो छ ! अनि के भनेर राख्यौ ?”
फ्याट्ट उनले एक अन्तरा सुनाइहाले ।
त्यसपछि पञ्जाबी खुसीले पुलकित हुँदै पसलमा आउनेजतिलाई चिया खुवाउँदै आफ्नै खर्चमा गीत रेकर्डिङ गरिदिने भने । तुरुन्तै १५ सयको चेक पनि काटिहाले ।
शुक्रबारको दिन दिनभर लाइनमा बसेर उनले चेक साटे र घरमा अन्तै जान्छु भनेर स्टुडियो पुगे । र, त्यो गीत रेकर्ड गराए ।
अल्फा साउन्डमा उनले त्यो गीत रेकर्ड गराएका थिए । एलआरआईमै पढ्ने उनको राजु भन्ने साथी थिए । ती साथी दुई जना अरु लिएर उनलाई खोज्दै उनको घरमा पुगेछन् र गिरीश नभेटेपछि फर्किएछन् । परिवारले सो कुरा बताएपछि राजु भेट्न गिरीश उनकै घर हानिए । 
राजुले सुनाए, “वहाँ तेरो गीत मन पराएर न्युरोडको क्यासेट कम्पनीको मान्छेले एल्बममा राख्दिन लागेको छ रे, जा भेट्न ।”
त्यो सुनेपछि उनी हान्निएर न्युरोड गएर हुडी टि–सर्ट किने र ‘पंक’ बन्दै रञ्जना गल्लीमा रहेको अनिल स्थापितको हारती क्यासेट सेन्टर गए । 
स्थापितले भने, “तिम्रो गीत राम्रो लाग्यो गिरीश । नवीन र पृथक शैलीको रहेछ, म यो कलेक्सन एल्बम ‘ट्यालेन्ट–३’ मा समावेश गरिदिन्छु ।”
‘नेपथ्य’ ब्यान्ड, नीमा रुम्बालगायत चर्चित गायकका गीत ‘ट्यालेन्ट–३’ मा राखिन लागेको थियो । अघिल्ला दुई क्यासेटले राम्रै चर्चा बटुलिसकेकाले तेस्रो सिरिजले पनि बजार पिट्नेमा ढुक्क थिए स्थापित ।
एल्बममा गीत समावेश गरेबापात स्थापितले हजार रुपैयाँ पनि दिने भए ।
उनको खुसीको सीमै भएन । ८ कक्षामा पढ्दै गरेको ‘फुच्चे’ केटो एल्बममा आउने, त्यसमाथि पैसा पनि पाइने । 
 
– गीत गाएर गृहस्थी चलाउने गन्धर्वहरूले मात्रै हो ।
– गायक बन्न राजा–महाराजाहरूको नजिक तथा उच्च घरानियाको हुनुपर्छ ।
– मध्यमवर्गीय परिवारले त अरु नै पेसा गरेर परिवारको भरणपोषण गर्नुपर्छ । 
 
यस्तै उनले सुनेका थिए । तर, उनको धारणा बदलियो ।
 
भेटिए प्रनिल एल तिमिल्सिना
‘मिनिङलेस’ले मार्केट पिट्यो । क्यासेट कभरमा उल्लिखित ठेगानामा खातका खात चिठी आउन थाले । उपहारको ओइरो लाग्यो । गीत मन पराउँछु मात्रै होइन, जीवन नै बिताउँछु भन्ने आशयसहितका पत्र र उपहार सामग्रीले उनी पुलकित भए । त्यसरी आएका पत्र अधिकांश किशोरी र युवती ‘फ्यान’हरूकै हुन्थे । उनी जम्माजम्मी १४–१५वर्षका थिए ।
कुन्दन त्रिताल मीनभवनमा पढ्थे । उनकै साथी रहेछन्, प्रनिल एल तिमिल्सिना ।
एकदिन त्रितालले भने, “मीनभवन क्याम्पसमा नेविसंघले नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम आयोजना गरेको छ, त्यहाँ गीत गाउन अफर छ । तिम्रो र्‍यापले विद्यार्थीहरूलाई आकर्षित गर्न सक्छ । तिमीले ठूलो ‘मास प्रिजेन्टेसन’ गर्न पाउँछौ ।”
त्यति भनेपछि उनी प्रस्तुति दिन गए । प्रनिललाई उनले त्यहीँ भेटे, त्यो उनको ‘कोसेढुंगा’ थियो । प्रनिल मेलोडी गाउन सक्थे । गिरीशको र्‍यापमा मानिसहरू झुम्मिइहाल्थे ।
प्रनिलसँगको भेटपछि उनलाई अनिल स्थापितले कलेक्सन एल्बम होइन, सोलो एल्बम नै निकाल्नुपर्छ भनेर हौस्याए । गिरीश भन्छन्, “गिरीश एन्ड प्रनिल (जीपी) जोडी तयार भएपछि स्थापितले १० वटा गीत सम्मिलत एल्बमकै अफर गरे र र्‍यापको मार्गमा शिखरित तुल्याइदिए ।”
एल्बमको नाम उनकै हिट गीत ‘मिनिङलेस’ राखे ।
‘निदाउन गाह्रो...’ युवा मनोभावदेखि बालमनोविज्ञान उतारिएको ‘हामी धेरै साना छौँ...’ सम्मका गीतले गिरीश एन्ड प्रनिललाई चर्चाको चुलीमा पुर्‍यायो । फ्यान फलोइङको ओइरोमात्र होइन, सहरका स्पिकरहरूमा उनीहरू नै गुञ्जिन थाले र कन्सर्टहरूमा अफरको ताँती लाग्यो । उनले नसोचेको प्रसिद्धि कमाए । 
यतिबेलासम्म घरमा चाइँचुइँ केही थिएन ।
 
प्रशिद्धि नै ‘ब्याडलक’ बन्यो
उनका भाञ्जादाइ हरि पोखरेल विराटनगरबाट बस चढेर काठमाडौँ आउँदै रहेछन् । बसमा अनौठो मेलोडीको गीत सुनेपछि उनले चालकसँग एल्बम मागेछन्, “खै दिनुस् त, खोल हेरौँ ।”
विद्यालयको पोसाक लगाएको आफ्नै भाइको फोटो देखेपछि उनी चित खाएछन् । त्यो अनौठो स्वर अरु कसैको थिएन, गिरीशकै थियो । कलंकीमा झर्नासाथ क्यासेट किनेर सरासर आएछन् र गिरीशको बाबुलाई देखाएछन् ।
एसएलसीको परीक्षा सकिएर फुर्सदको समय थियो त्यो । उनी साथीसँग घुम्न गएका थिए । बेलुका घर फर्किँदा बाबु र हरि दाइ त गिरीशकै कुरा पो गरिरहेका रहेछन्, “कतिखेर एल्बम निकालेछ, राम्रो पढ्ला भनेको मोरो त र्‍याप–झ्यापतिर पो हानिएछ त । बित्यासै पार्ने भयो !”
त्यसअघि कक्षामा उनको स्तर खस्किएको थियो । त्रैमासिक परीक्षामा उनी चौथो भएका थिए । सारा गोप्यको पर्दा उघ्रिएपछि उनका नौनाडी खिचिए । हातगोडा लल्याकलुलुुक भए । गीतकै कारणले पढाइ बिग्रिएको भने थिएन, बीचमा टाइफाइड भएर थलिएका थिए ।
तर,र्‍याप–पपमा छोराको आशक्ति देखेपछि बाबुआमाको मन कुँडिनु स्वाभाविकै थियो । किनभने, त्यसबेला हिपअप, र्‍याप लाई राम्रो मानिँदैथ्यो । त्यस्तो गाउनेलाई ‘आवारा, गँजडी’ भन्न पछि पर्दैनथे मानिसहरू ।
उनमा र्‍यापको लत बसिसकेको थियो । त्यो सबै उनले लुकेर गरेका थिए । ट्युसन जाने बहानामा बाबुको लुगा झोलामा हालेर र्‍यापमा निस्कने होस् या, कानमा लगाउने कुन्डल खल्तीमा लुकाएर कन्सर्टमा हानिने, यी सबको सुइँको कसैले पाएका थिएनन् । स्कुल, चोक, चौतारी सबैतिर उनले वाहवाही पाइरहेका थिए । तर, घरमा स्याबासी पाएनन् । यसकारण कि उनको बाबुको चाहना थिएन– छोरो र्‍याप गायक बनोस् ।
 
झन्डै कुलतमा फसिएन
एसएलसी उनले प्रथम श्रेणीमा पास गरे । त्यसपछि मोडर्न इन्डियन स्कुलबाट प्लस टु सके । तर, उनको जीवनमा नसोचेको उतारचढाव आयो । उनमा र्‍यापको भोक थियो तर परिवारबाट बन्देज लाग्यो । उनी नदीजस्तै आफ्नै बाटोमा बगिरहेका थिए । तर, छेकबार बेहोरेपछि उनी गलत बाटोतिर मोडिए । निराशा र कुण्ठाको मनोरोगले च्याप्दै लग्यो । त्यसलाई दूर गर्न उनले अरु नै चिजको सहारा लिन थाले । यद्यपि, उनलाई थाहा थियो– म हिँडिरहेको बाटो सही छैन ।
पहाडै खसेर बहाव रोकिए पनि नदी सधैं रोकिरहँदैन । गिरीश पनि रोकिएनन् । उनको धैर्य टुटेन । निराशाले साँघुरो बनाउन खोज्थ्यो तर पनि उनी सम्हालिन्थे ।
उनी कुलतबाट सम्पूर्ण रूपमा बाहिर आए । तर, समाजले पत्याइदिएन ।
“ए ! ब्रो ट्रिपमै हो ? क्या ‘कुल’ देखिएको ! मान्छे पनि र्‍याप, झ्याप नै सुहाउने रहेछ !” 
यस्ता कुराले उनी वाक्क दिक्क भए ।
त्यस्ता प्रश्नले उनी भित्रभित्र कोपरिन्थे, चिथोरिन्थे, “छोडिसकेँ मैले कुलत । म सही बाटोमा छु । बरु समाज गलत बाटोमा छ । कुलतमा फसेकालाई उद्धार गर्नु त परै जाओस्, झन् धकेलेर दलदलमा फसाउने समाज चाहिँदैन मलाई, सुन्यौ तिमीहरूले ?”
त्यसपछि उनलाई समाजदेखि टाढिन मन लाग्यो ।
उनी पिपल्स क्याम्पस पकनाजोलमा बीबीएसमा भर्ना भएका थिए । कलेज जान्छु भनेर घरबाट हिँड्थे तर दिनभरि चिया पसमा बरालिन्थे । परीक्षा भोलिबाट थियो, अघिल्लो दिनसम्म केही पढेका थिएनन् । उनले बाबुलाई भनेका थिए, “यहाँ सबैले मलाई गिज्याए । पढ्ने वातावरण भएन । मलाई बैंग्लोर पढ्न पठाइदिनुस् ।”
उनको आशाविपरीत बाबुले भने, “पर्दैन अहिले । तँ मेरो आँखा अगाडि त यसरी बिग्रिसकिस्, त्यहाँ गइस् भने त माटो बन्छस् ?”
उनले निधो गरे– बाउले मानेनन्, भागेर विराटनगर जान्छु र उतै पढ्छु । यहाँ जाँच दिए त फेल हुने निश्चित छ ।
गीतबाट उनले १० हजार रुपैयाँ कमाएका थिए । त्यही पैसा लिएर उनी त्यही रात नाइट बस चढेर विराटनगर लागे । 
विराटनगरमा सदय हमाल थिए ।
उनी सुरुदेखि नै सिनियर दाइहरूसँग संगत गर्थे ।
“मैले जे काम गरेँ, त्यो समयभन्दा अघि नै थियो । र्‍याप भनेको के हो कसैलाई थाहा नभएको बेलामा हिपअप सुरु गरेँ । त्यसैले मलाई आफूसरहका साथीको संगत गरे केही सिकिँदैन लाग्थ्यो र सधैँ आफूभन्दा ठूला दाइहरूको समूहमा घुलमिल हुन्थेँ,” उनले प्रष्टीकरण दिए ।
उनले सुनेका थिए– सदय दाइ पूर्वाञ्चल युनिभर्सिटीमा लेक्चरर छन् ।
उनले तिनैलाई भेटेर बेलीविस्तार लगाए । उनले पनि खुसी हुँदै भने, “तिमी यहीँ बीबीए पढ । म सहयोग गरूँला । बरु अहिले नै घरमा फोन गरेर भनिहाल, मम्मीबुबा आत्तिनुभएको होला ।”
उनले तत्कालै घरमा फोन गरे, “बाबा, म यतै पढ्छु । त्यहाँ पढ्ने वातावरण भएन । यहाँ मामाहरू पनि हुनुहुन्छ । बिग्रिन लागेँ भने उहाँहरूले भाटा हानि हाल्नुहुन्छ नि, क्यै चिन्ता नलिनू !”
धेरै अनुरोध गरेपछि मात्रै बाबु मञ्जुर भए ।
 
जब घाम अस्तायो
विराटनगरमै गीत गुनगुनाउँदै थिए, मामा आत्तिँदै आए । “भाञ्जा, बुबा बिरामी हुनुहुन्छ रे, छिटो काठमाडौँ जानुपर्यो । मैले प्लेनको टिकट लिइसकेको छु, हिँडिहालौँ ।”
उनले केही सोच्नै सकेनन्, दिमागले कामै गरेन । जिउँदो बाघ समाउनेजस्तो बाबु घरमा छोडेर आएको बिरामी हुनुभयो भनेर कसरी पत्याउनू ? उनले कल्पनासम्म पनि गर्न सकेनन् ।
उनी हतार–हतार तयार भएर मामाको पछि लागे । विराटनगरबाट काठमाडौँ आएको पनि पत्तो पाएनन् । 
विमानबाट ओर्लिनेबित्तिकै ट्याक्सी चढेर अस्पताल जान लागेका बेला विमानस्थलको गेटबाट दायाँ मोडिनुपर्ने गाडी दायाँतर्फ मोडियो । उनको मनमा चिसो पस्यो । मनले भन्यो– यताबाट छिटो पुगिन्छ होला, तँ पनि अनेक सोच्छस् ।
गौशाला नपुग्दै ट्याक्सी दायाँ मोडिएर ओरालो झर्यो । उनको मुटुको धड्कन एक्कासि बढ्न थाल्यो ।
उनलाई पक्कापक्की भयो– बुबा गइसक्नु भएछ ।
आँखामा कालो बादल लाग्यो । दृश्य धमिलो भएर आयो । आँखाबाट बलिन्द्र धारा आँसु खस्न थाले ।
कसरी दागबत्ती दिए, बाबुको अन्तिम संस्कार सके, आज सम्झँदा सपनाजस्तै लाग्छन् । उनको दिमागमा केही आउँदैन । उनलाई यत्ति थाहा छ– जीवनको पारिलो घाम अस्ताएको त्यही दिन हो ।
“माछा, मासुको अम्मली हुनुहुन्थ्यो, साथै पार्टीमा गइरहनुपर्ने । उच्च रक्तचाप, मधुमेह आदिको रोगी पनि । कलंकीस्थित घरमा क्रिकेट म्याच हेर्दाहेर्दै अचानक हृदयघात भएछ । अस्पताल पुर्‍याउँदा नपुर्‍याउँदै उहाँको प्राणपखेरु उडेछ,” यति भन्दा नभन्दै उनका आँखा भरिए, गला अवरुद्ध भयो ।
 
० ० ०
 
गीतमा ५ वर्ष ग्याप भइसकेको थियो । बीचबीचमा कलेक्सन एल्बम त निक्लिएको थियो । तर, त्यतिले मात्रै उनी सन्तुष्ट हुने कुरा थिएन । विराटनगरमा राजेश वंशलको ठूलो क्यासेट पसल थियो । उनी पूरै पूर्वाञ्चलमा क्यासेट सप्लाइ पनि गर्थे । उनी बेलाबखत भन्थे, “सुन्नुभो गिरीशजी !  मैले तपार्इँको ‘मिनिङलेस’ एल्बम १० हजार प्रति बेचेँ होला, खुब चल्यो । काठमाडौँ गएपछि म क्यासेट कम्पनी खोल्छु, तपाईंले यस्तै हिट गीत दिनुपर्छ है ।”
उनी बीबीए सकेर काठमाडौँ फर्किए । नभन्दै राजेश वंशलले खै कसरी अनिल स्थापितसँग मिलेर म्युजिक डटकम खोलिसकेछन् । स्थापितसँगै नम्बर मागेर गिरीशलाई तत्कालै फोन गरे, “गिरीशजी आउनुस् म्युजिक डटकममा, तपाईंको नयाँ गीत रेकर्ड गरौँ ।” ब्याचलर सकिइसकेको थियो । पुराना साथी छँदै थिए । काठमाडौँ फर्किएपछि वंशलकै आग्रहमा प्रनिलसँग मिलेर उनी ‘ब्याक एगेन’ एल्बम निकाले र सांगीतिक बजारमा आए । ‘म यस्तो छु...’ त्यही एल्बमको हिट गीत युवाहरूले आज पनि उत्तिकै गाउँछन् ।  त्यसपछि सुदिन, एड्रिनलगायतसँग मिलेर गिरीश एन्ड युनिटी ब्यान्ड खडा गरे र र्‍यापलाई धर्मराउन दिएनन् ।
उनी रातभरि कस्टुमर केयर सेन्टरमा ‘डिल’ गर्थे र दिनभर र्‍याप साधनामा तल्लीन हुन्थे । त्यसबीचमा केही गीत रेकर्ड गराए, एल्बममा पनि काम गरे ।
परिवारले बीबीएमा मात्रै चित्त बुझाएनन् । अमेरिका पुगेर मास्टर्स सक्नैपर्ने भयो । परिवारका सदस्यले ‘यस्तो र्‍याप–स्याप गाएर यसले गरी खाँदैन, यसलाई अमेरिका पठाउनुपर्छ’ भन्न थालेपछि उनी अमेरिका हान्निए । अमेरिकाको मिजोरीस्थित युनिभर्सिटी अफ फोनिक्सबाट एमबीए पूरा गरे । अमेरिका बस्दा पनि उनको र्‍यापले थकाइ मारेन । युट्युब च्यानलमार्फत उनले र्‍याप पारखीलाई आफ्नो कला पस्किनै रहे । त्यसो त उनले अमेरिकामा डीजे पनि नगरेका होइनन् ।
उनी नेपाली र्‍यापका जन्मदाता थिए । आफैं हिपअपका प्रणेता भएकाले विभिन्न टिभी च्यानल र सीडीमार्फत जिज्ञासा पूरा गर्नुपथ्र्यो । र्‍याप भित्र्याउने आफैँ भएपछि कोसँग सिक्नू ? अमेरिका पुगेपछि उनले हिपअपबारे अझै विस्तृतमा जान्ने मौका पनि पाए ।
 
दोस्रो इनिङ
उनी ५ वर्षअघि अमेरिकाबाट फर्किए र र्‍याप पिचमा पुनः प्रवेश गरे । यो उनको दोस्रो इनिङ थियो । त्यसपछि उनले लगातार छक्का मारिरहेका छन् ।
उनी एकसाथ तीनवटा पेसामा आबद्ध छन् । गायक, संगीतकार तथा गीतकारका अतिरिक्त उनी रेडियो जक्की (आरजे) र डिस्क जक्की (डीजे) पनि हुन् । त्यस्तै उनी गीतको एडिटिङ र मिक्सिङ पनि आफैँ गर्छन् । त्यसबाहेक म्युजिक भिडियो आफैं खिच्न मन पराउँछन् । भिडियोको सम्पादनसमेत गर्छन् भन्दा धेरैले पत्याउँदैनन् । ‘म यस्तो छु’, ‘सी इज द बम’ ‘मलाई भोट दे’, ‘जित्नेको इतिहास’लगायत दर्जनौं हिट गीत पस्किसकेका गिरीश हाल युट्युबमार्फत महिनामा दुई–तीनवटा गीत पस्किनै रहेका हुन्छन् । पछिल्लो समय नेपाली र्‍यापमा उल्लेख्य युवाहरूको प्रवेश भएको छ । तथापि उनी नेपाली र्‍यापका ‘गडफादर’ र ‘रोलमोडल’ नै हुन् ।
 
ट्याटु मोह
हातभरि ट्याटु खोपेका छन् । त्यो उनको सोख हो । उनका ट्याटुमा कुनै विदेशी कलाकार या चलनचल्तीका चित्र अंकित छैनन् । शरीरका विभिन्न भागमा खोपिएका ट्याटुमा उनले नेपाली कला–संस्कृतिमात्र होइन, नेपालीत्व झल्किने विभिन्न प्रतीकहरू प्रतिविम्बित गरेका छन् ।
बजिरहेका मादल, नेपालको नक्साभित्र आँसु चुहाइरहेका बुद्ध, क्रस खुकुरी, नेपालका झन्डाहरू बिम्बको रूपमा देख्न पाइन्छ ।
त्यसका अतिरिक्त दायाँ हातमा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको चित्र र त्यसको ठीक मुनि भूपि शेरचन लेखेका छन् । 
किन ?
उनले मुस्कुराउँदै भने, “यी दुई त नेपाली साहित्यका ‘भीष्म पितामह’ हुन् । भूपि शेरचनको ‘चोक’ कविता त फुर्सद भयो भने दिनको एकपटक पढ्छु ।”
उनी फेरि हाँसे ।
उनी जनावरप्रेमी पनि हुन् । उनले घरमा दुइटा बिरालो पालेका छन् र तिनलाई परिवारकै सदस्यसरह हुर्काइरहेका छन् । भन्छन्, “बिरालो धैर्य र साहसको विम्ब हो, यसबाट मैले धेरै कुरा सिकेको छु ।”
कुराकानीको अवधिभर उनीसँग बिरालो छुट्टिएन ।
 
फेसबुकले जुराइदियो जोडी
१५ वर्षे भर्भराउँदो किशोरावस्थामै लाखौँ फ्यान फलोइङ कमाउने गिरीशको जोडी भने फेसबुकले जुराइदिएको हो । “म अमेरिकामा पढ्दैथिएँ । उनी (ज्योति रानाभाट) बंगलादेशको इन्टरनेसनल मेडिकल कलेज एन्ड हस्पिटलमा एमबीबीएस गर्दै थिइन् । मेरो फ्यान रहिछन्, थाहै नपाई माया चर्किएछ,” उनले प्रेम प्रसंग उप्काए । 
फेसबुकको च्याट बक्सबाट सुरु भएको मायाप्रीतिलाई दुवै परिवारको सल्लाहमा लाइफ बक्समै सेटल गराए । हाल उनीहरूको ४ महिने छोरा छन् । त्यही छोरा काखमा लिँदै उनले अन्तिममा सुनाए, “लाइफ इज एन् इन्सिडेन्ट ब्रदर !”
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC