site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सम्झनामा कमल दीक्षित 

श्रद्धेय कमल दीक्षितको निधनको समाचार साँच्चै नै अप्रत्याशित थियो । आफू बिरामी भएकाले पो हो कि नरमाइलो पनि बढी नै लाग्यो । नेपाली भाषा, साहित्यले नै अभिभावक गुमाएजस्तो लागिरह्यो । उनीसँग दोहोरो परिचय पनि थिएन भने हुन्छ । मेरो नाम कतै सम्झे पनि अनुहार सम्झने गरेर संगत भएको थिएन । तैपनि, बालककालदेखि नै कमल दीक्षित चिनेको नाम थियो । सम्झनाका सन्दर्भहरू लेख्न मन लाग्यो । कमल दीक्षितका योगदान र व्यक्तित्वका बारेमा मात्र हैन उनीसँगका अन्तरंग सम्बन्धमा विषयमा पनि अब केही समय थुप्रै जनाले पक्कै लेख्नेछन् । उनले गुन लगाएकाहरूले कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो यो । 

मैले उनको नाम पहिले पढेको र धेरैपछि सुनेको हो । अझ पहिले त क.दी. का टिप्पणी र निबन्धात्मक शैलीका भूमिकाबाट उनको विम्ब मनमा बसेको हुनुपर्छ । स्नातकसम्म स्वाध्यायन भएकाले कमल दीक्षितले लेखेका भूमिका, विभिन्न पुस्तकका सम्पादकीयलगायत उनका फाटफुट रचना पढेको हो ।  उनको लेखनशैली मन पर्थ्यो । म जनकलाल शर्मा र कमल दीक्षितका नामबाट छापिएका रचना पाएसम्म पढ्थेँ । 
नेपालीमा स्नातकोत्तर पढ्नका लागि कीर्तिपुर क्याम्पसमा भर्ना भएपछि बिस्तारै कमलमणि दीक्षितको नाम सुन्न थालेँ, कमलमणि आचार्य दीक्षित त झन् धेरैपछि । 

पञ्चायतको कट्टरता चर्मराउन थालेको थियो तर कीर्तिपुरले त्यसको गन्ध पाएजस्तो थिएन । विद्यार्थीहरू धेरै पञ्चायतकै समर्थकजस्ता देखिन्थे । गणेशमान सिंहको उपचारका लागि चन्दा उठाउने प्रयास गर्दा हाम्रै कक्षाका पनि साथीहरूबीच समर्थक र विरोधी देखिए । त्यसले पछल्ला बहसहरूमा पनि मतभेदको बाटो फराकिलो बनाएको थियो । यस्तैमा एक दिन कमल दीक्षितका बारेमा चर्कै बहस भएको सम्झना छ । नेविसंघकै पनि केही अतिवादीहरू कमल दीक्षित पञ्चायती शासकका समर्थक हुन् भन्थे ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेको नेकपा (एमाले) उति बेलाको माले समर्थक अखिल समर्थकहरू बुर्जुवा, सामन्ती र प्रगतिशील विरोधी ठान्थे कमल दीक्षितलाई । यस्तैमा कुनै दिन कृष्णप्रसाद भट्टराई बढो आदरसाथ नाम लिएका थिए हामीहरूका माझमा कमल दीक्षितको - "कमलबाबु" भनेर । (अब म पनि यी दुवै मनीषिप्रति सम्मान प्रकट गर्दै कमलबाबु नै लेख्छु ।)  कामका आधारमा मूल्यांकन गरेर कमलबाबुको योगदानको सराहना गर्नुपर्छ भन्ने पक्षमा हामी केही भएका थियौँ । 

पहिलो सेमेस्टरपछि राष्ट्रिय विकास सेवामा जानुपर्थ्यो । राविसेका लागि तालिम दिइन्थ्यो । करिब डेढ महिना लामो तालिमका क्रममा सहिद दिवस र क्याप्टेन यज्ञबहादुर थापा तथा भीमप्रसाद श्रेष्ठलाई फाँसी दिइएको घटनामा विद्यार्थीहरू थप विभाजित भएका थिए । माघ १६ गते सहिद दिवस मनाउँदै गर्दा केही विद्यार्थीले त तालिम सुपरीवेक्षक कपील श्रेष्ठलाईसमेत धम्क्याएका अझै सम्झन्छु । क्याप्टेन थापा र श्रेष्ठलाई मृत्युदण्ड दिइएको समाचारपछि हामीले छाक छाड्ने निर्णय गर्यौं । शिक्षा सहायक मन्त्री हीरालाल विश्वकर्मा भाषण दिन आएका थिए । त्यति बेला गोदावरीको तालिक सकेर स्काउट ट्रेनिङमा थियौँ । बिहान मासु नदिने बार भए पनि हामीलाई लोभ्याउन मासु दिने भनियो । एक जनाले मन बदलेका थिए । पछि थाहा भयो ती त छैटौँ अखिल रहेछन् तर हाम्रो जमातमा ओत लागेका । 

Global Ime bank

अनि विद्यार्थी आन्दोलन भयो । हामी गाउँमा थियौँ । राविसेबाट बीचैमा फिर्ता बोलाइए पनि जनमत संग्रहभर खासै पढाइ पनि भएन । राविसेबाट फर्केपछि म काठमाडौं अलि ढिलो आएँ । पहिलेका अधिकांश मण्डले त अखिल पाँचौँ पो भएछन् । सहिद दिवस मनाउनुपर्छ भन्यो भनेर चर्पीमा समेत मलाई सुनाएर धम्क्याउनेहरूको क्रान्तिकारी भाषण दिनहुँ सुन्नुपर्ने भयो । त्यही समूहका साथीहरू त थिए चर्को स्वरमा कमलबाबुको विरोध गर्ने । यसैले पनि मेरा मनमा उनी असल मानिस हुनुपर्छ भन्ने परेको थियो । 
त्यसपछि पढाइसकियो । म बन्दिपुरमा पढाउन गए । एक वर्ष पढाएपछि प्रशासनको असहयोगका कारण हामी क्याम्पस छाड्न बाध्य भयौँ । अनि २०३९ सालमा नेपाली कांग्रेस (प्रतिबन्धित) को उमेदवारका रूपमा म चुनाव लडेँ । कमलबाबुसँगको एउटा छोटो तर रमाइलो सम्झना छ त्यतिबेलाको ।

जिल्ला पञ्चायतको आयोजनामा भानु जयन्ती मनाउने चलन थियो । काठमाडौंबाट नामुद साहित्यकारहरू असार २८ गते साँझ वास बस्न पुग्थे । असार २९ को बिहान प्रभातफेरीमा रम्घा गाउँ जाने चलन थियो । वर्षायामको बाटो त यसै नराम्रो हुने नै भयो चुँदीमा पुल थिएन । निकै कष्ट सहनुपर्थ्यो । चुँदेलीहरू अधिकांश कांग्रेस समर्थक । यसैले पञ्चहरूले भानुभक्त पनि कांग्रेसै पो हुन् कि भने झैँ गर्थे । त्यस वर्ष २०३९ कै हुनुपर्छ भानु जयन्तीलाई पहिलेभन्दा बढी नै रकम विनियोजन गरेको थियो जिल्ला पञ्चायतले । सामान्य खातिरदारीका लागि राम्रै पुग्ने थियो बजेट । साहित्यकारहरूको ठूलै समूह पुग्यो सेपा बगैँचा ।

जसोतसो पार भए चुँदी । रातिको खाना खाने बेला नहुँदै अतिथिहरूसँग परिचय भयो । गुरु वासुदेव त्रिपाठी पनि थिए । उनको त घरै उहीँ । मेरो थप परिचय दिँदै त्रिपाठी सरले बन्दिपुरमा पढाएपछि चुनावमा होमिएको तर पढाइदिएको भए हुन्थ्यो भन्ने आशय व्यक्त गरे । स्थानीयको हुलमा थिए उदयराज गौली । उनी बन्दिपुर क्याम्पसमा हामी हुँदा विद्यार्थी थिए । अलि ठट्यौलो स्वाभावका उनले परिचय दिँदै गुरुकै बाटामा लागेर चुनाव लडेको र गुरु उपसभापति आफू उपप्रधानपञ्च भएको बताए । सुन्ने बित्तिकै प्रत्युत्पन्नमति कमलबाबुले भनिहाले - गुरु चेला दोनो नरकमे ठेलमठेला । सबै गलल्ल हाँसे । हामीलाई पनि नराम्रो लागेन । खुब हास्यौँ । पञ्चहरू पनि थिए । उनीहरूले त्यति बेला त प्रतिवाद गरेनन् । तर, दमौली पुगेपछि भने पञ्चायतलाई नरक भन्दा पनि प्रतिवाद नगरेको भन्दै मेरो र नरक भन्ने कमलबाबुको जमेर आलोचना गरे । प्रमुख जिल्ला अधिकारी थिए माधवदास श्रेष्ठ । पञ्चहरूभन्दा धेरै गुना कट्टर पञ्च । उनले त कुन्नी कता कता जाहेरै गरे रे ! तर, काठमाडौंले खासै वास्ता गरेन क्यारे । त्यसै हरायो ।     

म राजनीति छाडेर काठमाडौँ आएँ । दुःखजिलो गर्न थालेँ । यसबीच पुनर्जागरणमा साप्ताहिक व्यंग्य लेख्थेँ - डा. एजीका नाममा । मेरो गाउँतिर बोलिने  बोली र शब्दहरू पनि प्रयोग गरे । विषयका साथै शैलीले पनि रोचक भएको थियो त्यो स्तम्भ । कमलबाबुले सम्पादक माथवरसिंह बस्नेतसँग त्यसका प्रयोग भएका भाषा र शैलीप्रति चासो राखेर प्रशंसा गरेका थिए रे । कमल दीक्षितले पनि मैले लेखेको मन पराएको सुन्दा छाती नाङ्लोजत्रो भएको अहिले पनि सम्झन्छु ।  

नेपाल प्रज्ञा प्रतिष्ठानमा  उपकुलपतिलगायत प्राज्ञहरूको चयन हुँदै थियो । मलाई कमलबाबु र डा. डीपी भण्डारीलाई प्रज्ञाप्रतिष्ठानमा लानुपर्छ भन्ने लाग्यो । नेपाली कांग्रेसको सरकार थियो । उति बेला धेरै मन्त्री चिनजानकै हुन्थे । मैले 'लबी' पनि गरेँ । हिमालय टाइम्समा काम गर्थेँ । लेखेँ पनि । प्रज्ञा प्रतिष्ठानले त्यो गरिमा गुमायो । नभएपछि त्यही लेखेँ । डा. भण्डारीलाई मन परेछ । घरमा फोन गरेर मेरी पत्नीलाई समेत पढ्यौ नानी भनेर सोधे रे ! कति निश्छल छन् डा. भण्डारी ! कमलबाबुको प्रतिक्रिया थाहा भएन । सायद, आफैँमा प्रज्ञा प्रतिष्ठानजस्तै संस्था भइसकेका कमलबाबुलाई खासै मोह थिएन । तर, मलाई अहिले पनि डा. भण्डारी र कमलबाबुको सम्मान नगरेर राज्यले आफूलाई बैगुनी सिद्ध गरेजस्तै लाग्छ ।   

म कान्तिपुर गएपछि शैली पुस्तिका निर्माण गर्न अह्राइयो । आफू पत्रकारिता नपढेको र पेट पाल्नीका लागि पत्रकार भएको मान्छे । भालुको कन्पट हुने पो हो कि जस्तो पनि लाग्यो । पुराना शैली पुस्तिका हेरेँ पटक्कै चित्त बुझेन । सानो समूह बनाइएको थियो । नागरिक दैनिकका हालका सम्पादक गुणराज लुइटेल पनि टिममा थिए । छलफल गर्दागर्दै एक पटक कमल दीक्षितलाई भेटेर सल्लाह गर्ने निधो गरेर हामी पाटन ढोका पुग्यौँ । कमलबाबु अत्यन्त सहजतापूर्वक प्रस्तुत भए । केही लेख समाचारको भाषाको बान्कीका बारेमा टिप्पणी पनि गरे। र, अन्त्यमा भने अहिले कान्तिपुर (२०५६) सबैको अगुवा छ । यसैले कान्तिपुरमा जे लेख्यो त्यही मानक हुन्छ । निर्धक्कसँग अहिले चलाएकै शैलीलाई मानक बनाउनुस् । मलाई ठूलै संकटबाट मुक्ति पाएजस्तो भयो । लगत्तै त्यहीको भाषा र शैलीलाई समेटेर कान्तिपुरको शैली पुस्तिका बनाइयो । 

कमलबाबुसँगका सम्झनामा आफ्नै कुरा धेरै आए । स्वाभाविकै हो । मैले लेख्ने पनि त आफूसँग सम्बन्धित र आफूले थाहा पाएकै कुरा न हो ।   
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७३  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC