site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ड्रोनाल्ड ट्रम्प र अमेरिकाको विदेश नीति 

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० देखि कायभार समाल्दै छन् । विश्वलाई नै चकित पार्दै राष्ट्रपतिमा ट्रम्प विजयी भएपछि विश्व शक्ति अमेरिकाको परराष्ट्र नीति कस्तो होला भन्ने सबैको चासो र पर्खाइको विषय बनेको छ ।

ट्रम्प निर्वाचित भएपछि र उनले दिँदैआएका अभिव्यक्तिले अमेरिकाको अबको परराष्ट्र नीतिका परिदृश्य अनुमान गर्न सकिने हुनथालेको छन् । 

ट्रम्प विजयी हुनुलाई विशेषगरी ‘लोकप्रियतावाद’को उदयका रूपमा लिने गरिएको छ । लोकप्रियतावाद (पपुलिज्म) राजनीतिशात्र र अन्तर्राष्ट्रिय सम्बन्धको विवेचनामा सकरात्मक मानिँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

जर्मन समाजशास्त्री म्याक्स वेबरले नेतृत्वका तीनओटा प्रकारको व्याख्या गरेका छन् ।  पहिलो परम्परावादी नेतृत्व हो जसमा राजा, महाराजा, अमिर, धार्मिक नेता पर्छन् ।

दोस्रोमा कानुनसम्मत र तर्कसंगत नेतृत्व हुन्छ । यसमा लोकतान्त्रिक प्रक्रियाबाट चुनाव जितेर आएको नेता पर्छन् । तेस्रोमा भुइँफुट्टा नेता (डेमोगग) लाई हुन्छन् जो चर्का कुरा गरेर एकाएक स्थापित भएका हुन्छन् । वास्तवमा त्यस्ता नेता खोक्रा हुन्छन् ।

Global Ime bank

त्यो नै लोकप्रियतावाद हो राजनीतिशास्त्रको शब्दावलीमा । अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणाम पनि लोकतान्त्रिक प्रक्रियाबाट विजयी ‘लोकप्रियतावाद’को उदाहरण हो । 

लोकप्रियवादबाट उदाएका नेता दिगो हुन सक्दैनन् । त्यसकारण अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले निर्वाचनका क्रममा व्यक्त गरेका धारण, निर्वाचित भएपछि छानेका सहयोगी समूह र त्यसपछिका केही घटना हेर्दा संसारमा आगामी जनवरी २० पछि ह्वाइटहाउसबाट सञ्चालित हुने परराष्ट्र नीति विश्वशान्तिका लागि त्यति सहयोगी होला भन्ने अपेक्षा गर्न सकिँदैन ।

किनभने लोकप्रियवाद आफैँमा एउटा खहरेजस्तो आवेगका आधारमा सिर्जित जनमत हो । त्यसले गम्भीरतापूर्वक समाज र विश्वको परिदृश्यलाई हेरेर निर्णय गर्नेगरेको पाइँदैन ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि अमेरिकाको परराष्ट्र नीति प्रजातान्त्रिक शान्तिको सिद्धान्त र उदारवादका आधारमा चल्दैआएको थियो । विश्वमा जति धेरै देशमा शान्ति र लोकतन्त्र स्थापना भयो त्यति नै द्वन्द्व कम हुन्छ भन्ने अमेरिकी मान्यता थियो ।

यही नीतिकै कारण अमेरिका लगभग ७ दशकसम्म विश्व शक्ति राष्ट्र बन्न सक्यो । यस कालखण्डमा रसिया उसको रणनीतिक प्रतिस्पर्धिका रूपमा उभिँदैआएको थियो ।

तर, अहिले ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको जस्तो ‘कनेक्सन’ देखिएको छ, त्यो अस्वाभाविक छ । यसलाई  अमेरिकाका जनताले लामो समयसम्म स्वीकार गर्न सक्दैनन् । ट्रम्पको लोकप्रियतावादको खस्कने क्रम त्यहीँबाट सुरु हुन्छ । 

एकातिर युरोप संकटमा छ । त्यहाँको बजार खस्किएको छ । अमेरिकाका साझेदारहरू युरोपियन युनियन, जापान, दक्षिण कोरिया र अस्ट्रेलिया हुन् ।

तर, ट्रम्प निर्वाचित भएपछि अमेरिकाका मुख्य साझेदारलाई बेवास्ता गर्दै रसियासँग नजिक हुँदैजानुले अमेरिकाका पुराना साझेदार देशसँगको सम्बन्धमा संकट उत्पन्न हने देखिन्छ ।

पछिल्लो परिस्थितिले गर्दा उनीहरू अन्योलमा छन् । त्यसैगरी बाराक ओबामाले ल्याएको ‘ट्रान्स प्यासिफिक पार्टनरसिप’ (टीपीपी) नामक व्यापार नीति ट्रम्पले च्यातिदिने बताइसकेका छन् ।

यो नीति एसियामा अमेरिकाले वर्चस्व कायम गर्ने उद्देश्यसहित ओबामाले ल्याएका थिए । उक्त नीतिबाट साझेदार राष्ट्रहरू पनि उत्साहित थिए ।

तर, ट्रम्पले कस्तो अभिव्यक्ति दिए भने उनको अभिव्यक्तिबाट त्रसित भएर जापानका प्रधानमन्त्री सिन्जो आबे उनलाई भेट्न अमेरिकै पुगे । ट्रम्पकै गतिविधिले गर्दाले समस्या निम्त्याउने बुझाइले जापान रसियासँग नजिक हुनथालेको छ ।

अमेरिकासँग विश्वस्त हुन नसकिने देखेपछि चीनको छत्र छायाँमा बस्नुभन्दा रसियासँग नजिकिने निष्कर्षमा जापान पुगेको देखिन्छ ।

उसले रुसका राष्ट्रपतिलाई भव्यताका साथ आफ्नो देशको भ्रमणसमेत गराएको छ । यसको अर्थ विश्वका मित्रताका साझेदारीमा पनि अब परिवर्तन हुने छनक देखिन थालेको छ ।

अमेरिकी सरकारले रसियाका कूटनीतिज्ञलाई देश निकाला गर्यो । अमेरिकाले रसियाविरुद्ध लिने सानो निर्णयमा प्रतिक्रिया जनाइहाल्ने पुटिन यस विषयमा केही नबोल्नु रहस्यमय छ ।

अमेरिकाको आन्तरिक विषयमा चलखेल गरेको आरोपमा रसियाका कूटनीतिज्ञलाई ओबामा प्रशासनले देश निकाला गरेको थियो । यसलगतै ट्रम्पले पुटिनको प्रशंसा गरे ।

त्यस्तै, रसियासँगै व्यापारिक साझेदारी गर्दै आएका मोबिलको व्यापारीलाई विदेश मन्त्री बनाउनुले पनि उनको पुटिनसँगको निकटतालाई थप पुष्टि गर्छ ।

रसियासँग अन्तरिक्षमा समेत प्रतिस्पर्धा गरिरहेको अमेरिका एउटा व्यक्तिका कारण साझेदारी गर्दा जनतालाई स्वीकार्य हुन गाह्रो छ । यो उत्तिकै विरोधाभासपूर्ण पनि छ । 

रसियासँगको साझेदारीले अमेरिकाका पुराना मित्र राष्ट्र पक्कै रिसाउने छन् । त्यसले गर्दा अमेरिकी जनता पनि ढिलोचाँडो ट्रम्पसँग असन्तुष्ट हुनेछन् । त्यसकारण लोकप्रियतावादमार्फत उदाएका ट्रम्पले यो कार्यकाल पूरा गर्न पनि गाह्रो देखिन्छ ।

अमेरिकी जनताले ट्रम्पलाई सफल व्यापारी र रोजगारी सिर्जना सक्ने ठानेर मतदान गरेका हुन् । तर, शक्ति राष्ट्रको सरकार र विदेश नीति एउटा व्यापारिक घराना चलाएजस्तो हुने नभएकाले उनको सफलतामा शंका गर्ने थुप्रै आधार छन् । 

मध्यपश्चिमका देशहरूसँगको सम्बन्धमा पनि ट्रम्प विवादास्पद नै छन् । उनले मुस्लिमलाई आतंककारीकै संज्ञा दिएर आफूलाई मुस्लिम विरोधीका रूपमा चित्रित गरिसकेका छन् ।

त्यस्तै आर्थिकरूपमा बलियो बन्दै गएको चीनलाई चिढ्याउने गरी ताइबानका बारेमा दिएको अभिव्यक्ति अर्को विवादास्पद र खतरा बन्न पुगेको छ ।

एक चीन नीतिमा विवाद आउने गरी उनले दिएको अभिव्यक्तिले प्रमुख व्यापारिक साझेदार चीन पनि रिसाउने उत्तिकै सम्भावना छ । अमेरिकाले चीनसँग ऋण सहायता लिएर आफ्नो अर्थतन्त्र चलाइरहेको भित्री यथार्थ छ ।

करिब २४ प्रतिशत सामान चीनबाट खरिद गर्ने अमेरिकाले चीनसँग टक्कर गरेर अगाडि बढ्न सक्दैन । चीनको सामानमा कर बढाउने उनको नीतीले अमेरिकामा मूल्य वृद्धि हुन्छ । यो पनि अमेरिकी जनतालाई स्वीकार्य हुनेछैन ।     

ट्रम्प अमेरिका विश्वकै एक नम्बर शक्ति हुनुपर्ने धारणा राख्छन् । त्यस्तै, हतियारको व्यापार र सैन्य शक्ति वृद्धिमा समेत जोड दिने उनले बताउँदै आएका छन् ।

यसले गर्दा विश्वमा द्वन्द्व र अशान्ति फैलने खतरासमेत देखिन्छ । रसियासँग मिलेर चीनलाई कमजोर बनाउने उनको रणनीति हुन सक्छ । तर, त्यो रणनीतिले लामो समय काम गर्दैन ।

किनभने चीन र रसियाको सम्बन्ध उत्तिकै पृथक र निकट छ । रसियाका लागि चीन ठूलो बजार पनि हो । अमेरिकाले रसियालाई नाकाबन्दी लगाउँदा चीनलाई उसले धेरै तेल र ग्याँस बेचेको छ । रसिया पनि चीनसँग सम्बन्ध बिगार्न चाहँदैन । त्यसैले ट्रम्पको नीति दीर्घकालिन र चातुर्यपूर्ण छैन ।

विश्व शक्तिले रसियाको सहयोग लिएको र ऊसँग झुकेको अमेरिकी जनतालाई मान्य नहुने अर्को विषय हो । यसले अमेरिकाको विश्व छवि धमिलो र कमजोर बनाउँछ । परिस्थिति यसरी नै अगाडि बढ्दैगएमा अमेरिकाको विदेश नीति संकटमा पर्नसक्ने देखिन्छ । 

विश्वमा बढ्दो अतिराष्ट्रवाद (ultra nationalism) :
लोकप्रियतावादलाई अतिराष्ट्रवादको परिणामका रूपमा समेत हेर्न सकिन्छ । अति राष्ट्रवादी नेताहरू नै त्यहाँका जनताबीच चर्चित हुन्छन् र चुवान जित्न सक्छन् । राष्ट्रवादका अगाडि लोकतन्त्रसमेत गौण हुँदैगएको देखिएको छ ।

पछिल्लो समय विशेषगरी विकसित र विकासशील देशको राजनीतिक नेतृत्व लोकतन्त्रवादी भन्दापनि लोकप्रिय र अति राष्ट्रवादी छानिन थालेको छ ।

रसिया, जापान, भारत, बेलायतलगायतका देशको नेतृत्व चर्चित अनुहार र राष्ट्रप्रेमी भएकै कारण अगाडि आएका छन् ।

अमेरिकामा पनि अहिले अनुभवी, लोकतन्त्रवादी नेतृ हिलारी क्लिन्टललाई पछि पार्दै व्यापारिक र चर्को राष्ट्रवादी भाषण गर्दै आएका ट्रम्प विजयी भएका हुन् । 

नेपालले सिक्नुपर्ने पाठ
राष्ट्रवाद, उग्रराष्ट्रवाद, रुढीवाद (Conservative) जे भने पनि जनतामा राष्ट्रप्रतिको माया बढ्दैगएको देखिन्छ । सोही अनुसारका नेतृत्वको उदय विश्वमा हुँदैगएको छ । यो अविकसित, अल्पविकसित देशको मात्र कुरा होइन ।

अमेरिकाजस्तो उन्नत प्रजातन्त्रमा पनि यस्तै नेता विजयी भए । ‘म अरू संसारका लागि नभई अमेरिकाका लागि हो’ भन्दा ट्रम्पले चुनाव जिते । त्यसैले राष्ट्रवाद भनेको हल्का विषय होइन ।

नेपालमा राष्ट्रवादलाई मागी खाने भाँडोका रुपमा लिइएको पाइन्छ । त्यो गलत हो । नेपालमा पनि राष्ट्रप्रति उत्तरदायी नेता अगाडि आउनुपर्छ । 
त्यसपछि दोस्रो पक्ष भनेको समृद्धि हो ।

अमेरिकामा हिलारी क्लिन्टनजस्तो अनुभवी नेतृले जनताको जीवनमा परिवर्तन ल्याउँछु भन्ने सन्देश दिन र समृद्धिका सपना बाँड्न नसक्दा पराजित हुनुपर्यो । परिणामस्वरूप, एउटा कोरा कर्पोरेट व्यक्तिले चुनाव जित्यो ।

त्यसकारण आर्थिक एजेन्डा अर्को महत्वपूर्ण विषय हो भन्ने स्पष्ट हुन्छ । नेपालमा भने एकदमै राजनीतिक एजेन्डामात्रको प्रभुत्व छ । देशको समृद्धि र विकासका लागि राजनीतिक कार्यसूचीमात्रै अगाडि सार्नु दुर्भाग्य नै हो ।

जनतालाई अधिकार, समानता, समावेशिताका नाममा अलमलाउनु हुँदैन ।

समृद्ध मुलुकमा पनि थप उन्नतिका कुराले महत्व पाउँछ भने हाम्रो जस्तो अविकसित देशले अब आर्थिक कार्यसूचीमा केन्द्रित हुनुपर्छ ।

मुलुकमा समृद्ध भयो भने कसैका बीचमा असमानता हुँदैन । त्यसैगरी हामीसँग भएका स्रोत र साधनको उपयुक्त प्रयोग भएमा दलित, अनपढ वा अन्य केही भएकै कारणले गरिब हुनुपर्दैन । त्यसैले स्पष्ट राष्ट्रलाई माया गर्ने र आर्थिक समृद्धिको सपना भएको नेतृत्व आवश्यक छ ।

राष्ट्रियता र आर्थिक समृद्धिले मुलुकमा लोकतन्त्र बलियो बनाउँछ भने जनतको जीवनस्तरमा समेत सुधार ल्याउँछ ।
(त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख सहप्राध्यापक  डा. केसीसँग अशोक पौडेलले गरेको कुराकानीमा आधारित ।)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC