site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निरश र निराश शिक्षा बजेट

प्रकाशसिंह अधिकारी

बजेटभन्दा पहिले प्रस्तुत सरकारको नीति तथा कार्यक्रमअन्तर्गत शिक्षा सम्बन्धी कार्यक्रम निर्माण गर्दा धेरै हदसम्म सत्तारूढ नेकपा ( एमाले) र एनेकपा माओवादी (हालको माओवादी केन्द्र) ले आआफ्ना चुनाव घोषणा पत्र, २०७० लाई आधार बनाएको देखिन्छ । साक्षरताका हकमा भने नयाँ अग्रगामी सोच आएको छ तर त्यो दुवैको घोषणापत्रमा छैन । सायद, यो सोच प्रशासनिक क्षेत्रबाट आएको हो । शिक्षामा के र कुन शीर्षकमा कसरी बजेट विनियोजन भएर आउँदै छ भन्ने अनुमान नीति तथा कार्यक्रमबाटै गर्न सकिन्थ्यो । प्राथमिकता र बजेटको भारको दृष्टिबाट सरकारले नीति तथा कार्यक्रममै आगामी तीन वर्षमा सबै विद्यालय पुनर्निमार्ण गर्ने काम तीब्र पार्ने उल्लेख गरेर शिक्षा बजेटको धेरै अंश पुनर्निर्माणमा खर्च गर्ने जनाएको थियो । त्यसकारण शिक्षा बजेटको सबैभन्दा धेरै अंश २०७२ को भूकम्पले भत्काएको ८ हजार विद्यालयको (खानेपानी र चर्पीबाहेक) ५० हजार कक्षा निर्माणमा जानेछ । बजेटले पुनर्निर्माणको लागि छुट्याइएको १ खर्ब ४० अर्बभित्र विद्यालय भवनको निर्माण पनि पर्छ । तर बजेटमा विद्यालयको पुनर्निर्माण मात्र छैन । त्यसकारण विद्यालय प्राथमिकतामा परेन भने तीन वर्षमा पुनर्निर्माणको काम पूरा हुनेछैन ।

शिक्षा मंत्रालयको बजेट कार्यान्वयन क्षमता आफैँ प्रभावकारी छैन । त्यसको सहयोगमा पुनर्निमार्ण प्राधिकरणले तीन वर्षमा सबै विद्यालयको पुनर्निमार्ण गर्ने कार्य असंभव प्रायः देखिन्छ । विज्ञान, प्रविधि र व्यावसायिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने जेहनदार विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा सहुलियत वा निर्ब्याजी शैक्षिक ऋण दिने व्यवस्था राम्रो हो । यो कुनै पनि सरकारका लागि रुचिपूर्ण कार्यक्रम हुनसक्छ । समसामयिक दृष्टिकोणबाट उत्पादनशील युवा मतदातालाई आकर्षित गर्न र भोलि हाम्रो पालामा भएको भन्नको लागि पनि यस्ता कार्यक्रम चाहिन्छ नै । तर कति बैंक, फाइनान्स कम्पनीआदिले सहयोग गर्छन् अथवा गरे वा तिनलाई गराइनेछ र कति शैक्षिक बेरोजगारले आकर्षक परियोजना निर्माणको प्रस्तावना दिनसक्छन् भन्नेमा कार्यक्रमको सफलता निर्भर गर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएका धेरै कार्यक्रम शिक्षा मंत्रालयको योजनाभित्र पर्ने क्रियाकला नै हुन् र ती कार्यान्वयन भई नै रहेका छन् र हुने पनि छन् । कतिपय दीर्घकालीन तथा महत्वाकांक्षी कार्यक्रम पनि छन् । कक्षा १२ सम्मको शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउने प्रावधान राम्रो छ तर यो दीर्घकालीन तथा महत्वाकांक्षी कार्यक्रम हो । विभिन्न सरकारहररूबीच अनिवार्य र निःशुल्क शिक्षाका सन्दर्भमा कक्षा बढाउँदैजाने प्रतिस्पर्धा नै छ । प्राथमिक शिक्षालाई नै अनिवार्य र निःशुल्क गर्न नसकेका अवस्थामा कक्षा १२ सम्मको शिक्षा निःशुल्क र अनिवार्य बनाउने योजना गर्नु उद्दाम महत्वाकांक्षामात्र होला । भूकम्पबाट प्रभावित ३९ जिल्ला र मुख्यगरी अति प्रभावित १४ जिल्लामा त यो प्रावधान अति चुनौतीपूर्ण हुनसक्छ ।

सीपमूलक शिक्षामा जोड दिँदै विद्यालय शिक्षालाई रोजगार मैत्री बनाई सिकाइ र कमाइको वातावरण नेपालमा पनि सृजना गर्न सकिन्छ भनी बजेटमा गरिएको व्यवस्था स्वागतयोग्य छ । तर यसलाई मूर्तरूप दिन निकै गाह्रो हुनेछ । किनभने यही व्यवस्थाको अभावमा दैनिक ३ हजारको हाराहारीमा क्रियाशील युवा रोजगारीका लागि देशबाहिर (भारतलगायत) गइरहेका छन् । त्यसैगरी शिक्षाको ७५ प्रतिशतभन्दा बढी बजेट तलबमा खर्च हुने अवस्थामा सामुदायिक र निजी विद्यालयबीचको शैक्षिक गुणस्तरको अन्तर घटाउँदै जीवनोपयोगी शिक्षा एवं परिणाममुखी शिक्षक व्यवस्थापन कार्यपद्धति अवलम्बन गरिने उद्घोष पनि आकाशको फलजस्तै हो ।

Global Ime bank

शिक्षामा कुल बजेटको १ खर्ब १६ अर्ब ३६ करोड ६ लाख छुट्याइएको छ र यो कुल बजेटको ११.५ प्रतिशत हो । विगत वर्षको तुलनामा निकै कम हो । यो एउटा चिन्ताजनक अवस्था हो । यो रकम पिन पर्याप्त छैन । तलब वृद्धि भएको अवस्थामा बजेटको अधिकांश भाग त्यसमै जान्छ ।

बजेटसम्ममा बारम्बार चर्चामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रमले कति गर्न सक्छ पर्खनु र हेर्नुको विकल्प छैन । नीति, कार्यक्रम तथा बजेटबाट संविधानले व्यवस्था गरेका कतिपय क्रान्तिकारी, प्रवर्तनात्मक र राष्ट्रिय आवश्यकतामा आधारित क्रियाकलापलाई प्राथमिकता दिनुपर्ने थियो । नीति, कार्यक्रम र बजेट नयाँ संविधान बनिसकेपछि आएको हुनाले त्यो संवैधानिक व्यवस्थाबाटै निर्देशित हुनपर्ने थियो । कम्तीमा पाँच वर्षसम्म संवैधानिक व्यवस्था भएका शिक्षाका कार्यक्रमलाई समेटेर जानुपर्ने थियो । यस सम्बन्धमा संविधानको भाग ३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३१, ३८, ३९, ४०, र ४२ मा क्रमशः शिक्षाको हक, महिलाको हक, बालबालिकाको हक, दलितको हक तथा सामाजिक न्यायको हकअन्तर्गत शिक्षा पाउने व्यवस्था गरिएको छ । हकको दृष्टिकोणबाट यो व्यवस्था नयाँ हो । त्यसकारण नीति, कार्यक्रम तथा बजेटले यी संवैधानिक व्यवस्थालाई यो वर्ष समेटी उदाहरण पेस गर्नुपर्ने थियो । कुनै पनि सरकारले यी संवैधानिक व्यवस्थामा संवेदनशील, उत्तरदायी तथा जवाफदेही भई यी हकलाई औपचारिक तथा अनौपचारिक शिक्षाको माध्यमबाट सम्बोधन गर्नुपर्छ । हुनत, यी हकको सम्बोधनको लागि अनौपचारिक शिक्षा उपयुक्त माध्यम हुनसक्छ ।

संविधानको भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व धारा ५१ (ज) मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीति र धारा ५१ को (ञ) मा सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिअन्तर्गत पनि शिक्षाको चर्चा गरिएको छ । नीति, कार्यक्रम तथा बजेटले यसमा पनि ध्यान दिनु पर्थ्यो । संविधानमा शिक्षा सम्बन्धमा गरिएको व्यवस्थामा सरकार संवेदनशील हुनु जरुरी छ । संवैधानिक व्यवस्थालाई हेलचेक्र्याइँ गरेका खण्डमा सरकार कानुनतः दोषी ठहरिने छ । किनभने हकका रूपमा रहेको संवैधानिक व्यवस्था बाध्यकारी हुन्छ । संवैधानिक व्यवस्थालाई संबोधन नगर्दा अराजकता सृजना हुने जोखिम हुन्छ ।

शिक्षामा धेरै वर्षदेखि समस्याका रूपमा देखिएको राजनीतिक हस्तक्षेप, भ्रष्टाचार, शिक्षा मंत्रालयका विभिन्न इकाइको कार्यक्रम कार्यान्वयन गर्ने क्षमता, विद्यालय निरीक्षण, पाठ्यक्रम तथा पाठ्यपुस्तक छपाइ र उपलब्धता तथा तिनमा बहुसामाजिक एवं सांस्कृतिक परिवेशको सुनिश्चितता आदिको पनि सम्बोधन हुनु जरुरी थियो । साथै शिक्षालाई स्वास्थ्य, कृषि र वातावरणसँग एकीकरण, शिक्षकका रूपमा महिला तथा युवा, दिवा खाजा, सिकाइसँगै कमाइ, बालकेन्द्रित सिकाइ, गुणात्मक शिक्षा, गैरसरकारी संस्थाको सहभागिता, शिक्षकको उत्तरदायित्व, व्यावसायिक सीप, नेतृत्वदायी विद्यालय व्यवस्थापन र सुशासन, विद्यार्थीवृत्तिको दुरुपयोग, बजेट वृद्धि तथा अनौपचारिक शिक्षातर्फ साक्षरोपरान्त शिक्षा तथा आपतकालीन शिक्षा आदि पनि शिक्षाका जल्दाबल्दा समस्या हुन् । यिनको सम्बोधन पनि अत्यन्त जरुरी हुन्छ । देशको आवश्यकताका आधारमा हाम्रो जनशक्ति जसरी शिक्षित र दीक्षित हुनुपर्ने हो त्यसरी भइरहेको छैन । अहिले नेपालको जुनसुकै विकास गतिविधिका लागि उपलब्ध जनशक्ति साह्रै कम अनुभवका छन् । त्यसको सम्बोधन पनि जतिसक्दो चाँडो गर्नुपर्छ ।

शिक्षाको नीति तथा कार्यक्रम निर्धारणमा शिक्षा साझेदारहरूको व्यापक सहभागिता र परिचालन हुन जरुरी छ । सरकार तथा राष्ट्र सेवक कर्मचारी वर्गले नयाँ संविधानको प्रस्तावनाको मर्म बुझ्न त्यसबमोजिम निर्देशित हुन आवश्यक छ । शिक्षाको योजना तथा कार्यक्रम जनताले बुझ्ने हुनुपर्छ दातृ निकायले मात्र बुझेर पुग्दैन । सूचनाको हकका आधारमा जनसरोकारका सबै राष्ट्रिय अभिलेख जनता समक्ष पुग्नु जरुरी हुन्छ । उनीहरूका लागि निर्माण गरिएको अभिलेख उनीहरूले पढ्न पाउन र सक्नुपर्छ । शिक्षाका समस्याको सम्बोधनको लागि विभिन्न किसिमका छलफल कार्यक्रम राष्ट्रिय, क्षेत्रीय, जिल्ला तथा ग्रामीण स्तरमा सञ्चालन गर्नुपर्छ । बजेट सबैको सहभागिता सुनिश्चित भएको राष्ट्रिय इच्छामा आधारित भएर निर्माण हुनुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC