अहिलेको मुख्य कुरा संविधानमा संशोधन गर्नुपर्ने आवश्यकता छ कि छैन भन्ने हो । संविधानमा संशोधन गरेर पुग्छ कि पुग्दैन ? संविधानको परिमार्जन गर्नुपर्ने हो कि, पुनर्लेखन गर्नुपर्ने हो कि, अर्काे संविधान लेख्नुपर्ने हो ? यस्ता शब्दको विवादमा पसेर हामी समस्याको मूल जरोमा पुग्न सक्दैनौँ ।
हामीले मुलुलकमा एकपछि अर्काे आन्दोलन र क्रान्ति गर्दै गयौँ । आन्दोलनले अर्काे क्रान्तिलाई अनिवार्य बनाउँदै गयो । तर प्रत्येक क्रान्तिले प्रतिक्रान्ति जन्माउँदै गयो । त्यो क्रान्तिले अघिल्लो क्रान्तिको उपलब्धिलाई नाश गर्दै गयो । र, नेपाल राजनीतिक व्यवस्थाको खोजीको लागि, राजनीतिक परिपाटीको खोजीको लागि एउटा प्रयोगशाला बन्यो ।
हामीले संसारभरि विभिन्न राष्ट्रमा प्रयोग भएका सबै किसिमका व्यवस्थाहरू प्रयोग गरिसकेका छौँ । विश्वमा प्रयोग भएका शासन व्यवस्थाबाट एउटा शासन व्यवस्था छानेर त्यसलाई परिमार्जित गर्दै अन्ततोगत्वा संसारका अविकसित मुलुक विकसित भइसके । तर हामी प्रयोग गर्दागर्दै अविकसितबाट झन् बढी अविकसित भएर गयौँ ।
तपाईँलाई थाहा छ ? यही मुलुक हो जुन मुलुकले भारतलगायत विश्वका धेरै मुलुकलाई धान चामल निर्यात गथ्र्यो । अहिले यही देशमा खाने पानीदेखि नुन, चामल, तरकारी, फूललगायतका थुप्रै कुरा बाहिरबाट लिएर आउनुपरेको अवस्था छ । त्यसको सारांश यहाँमात्र परिवर्तन भइरहेको हैन । संसारमा अचम्म खालको परिवर्तन हुन थालेको छ ।
त्यो परिवर्तनको चुरो कहाँ छ भने, जब दोस्रो विश्वयुद्व समाप्त भएपछि एउटा किसिमको वातावरण थियो, मुलुक स्वतन्त्रता प्राप्त गर्ने आन्दोलनमा मात्र होमिरहेको थियो । शीत युद्व जब प्रारम्भ भएपछि त्यसको राम्ररी उपयोग गर्न सक्ने राष्ट्रहरूले आर्थिक उन्नति ह्वात्तै गरिहाले । शितयुद्वको समाप्ति भएपछिको नयाँ खालको विश्व परिस्थिति जन्म्यो, त्यो परिस्थितिमा साना मुलुकहरूको लागि संसार निर्दयी रह्यो । एउटा परिवर्तन फेरि हुन थालेको छ । त्यो परिवर्तन राम्रो वा नराम्रो के हुन्छ, त्यो तपाईँ हाम्रो खुबीमा भर पर्छ ।
यो मुलुकको हितमा ल्याउन सक्छौँ वा यो परिवर्तन हाम्रा लागि अझ अनिष्ट हुन सक्छ । तर परिवर्तन हुन थालेको छ । शितयुद्वदेखि हिजोसम्म जुन किसिमको परराष्ट्र नीति, सामरिक सुरक्षा नीति, गठबन्धन, राजनीतिक व्यवस्था, शासनशैलीमा एउटा प्रयोग भइरहेको छ । यसमा एउटा प्रश्न चिह्न खडा भएको छ कि परिस्थिति यथावत रहन्छ वा परिवर्तन हुन्छ ।
विभिन्न मुलुकहरूको बीचमा सम्बन्धहरूको पुनर्समन्वय भइरहेको थियो, त्यसमा एकाएक रोकावट आएको छ । नयाँ खालका पुनर्समन्वयको प्रक्रियाहरू सुरु भइरहेको छ । त्यो पुनर्समन्वयको प्रक्रियाले नेपाललाई हित गर्छ वा अहित गर्छ त्यो हाम्रै खुबीमा भर पर्छ । परिवर्तनको बेला हुन लागेको समयमा हामीले राम्ररी खुबी देखाएर सम्हाल्न सक्यौँ भने मुलुकको हित हुने पक्का छ । यसैले यो समय खेर नफाल्नु नै अहिलेको मुख्य कुरा हो । यसैले समय खेर नजाओस् भन्नको लागि हाम्रो आन्तरिक विवादलाई चाँडै टुङ्ग्याउनुपर्छ ।
आन्तरिक विवाद के हो भन्दा एउटा नयाँ व्यवस्था मुलुकमा स्थापित गर्ने प्रक्रियामा एउटा संविधान बनायौँ । संविधान बनाउने प्रारम्भमै ठूलो गल्ति भयो । संविधानको आधार गणितलाई मानेर गल्ती गरियो । दुई तिहाई भन्दा बढी बहुमतले पास भएको संविधान भएको हुनाले यो संविधान दिगो छ । यो संविधानलाई सबैले स्वीकार गर्नुपर्छ भन्ने लाल मोहर लाग्यो ।
पद्म शमशेरदेखि अहिलेसम्म ६ ओटा संविधानको हामीले प्रयोग गरिसक्यौँ । पाँच ओटा संविधान मर्दाखेरि लेखनमा सामेल भएका व्यक्तिहरू पनि मलामी जान किन तयार भएनन् ? किन त्यो संविधान मर्यो भनेर कसैले आँशु चुहाएनन् ? जवाफ के हो भने त्यो संविधानको स्वामित्व जनताले लिएनन् । यसको अर्थ जुन संविधानको स्वामित्व जनताले लिँदैनन्, त्यो संविधान शतप्रतिशतले पास गर्नुभयो भने पनि बाँच्दैन । त्यसैले यो संविधान बचाउनुछ भने त्यसको स्वामित्व जनताले लिने अवस्था ल्याउनुपर्छ ।
जुन संविधानको निर्माण हुनु अघिदेखि आन्दोलन भइरहेको छ, समाजको एउटा समुदाय आन्दोलनमा असन्तुष्ट भइरहँदा, जसले भन्छ यो संविधानले मेरो सपना पूरा गर्दैन । मेरो आवश्यकता त्यसले पूरा गर्दैन । त्यसबाट म सन्तुष्ट छैन । त्यो समुदायलाई उपेक्षा गरेर दुईतिहाई भन्दा बढीको आधारमा त्यसलाई म पालन गर्न लगाउँछु भन्छ भने त्यो संविधान जन्मिनेबित्तिकै मर्छ ।
विवाद बढ्दै गएर अब संशोधन गर्ने भन्नुभएको छ, संशोधन गर्नुस् । तर संशोधन कसको लागि गर्न लाग्नुभएको छ ? तपाईँको आवश्यकताको लागि गर्न लाग्नुभएको अथवा संविधानको असन्तुष्ट पक्ष छ, त्यसको लागि गर्न लाग्नुभएको हो ? त्यो पक्षलाई सम्बोधन गर्नुस् । त्यसलाई उपेक्षा गरेर फेरि संशोधन गर्नुहुन्छ भने यो संविधान अल्पायुको हुन्छ । अल्पायुको बन्छ भन्नेमा मलाई आपत्ति छैन । चिन्ता त मलाई यो संविधान फेल भयो भने फेरि यो मुलुक प्रयोगशाला बन्छ ।
अहिले नेपालमा हरेक क्षेत्रमा भ्रष्टाचार बढेको छ । राजनीतिक भ्रष्टाचार बढेको छ । मैले यो राजनीतिक भ्रष्टाचार किन भनेको भन्दा संविधान केको निम्ति बन्यो ? यसका निर्माताहरुले सार्वजनिक रूपमा अभिव्यक्ति दिनुभएको छ । जिम्मेवार पदमा बसेकाहरूले बोल्नुभएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति, नेकपा एमालेलाई प्रधानमन्त्री, माओवादीलाई ठूलो भाग दिन्छु भनेर मिलाएर निकालेको संविधान हो ।
तीन ओटा दललाई मिलाउनको निम्ति बाँडचुँडमा भएको संविधान स्वतन्त्र जनताले स्वीकार्नुपर्ने आवश्यकता किन पर्यो ? यस्तो अवस्थामा संविधानको कुन धारा संशोधन गरेर सुधार गर्नुहुन्छ । यसैले यो त्रुटि राजनीतिक भ्रष्टाचारबाट भएको छ । राजनीतिक भ्रष्टाचारको आधार भनेको राजनीतिक संस्कारबाट राजनीति गर्नेभन्दा पनि हामीले नागरिक संस्कारबाट राजनीति सञ्चालन गर्यौँ । यसले अहिले एउटा परिस्थिती बन्यो संविधान संशोधनको । असन्तुष्टहरूको माग सम्बोधन गर्नुस् यसका लागि संविधान संशोधन गर्नुस्, परिमार्जन गर्नुस्, पुनरावलोकन गर्नुस् तर समय थोरै छ चाँडै गर्नुुस् । ताकि संविधानको स्वीकार्यता बढाउनुस् ।
अन्त्यमा, मैले के भन्न खोजेको हो भने विखण्डनको कुरा यहाँ धेरै भएका छन् । यो कुरा धेरै गर्नु उचित हुँँदैन । केही व्यक्तिको सत्ताको लिप्सालाई चित्त बुझाउनका लागि मुलुकको भविष्यसँग खेल्नु उचित हुँदैन । कति प्रतिशतले संविधान पारित गर्यो यसले कुनै अर्थ राख्दैन । अर्थ केमा राख्छ भने, जब त्यसको स्वीकार्यता आमजनताले लिन्छन् । जसको स्वामित्व आम जनताले भोग्छन् । जब त्यसले सबै वर्ग, समाज, नागरिकलाई चित्त बुझाउँछ । मेरो भविष्य यो संविधानका पालनामा हुन्छ भन्ने ठान्छ । जब संविधान सबैले पालन गर्नेपट्टि लाग्छन् र संविधान राष्ट्रका लागि लेखेको हो भन्ने ठान्छन् तब यो संविधान कार्यान्वयन हुने बाटोमा लाग्छ ।
(संविधान संशोधनका विषयमा आयोजित अन्तरक्रियामा राखेको धारणा)