गणतन्त्र स्थापनाका लागि मुख्य भूमिका खेल्ने केही नेताले लोकमान कार्कीलाई अख्तियार प्रमुख बनाउँदा अचम्म लागेको थियो । त्यसमा पनि नाम नै किटेर भन्दा तत्कालीन माओवादीका दोस्रो ठूला नेताका रूपमा स्थापित र प्रधानमन्त्रीसमेत भइसकेका बाबुराम भट्टराई (पीएचडी)ले लोकमान कार्कीजस्ता सक्षम व्यक्ति अहिलेको सन्दर्भमा अरू कोही छैनन् भन्ने भनाइ जब सार्वजनिक रूपमा आयो त्यहाँदेखि बाबुराम भट्टराईलाई हेर्ने दृष्टिकोण बदलियो ।
त्यो सार्वजनिक भनाइ आएपछि यो पंक्तिकारलाई बाबुरामका एक निकट सहयोगीलाई बाबुरामको लोकमान धारणाबारे सोध्न मन लाग्यो । ती निकट व्यक्तिलाई यसबारे सामाजिक संजालको बातचितको क्रममा सोधेँ । प्रश्नमा 'राजप्रासाद सेवामा काम गरिसकेको व्यक्ति' भन्ने शब्दावली पनि राखेको थिएँ ।
उनीबाट त्यसको कुनै जबाफ आएन । बाबुराम निकट ती मेरा मित्रसँग त्यसअघि पनि धेरै पटक कुराकानी भइरहन्थे । उनले जबाफ दिन्थे । त्यहाँदेखि लाग्यो - बाबुराम भट्टराई आफ्नो विगतबाट स्खलित भइसकेछन् या उनी सामान्य नागरिकलाई अरू नेताले जसरी नै भ्रममा राखिरहेका छन् ।
आजसम्म धेरै कांग्रेस कम्युनिस्ट नेता आफ्नो सिद्धान्त र विगतमा आफूले गरेका घोषणाबाट विचलित भएका छन् । आआफ्ना सैद्धान्तिक प्रतिबद्धताबाट च्यूत भएका छन् । त्यस्ता नेताको कोटीमा बाबुरामलाई राखिएको थिएन तर लोकमान प्रकरणले सोच्न बाध्य बनायो ।
अर्थमन्त्री हुँदा बाबुरामले राम्रो काम गरेका थिए । जनतामा आशा जगाएका थिए । उनी 'भिजन' भएका र केही गर्न चाहने इमानदार नेता हुन् भन्ने छवि निर्माण भएको थियो ।
प्रधानमन्त्री बनेपछि बाबुरामले राम्रो काम गर्लान् भनेर आशावादी बनेका युवाले बाबुरामको हौसला बढाउन 'हामी बाबुरामका पक्षमा छौँ' (आई एम विथ बाबुराम) भन्दै अभियान चलाएका थिए ।
जुलुससमेत निकालेर बाबुरामको होस्टेमा हैँसे गरेका थिए । त्यसका कारण हामीजस्ता बाहिर बसेका कुनै राजनीतिक दलसँग सम्लग्न नभएकालाई समेत राम्रोलाई राम्रो देखे भन्ने लागेर खुसी नै लागेको थियो ।
तर, बिस्तारै बिस्तारै बाबुरामले आफूलाई जानी नजानी स्खलित पार्दै गए । उनीजस्ता अनुभवी राजनीतिकर्मी तथा पढेलेखेका मानिस अन्जानमै वैचारिक र रणनीतिक स्खलनमा परे भनेर कसरी भन्नु ?
परिवारवादमा फसेर होस् वा पुराना विवादास्पद निर्णयलाई निरन्तरतरता दिएर होस् उनी पनि अन्य प्रधानमन्त्री सरह औसत बने । राजधानीको सडक विस्तारबाहेक जनताले देख्न र अनुभूत गर्न सक्ने खासै प्रभावकारी काम गर्न सकेनन् ।
तैपनि उनको समर्थनमा रहेका नागरिकले बाबुराम एक्लैले मात्र गरेर केही हुँदैन भन्दै चित्त बुझाए । सोही बेला कसैले सोच्दै नसोचेको कामको अगुवाइ गरे बाबुरामले । सरकार नै प्रधान न्यायधीश खिलराज रेग्मीलाई हस्तान्तरण गरे ।
बाबुरामसँग यो पंक्तिकारको विगतमा निक्कै लामो र राम्रै सम्बन्ध थियो । उनी जनमोर्चाको अध्यक्ष रहँदा काठमाडौंमा गरिने टुक्रे मसाल जुलुस हुन् वा उनी सम्मिलत हुने विचार गोष्ठी तथा अन्य कार्यक्रममा पुगिन्थ्यो ।
त्यो बेला मूलधारका दैनिक पत्रपत्रिकाले जनमोर्चाका समाचारलाई खासै महत्त्वका साथ प्रकाशित नगर्दा पनि हामी केही पत्रकारले राजधानीबाट प्रकाशित कतिपय साप्ताहिक पत्रपत्रिकामा मुख्य समाचार बनाएर प्रकाशित गर्थ्यौँ । ।
अहिले पनि संझना आउँछ त्यति बेला पत्रकाहरू राजकुमार रेग्मी, कुमार यात्रु, भरत कोइराला, दिपेन्द्र काफ्ले, सन्तोष थपलिया, नरेन्द्र पोखरेललगायतका भिन्न भिन्न धारमा काम गर्ने पत्रकारसमेत बाबुरामका 'फ्यान' नै थियौँ ।
भट्टराई साम्यवाद स्थापना र जनवादी सत्ता निर्माणका लागि भन्दै भरुवा बन्दुक बोकेर जंगल छिरेपछि यो पंक्तिकार भने आफ्नो भविष्य खोजी गर्दै अमेरिका छिर्यो । अमेरिका आएर पनि नेपालमा हुने 'जनयुद्ध'का घटनालाई नियाल्नु स्वाभाविक थियो ।
'जनयुद्ध' उत्कर्षमा पुगेपछि नेपालका संचार माध्यम सबैलाई माओवादी 'जनयुद्ध'का विषयमा समाचार सम्प्रेषणमा समेत रोक लगाइएको थियो । यो पंक्तिकार न हिजो माओवादी थियो न आज छ न भोलि नै हुनेछ तर पनि कसैका आवाजलाई रोक्न हुन्न भन्ने मान्यताका साथ अमेरिकाबाट नेपाली पोष्ट डटकम सुरु गर्यौँ ।
त्यसमार्फत् 'जनयुद्ध'का समाचार महत्त्वका साथ प्रकाशित गर्न थाल्यौँ । सन् २००१ मा थालेको नेपाली पोष्ट डटकम नेपाली भाषाको पहिलो अनलाइन पत्रिका हो ।
हामीलाई तत्कालीन नेपाल सरकारका कतिपय व्यक्तिले तिमीहरू अमेरिका बसेर माओवादीको समर्थन गर्ने भन्दै धम्कीपूर्ण सन्देश पठाए । अमेरिकामा रहेका तत्कालीन सरकारका पक्षपोषक कतिपयले अमेरिकाबाट निकाला गर्ने धम्की समेत दिए ।
तैपनि हामीले 'जनयुद्ध'का समाचार कहिले रोकेनौ । नेपाली पोष्टको अभिलेख खोज्नुभयो भने अझै पनि थाहा पाउनुहुनेछ - हामी शुद्धरूपमा नेपालमा गणतन्त्र नेपालको स्थापना हुनुपर्छ भन्ने पक्षमा थियौँ ।
'जनयुद्ध'का समाचार, 'जनयुद्ध'मा लागेका नेताका लेख-रचना, अन्तर्वार्ता हामीले 'जनयुद्ध' उत्कर्षमा पुगेका बेला पनि निरन्तर प्रकाशित गर्दै रह्यौँ । अब स्रोत गोप्य राख्न आवश्यक रहेन । त्यसबेलाका प्रायः सामग्रीका स्रोत बाबुराम नै थिए ।
विसं ६२/६३ को आन्दोलनताका नेपालका सम्पूर्ण संचारमाध्यम माथि निरंकुश राजतन्त्रले अंकुश लगायो । पत्रपत्रिकामा सेनालाई पठाएर समाचार र सम्पादकीय विचारमाथि सेन्सर लगाउँदा पनि हामी गणतन्त्र स्थापानका लागि निन्तर लाग्यौँ ।
नेपालमा इन्टरनेट बन्द गर्दा पनि हाम्रा समाचार संसारभर रहेका पाठकका लागि खुराक हुनेगर्थ्यो ।
नेपाली पोष्ट डटकमबाट गणतन्त्र नेपालको स्थापना हुनुपर्छ भन्ने पक्षका व्यक्तिका लेखरचनालाई सकेसम्म सम्प्रेषण गर्दै रह्यौँ । कृष्ण पहाडी, खगेन्द्र संग्रौला, गोविन्द अधिकारीलगायतका व्यक्तिका विचारलाई प्रकाशित गर्दै रह्यौँ ।
नेपाली पोष्टले ६२-६३ को जनआन्दोलन उत्कर्षमा पुगेको बेला कृष्ण पहाडीद्वारा नेपाली पोष्टमा प्रकाशित लेखको सँगालो "भाँचिएको कलम" र राजतन्त्रको विरोधमा खगेन्द्र संग्रौला द्वारा लेखिएका लेखको अर्को सँगालो "फूल, पात र पत्कर" भनेर अर्को एक पुस्तक हामीले वासिङटन डीसी र न्युयोर्कको विरोध जुलुसमा विमोचन गराएर जनआन्दोलनको समर्थन गर्यौँ ।
एउटा आर्टिटेक्चर इन्जिनियर बाबुरामजस्ता व्यक्ति सबै भौतिक सुख सुविधा छाडेर देश बनाउँछु भनेर लागेको छ भने हामीले पनि उनलाई सहयोग गर्नुपर्छ भन्ने लाग्थ्यो । तर, अहिले आएर ऊबेला बाबुरामप्रतिको धारणा गलत साबित हुँदैगएका छन् ।
हुँदाहुँदा लोकमानजस्ता व्यक्तिलाई समेत काँध थापेपछि उनका बाँकी कोरा विचारले अब नेपालीले उनीबाट केही आशा गर्नु मूर्खता सिवाय केही रहेन । झन् भारतप्रतिको उनको दृष्टिकोण लाजमर्दो छ भनेर थप व्याख्या गरिरहन नपर्ला ।
ऊ बेला लोकमान जत्तिको सक्षम व्यक्ति अरू कोही छैन भन्नेले अहिले आएर सर्वोच्चले अयोग्य व्यक्तिभनेर डामेर छाडेपछि पनि बाबुराम भट्टराई अन्य धेरै विषयमा सामाजिक सञ्जालमा आफ्ना कुराहरू व्यक्त गरिहँदा पनि यस विषयमा केही नबोल्नुले उनी कसको पक्ष पोषण गरिरहेछन् खोजीकै विषय भएको छ ।
देश बनाउन सामान्य नेपाली नागरिकले राष्ट्रनेता खोज्ने बेला आएको छ । हामी नेपाली जोसुकैलाई उसका व्यवहार नै नहेरी राम्रो कुरा गर्नासाथ छिट्टै विश्वास गर्छौ र पछि पछुताउछौँ ।
समस्या यही हो र बाबुरामको हकमा पनि नेपाली जनता नराम्रोसँग झुक्किएका छन् ।
पछिल्लो समयमा आइपुग्दा बाबुरामले नयाँ शक्ति नामक एक समूह खोलेका छन् । सबै खाले व्यक्ति राखेर खोलिएको समूह हो मुखिया भएपछि आफूले गरेका पुराना गल्ती स्वीकारेर असल मुखिया बन्ने प्रयास उनले गर्न जरुरी छ ।
गल्ती नगर्ने मानिस हुँदैन र बाबुरामले पनि धेरै गल्ती गरेका छन् । तर, मानिस यस्तो प्राणी हो जसले गल्ती सच्याएर असल मार्ग लिन सक्छ ।
बाबुरामबाट पनि यही आशा गरौँ । उनलाई गल्ती सच्याउने आत्मशक्ति मिलोस् । शुभकामना !
Twitter : @jaya_hos