site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घरभेटीका थरी थरीका हुर्मत 

ढक् ढक् ढक्...

‘ला ! घरबेटी बा आए !’

ढोकाले होइन, मुटुले ठाउँ छोड्लाजस्तो भयो !

Prabhu Bank
Agni Group
NIC Asia

‘आज पनि ल्याउनुभएन होइन पैसा ? ऊ तपाईंको बाउ आए, अब के भनेर पठाउने हो, आफैं पठाउनू ?’ श्रीमतीले ओढ्नेले मुख छोपिन् ।

छोरी पनि पिलपिलाउँदो मुख पारेर भन्न थाली, ‘बाहिर को आ’को बाबा ?’

Global Ime bank

अवाक् भएँ म !

‘महिना मरेको दश दिन भइसक्यो । हप्ता दिनसम्म त ‘सात गते तलब आउँछ, अनि भाडा बुझाउँछु’ भन्दै टारेको थिएँ । अब त भाका सार्ने बहाना पनि सकियो । अफिसले तलब दिएको होइन !’ 

ओठतालु सुक्यो । भेट्टाए एक अम्खोरा पानी एकै घुट्कोमा सिध्याउँथें । पुसको ठिहीमा पनि असिनपसिन भएँ !

‘कस्तो अफिसमा काम गरेको ? न समयमा पैसा दिन्छ, न फुर्सद पाएको नै कहिले देख्छु । यस्तो जागिर खानुभन्दा त पेटमा पटुकी कस्नु बेस !’

ढक् ढक् ढक् !

यता श्रीमती फलाक्दै थिइन् । उता घरबेटीले हत्केलाले ढोका हान्न छाडेका थिएनन् ।

जे पर्ला पर्ला खोलेँ ढोका ।

‘नमस्ते बा !,’ ढोकाको एउटा फक्ल्याँटो नउघार्दै हात जोडेँ ।

‘केको नमस्कार ? दश दिन भइसक्यो महिना मरेको ! जहिल्यै भोलि–भोलि भनेर ढाँट्या छ, कहिले आउँछ हँ तपाईंको भोलि ? पैसा तिर्न नसके खुरुक्क कोठा खाली गर्दिनु नि !,’ चट्याङको के आवाज आउँछ र ! त्यसरी पड्किए घरबेटी  ।

घोसेमुन्टो लगाएर म ढोकामा ठिङ्ग उभिइरहेको थिएँ । एक शब्द बोल्न सकिनँ ।

‘कोठा खोज्न मान्छे आएका आयै छन्, १५ गतेसम्म ट्याम दिन्छु । भाडा नदिए सामान भित्रै राखेर ताल्चा लाइदिन्छु । जहान छरछरीको बिजोग होला, कुरा बुझ्या हो ? कत्ति न सुटपाँएट लगाएर हिँड्छ, भाडा तिर्नचाहिँ यस्तो गाह्रो छ, कहिल्यै ट्याममा भाडा बुझाएको थाहा छैन त !’ 

भन्नु नभन्नु भनेर गए घरबेटीले !

एक छिन होलोसँग सास फेर्न खोज्दैथेँ, यता श्रीमती बम्कन थाली, ‘तलब नदिए आजै जागिर छाड्दिनु, पैसा–सैसा नदिने अफिसाँ के गर्न झुन्डिराख्नु ?’

‘कुकुर कुदाइ गरेर दौडिएको छ तर भनेको बेला घरबेटीलाई भाडा तिर्नेसम्म पैसा हुँदैन । यहाँ बसेको पाँच वर्ष भयो, घरबेटीको भनाइ नखाई भाडा बुझाएको थाहा छैन । खाना पस्किएको छु, सेलाउला !’

यति भनेर श्रीमती झोला बोकेर छोरीलाई स्कुल पुर्‍याउन हिँडिन् ।

श्रीमती आउञ्जेलसम्म औँलामात्रै खेलाइरहेको थिएँ, गाँस हाल्न मन लागेन !

त्यत्तिकै जुरुक्क उठेँ ।

‘गाँस छोडेर सुख पाइन्छ भन्या होला, पाईंदैन । मेरो कारणले होर दुःख पाएको ?,’ उनी रोकिएकी थिइनन् ।

जुत्ता लगाउनै लागेको थिएँ, फेरि सुनाउन थालिन्– छोरीको स्कुलको बिल आएको छ । चामल पनि सकिने बेला हुन लाग्यो । दालको गेडो छैन । अघिल्लो मैनाकै पैसा नबुझाएकाले पसलेले उधारो पनि दिएन, के गर्ने हो, आफैँ जान्नू ।’

घरखेत जुवामा हारेझैं निन्याउरो मुख लगाएर अफिस लागेँ ।
०  ०  ०
कोठा भाडामा बसेर घरबेटीको खप्की खाने ममात्र होइन ।

अफिस पुग्नेवित्तिकै एउटा साथीले सुनायो–

‘घरबेटीले मेरो पनि हुर्मत लिएको छ । ठिक्क भाडा बुझाउने बेला भएको थियो । त्यहीबेला गाउँबाट आमा बिरामी भएको खबर आयो । हतार हतार घर कुदेँ । यता आउँदा घरबेटी ले भाडा नबुझाएको भन्दै कोठामा ताला ठोकिसकेछ !’

अनि के भयो त ?

‘के हुनु नि, आमालाई अस्पताल भर्ना गरेको दुई दिन भएको थियो । दुई दिनसम्म एक्लै कुरुवा बसेँ । तेस्रो दिन भाइलाई हेर् है भनेर आफू कोठामा सुत्न भनेर जान्छु त घरबेटी साँचो बोकेर बसेको छ । आमालाई अस्पतालबाट निकालेपछि पूरै पैसा बुझाउँछु ढोका खोल्दिनूस् भन्दा त्यो त तेरो समस्या हो नि भन्छ । कालले छोड्ला, तर घरबेटीले छोडेन । साँचो हराएछ भन्दै ढाँटेँ, अस्पतालमै गएर सुतेँ त्यो दिन पनि । यमराज भन्दा चर्को छ मेरो घरबेटी यार !,’ रुनमात्र सकेन साथी !

आमा गम्भीर बिरामी हुुनुहुन्छ । अलिकति पैसा चाहियो भनेर विदेश बस्ने साथीसँग पैसा मगाएछ । उपचारबाट बचेको पैसाले भाडा बुझाएछ र समस्या टारेछ उसले !
०  ०  ०
अर्को साथीको कहानी बेग्लै छ–

महिनाको २५ हजार तलब खान्छ, तर १७–१८ हजार फ्ल्याटकै तिर्छ । चार महिना लगाएर खोज्दाखोज्दै बल्ल सजिलोमा दुईवटा कोठा फेला पारेको थियो ।

‘सुनिस्, राम्रो ठाउँमा कोठा फेला पारेँ । अब दुःख बेहोर्नु पर्दैन । पानी त चौबिसै घन्टा आउँदो रहेछ , सवमिटरमा चढेमुताबिक पैसा बुझाए पुग्छ ! पार्किङको पनि उस्तै सुविधा छ । घरबेटी त देउतैजस्ता छन् !,’ फुरुंग परेको थियो ऊ ।

तर, दुई महिना नहुँदै पिलपिलाउँदो मुख लगाएर आयो, ‘यार् मलाई त एक महिनाभित्र कोठा खाली गर्दिनु भन्या छ । गाउँबाट उसका आफन्त आउँदैछन् रे ! बिहानभरि कोठा खोजेर आएको कहीँ पाइनँ !’

बिरालाले बच्चा सारेजस्तै कोठा सार्दासार्दै हत्तु हैरान भइसकेको थियो ऊ । 

कहिलेकाहीँ भन्थ्यो, ‘काठमाडौंका घरबेटीलाई दुइटा कुरा गर्नबाहेक केही आउँदैन । पहिलो, कहिले महिना मर्छ ? अर्को, महिना मरेको दिन कतिबेला ढोका ढक् ढक् पार्ने ? कोठामा बसेको वर्षौं भइसकेको हुन्छ, तर छक्याएर भाग्ने अपराधीझैं व्यवहार गर्छन् त !’

फलानो ठाउँमा कोठा चाहियो भनेर फेसबुक ट्विटर कहाँ लेखेको थिएन उसले । चारचौरास चहार्दा चहार्दा खोजेजस्तो कोठा भेट्टाउन तीन महिना पर्खनुपर्यो  ।

‘बरु छोरी सजिलै देलान्, तर काठमाडौंमा कोठा पाइँदैन त,’ कहिलेकाहीँ ठट्टा गथ्र्यो ऊ ।

कुरैकुरामा एकदिन भन्यो उसले–

‘त्यो पहिलाको घरबेटी को गाउँबाट मान्छे आउने भन्या त हैन रहेछ नि ! म सरेकै भोलिपल्ट पाँच हजार बढी तिरेर अर्को मान्छे बसेछ ! यत्रो हन्डर बेहोर्नुभन्दा त पाँच हजार बढी तिर्थें नि !’ रुन्चे हाँसो हास्यौँ त्यसदिन ! 

०  ० ०
कलेज पढ्ने साथी भन्थ्यो, ‘काठमाडौंमा एक्लै पनि कोठा पाउन गाह्रो छ, दुक्लैलाई त झन् साह्रो छ ।

“कोठामा बस्ने मैमात्र हो भन्यो, ‘ए ! एक्लै रहेछौ, यस्तो मान्छेको त भर हुँदैन, महिना पुगेपछि गुन्टा च्यापेर भाग्न सक्छ भन्छन् । परिवार छौँ भन्यो,

‘एक्लै भए मात्रै कोठा दिने हो, परिवारैलाई त पानी बढी चाहिन्छ, फोहोर उस्तै गर्छन्’ भनेर नाक खुम्च्याउन थाल्छन् ।’ ऊ व्यथा बक्थ्यो ।

उसको पीडा त्यतिमात्र थिएन । भन्थ्यो, ‘कोठामा अचार पिस्न लाग्यो भने पनि ए ! भित्तामा किला ठोकेर सर्वश्वै पार्‍यो भनेर चिच्याउँदै आइपुग्छन् । फेरि बत्ती उस्तै महँगो ! ५० रुपैयाँको बिजुली बालेको हुन्छ कि हुँदैन, महिनाको तीन सय बुझाउनुपर्छ ! हैरान छु म !

त्यस्तै पाँच वर्षअघिको कुरा हो, एकजना श्रेष्ठ बाजेकहाँ कोठा भाडामा बसेको थिएँ ।

उनी जहिल्यै छोरीलाई हप्काउँथे, ‘के कोठा कोठा चिहाउँदै हिँड्छेस् ? यी पर्वतेको त भर हुँदैन है । जसको घरमा बस्यो, त्यसकै छोरी उडाउँछन् ।’
पाखा–पहाडबाट काठमाडौंमा आएर बस्नेलाई उनी ‘पर्वते’ भन्दा रहेछन् ।

बाउले हप्काएपछि भर्खर ११–१२ पढ्दै गरेकी तिनकी छोरी निन्याउरो मुख लगाउँथी ।

यता कहिलेकाहीँ गाउँबाट बहिनी आउँथी । बहिनी आएकी देख्नासाथ घरबेटीको छोरो जिब्रो पड्काउँदै आउँथ्यो ! घर नफर्कउञ्जेल तलमाथि गरिरहन्थ्यो । बेलाबखत डरलाग्दो पाराले हेथ्र्यो ।

घरबेटीलाई छोरीको, आफूलाई बहिनीको चिन्ता ! केही महिना बसेर छाडिदिएँ त्यो ठाउँ पनि !
० ० ०
यी त केही प्रतिनिधि उदाहरण हुन् । ४० लाख बढी बसोबास गर्ने काठमाडौंमा मुस्किलले १० प्रतिशतको आफ्नो घर छ । बाँकी सबै भाडामा बस्ने हुन् । तर, भाडा बसेबापत कष्ट नबेहोर्ने कमै छन् । भन्छन्, ‘कोठै पाईंदैन । कोठा भेटिहाले पनि घरबेटीको साह्रै किचकिच सहनुपर्छ, पानी, बत्ती उस्तै महँगो !

घर बहालमा बस्ने पनि ‘गाहकी’ हुन् । भनिन्छ, ग्राहक भगवान् हुन् तर काठमाडौंका घरबेटीले त भाडामा बस्नेलाई दोस्रो दर्जाको नागरिक मान्छन् । पानी, बत्ती, शौचालयको आदि सुविधा नदिए पनि हुन्छ, फोहोर फाल्ने व्यवस्थित ठाउँ नभए पनि हुन्छ ठान्छन् । तर, महिना मरेको दिनचाहिँ भाडा नबुझाई हुँदैन ।

नियमतः प्रत्येक घरधनीले घरबहाल कर अनिवार्य भुक्तानी गर्नुपर्छ । तर, काठमाडौंका अधिकांश भाडामा लगाएका घरहरू करको दायरामा आएका छैनन् । ‘घर बहाल कर बुझाउनुपर्छ’ भनेर कोठा भाडा बढाउँछन् तर कर तिर्दै तिर्दैनन् । समस्या साझा हो, सरोकारवालाको ध्यान जाओस् !

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १०, २०७३  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC