site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्थानीय तह : अधिकार कार्यान्वयनका चरण

सरकारले स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन बुझेको छ । प्रतिवेदन ग्रहणसँगै अब स्थानीय निकायको चुनाव कि तहको भन्ने विवाद लगभग समाप्त भएको छ ।

प्रतिवेदनमाथि थप अध्ययनको आवश्यकता छैन । यसले विवाद निम्त्याउँछ । असहमति तथा विरोध एउटा विन्दुसम्म हुने हो । एउटै विषयमा सधैँ विरोध तथा आलोचना गर्नु प्रजातन्त्रिक अभ्यास पनि हैन ।

सरकारले अब विनाहिचकिचावट प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ ।  आयोगको सिफारिसका आधारमा स्थानीय तहको चुनाव यथाशीघ्र घोषणा गरिनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारको ध्यान अब प्रतिवेदन कार्यान्वयनसँगै स्थानीय तहको व्यवस्थापकीय पक्षमा सुधार गर्नेतर्फ जानु आवश्यक  छ । 
नयाँ संविधानले राज्यको मूल शासकीय स्वरूप संघ, प्रदेश र स्थानीय गरी तिन तहको हुने व्यवस्था गरेको छ । अधिकार प्रयोगका सन्दर्भमा संघलाई जे जति अधिकार संविधानले प्रदान गरेको छ त्यति नै अधिकार स्थानीय तहलाई पनि छ ।

स्थानीय तहलाई विधायिकी, कार्यकारी, न्यायिक, वित्तीय, प्रशासनिकलगायतका अधिकार उपलब्ध गराउने कुरामा कुनै कमी संविधानले गरेको छैन ।

Global Ime bank

स्थानीय निकायको अहिलेसम्मका गतिविधिका आधारमा अधिकारको अभ्यासका सन्र्दभमा स्थानीय तहप्रति पनि धेरै सन्देह व्यक्त गरिएका छन् । यसको कारण के हो भने स्थानीय निकायप्रतिको हाम्रो परम्परागत दृष्टिकोणमा परिवर्तन आएको छैन । 
निर्वाचित जनप्रतिनिधि नरहेको अवस्थामा स्थानीय निकायमा जानेगरेको साधन र स्रोतको सही सदुपयोग हुन नसकिरहेको अहिलेको अवस्थामा भोलि पनि यही चाल त होला नि भनेर सामान्यीकरण गर्ने वा धारणा बनाउने गरिएको छ ।

स्थानीय स्वायत्त शासन ऐनले दिएका राजस्वलगायतका सामान्य अधिकारसमेत अभ्यास गर्न नसक्ने स्थानीय तहले रूप फेर्दैमा तुरुन्त पूर्ण सेवा प्रवाह गर्छ भन्ने अपेक्षा गर्नु पनि मूर्खता हुन्छ । यो सम्भव पनि छैन । 
संविधानतः स्थानीय तह जनताप्रति उत्तरदायी, जबाफदेही र जिम्मेवार हुनुपर्छ  । अधिकार भएरमात्र हुँदैन, अधिकारको अभ्यास गर्ने स्वतन्त्रता पनि आवश्यक हुन्छ ।

जस्तैः सन् १९९३ मा भारतको संसद्ले सबै तहका पञ्चायतलाई वित्तीय स्वायत्तता दिने गरी संविधानमा ७४औँ संशोधन ग¥यो तर त्यसको अभ्यास अहिलेसम्म भएको छैन ।

अधिकार र स्वतन्त्रतामात्रै पर्याप्त हुँदैन । अधिकारको अभ्यास गर्न क्षमता पनि चाहिन्छ । त्यसकारण तिनलाई सशक्त वा क्षमतावान बनाउने जिम्मेवारी सरकारको हो ।

यसका लागि आवश्यक न्यूनतम स्रोतसाधन (आर्थिक तथा मानवीय) तथा ऐन, कानुनको ढाँचासमेत उपलब्ध गराउने दायित्व संघीय सरकारको हुन आउँछ ।

हुन त ऐन बनाउने अधिकार स्थानीय तहलाई नै छ तर प्रारम्भिक समयमा संघीय सरकारको सहयोग अपरिहार्य हुने देखिन्छ ।  
जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न स्थानीय तहको चुनाव पहिलो सर्त हो ।

स्थानीय तहका लागि संविधान प्रदत्त अधिकार एकैचोटि हस्तान्तरण गर्दा स्थानीय तहले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने हुनसक्छ । स्थानीय तहलाई अभ्यस्त पार्दै चरणबद्धरूपमा अधिकार हस्तान्तरण गर्दै लग्नु वाञ्छनीय हुन्छ ।

संविधानले बिस्तारै वा चरणबद्ध अभ्यासको कल्पना गरेको छैन । संविधानको कार्यान्वयन गर्ने हो भने सबै अधिकार एकसाथ स्थानीय तहमा जानुपर्छ ।

आवश्यकताअनुसारको कर्मचारीको व्यवस्थापन पनि नभएको र स्थानीय स्तरमा निर्वाचित जनप्रतिनिधि पनि नरहेको अवस्थामा सबै अधिकार एक्कैचोटि तल पठाउनु सानो तलाउमा पनि पौडी खेल्न नसक्नेलाई ठूलो तलाउमा पौडी खेल भन्नुसरह हो ।

यसका लागि समय तालिका बनाउनु आवश्यक हुन्छ । सबै अधिकार तीन चरणमा गरेर बढीमा ५ वर्षभित्रमा स्थानीय तहमा हस्तान्तरण गरिनुपर्छ ।

यसैगरी, केही महत्वपूर्ण सेवालाई आवश्यकताका आधारमा जिल्लाको दुईदेखि पाँच स्थानमा सेवा केन्द्र गठन गरी दीर्घकालमा ती सेवा केन्द्र मातहतमा रहेका स्थानीय तहलाई समग्र एउटै स्थानीय तह बनाउने किसिमले पनि सोच्नु आवश्यक छ ।

अतः कानुन निर्माण गर्दा यस कुरामा ध्यान पुर्याउनु उपयुक्त हुन्छ । 

पहिलो चरण – १ वर्ष
हालसम्म स्थानीय निकाय स्थानीय स्वायत्त शासन ऐन, २०५५ द्वारा सञ्चालित छन् । नेपालको संविधान, २०७२ को धारा ३०४ अनुसार नेपाल कानुन खारेज वा संशोधन नभएसम्म लागु रहन्छन् ।

तर, सबै कानुन संघीय संसद्को पहिलो अधिवेशन बसेको मितिले एक वर्षभित्रमा संसोधन गरिसक्नुपर्ने हुन्छ । स्थानीय स्वायत्त शासन ऐनको व्यवस्था पनि यही हो ।

यस व्यवस्थाअनुसार तात्कालिकरूपमा स्थानीय तह यसै ऐन वा ऐनमार्फत् बनेका नियमावलीका आधारमा सच्चालन हुनेछन् । स्थानीय स्वायत्त शासन ऐनअनुसारका केही आर्थिक र सामुदायिक सेवा तथा राजस्व अधिकारको प्रयोग स्थानीय तहले गर्नेछन् ।

सरकारले साबिककै विधिअनुसार स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्नेछ । गाविस सचिवहरू गाँउपालिकाका वडा सचिव हुनेछन् । नगरपालिकामा पनि यस्तै व्यवस्था हुनसक्छ ।

गाँउ पालिकाको ज्येष्ठ सचिवले अध्यक्षता तथा दैनिक प्रशासन सच्चालन गर्छ । नगरपालिकामा पनि ज्येष्ठ कार्यकारीले अध्यक्षता गर्नेछ । 
स्थानीय निकायको पुनर्संचना गर्दा सरकारले वडाबाट सेवा प्रवाह गराउने प्रतिबद्धता जनाएको छ ।

आयोगको प्रतिवेदन पनि त्यही अनुरूप छ । सरकारको प्रतिबद्धताअनुसार सरकारले छिटोभन्दा छिटो कर्मचारीको व्यवस्थापन गरिदिनुपर्छ । संविधानको धारा ३०२ अनुसार सरकारले कानुन बनाई यथाशीघ्र (बढीमा ६ महिनाभित्र) राष्ट्रसेवक कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्नुपर्छ ।

स्थानीय तह बनेको  ४ महिनाभित्रमा स्थानीय तहको चुनाव, स्थानीय स्वायत्त शासन ऐन र तत्सम्बन्धी नियमावलीको संशोधन वा पुर्नलेखन तथा पर्याप्त कर्मचारीको व्यवस्थापन हुनु आवश्यक छ । यी प्रारम्भिक चरणका काम हुन् । 

दोस्रो चरण – २—३ वर्ष
अन्य संघीय मुलुकसँग तुलना गर्दा नेपालको संविधानले स्थानीय तहलाई अलि बढी अधिकार प्रदान गरेको देखिन्छ । हुनत अधिकार हस्तान्तरणका सबालमा नेपालको स्थानीय स्वायत्त शासन ऐनलाई दक्षिण एसियाकै सबैभन्दा राम्रो ऐनका रुपमा लिइन्छ ।

तर, निर्वाचित जनप्रतिनिधि नहुनु, ऐनसँग अन्य विषयगत ऐन बाझिनु, राजनीतिक तरलता रहिरहनु, काम र दाम बढेअनुसार क्षमता वढ्न नसक्नुलगायतका कारण स्थानीय निकायले स्थानीय स्वायत्त शासन ऐनको प्रयोग राम्रोसँग गर्न नसकेको हो ।

यस्तो अवस्थामा संविधान प्रदत थप अधिकारको प्रयोगका लागि केही आधारभूत पूर्वाधार (चुनाव, ऐनको निर्माण, बजेट र कर्मचारी व्यवस्थापन) हुनु आवश्यक छ । पहिलो चरणमा यस्ता पूर्वाधार निर्माण भएपछि मात्र दोस्रो चरणमा प्रवेश गर्नुपर्ने हुन्छ ।

स्थानीय अदालत, प्रहरी, नापी, मालपोत, भाषा, संस्कृति, ललितकला, सहकारी, जलविद्युत् र कृषि, पशुजस्ता विषयगत सेवा दोस्रो चरणमा हस्तान्तरण गरिनुपर्छ । यी सबै सेवा अलि जटिल प्रकारका हुन् ।

कृषि, पशु, स्थानीय पूर्वाधारलगायतका विषयगत क्षेत्र आ.व. ०५९÷६० मा नै स्थानीय निकायलाई निक्षेपण गर्ने भनिए पनि वास्तमा ती कागजीरूपमा छन् । निक्षेपण सम्बन्धमा तलव हस्तान्तरण गनुबाहेक स्थानीय निकायले अन्य केही पनि गर्न सकेको छैन ।

कृषि, पशु, सिँचाइ, खानेपानी, सरसफाइजस्ता विषयगत सेवा पूर्णरूपमा स्थानीय तहमा हस्तान्तरण गर्नु पनि ठूलो उपलब्धि हो । यसैगरी, गाउँपालिका तथा नगरपालिकाबाटै घर तथा जग्गाधनी पूर्जा वितरणका लागि पनि समय चाहिन्छ ।

विषयगत मन्त्रालयले समेत यी अधिकार क्षेत्रको हस्तान्तरणपश्चात् यिनको प्रभावकारी सञ्चालन सम्बन्धी कानुन तर्जुमालगायतका काम गर्नुपर्ने हुन्छ । तसर्थ, यी सबै अधिकारको हस्तान्तरणका लागि दुईदेखि तीन वर्षको समयावधि आवश्यक हुन्छ । 

तेस्रो चरण – ५ वर्ष
शिक्षा र स्वास्थ्यजस्ता जटिल कार्यक्षेत्रको अधिकारसमेत संविधानले स्थानीय तहलाई प्रदान गरेको छ । माध्यमिक शिक्षासम्मको अधिकार संसारका कुनै पनि संघीय मुलुकका स्थानीय तहलाई दिइएको छैन ।

शिक्षा र स्वास्थ्यसम्बन्धी संविधान प्रदत अधिकारको वित्तीय स्रोत, नियमन तथा गुणस्तरलगायत सेवाको व्यवस्थापन र उत्पादन स्थानीय तहले त के प्रादेशिक सरकारले पनि गर्न सक्ने अवस्था छैन ।

अहिले त नेपाल सरकारले समेत प्राथमिक शिक्षा र स्वास्थ्यमा प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन ।  

जर्मनीजस्तो विकसित मुलुकले समेत प्राथमिक शिक्षाको अधिकार प्रदेशलाई दिएको छ । त्यहाँ आधारभूत स्वास्थ्यको अधिकार संघलाई छ । ब्राजिलमा आधारभूत शिक्षा र स्वास्थ्यको अधिकार साझा अधिकारका रूपमा प्रदेश र स्थानीय तहलाई छ ।

दक्षिण अफ्रिकामा शिक्षासम्बन्धी सम्पूर्ण अधिकार संघ र प्रदेशका लागि छ । दक्षिण अफ्रिकामा सामुदायिक सेवासँग सम्बन्धित सेवामात्र स्थानीय तहलाई प्रदान गरिएको छ ।

तर, नेपालका स्थानीय तहलाई सबै किसिमका अधिकार छन् ।  सम्पन्न मुलुकका स्थानीय तहले समेत प्राथमिक शिक्षा र स्वास्थ्यमा लगानी गर्नसकेका छैनन् भने नेपालजस्तो गरिब मुलुकका ८० प्रतिशतभन्दा बढी अनुदानमा निर्भर रहने स्थानीय तहले शिक्षा, स्वास्थ्यलगायतका अधिकारको प्रयोग कसरी गर्लान् ?

यसैगरी, शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा समेत राखिएको हुँदा यी अधिकार क्षेत्रको हस्तान्तरण सतर्कताका साथ गरिनुपर्छ । यस्तो अवस्थामा स्थानीय तह सक्षम भइसकेपछि ५ वर्षभित्रमा यी अधिकार हस्तान्तरण गर्ने गरी कार्य आरम्भ गर्नु उपयुक्त हुन्छ ।

यसैगरी, अन्य सेवा जस्तै सामाजिक सुरक्षा, बेरोजगार, अशक्त, एफएम सञ्चालन, अन्य विषयगत कार्यालयको भौतिक सम्पत्तिको स्वामित्व हस्तान्तरण सम्बन्धी अधिकार ५ वर्षभित्रमा हस्तान्तर गरिसकिने गरी कार्य आरम्भ गरिनुपर्छ । 

\"\"

अहिलेसम्मको विश्लेषणमा स्थानीय निकायको कार्यसम्पादनमा स्रोत र क्षमताभन्दा पनि कार्य संस्कृतिले बढी प्रभाव पारेको साधन स्रोतमा कमजोर मानिने स्थानीय निकायहरू सम्पन्न भनिने स्थानीय निकायभन्दा राम्रो नतिजा निकाल्न सक्षम देखिएका उदाहरणले पनि स्पष्ट भएको छ ।

तर, स्थानीय निकायको क्षमता र कार्यसम्पादनलाई समग्रतामा विश्लेषण गर्दा उपलब्ध मानवीय तथा आर्थिक स्रोतको उचित परिचालन गर्ने कुशल व्यवस्थापकीय क्षमताको अभाव प्रमुख देखिन्छ ।

यसले ती निकायको आन्तरिक सुशासनलाई कमजोर बनायो । स्थानीय निकाय कमजोर हुनुमा अवैज्ञानिक सांगठनिक ढाँचा, पुरातनवादी प्रशासनिक कार्यशैली, कमजोर मूल्याङ्कन प्रणाली प्रभावहीन अनुगमन व्यवस्थालाई जिम्मेवार मानिन्छ ।

यस्तो पृष्ठभूमिबाट गुज्रेका स्थानीय निकायको नाममा परिवर्तन हुनु र अधिकारलाई संविधानमा लेख्नुले मात्रै ढुक्क हुन सकिँदैन ।

अतः स्थानीय तहका सरकारले गर्ने शक्तिको अभ्यासमा संघीय व्यवस्थाको सफलता निर्भर हुने भएकाले विगतका सिकाइ र अन्य देशका अनुभवका आधारमा स्थानीय तहका संवैधानिक अधिकारलाई एकैचोटि कार्यान्वयन गर्दा झन् बेथीति वढ्ने र जनतामा निराशा वढ्न गई संघीयता र स्थानीय स्वायत्तताप्रतिनै वितृष्णा बढ्न सक्ने खतरा भएकोले अधिकारहरू क्रमशः कार्यान्वयन गर्दै जानु बुद्धिमानी हुनेछ ।  

devkotakl@gmail.com


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७३  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC