site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
प्रतिष्ठानमा उपकुलपति नियुक्ति: सबैको चासो किन ? 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्तमान उपकुलपतिको तोकिएको कार्यावधि आजबाट समाप्त भएकोे छ । उनको निरन्तरता कायम नभए उक्त पद अन्य प्रतिष्ठानमा झैँ केही सप्ताह वा केही महिनाको लागि रिक्त रहनेछ । रिक्त पदमा प्रक्रियागत रूपमा अन्य कोही उपकुलपति आउन केही समय लाग्ने भएकोले उपकुलपतिको निरन्तरता वा परिवर्तनको विषयलाई अहिले विभिन्न सञ्चारमाध्यमले बहसको विषय बनाएका छन् । केही सञ्चारमाध्यमले उपकुलपति पदमा वर्तमान उपकुलपति नै आसिन रहिरहनुपर्ने आशय व्यक्त गरिरहेका छन् भने केही सञ्चारमाध्यमले उनलाई दोश्रो पटक प्रतिष्ठानको कार्यभार जिम्मा दिन नमिल्ने तर्क अघि ल्याएका छन् । उनलाई प्रतिष्ठान विकासको क्षमतावान र साहसिक आधार भन्ने व्यक्तिहरूको कमी त छैन । तर, आरोप प्रमाणित हुन नसके पनि प्रतिष्ठानका विभिन्न मुद्दाहरूमा लान्छना खेपेका उनले आउने दिनहरूमा प्रतिष्ठानलाई उचित तवरले डोर्याउन नसक्ने धारणा राख्ने उनका केही विरोधीहरू पनि अवश्य छन् । आरोप खेपेरै भए पनि प्रतिष्ठान विकासका धेरै आधार तयार गरेर आफूलाई मजबुत बनाउन पनि उनी सफल भएका छन् । यिनै आरोप र प्रत्यारोपका कारण उपकुलपतिको निरन्तरता वा परिवर्तनको विषय बहसको विषय बनेको छ ।

उपकुलपति रिक्तताको पीडा
हुनत अन्य प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति पदहरूमा विभिन्न राजनीतिक प्रभावका कारण उपकुलपति नियुक्त नभइसकेको अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति समयमा नै नियुक्त होला भन्ने मेरो विश्वास गलत सावित हुने धेरै सम्भावना छ । कार्यकारी अधिकार सम्पन्न व्यक्ति समयमा नियुक्त नहँुदा समग्र विश्वविद्यालय वा प्रतिष्ठानमा नै प्रभाव पर्ने हुन्छ । यस विषयमा सम्बन्धित निकाय वा मन्त्रालयलाई ज्ञान नभएको अवश्य होइन । तर, राजनीतिक प्रभावका कारण उपकुलपति नियुक्त हुन नसक्नु निकै विडम्बनाको विषय हो । यसबाट विद्यार्थीको शैक्षिक क्रियाकलापमा पर्ने प्रभाव एकातिर छ भने समग्र विकासका कार्यहरू पनि ठप्प हुने हुँदा समग्र संस्थालाई नै हानि पुग्ने हुन्छ । उपकुलपतिको अभावमा नीतिगत निर्णयसमेत हुन नसक्ने भएकोले भावी योजनाहरूमा समेत नकारात्मक असर पुग्ने पक्कापक्की छ । अन्य विश्वविद्यालय वा प्रतिष्ठानजस्तै पूर्वाञ्चलको गहनाको रूपमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति रिक्तताको शिकार बन्नु नपरोस् । प्रतिष्ठान विकास, स्वास्थ्य सेवा प्रवाह र विद्यार्थीको शैक्षिक क्रियाकलापमा कुनै प्रभाव नपरोस् भन्ने ध्येय राखी समयमा नै उपकुलपति नियुक्तिमा स्वास्थ्य मन्त्रालयको पहलकदमी हुनेमा म विश्वस्त हुन चाहन्छु । तर राजनीतिक प्रभाव तथा उपकुलपति बन्न चाहनेहरूको तँछाडमछाडका कारण उत्पन्न हुने विवादबाट समयमा नै स्वास्थ्य मन्त्रीको संयोजकत्वमा गठित समितिमार्फत तीन सम्भावित उपकुलपतिहरूको नाम सिफारिस भई प्रधानमन्त्रीसमक्ष पुग्नेमा विश्वस्त हुने अवस्था भने छँदै छैन । प्रतिष्ठानहरूमा सहकुलपति एवम् स्वास्थ्यमन्त्री संयोजक हुने समिति वा स्वास्थ्य मन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने प्रावधान रहेको छ । युवा तथा ऊर्जावान मन्त्री गगनकुमार थापा स्वास्थ्यमन्त्री भएको र उनले उपकुलपति रिक्तताको सम्वेदनशीलता अनुभूति गर्न सक्ने भएकोले समयमा नै उपकुलपति नियुक्त गर्ने विषयमा सकारात्मक कदम मन्त्री थापाले चाल्नेछन्, मेरो विश्वास छ । प्रतिष्ठानमा मात्र होइन, कुनै पनि विश्वविद्यालय वा प्रतिष्ठानमा उपकुलपतिको रिक्तताले विकासमा नकारात्मक प्रभाव पार्ने भएकोले समयमा नै उपकुलपति नियुक्त गर्ने प्रथा बसाल्नु जरुरी छ ।

वर्तमान उपकुलपतिलाई आरोप
वर्तमान उपकुलपतिले आफ्नो ५ वर्षे कार्यकाल लगभग सफलतापूर्वक पूरा गरेका छन् । यसबीच उनले निकै आरोप खेप्नुपरेको छ । प्रतिष्ठानको आर्थिक हिनामिना, भौतिक पूर्वाधार निर्माण, ठेक्कापट्टा, विद्यार्थी भर्ना तथा कर्मचारी नियुक्तिलगायत विषयमा आर्थिक चलखेल गरेको आरोप उनीमाथि सधैं लागिरहे । करिब ३ वर्ष अधि एमबीबीएस भर्ना तथा पटक पटक उच्चशिक्षामा हुने विद्यार्थी भर्नामा पनि उपकुलपतिले अकुत सम्पत्ति आर्जन गरेको उनीमाथि आरोप छ । उनका विपक्षीहरू यस विषयलाई निकै प्राथमिकताका साथ उठाएर कमजोर पार्न प्रयत्नरत रहन्छन् तर उनलाई लगाइएको आरोपहरूको ठोस आधार नपाइएकोले कानुनी रूपमा उनको आरोप फितलो देखिएको छ । विभिन्न पत्रपत्रिकामा समेत यस्ता आरोपहरूले प्रथम पृष्ठमा स्थान पाएकै हो । पछिल्लो पटक एमडीएमएसमा तीन विद्यार्थीको भर्नाको विषय निकै विवादित भयो र मन्त्रालयले पत्राचारमार्फत विद्यार्थी भर्ना नगर्न आदेश दियो । तर, उक्त आदेश प्रतिष्ठानको ऐन विपरित भएकोले न्यायिक निकायले ती विद्यार्थी भर्नाको बाटो खोलिदियो । प्रतिष्ठान एक स्वायत्त निकाय भएकोले विद्यार्थी भर्नाको अधिकार प्रतिष्ठानमा नै निहित भएकोले न्यायिक निकायले त्यस्तो बाटो खोलिदिए पनि क्षमतावान विद्यार्थी प्रतिस्पर्धात्मक रूपमा आएको भए विवाद नै नहुने धेरैको बुझाइ थियो । आरोप सिद्ध हुन नसकेकोले उनले आफ्नो ५ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न लागेको उनका समर्थकहरूको धारणा रहेको छ । आरोपको यथार्थता प्रमाणित हुन नसक्दा ती सबै आरोपको कुनै कानुनी आधार नरहेको देखिन्छ, तर पनि उनले गरेका विद्यार्थी भर्नालगायतका विषय व्यवहारिक नभएको धेरैको बुझाइ छ । यावत् विषयलाई ध्यान दिँदै विवादमुक्त रहने गरी नयाँ आउने उपकुलपतिले कार्य गर्नुपर्ने हुन्छ ।

Agni Group

केके काम गरे वर्तमान उपकुलपतिले ?
वर्तमान उपकुलपति दासलाई एकातिर आरोप पनि लागेको छ भने अर्कोतिर उनी व्यवहारिक, दृढ र प्रतिष्ठान विकासका लागि आवश्यक नीतिका लागि बोल्ड निर्णय गर्ने क्षमता भएको व्यक्तिको रूपमा परिचित छन् । उनका गलत पक्षलाई बिर्सने हो भने निर्णायक र चातुर्यताका हिसाबले प्रतिष्ठान विकासका लागि उनले गरेको योगदान प्रसंशनीय नै छ । उनले आफ्नो कार्यकालमा अस्पताल निर्देशक अरविन्दकुमार सिन्हाको सहयोगमा अस्पतालको स्तरोन्नति तथा शिक्षाध्यक्ष विक्रमप्रसाद श्रेष्ठको सहयोगमा शैक्षिक विकासमा निकै फड्को मारेको धेरैको बुझाइ छ । हुन त प्रतिष्ठानमा अझै बेथितिको कमी छैन तर विगतको तुलनामा सेवा तथा शैक्षिक क्षेत्रमा धेरै विकास भएको भन्न कसैलाई कुनै संकोच हुने छैन । उनको कार्यकालमा अस्पतालतर्फ न्युरो सर्जरी, कार्डियोथोरासिक सर्जरी तथा मुटु रोगका अन्य सेवा, रिह्याबिलिटेशन सेन्टरको विस्तार भएको छ । अस्पतालमा सेवाग्राहीले सहज सेवा उपलब्ध गराउन आवश्यक सेवा सहजताका कार्यमा समेत उनले स्वयम्सेवकको व्यवस्थादेखि समयमा रिपोर्ट दिने प्रथाको पनि सुरुवात गरेका थिए । बच्चा विभागको आकस्मिक कक्ष एवम् बेडको विस्तार, स्त्री तथा प्रसूति विभागमा समेत सेवा विस्तार गरेको देखिन्छ । उनले बनाएको योजनाअनुरूप सरकारको सहयोगमा न्युरो सेन्टर तथा प्रसूति भवनको निर्माण कार्य प्रारम्भ भएको छ । यी सबै अस्पतालीय कार्यमा अस्पताल निर्देशकको सहयोगी भूमिका रहेको छ । एमबीबीएस अध्ययन भवन तथा अत्याधुनिक अतिथि भवनको समेत उनले आफ्नो कार्यकालमा निर्माण सम्पन्न गराएर आफ्नो क्षमताको पहिचान दिइसकेका छन् । विद्यार्थी कल्याण समाजलाई थप आधिकारिक बनाउन निर्वाचनमार्फत समाजको कार्यसमिति गठन गराएकाले धेरै विद्यार्थीले उनलाई विद्यार्थीको उपकुलपतिका रूपमा स्थापित समेत गराउन सफल भएको देखिन्छ । उनकै कार्यकालमा उच्च शिक्षाहरू डीएम तथा एमसीएचको अध्ययन कार्यक्रम पनि सञ्चालनमा ल्याएको श्रेय उनलाई नै जान्छ । पछिल्लो समयमा त वर्तमान उपकुलपतिले प्रतिष्ठानलाई एसियाकै ठूलो अस्पतालको रूपमा बनाउन सकिने विचारसमेत राखेका छन् । अब पदासिन हुने उपकुलपतिले समेत यी सबै विषयलाई सफलताका साथ अगाडि आउने विचार बनाउनु जरुरी छ ।

\"\"
 को को हुन सक्छन् प्रतिष्ठानबाटै उपकुलपतिको होडमा ?
प्रतिष्ठान मोफसलमा रहेको एक पृथक संस्थाका रूपमा स्थान बनाउन सफल रहेको छ । गुणस्तरीय स्वास्थ्यकर्मी उत्पादनमा यसले विगतमा खेलेको भूमिकाका अगाडि सबै नतमस्तक हुने नै छन् । आवासीय अवधारणामा आधारित भएकोले यहाँका चिकित्सक, कर्मचारी अन्यत्र काम गर्न नपाउने प्रवधान छ । अन्य संस्थाको तुलनामा यो पृथक र निकै जिम्मेवारपूर्ण संस्थाको रूपमा स्थपित छ । केही समस्या यथावत् रहे पनि यसको मौलिकता भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) समान छ र उपचार पद्धति पनि त्यहीको अवधारणामा स्थापित छ । मोफसल बाहिर रहेको र आवासीय अवधारणामा कर्मचारी चिकित्सक कार्य गरिरहेकोले प्रतिष्ठानका चिकित्सक, कर्मचारीलाई पनि विभिन्न अवसर दिनु सरकारको जिम्मेवारी हो । अन्यथा मोफसलमा कार्य गर्ने आत्मबल सबैमा कम हुँदै जाने र सबै काठमाडौं केन्द्रित हुने होडबाजी चल्ने मेरो बुझाइ छ । सरकारले यसतर्फ अवश्य ध्यान दिने धेरैको बुझाइ छ । यसैलाई आधार मानेर प्रतिष्ठानबाटै धेरै जना उपकुलपति बन्ने होडमा छन् । राजनीतिक र वरिष्ठताका आधारमा प्राध्यापक सीएस अग्रवाल, प्राध्यापक आरके रौनियार, प्राध्यापक प्रल्हाद कार्कीले प्रतिष्ठानको उपकुलपतिको लागि आफ्नो दाबेदारी पेश गर्ने सम्भावना छ । शिक्षण पेशा तथा चिकित्सकीय पेशामा अब्बल मानिन्छन् । तर, प्रतिष्ठानमा मात्र वरिष्ठताको आधारमा उपकुलपति चयन हुने छैनन् किनकि प्रतिष्ठानमा यस सिद्धान्तलाई गलत भन्ने धेरै छन् भने भन्त्री थापा पनि मात्र वरिष्ठताको विरोधी विचार राख्ने गर्छन् । 
प्रतिष्ठानभित्र नै क्षमता, अनुभव र दक्षताको कदर गरिनुपर्ने भावना ओतप्रोत छ । त्यसैले वरिष्ठ प्राध्यापकहरूले उपकुलपति बन्न स्वास्थ्य मन्त्रीलाई रिझाउनु आवश्यक छ । महिला भएको र यसअघि नै कार्यवाहक उपकुलपतिको पद सम्हालिसकेकी पूर्व शिक्षाध्यक्ष प्राध्यापक रूपा राजभण्डारी सिंह पनि उपकुलपतिको प्रवल दाबेदारका रूपमा हुन सक्छिन् । वर्तमान अस्पताल निर्देशक प्राध्यापक अरविन्द कुमार सिन्हाले अस्पतालीय विकास र विस्तारमा निकै योगदान गरेको र सफलतापूर्वक अस्पताल सञ्चालन गरेर आफ्नो उपकुलपति बन्ने क्षमता देखाइसकेकाले उनी पनि उपकुलपतिको दावेदारीबाट पछि नहट्ने देखिन्छ । उनी पनि प्रवल दाबेदारमध्ये एक हुन सक्छन् । प्रशानिक कार्य अनुभव बटुल्न अझै बाँकी रहेता पनि आफ्नो इमान्दारिता र समाजसेवकको छवि अगाडि बढाएर वर्तमान शिक्षाध्यक्ष पनि उपकुलपतिमा जोड दिने मुडमा पक्कै होलान् । तर, उनले वर्तमान उपकुलति नै निरन्तरता दिएमा आफ्नो मौन समर्थन गरिरहने आकलन गर्न सकिन्छ । प्रतिष्ठानको उपकुलपति पदको लागि यिनै नयाँ अनुहारको दावेदारी पेश हुने देखिएता पनि आफूले गरेको कार्यहरूको पूर्णता र प्रतिष्ठान विकासका लागि प्रतिष्ठानका विद्यार्थी, चिकित्सक एवम् कर्मचारीको सहयोगबाट थप जिम्मेवारी वहन गर्न वर्तमान उपकुलपति आफ्नो कुर्सी बचाउन हर प्रयत्न गर्ने नै छन् । वर्तमान उपकुलपति पनि दोश्रो कार्यकालमार्फत आफ्नो वर्तमान अपूरो कार्यहरू तथा भावि योजना पूरा गर्न इच्छुक देखिएकोले उनको निरन्तरता वा नयाँ अनुहारका साथ उपकुलपति भन्ने विषय नै यो लेखको मूल विषय हो ।

Global Ime bank

असहज हुन सक्छ बाहिरको उपकुलपतिलाई
उपकुलपति दास हुनुपूर्व प्रतिष्ठान बाहिरका एक सफल प्रशासकका रूपमा स्थापित विद्धान प्राध्यापक पूर्णचन्द्र कर्माचार्यले प्रतिष्ठानको उपकुलपति पदमा आफ्नो पूर्ण कार्यकाल पूरा गरे पनि विभिन्न आन्तरिक विरोध र राजनीतिक अवरोधका कारण प्रतिष्ठान विकासका कार्यहरू प्रभावकारी रूपमा गर्न नसकेको विषय मसँग हुने विभिन्न फोन संवादमा उनी आफैँ स्वीकार गर्ने गर्छन् । प्रतिष्ठान बाहिरको उपकुलपति आएमा प्रतिष्ठानलाई बुझ्न र आफू अनुकूल वातावरण बनाउन धेरै वर्ष लाग्ने भएकोले सुरुका केही वर्ष प्रतिष्ठान विकासमा अवरोध खडा हुने निश्चित प्राय छ । वाहिरका उपकुलपतिलाई आन्तरिक सहयोग समेत प्राप्त नहुने भएकोले कार्यकाल सफल नहुने प्रक्षेपण गर्न सकिन्छ । तर, एक जुझारु र सबै चिकित्सक कर्मचारीको मनमा बसेका राष्ट्रिय छविका व्यक्तित्व आएमात्र बाहिरको व्यक्ति उपकुलपतिको रूपमा प्रतिष्ठान विकासका लािग उपयुक्त हुने मेरो बुझाइ छ, नभए प्रतिष्ठानको इतिहास साक्षी छ ।

के चाहन्छन् सरोकारवाला ?
प्रतिष्ठानसँग सरोकार राख्ने सबै प्रतिष्ठान विकास एवम् विस्तार नै चाहन्छन् । प्रतिष्ठानमा उपकुलपति जो आए पनि विद्यार्थीको पठनपाठन गुणस्तरीय हुनुपर्ने र शैक्षिक तालिम तथा परीक्षा प्रणाली चुस्त–दुरुस्त हुनुपर्ने सबै विद्यार्थीको चाहना रहेको छ । विद्यार्थीको चाहनामा बेथितिमा रहेको शैक्षिक तालिका तथा शिक्षाको गुणस्तरमा आएको सुधार तथा विद्यार्थी कल्याण समाजको ठोस स्थापनामार्फत प्रतिष्ठानको विकासमा विद्यार्थीको सहभागिता बढाउन भूमिका निर्वाह गर्ने उपकुलपति एवम् वर्तमान पदाधिकारी मध्येबाट नै कोही उपकुलपति बनोस् भन्ने चाहन्छन् । चिकित्सक एवम् कर्मचारीहरूले प्रतिष्ठानको समग्र विकास चाहे पनि पक्ष र विपक्षमा उभिने गरेको देखिएको छ । तसर्थ, कर्मचारीहरूको बाहुल्यताको विचारको कदर उपकुलपति चयनमा गरिनु प्रतिष्ठानका लागि उपयुक्त हुनेछ । अन्यथा विरोधपूर्ण ५ वर्षे कार्यकाल बिताउन उपकुलपति बाध्य हुनु पर्नेछ ।

पैसा चलखेलको मेला
हुनत मसँग कुनै प्रमाण छैन तर उपकुलपति चयनमा पैसाको चलखेल भएन वा अव हुँदैन भनेर भन्न पनि सक्दिनँ । उपकुलपति चयनमा पैसाको चलखेल विचौलियाहरूमार्फत हुन सक्ने धेरै सम्भावना छ । उपकुलपति चयनका लागि राजनीतिक आधार तय हुन नसके करोडौंको चलखेल हुन सक्ने सम्भावना नकार्न मिल्दैन । युवा मन्त्री गगनकुमार थापाकै संयोजकतामा गठित समितिमार्फत सिफारिस भएका व्यक्तिहरू मध्येबाट नै उपकुलपति चयन हुने भएकोले पैसाको चलखेल निरुत्साहित पार्न मन्त्री स्वयम्ले जिम्मेवारी बहन गर्नेमा म पूर्ण विश्वस्त छु । उनको राजनीतिक भविष्य यथावत् भएकोले यस्ता क्रियाकलापमा उनी संलग्न नहुने धेरैले विश्वास गरेका छन् । उनको नेतृत्वमा पैसाको चलखेल बिनाको व्यक्ति सिफारिस गर्नु उपयुक्त हुनेछ । अन्यथा नियुक्त उपकुलपतिको पैसै कमाउनमा आफ्नो ५ वर्षे कार्यकाल बित्ने निश्चित प्राय छ । 

उपयुक्त समाधान के ?
प्रतिष्ठानको ऐनसँग नबाझिने गरी लोकतान्त्रिक आधारमा बहुमत चिकित्सक, कर्मचारी एवम् विद्यार्थीको भावनाको कदर गर्दै मोफसल बाहिर रहेकोले प्रतिष्ठानमै कार्यरत दक्ष, सक्षम, इमान्दार, कार्य अनुभव भएको र प्रतिष्ठान विकासका कार्यहरूमा ठोस निर्णय गर्ने क्षमता भएको प्राध्यापकहरू मध्येबाट नै उपकुलपति चयन गर्नु नै उत्तम विकल्प हुनेछ । मात्र वरिष्ठता वा मात्र दक्षता आधार बनाएर उपकुलपति चयन गर्नु प्रतिष्ठानका लागि उपयुक्त हुने छैन । वर्तमान उपकुलपतिको एजेन्डाहरू अपुरो रहेकोले अधुरा कार्य पूरा गर्न तथा थप योजना मार्फत प्रतिष्ठानमा सेवा दिँदा प्रतिष्ठानलाई फाइदा पुग्ने विश्लेषण भएमा र उनको कार्यशैली उपयुक्त प्रमाण पर्याप्त भएमा तथा उपकुलपति पद रिक्त नपारी प्रतिष्ठानको निरन्तर सञ्चालनका लागि हालकै उपकुलपतिको दाबेदारीको बाटो खुल्ला राख्नु पनि जरुरी छ भने सबैको भावनाको कदर गर्ने राष्ट्रिय व्यक्तिको रूपमा स्थापित प्राध्यापक बाहिरबाट आएर प्रतिष्ठान सञ्चालनको जिम्मा लिने विकल्प पनि पछ्याउनु गलत हुन सक्नेछ । तर जे भए पनि राजनीतिक हस्तक्षेप बिना नै उपकुलपति चयन भएमात्र प्रतिष्ठानको विकास हुनेछ । अन्यथा राजनीतिक झण्डाको आधारमा चयन भएका व्यक्तिले प्रतिष्ठान विकासमा भन्दा पार्टी विकासमा जोड दिने पक्कापक्की छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र होइन, अन्य प्रतिष्ठानमा यिनै विषयका आधारमा लोकतान्त्रिक मान्यताका आधारमा उपकुलपति चयन गर्नु आवश्यक छ । युवा मन्त्री गगनकुमार थापाले यी यावत् विषयको सही विश्लेषणमार्फत उपकुलपति चयन गर्नु आजको आवश्यकता हो ।
(डा. शाह झापाको दमकस्थित निम्स नेशनल अस्पतालमा कार्यरत छन्)        
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २०, २०७३  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC