site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाखण्ड छाडे सम्मानित हुन्छ राजनीति

(सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नेपालले मंगलबार राजधानीमा राजनीतिलार्इ कसरी सम्मानित बनाउन सकिन्छ भन्ने बारेमा अन्तरक्रिया अायाेजना गरेकाे थियाे । अन्तरक्रियामा व्यक्त भएका विचारमध्ये हामीले बुधबार कांग्रेस नेता प्रदिप गिरिकाे विचार राखेका थियाैं । साेही कार्यक्रममा प्राध्यापक कृष्ण खनालले राखेकाे विचारको सम्पादित अंश विहीबार प्रकाशित गरेका छाैं )

कृष्ण खनाल

राजनीति सम्मानित पेसा हो । उहाँ रामचन्द्र पौडेल कुनै बेलामा सम्माननीय सभामुख हुनुहुन्थ्यो, राजनीतिकै कारणले गर्दा। आज पनि कुनै मान्छे राजनीतिकै कारणले सम्माननीय छन्, माननीय छन् । किन चिन्ता गर्नु ? चिन्ता गर्नुपर्ने म देख्दिन । मेरा अगाडिका रामचन्द्र पौडेल माननीय रामचन्द्र पौडेल हो कि माननीय सांसद रामचन्द्र पौडेल हो । छुट्याउन गाह्रो भएको छ । हो हामीले छुट्ट्याउनुपर्ने कुरा यही हो । हामीले कसलाई सम्मान गर्दैछौं ? माननीय सांसद भन्दा जनता आफैँ सम्मानति हुन्छन् । किनभने त्यो जनताको प्रतिनिधि हो । राजनीतिले जनताको प्रतिनिधित्व गर्छ । त्यसैले राजनीति जहिल्यै पनि सम्मानित छ भन्ने बुझाइ हो । बेलायतले संसदीय लोकतन्त्रको विकासका बेलामा त्यो अभ्यास प्रारम्भ गरेको हो । त्यसमा सत्ता पक्षका हुन् वा सत्ता बाहिरका दुवै सम्मानित हुन् । म राजनीतिको भिडबाट पन्छिसकेको मान्छे हुँ । धेरै आडम्वर देखेँ । धेरै ढोंग देखेँ । व्यवहारको मात्र हैन, विचारको पनि ढोंग देखेँ । त्यसले राजनीतिलाई प्रदूषित गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यथास्थितिमा राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सकिदैँन । तर नसकिने नै चाहिँ हैन । अठोट गरेदेखि सकिन्छ । जुन  द्वन्द्व हामीबिच छ त्यो आजको होइन । यो नेपालको मात्र द्वन्द्व पनि होइन । जुन बेला मानव सभ्यता राजनीतिमा अथवा राजनीति युगमा प्रवेश गरेको थियो । त्यही बेलादेखिको हो । यही मञ्चमा प्रदीप गिरि हुनुहुन्छ । मैले यो कुरा गरेर के गर्ने । रामायण र महाभारतमा जानुस् । रामायणमा अलि कम होला सायद । महाभारत भनेपछि राजनीति गर्ने व्यक्तिको उद्देश्य, मूल्य, मान्यतालाई देखाएको छ । सत्तामा बस्दाखेरि को के कोणमा, के मान्यतामा बस्नुपर्छ भन्ने मान्यता स्थापित गर्न नसक्दाको परिणाम हो महाभारत हो । महाभारत त्यही मान्यता स्थापित गर्नको लागि जन्मिएको हो । रामायणमा अलि हामी रामराज्यको कुरा गर्छौं । रामायणको कुरा अलि आदर्श भयो । व्यक्ति र समाजबीचको द्वन्द्व आज नेपालमा मात्र देखिएको होइन । यो मानव सभ्यताको राजनीति सुरु भएदेखि हो । चाहे पूर्वी दर्शन हेर्नुस्र या पश्चिमी दर्शन हेर्नुस् । पश्चिममा सोक्रेटस वा प्लेटोको कुरा गर्नुस् । सोक्रोटसले के गर्न खोजेका हुन् ? उनले त सत्ता चलाउन के के कुराबाट अलग हुनुपर्छ भनेका छन् । त्यसका लागि तालिम दिन खोजे । प्लेटोले वर्ग निर्माण गर्न खोजे । खबरदार तिमी समाजमा बस्छौ, तिम्रो आमा को हो, बाबु को हो, दाजु को हो,दिदी को हो भनेपछि राज्यले तिमीमाथि विभेद गर्छ । त्यसैले बाबु, आमाबाट मुक्त एउटा वर्ग बनाउन खोजे । तपाईँ हामी आदिम कालको साम्यवादको कुरा गर्छौ । आजभन्दा २५ सय वर्षगाडिको सम्पतिबाट परिवारको मुक्तिको साम्यवादको कुरा गर्छौ । भिन्न भिन्न तरिका धेरै अगाडिदेखि आइरहेको छ । तर यसो भन्दैमा जे भने पनि ठीक छ भनेर तालि पिट्ने काम चाहिँ हुँदैन । हामी धेरै बिग्रियौं । हिजो समाज आदर्शमुखी थियो होला । आजको समाज २ हजार २५ सय वर्ष पछाडिको समाज धेरै भिन्न भइसकेको छ । धेरै स्वार्थी भइसकेको छ । धेरै व्यक्तिवादी भइसकेको छ ।

भर्खरै नेपाली कांग्रेसको महाधिवेशन सकिएको छ । मैलै कांग्रेसको मात्र कुरा हैन नेपालका सबै पार्टीको कुरा गर्न चाहेको हो । तर यहाँ कांग्रेसी माहोल देखिरहेको छु त्यसैले कांग्रेसको कुरा गर्न चाहेँ । भर्खरै महाधिवेशनबाट आएको नेतृत्व छ । हो भाषण गरेर पुग्दैन त के गर्नुहुन्छ ? राजनीतिमा अर्को समस्या छ । राजनीति अति आकर्षक छ । त्यो मुम्बईको बलिउडभन्दा पनि आकर्षक छ । ग्ल्यामर्स फिल्ड हो । यहाँ के छैन ? यहाँ सबै कुरा आइपुग्छन् । यहाँ सत्ता छ, शक्ति छ, यहाँ सम्मान छ, स्टाटस छ, यहाँ मान्छे तुरुन्तै  पछि लागि हाल्छन् । उ रामचन्द्रजी आउनेबित्तिकै कतिजना मान्छे पछि लागे ? प्रकाशमान सिंहको पछि कति लाग्छन् मान्छे ? राजनिति नगर्नेको पछाडि त लाग्दैनन् मान्छे । किन पछि लाग्छन्भन्दा त्यहाँ पावर छ । कांग्रेस प्रधानमन्त्री बन्नु पर्दैन । त्यो सत्तारुढ दल हुनै पर्दैन । तर कांग्रेससँग सत्ता चलाउने हैसियत छ । त्यसो भएको हुनाले मान्छे पछि लाग्छन् । कांग्रेसको पछि लाग्दा कसैलाई पद प्राप्ति हुन्छ, कसैलाई सम्मान प्राप्त हुन्छ, कसैलाई के प्राप्त हुन्छ, कसैलाई ठेक्कापट्टै प्राप्त हुन्छ । विभिन्न कुरा प्राप्त हुन्छन् त्यसैले उनीहरु पछि लाग्छन् । हो यहीँबाट साँच्चैको सम्मानले पछि लागेका छन् कि स्वार्थले पछि लागेका छन् छुट्याउन सकिन्छ र यो छुट्याउने बेला आएको छ । चुरो कुरो त्यही हो । राजनीतिलाई सम्मानित बनाउन स्वार्थबाट अलग भएर कति मान्छे पछि लागेका छन् यो हेर्नु जरुरी छ । अब आजदेखि राजनीतिमा छैन भन्दाखेरि पछाडि कति जना मान्छे आउँछन् यो एकपल्ट विचार  गर्नुहोला । अनि थाहा हुन्छ राजनीतिलाई आफ्नो जीवनकालमा कुनै राजनीति गर्ने मान्छेले कति सम्मानित बनाएको रहेछ भनेर । नत्र भने यो बाहिर ढोंगको कुरामा धेरै अल्मलिन हुँदैन ।

Global Ime bank

अब राजनीति कहाँकहाँबाट बदनाम हुन्छ ? यहीँ नै भनु न । बीपी कोइराला कांग्रेसकै आदरणीय नेता । कांग्रेसको संस्थापक नेता । उहाँको नामविना कांग्रेस अगाडि बढ्नै सक्दैन । बीपी कोइरालाले के भन्नु भएको थियो जीवनको अन्तिम कालमा ? भोलि आइपुग्छन् है माथिल्लो वर्ग, सुकिलामुकिला वर्ग आइपुग्छन् है भन्नुभएको थियो । उहाँ सत्ताको राजनीतिमा हुनुहुन्नथ्यो । मैले बीपीलाई सम्झन चाहेको छु । नेतृत्वमा बस्नेले भोलि आउने संकटलाई अगाडि नै अनुमान गर्छ । त्यस समयमा बीपीले कार्यकर्ताका कुरा सुन्नुभयो । त्यसपछि बीपीले अनुमान गर्नुभयो,  लोकतन्त्र आइसकेपछि के होला त ? कार्यकर्तामा कस्तो खालको आकांक्षा बढ्ला त ?

अब केले बदनाम गर्दैछ त राजनीतिला ? किन बद्नाम हुँदैछ त राजनीति ? तीन ओटा कुरा प्रमुख छन् जस्तो लाग्छ ।

पहिलो, त राजनीति गर्ने व्यक्ति आफैँ । उसैको कमजोरीले नै राजनीतिलाई बदनाम गर्ने हो । भाषण गरेर सफलता प्राप्त हुँदैन । राजनीति गर्नेहरू समाजको अगाडि हुनुहुन्छ । तपाईँहरुको गतिविधि समाजले हेरिरहेको हुन्छ । समाज आफैं ऐना हो । तपाईँ ऐनाको अगाडि हुनुहुन्छ । ऐनाको अगाडि तपाईँ आफैँ देखिनुहुन्छ । समाजले आफैँ हेर्छ । समाजलाई ऐना चाहिँदैन । मैले संगत गरेका, सँगै काम गरेका कतिपय आदरणीय नेताले मलाई भनेको सुनेको छु – तैँले राजनीति गरेर खाँदैनस् । नियुक्ति गर्न सक्दैनस्र, तैँले दैनिक पैसा खर्च गर्न सक्दैनस् । त्यसैले तैँले राजनीति गरेर खाँदैनस् भने । हामीले राजनीति केका लागि गर्छौं । सद्दे मानिस राजनीतिमा हुनुपर्ने हो तर राजनीतिमा असल मान्छे छँदैछैनन् । कसैले केही मिलाउन, केही कमाउन सक्दैन, नियुक्ति दिलाउन सक्दैन भनेर राजनीतिमा गर्न सक्दैनस् भन्ने अनि राजनीतिलाई सम्मानित बनाउँ भनेर हुन्छ र ? कुरा बाझियो ।

राजनीतिलाई कमजोर बनाउने अर्को कारण परिवार हो । केही मानिस राजनीतिमा असल छन् । तर असल हुँदाहुँदै पनि परिवारको स्वार्थबाट चोखिन नसकेका थुप्रै मानिसहरु छन् । अर्को परिवेश पनि हो । राजनीति गर्न पैसा चाहिन्छ । भिडभाड चाहिन्छ । धेरै भिड जम्मा गर्न सकियो भने जितिन्छ चुनाव । पार्टीमा धेरै भिड जम्मा गर्न सक्नुभएको भए रामचन्द्रजीले चुनाव जित्नुहुन्थ्यो । आज हामीले सभापति रामचन्द्र जी भनेर सम्बोधन गर्नुपर्थ्यो । पैसा पनि चाहिन्छ, भिड पनि चाहिन्छ । पैसा र भिडबीचको सम्बन्ध अत्यन्त नजिक छ । पैसाविना भिड जम्मा हुने अवस्था छैन । त्यसैले भिडबाट मुक्त कसरी हुने ? कांग्रेस अधिवेशनमा आफ्नै पार्टीभित्र चुनाव लड्न १० करोडसम्म खर्च गर्नुपर्ने अवस्था छ भने हामी कसरी समाधान गर्न सक्छौँ ।

अब कसरी सम्मानित बनाउन सकिन्छ त ? तर मैले यसो भन्दैमा हरेस खानै पर्ने अवस्था छैन । सम्मानित गर्न सकिन्छ । सफा राजनीतिक अभियान चलाऔं । ‘क्लीन क्याम्पेन’ चलाऔं । यसका लागि सत्ता बाहिर पनि बस्नुपर्ने हुन्छ । कांग्रेसको कति वर्ष बाहिर बस्न तयार छ? १० वर्ष ५ वर्ष बाहिर बसे सत्तालाई सफा गर्न सकिन्छ । अनिमात्र राजनीतिलाई सम्मानित बनाउन सकिन्छ ।

अर्को विचार र व्यक्तिमा एकत्मकता हुनुपर्छ । कांग्रेसको विचार राम्रो छ त्यसमा मलाई केही भन्नु छैन । कांग्रेसका व्यक्ति पनि राम्रा छन् । तर पदमा पुगेपछि व्यक्तिले गर्ने व्यवहार ठीक छैन । व्यक्तिसँग मेरो कुनै गुनासो छैन । व्यक्तिले गर्ने व्यवहारको कुरा हो । यसलाई हामी कसरी सच्याउन सक्छौं ? सबै राजनीतिक दललाई संगठित कार्यकर्ता बनाउने होड छ । सबैलाई पदको होड छ । नाममात्र फरक छन् तर कार्यकर्ता बनाउने होड छ ।

अर्को अघि पनि  मैले भने असल मान्छे बीपी कोईरालालाई हामी महामानव भन्छौं । उहाँ पनि मान्छेभन्दा माथिको महामानव त पक्कै होइन होला । मान्छेहरुका बीचकै महान् हो । मान्छेभन्दा माथि नेतालाई दैवीकरण गर्न मिल्दैन । आज हामी राजनीतिमा लागेकाहरू कांग्रेसमा लागेकाहरू ठूलो हुन चाहन्छौं कि असल हुन चाहन्छौं ? ती कुरा हामीले लिन्छौं, यही कुरा हो ।

अब अर्को कुरा मेरो ६० वर्षको अध्ययन बुझाइमा कार्यकर्ता र प्रजातन्त्र एकैपटक अघि बढ्न सक्दैन । प्रजातन्त्र एकैपटक मासमा जान्छ । कार्यकर्तामा जाँदैन । होलटाइमर कार्यकर्ता पाल्दा एक दुई जना सकिन्छ तर ५० जना त सकिँदैन । तिनीहरू जनताले तिरेको करबाट पालिने कुरा हुँदैन । राजनीति स्वयंसेवीले चल्छ । कार्यकर्ताले चल्दैन । संगठन हुन्छ तर स्वयंसेवीले पार्टी चल्छ ।

(सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नेपालले मंगलबार राजधानीमा गरेको कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC