site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गणतन्त्र: सोच्यौँ के, भयो के ?

 

 

कुन्दनराज काफ्ले

 

टाउकोमा ‘कफन’ बाँधेर हामी गणतन्त्रको आन्दोलनमा होमिँदै गर्दा कोही भने हामीलाई ‘बयल गाढा चढेर अमेरिका’ पुग्न खोज्ने भनेर खिसिट्युरी गर्दै थिए । अर्कोतिर सडकमा सुरक्षा निकायको बाक्लो निगरानी र हामीप्रतिको रुखो व्यवहार त छँदै थियो । टियर ग्यास, लाठी, पानीको फोहोरा, पटकपटक पक्राउ र रिहा हुनु आन्दोलनकारीको दैनिकी बनेको थियो । व्यवस्था परिवर्तनका लागि लडेका आन्दोलनकारी सामु सत्ताको दमन फिक्का साबित हुँदै थियो । अन्ततः १९ दिन लामो ऐतिहासिक जनआन्दोलनका सामु निरंकुश राजसंस्थाले घुँडा टेक्यो र भन्यो – जनताको नासो जनतालाई नै फिर्ता गरेको छु । जनताको निरन्तरको बलिदान र संघर्षको परिणाम नेपालबाट २ सय ३८ वर्ष शासन गरेको राजतन्त्र अन्त्य भयो । त्यसको ठाउँमा स्थापना भयो – लोकतान्त्रिक गणतन्त्र ।

कुकुर अभिनन्दनदेखि जनमत संग्रहसम्म
विसं २०५८ साल जेठ १९ गतेको राजदरबार हत्या काण्डबाट मुलुक स्तब्ध बन्यो । राजा वीरेन्द्रको वंश नाशपछि उनैका भाइ ज्ञानेन्द्र राजगद्दीमा बसे । बिस्तारै उनको महत्वकांक्षा बढ्दै गयो । यसका लागि उनले जननिर्वाचित सरकार, संसद् भंग गरेर सरकार गठन र विघटनको खेल खेल्न थाले । देशमा भने कालोबजारी, महँगी बढिरहेको थियो । त्यतिबेला प्रधानमन्त्री थिए – लोकेन्द्रबहादुर चन्द । कालोबजारीको विरोधमा हामीले सरकारविरुद्ध पशुपति क्याम्पसमा किरियापुत्री जुलुस निकाल्यौँ । मुलुकमा एकातिर गाउँगाउँमा माओवादी आतंक थियो भने सहरमा आफैँ शासन गर्ने राजाको महत्वकांक्षाको राप । हामीलाई लागेको थियो – प्रजातन्त्रको घाँटी निमोठ्ने राजसंस्थाको प्रयास विफल नपारी हुँदैन । त्यतीबेला गाउँमा माओवादीविरुद्ध बोल्न जति कठिन थियो त्यसभन्दा बढी जोखिमपूर्ण थियो राजसंस्थाविरुद्धमा बोल्न ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, हाम्रो लोकतान्त्रिक चेतनाले चुप लागेर बस्न दिएन । राजा गाउँगाउँमा स्वागत अभिनन्दन थाप्दै हिँड्न थालेका बेला हामीले पशुपति क्याम्पसबाट भन्यौं – जनताको अधिकार खोस्ने राजा भन्दा गृह रक्षक कुकुर इमानदार भएकाले अभिनन्दनीय छ । हामीले पशुपति क्याम्पसमा सांकेतिक विरोध स्वरूप ‘कुकुरको अभिनन्दान’ गरेर प्रतीकात्मकरूपमा विरोध सुरु गरेका थियौँ । पशुपति क्याम्पस, चाबेलबाट मेरो नेतृत्वमा सुरु भएको यस अभियानले देशव्यापीरूप लियो । देशैभर कुकुर अभिनन्दनको क्रम चल्यो । हाम्रो आन्दोलन सरकारले गर्ने धरपकडसँगै चली नै रह्यो । जति दमन भयो, आन्दोलन थप सल्किँदै थियो भुसको आगोझैं । कुकुर अभिनन्दन गरेको अभियोगमा मलाई पक्राउ गरियो । जतिबेला प्रधानमन्त्री थिए सूर्यबहादुर थापा । थापाको प्रधानमन्त्रीबाट वहिर्गमन भएकै दिन म रिहा भएँ । अन्ततः हामीले निष्कर्ष निकाल्यौँ अब प्रजातन्त्र र राजसंस्थासँगै अघि बढ्नै सक्दैन । बीपी कोइरालाले भन्नुभए झैं राजसंस्थालाई प्रजातन्त्र चाहिँदैन भने हामीलाई पनि राजसंस्था चाहिँदैन भन्ने निष्कर्षसँगै राजसंस्थाको सान्दर्भिकताबाारे बहस चलायौं । सडकमा नारा उराल्यौँ – ‘श्रीपेच हामी जलाउँछौं: देश हामी चलाउँछौँ’ । हामी राजसंस्थाविना देशअघि बढ्न सक्ने निष्कर्षमा हामी पुगिसक्दा पनि हाम्रा पार्टीका नेताहरू दुविधामै हुनुहुन्थ्यो । पार्टीलाई सहमत बनाउनुपर्ने अर्को चुनौती थियो । यसका लागि जनता राजसंस्थाको हैन हाम्रा पक्षमा छन् भनेर पुष्टि गर्नुथियो । गणतन्त्रको बाटोमा प्रष्ट भएकाले हामी अल्मलिएनौं । तत्काल घोषणा गरियो जनमत संग्रहको – राजसंस्था रोज्ने कि लोकतान्त्रिक गणतन्त्र । जनमत संग्रहमा अत्याधिक बहुमत लोकतन्त्रका पक्षमा देखियो भने राजसंस्थाको पक्षमा झिनो मतमात्र । चाबहिलबाट नतिजा सार्वजनिक भएपछि देशैभरका गणतन्त्रवादी थप उत्साहित बने । जनमत संग्रह पनि देशब्यापी बन्यो । देशैरभरबाट गणतन्त्रका पक्षमा आएको अभिमतले हामी नारायणहिटीको नाकै मुन्तिर गणतन्त्रको नारा उराल्ने युवा विद्यार्थीको मनोबल बढ्दै थियो । राजा र उनका कारिन्दा सेनाको बुट र पुलिसको लाठीकै भरमा आन्दोलन तह लाग्ने रिपोर्टिङ गरिरहेका थिए । आन्दोलनका बेला पशुपति क्याम्पस र चाबहिल क्षेत्र तत्कालीन सत्ताको टाउको दुखाइ बनेको थियो । अझ यहाँ नेतृत्व गर्ने हामी त मुख्य निसानामै थियौँ सरकारी दमनको । तर, त्यसले गणतन्त्र स्थापन गर्ने हाम्रो उत्कट अभिलाषालाई रोक्न सकेन ।

सोच्यौँ  के, भयो के ?
जतिबेला गणतन्त्रको आन्दोलनमा लागेका थियौँ, धेरैको जिज्ञासा हुन्थ्यो – राजसंस्थाविरुद्ध सडकमा नारा लगाउने साहस कसरी आउँछ ? गणतन्त्र प्राप्तिपछि जनताको जीवनस्तर उकासिने, पैसा नभएका कारण शिक्षाको उज्यालोबाट वञ्चित हुनुपर्ने, उपचार नपाएर मर्नुपर्ने, हातमा प्रमाणपत्र बोकेर बेरोजगार बस्नुपर्ने, कोही कुनै ठाउँमा जन्मिएकै आधारमा शासक र शाषित हुने भेदभाव, असमानता र अभावको अन्त्य हुनेछ भन्ने हाम्रो विश्वास थियो । त्यही विश्वासको जगमा उठेको आन्दोलनका क्रममा पटक पटक मृत्युसँग लुकामारी गर्दैगर्दा पनि हामी डग्मगाएनौं । गणतन्त्र प्राप्तिपछिका सुनौला दिनको कल्पनाले मन पुलकित हुन्थ्यो । त्यसै त्यसै रगत उम्लिएर आउँथ्यो । सडकमा मर्न तयार भएर उत्रिएका आन्दोलनकारीले मृत्यु जितिसकेका थिए । मृत्यु नै जितिसकेको जनताको उभार संसारको कुन बन्दुक र शासकले रोक्न सकेको छ र ? यहाँ पनि सकेन । सत्ता कब्जाका लागि उठेको माओवादीको बन्दुक र प्रजातन्त्रविरुद्ध उठेको सत्ताको बन्दुकको नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा व्यवस्थापन भयो । बन्दुकले जनता तह लगाउँछु भनेर हौसिएका राजा दरबारबाट विस्थापित भए । बन्दुकको नालबाट राज्यसत्ता जन्माउन हिँडेको माओवादी ‘ब्यालेट’को राजनीति स्वीकारेर वनबाट काठमाडौं आयो ।

Global Ime bank

नेपाली जनताले २००७ सालदेखि देख्दैआएका सपना, पटकपटक उठेका आन्दोलनको प्रतिफल २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधान सभाबाट संविधान निर्माण भयो । गणतन्त्र प्राप्तिपछि देशमा ४ जना कम्युनिस्ट प्रधानमन्त्री बने – पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्राई । संविधान सभामा कम्युस्टि मत निर्णायक हुँदासम्म संविधान सभाबाट संविधान बन्न सकेन । अन्ततः संविधान सभाकै दोस्रो निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्यो । कांग्रेसकै सभापति सुशिल कोइराला प्रधानमन्त्री बनेपछिमात्र नयाँ संविधान जारी भयो ।

संविधान कार्यान्वयनमा मधेस केन्द्रित दलहरूले केही प्रश्न खडा गरेका छन् र सम्बोधन गर्ने स्थानमा छन् एमाले अध्यक्ष केपी ओली । तर, उनी समस्या समाधानमा गम्भीर देखिएको छैनन् । लाग्छ, देशमा वादविवाद प्रतियोगिता चलिरहेको छ र उनी प्रथम हुने प्रयासमा तर्कका फूलबुट्टा भर्दै छन् । केहीले शंका व्यक्त गर्दैछन् प्रधानमन्त्रीप्रति – कतै ‘अमेरिका पुगेको बयलगाढा’ अन्तै कतै फर्काउने तयारी त हुँदैछैन ? होइन भने गम्भीर बन्नुपर्ने हो जनताले ज्यानको बाजी राखेर हासिल गरेको परिवर्तन संस्थागत गर्न । मधेसले उठाएको आवाज सम्बोधन गर्न गम्भीर बन्नुपर्छ अब त । भूकम्पले घरवारविहीन भएका भूकम्पपीडितलाई भाषणमा होइन, व्यवहारमै सहायता र पुनस्थापना गर्न इमानदार बन्नुपर्छ । भूकम्प र नाकाबन्दीले देश थलिएको छ । अवसर खोज्दै दिनहुँ हजारौं युवा विदेशिएका छन् । देशलाई मूर्छाबाट बौराउनु छ । तर, चुट्किलाले देश बौरिँदैन । रोजगारी सिर्जना, उद्योगको स्थापना गर्दै आर्थिक समृद्धिको मार्गचित्र बनाउनुपर्छ ।

विडम्बना, हिजो आफँैले हस्ताक्षर गरेर ल्याएको परिवर्तन फर्काउने चलखेलमा केही संलग्न भएका छन् । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता कसैबाट ‘बक्सिस’मा प्राप्त भएको होइन । हजारौं नेपालीले रगत बगाएपछि आएको हो । यस तथ्यलाई उपेक्षा गरेर पछाडि फर्कने प्रयास जोसुकैले गरे पनि हाम्रा लागि स्वीकार्य हुनसत्तैmन । कुनै अमुक नेताका कारण लोकतान्त्रिक गणतन्त्र नै गलत भनेर परिभाषित गर्ने कोसिस गरिँदैछ । त्यसप्रति युवा विद्यार्थी सचेत र सजग हुन जरुरी छ ।

इमानदारहरूले झन्डा उठाउने बेला
बीपी कोइरालाले भन्नुभएको थियो – पार्टीमा सुकिलामुकिला हाबी हुँदै जानेछन् र त्यसविरुद्ध पार्टीका इमानदार नेता, कार्यकर्ताले विद्रोहको झन्डा उठाउनुपर्नेछ । उहाँले पार्टीका सन्दर्भमा भनेको यो भनाइ आज देशका सन्दर्भमा झनै टड्कारो बनेको छ । देशमा जिम्मेवारी लिएकाहरू गैरजिम्मेवार भएपछि इमानदार जनताले विद्रोहको झन्डा उठाउनैपर्छ । नेपाली जनता जसरी सकारात्मक परिवर्तनका पक्षमा, राजनीतिक व्यवस्था परिवर्तनका पक्षमा जनता उभिए त्यसरी नै आज मुलुकको आर्थिक समृद्धिका लागि बढ्दो कालोबजारी, महँगी, भ्रष्टाचार र कुशासन रोक्नका लागि आवाज उठाउने बेला भइसकेको छ । हामीले गरेको आन्दोलन राजाका ठाउँमा कसैलाई राष्ट्रपति , केहीलाई प्रधानमन्त्री र मन्त्री बनाउन थिएन । समग्र मुलुकको परिवर्तन, आर्थिक, सामाजिक, शैक्षिक रुपान्तरणका लागि थियो । तर यहाँ भद्रगोल गरेर प्रतिगामी गोल गर्ने योजना बुनिँदैछ । यसैले आफैँले लडेर ल्याएको गणतन्त्र संस्थागत गर्न हामी युवा विद्यार्थी थप चनाखो रहन जरुरी छ । देशले मागे फेरि एकपटक विद्रोहको झन्डा उठाउन हामी तयार रहनुपर्छ । त्यसो त हामी तयारै पनि छौँ ।

(काफ्ले नेविसंघका नेता हुन् )

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC