site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
मिनरल वाटर, अम्मा र राजनीति  

दक्षिण भारतको तामिलनाडु राज्यमा प्राविधिक व्यवस्थापन शिक्षातर्फ स्नाकोत्तर अध्ययनका क्रममा जाँदा   हामीले तीर्खा मेट्न अम्मा मिनरल वाटर नै खरिद गथ्र्याैं ।

बीस रुपियाँ पर्ने अन्य मिनरल वाटरका तुलनामा सस्तो दश रुपियाँमा पाइने त्यो मिनरल वाटरको बोटलमा भारतीय राजनीतिमा प्रभावकारी भूमिका भएकी एक ओजस्वी महिलाको तस्बिर हुनेगथ्र्याे ।

तस्बिर हेर्दैमा हिन्दु पहिरनकी ती महिला सरल र मृदुल स्वभावकी होलिन्जस्तो लाग्थ्यो । बोतललगायत, सहरका विभिन्न होर्डिङ बोर्डमा देखिने ती महिलाको योगदानको कदर गरेर होला त्यहाँका जनताले उनलाई आमासरह सम्मान दिएको देखिन्थ्यो ।

Agni Group

सबैले उनलाई ‘अम्मा’ सम्बोधन गर्थे । तामिलनाडुका जनताबाट ‘अम्मा’को उपाधि पाएकी तिनै महिला राजनीतिज्ञ एवं चलचित्रकर्मी जयललिता जयरामको मृत्यु भएको महिना दिनभन्दा बढी भइसकेको छ ।

भारतीय राजनीतिमा, मुख्यतः दक्षिण भारतीय राज्य तामिलनाडुको राजनीतिमा एकछत्र प्रभाव भएकी मुख्यमन्त्री जयललिताको ६८ वर्षको उमेरमा ह्दयघातबाट निधन भएको घटनाले धेरैलाई स्तब्ध बनाएको छ ।

Global Ime bank

करिब अढाइ महिनाको लामो उपचारका क्रममा चेन्नई स्थित एपोलो हस्पिटलमा उनको निधन भएको अस्पतालले आधिकारिक पुष्टि गरेको थियो ।

जललिताको उपचारलाई अति गोप्य राखिनुले पछिल्ला दिनमा अम्माको मृत्यु हृदयघातबाट नै भएको हो वा अन्य कुनै कारणबाट हत्या गराउने प्रयासमा भएको हो भन्ने विवाद अहिले बढेको छ । उनलाई कसैले विष सेवन गराएर मारेको भन्ने पनि हल्ला फैलिएको छ ।

उनको आफ्नै पार्टीमा सचिव पदमा रहेकी शशिकलाले खटाएकी नर्सले बढी मात्रामा निन्द्राको औषधि सेवन गराएर जयललितालाई मार्ने प्रयास गरेकी हल्ला पनि फैलिएको छ ।

त्यही औषधिको मात्रा बढी भएका कारण अम्माको मृत्यु भएको स्थानीय संचार माध्यमले समेत उल्लेख गरेका छन् । जे भए पनि उनको मृत्यु भइसक्यो ।

उनको मृत्युले तामिलनाडुमा पारेको प्रभाव विचारयोग्य छ र राजनीतिकर्मीका लागि शिक्षाप्रद पनि ।

उनको उपचारका क्रममा भएको कठोर हृदयघातको खबर संचार माध्ययममा आउनासाथ उनका समर्थकहरूको अस्पताल र आसपासको क्षेत्रमा ठूलो भिड लागेको थियो । भिड नियन्त्रण गर्न राज्यका सुरक्षाकर्मीहरूलाई निकै हम्मेहम्मे परेको थियो ।

उनको मृत्युको घडीसम्म उनका शुभचिन्तक तथा कार्यकर्ताको अस्पताल अगाडि भएको उपस्थितिबाट तामिलनाडुमा उनका समर्थक र प्रशंसकको संख्या निकै धेरै रहेको पुष्टि हुन्छ । उनको छवि चिरस्मरणीय रहने निश्चित् छ ।
जयललिताको मृत्युलाई भारतका धेरै नेताले भारतीय राजनीतिमा अपूरणीय क्षतिकारूपमा लिएका छन् । उनको अन्त्येष्टिसम्म तमिलनाडुका जनताको मौन हृदयविदारक थियो ।

लाग्थ्यो, उनीहरूले आफ्नै परिवारजन गुमाएका छन् । उनलाई श्रद्घाञ्जलि दिन र अन्तिम दर्शन गर्न सामान्य जनतामात्र होइन चलचित्रकर्मीदेखि भारतीय राजनीतिमा प्रभाव राख्ने प्रायः सबै नेताको उपस्थिति थियो । भारतका प्रधानमन्त्री सबै प्रोटोकोल तोड्दै अम्मालाई श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए र यो विषय धेरै सञ्चार माध्यमले उठाएका पनि थिए ।

जनसागरको त्यो लहर यदाकदा मात्र देख्न पाइन्छ । उनका राजनीतिक गुरु एआईएडीएमके पर्टीकै नेता स्वर्गीय एमजी रामाचन्द्रन (एमजीआर) को समाधि रहेकै छेउमा हिन्दु परम्पराअनुसार उनको अन्तिम संस्कार गरियो । 
चेन्नई सहरस्थित समुद्र छेउको मरिनाबीचमा रहेको उक्त समाधि स्थलमा आँखाले देखेसम्म जनसागरमात्र देखिँदा अम्माले तामिलनाडु राज्यमा अल्पसंख्यक, सीमान्तकृत, गरिब तथा महिलाका लागि अभिभावकीय भूमिका निर्वाह गरेको स्पष्ट हुन्छ ।

मूलतः तिनै समुदायका व्यक्ति अम्माप्रति भावुक भए पनि उनको निधनमा समग्र तामिलनाडु नै स्तब्ध बनेको थियो ।

जयललिताले तामिलनाडूमा बितेको करिब २५ वर्ष आफ्नो प्रभाव बनाई राखिन् । विभिन्न समस्या हुँदाहुँदै पनि एआईएडीएमके पर्टीमा आबद्घ रहेर उनले राजनीति गरिरहिन् र कहिल्यै पछाडि फर्किइनन् ।

भ्रष्टाचारको अभियोगमा  पटकपटक जेल जीवन बिताए पनि अदालतबाट सफाइ  पाएकी उनले ५ पटक मुख्यमन्त्रीको जिम्मेवारी समालेकी थिइन् ।

उनले लगातार दोस्रो पटक राज्यको चुनावमा जित हासिल गरेर इतिहास बनाएकी थिइन् । तर, उनले यो कार्यकाल पूरा गर्न नपाउँदै मृत्युवरण गरिन् । 

दक्षिण भारतमा धेरै नेपाली अध्ययनरत छन् । कर्नाटकको बैंगलोर र तामिलनाडुको चेन्नईलगायतका स्थानमा रहेका विभिन्न प्राविधिक कलेजमा हजाराैं नेपाली विद्यार्थी पढ्छन् भने रोजगारीका लागि समेत पुगेका नेपाली त्यहाँ भेटिन्छन् ।

हुनत, ९९ प्रतिशत साक्षरता भएको छेउकै केरला राज्यको तुलनामा तामिलनाडुमा शिक्षित व्यक्ति तुलनात्मकरूपमा कम छन् तर इमानदारी र व्यावहारिकरूपमा सहयोगी भूमिका निर्वाह गर्ने धेरै व्यक्ति छन् । यो मेरो व्यक्तिगत अनुभव हो । 

धार्मिकरूपमा प्रख्यात स्थलहरू रामेश्वरम्, मदुराई, नटराजम मन्दिर अनि पर्यटकीय स्थल मेरिनाबीच  तथा उटी घुम्न र उपचारका लागि पनि धेरै नेपाली तामिलनाडु पुग्ने गर्छन् ।

चौबिसै घन्टा यातायातको राम्रो सरकारी सेवा रहेको ठूला सहर पनि निकै विकसित देखिन्छन् । हरेक क्षेत्रमा गरिबलाई सहुलियत होस् भन्ने मनसाय राखेर न्यूनतम शुल्कका विभिन्न सेवा तामिलनाडुमा उपलब्ध छ ।

यसको सर्जक भने तिनै प्रभावकारी नेतृ जयललिता हुन् । उनका यिनै भूमिकाले उनलाई तामिलनाडुमा यति समान्नित बनाएको हो ।

राजनीतिक सम्बन्ध नभएकाहरू पनि भावनात्मकरूपमा अम्मासँग गाँसिएका थिए । विश्वमा जनतासँग यस्तो भावनात्मक सम्बन्ध हुने धेरै कम नेता मध्येकी एक अम्मा पनि हुन् ।  
तामिलनाडुको विकासमा अम्माको योगदान निकै प्रशंसनीय छ ।

दिनभरमा गरिएको भोजन र नास्तामा २० भारतीय रुपैयामा खर्च हुन्छ । यसका कारण गरिब जनतालाई जीवन गुजारा गर्न सहज भएको छ । रेल्बे स्टेसनदेखि बस स्ट्यान्डसम्म राज्यभर छरिएर रहेका सफा अम्मा क्यान्टिनमार्फत उक्त सेवा उपलब्ध हुन्छ ।

एक रुपियाँमा इडली, ३ रुपियाँमा कडी राइस, ५ रुपैयामा साम्बर राइस वा टोम्याटो राइस गरिब जनताको पेट भर्न काफी छ । त्यतिमात्र होइन स्वास्थ्य क्षेत्रमा पनि निकै सुधारको प्रयास गरेकी अम्माले अस्पतालमा जन्मिएको बच्चाका लागि एक हजार पर्ने अम्मा किटसमेत उपलब्ध गराउँदै आएकी थिइन् ।

गरीब, सीमान्तकृत, महिला, अल्पसंख्यक तथा मजदुरलाई सहयोग पुग्ने गरी अत्यावश्यकीय धरातलीय सेवा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न उनले करिब २५ वर्ष राजनीतिमा प्रभावकारी स्थान बनाई राख्नु प¥यो ।

कानुन विषयमा रुची राख्ने जयललिता अध्ययनमा अब्बल थिइन भने आमाको चाहनामा फिल्मी जगतमा प्रवेश गरेकी थिइन् । उनी चर्चित नायिकामात्र नभएर महँगा चलचित्रकर्मीका रूपमा समेत परिचित थिइन् ।

अध्ययन र सिने जगत् दुवैमा खुट्टा जमाएकी जयललितालाई अम्माको उपाधि पाउने गरी सफल राजनीति गर्न करिब दुई दशक नै लाग्यो । तर, धेरै उतारचढाउका बीच उनले भारतीय राजनीतिमा समेत सकारात्मक प्रभाव छोडेर बिदा भइन् ।

उनको  गरिब, सिमान्तकृत, अल्पसंख्यक, महिला तथा मजदुरप्रतिको दृष्टिकोण तथा राज्य विकासको भूमिका नेपाली नेतासमेतको लागि पाठ हुन सक्छ । स्वर्गीय नेता बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीबाहेक जनताको मनमा बस्ने नेता नेपालले पाएन । तर, अम्माको भूमिकाबाट पाठ लिएर नेपालका नेताले पनि जननेता बन्ने प्रयास गरेर देश विकास गर्नु जरुरी छ । 

जनताको मनमा कसरी बस्न सकिन्छ भन्ने शिक्षा दिएर सबैकी अभिभावक अम्मा बिदा भएकीछिन् । अब उनको सम्झनामात्र रहनेछ । दक्षिण भारतको तामिलनाडु पुग्दा अम्मालाई नसम्झन मलाई पनि गाह्रो हुनेछ । त्यो मिनरल वाटर, त्यो अम्मा क्यान्टिन मेरो मानस पटलमा सदैब ताजा रहनेछ । सबैकी आमा सरहकी अम्मालाई श्रद्धाञ्जलि ! 
लेखकले तामिलनाडुबाट अस्पताल व्यवस्थापन विषयमा एमबीए गरेका हुन् । 
                 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC