site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धेरै होहल्ला गरिएका थुप्रै कृति असफल छन्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
 
प्रदीप नेपाल
 
कुनै बेलाका सक्रिय एमाले नेता प्रदीप नेपाल अहिले ‘गुप्तवास’मा छन् । भदौमा आउने नयाँ उपन्यास ‘आमाको मन’को अन्तिम तयारीसँगै नयाँ–पुराना कथाको संग्रह प्रकाशनमा उनी लागिपरेका छन् । भूमिगतकालमा सञ्जय थापा भनेर थुप्रै रचना लेखेका प्रदीपका दुवै नाममा करिब २८ वटा पुस्तक प्रकाशित भइसकेका छन् । उनी हिजोआज पार्टी कामभन्दा साहित्यिक समारोहमा बढी झुल्किन्छन् । राजनीतिक गतिविधि लगभग शून्य भइसके । पछिल्ला ५ वर्षमा मात्रै उनले ५ वटा पुस्तक प्रकाशन गरिसकेका छन् । यस अर्थमा उनी राजनीतिलाई चटक्कै छाडेर साहित्यकर्ममै समर्पित देखिन्छन् । यसपटक हामीले उनीमाथि लाग्ने केही आरोप संकलन गरेर सोधेका छौं । त्यसबाहेक नेपाली साहित्य र साहित्यकारप्रति उनको दृष्टिकोण पनि जान्ने प्रयास गरेका छौं । उत्तर जस्ताका तस्तै !
 
 
१) तपाईं राजनीतिमा सफल हो कि साहित्यमा ?
राजनीति मेरो नागरिक दायित्व हो, साहित्य मेरो सिर्जना हो । सफलताको दाबी मैले गर्ने होइन । पार्टीले दिएका जिम्मेवारी मैले पूरा गरेको छु । काम गरेन भनेर कसैले औंला ठड्याएका छैनन् । चार पटक मन्त्री पदको शपथ लिएँ । चार वटा मन्त्रालय सम्हालें । छिः भनेर गाली गर्ने ठाउँ कसैलाई दिइनँ । साहित्यमा पनि मेरा सबै पुस्तक दोस्रो÷तेस्रो संस्करण निस्किएका छन् । आफूले गमेर हेर्दा दुबै क्षेत्रमा मैले पासमार्क पाएको छु भन्ने लाग्छ ।
 
२) आलोचकहरु तपाईंको राजनीति र साहित्य उस्तै–उस्तै हो भन्छन्– असफल ! के भन्नुहुन्छ ?
अरुको भनाइमा म हिँड्दिनँ । आलोचकको भनाइ उनीहरुको आफ्नो दिमागको कुरो हो । म जहिले पनि पाठकको प्रतिक्रियालाई आफ्नो पुँजी मान्छु । जहाँसम्म राजनीतिको कुरो हो, ०३४ सालदेखि आजका मितिसम्म काम नगर्ने, अल्छी र भ्रष्ट नेता भनेर कसैले मेरो आलोचना गरेको छैन । कसैले मलाई गाली गरेका छैनन् । पार्टी र राज्यले दिएका जिम्मेवारी सधैं पूरा गरेको छु ।
 
३) राजनीतिज्ञको बीचमा ‘म साहित्यकार’ र साहित्यकारको बीचमा ‘म सफल राजनीतिज्ञ हुँ’ भन्नुहुन्छ रे ! सही हो ?
मैले कहिल्यै पनि आपूmलाई राजनीतिज्ञ भनिनँ । कमिटीको हिसाबले भन्ने हो भने लामो समयदेखि म केन्द्रीय कमिटीमा छु । दुई कार्यकाल म स्थायी समिति सदस्य पनि भएँ । त्यतिबेला पनि मैले आफूलाई राजनीतिज्ञ भनिनँ । यो प्रश्नको उत्तर पहिलो प्रश्नमा पनि दिएको छु ।
 
४) तपाईंले पञ्चायतकालका अनुभव, अनुभूतिमात्र होइन, सहयोद्धा र सहिदलाई पनि आफ्ना आख्यान र गैरआख्यानमा पात्र बनाउनुभएको छ । तपाईंको पात्रविन्यास मन परेकालाई देवत्करण गर्ने र मन नपरेकालाई राक्षसीकरण गर्ने प्रकारको छ भनियो भने ठीक हुन्छ ? हुन्न भने किन ?
यो त मेरा कृतिहरु पढ्दै नपढेको पाठकले लगाएको आरोप हो । मैले व्यक्तिकेन्द्रित उपन्यास चार थान लेखेको छु । ३३ वर्षअघि प्रकाशित ‘खुइते कडेरिया’ मेरो पहिलो लघुउपन्यास हो । त्यसमा घटित सबै घटना सत्यको टेकोमा उभिएका छन् । पञ्चायतकालमा ठूला–साना सबै पञ्चहरू कति हदसम्मको अपराध गर्थे भन्ने सत्यको उद्घाटन भएको छ त्यहाँ । पञ्चायतद्वारा आतंककारी भनी मारिएका रत्नकुमार वान्तवाको जीवनीमाथि आधारित भएर लेखिएको ‘देउमाईको किनारमा’ र त्यसैगरी मारिएका हरि नेपालको जीवनमा आधारित ‘नओइलाउने फूल’मा कुनै देवत्वकरण गरिएको छैन । अहिले पनि यी तीन उपन्यास बजारमा उपलब्ध छन् । तपाईं आफैं पढेर निक्र्योल गर्न सक्नुहुन्छ । ‘बर्बरिक’ देवत्वकरण सकिने पात्र हो । तर म आफैं सम्पूर्णतामा नास्तिक भएकोले मदन भण्डारीको देवत्वकरण गरेर उनलाई बचाउन सकिन्छ भन्ने सोच मभित्र कहिल्यै आएन । देवदेवीसँग जोडिएको मेरो अर्को बालउपन्यास छ– ‘दुर्गा हजुरमाको भूत’ । भूतको कथा भनिए पनि त्यसले यो सौर्यमण्डलमा कतै देवदेवी नभएको र जीवित मानिसहरू नै आफ्नो जीवनकालमा राम्रा काम गरेको हुनाले पछिल्लो पुस्ताले उनीहरूलाई देवता बनाएका हुन् भन्ने सत्य पस्किने कोसिस गरेको छु । त्यसमा समेटिएका छन्– गौतम बुद्ध, रोमन सम्राटले जबर्जस्ती भगवान पुत्र बनाएका दासविद्रोहका नायक स्पार्टाकस, हाम्रा किराँत सरदार शिव । यी सबै मानिस नै थिए भन्ने सत्यको उद्घाटन उक्त बालउपन्यासमा गरेको छु ।
 
पात्रको राक्षसीकरण गर्नुपर्ने खालका उपन्यास अहिलेसम्म लेखेको छैन । माओवादी समालोचकहरूले ‘मेरो आकासगंगाको तीरैतीर’लाई ‘बन्दुकमा सौन्दर्यबोध नदेख्ने प्रतिक्रियावादी कित्ताको लेखक’ भनी मलाई ‘सम्मान’ गर्नुभएको छ । यो उहाँहरूको राजनीतिक टिप्पणी हो । उहाँहरूको आलोचना सही पनि छ किनभने मेरा लागि बन्दुक विनाश हो, मृत्यु हो । बन्दुकमा मैलै कहिल्यै सौन्दर्यबोध देखिनँ र भविष्यमा देख्ने पनि छैन । उग्रवामपन्थी चेतनाको कालमा पनि मैले बन्दुकमा सौन्दर्यबोध गर्न सकिनँ । तर, नेपालमा अहिले पनि बन्दुकलाई जति घृणा गरिनुपर्ने हो, त्यति गरिएको छैन । त्यसैले मान्छे बन्दुकजस्तो हिंसाको मूलमा पनि सौन्दर्यबोध गरिरहेका छन् । मलाई लाग्छ– नेपाली राजनीतिमा एक दर्जनभन्दा बढी त्यस्ता नकारात्मक चरित्र छन्, जसको नांगेझार गरिएन भने मजस्तो लेखकले नेपालको वर्तमान राजनीतिप्रति न्याय गरेको ठानिँदैन ।
 
५) तपाईंले स्तम्भ लेखन पनि गर्नुभयो । विश्लेषणमा पनि तपाईंले कुतर्क गर्नुहुन्छ भन्ने अर्का विश्लेषक पनि अनेक थिए । त्यस्तालाई के जवाफ छ तपाईंको ?
तपाईंले आजको गोरखापत्र (असार ३० गते) र हिजोको राजधानी (असार २९) मा छापिएका दुई टिप्पणी पढिदिएर आफैं निष्कर्ष निकाल्नु भए हुुन्छ । यद्यपि अखबारी लेखन मेरा लागि साप्ताहिक आवश्यकताको खुराकमात्र हो । कुनै–कुनैले लामो समयका लागि काम गर्लान् । तर, मेरा लागि ती सबैको महत्व बढीमा एक महिना मात्र हो ।
 
६) लेख्नु र व्यवहार गर्नु फरक कुराहरू हुन् भनिन्छ । कहिलेकाहीँ लेखेर मैले मेरो कुण्ठा बिसाइरहेको छु या म आफैंलाई ढाँटिरहेको छु भन्ने लाग्दैन ? असल लेखकलाई त यस्तो लाग्छ रे त ! के भन्नुहुन्छ ?
असल लेखक र खराब लेखकको परिभाषा मलाई थाहा छैन । लेखक लेखकमात्र हो । मनभित्र नभएका कुरा कुनै लेखकले लेख्दैन । कुण्ठा लेखन पनि होला । मचाहिँ जनताका लागि लेख्ने, जनपक्षधरतासहितको लेखक हुँ । मेरा पात्रहरूलाई हिजो म गाउँघरमा भेट्थें । अहिले पनि म तिनलाई उतैतिर भेटिरहेछु । तिनलाई नै मैले पुस्तकको पानामा उनेको छु । सहरको प्रदूषण, फेरिँदै गएको जीवनशैलीका बारेमा थोरै कथा लेखेको छु । तर, मेरो आधारभूमि गाउँ हो । त्यसैले अहिलेसम्म आफ्नो कुण्ठा बिसाउने साहित्य लेख्नु परेको छैन ।
 
७) सञ्जय थापा बनेर किन लेख्नुभयो ? प्रदीप नेपाल नाम आफैंमा काफी थिएन ?
यसका लागि एकछिन तत्कालीन परिवेशतिर जानुपर्छ । म प्रदीप नेपाल हुँदै लेख्थें । राजकाज मुद्दामा मलाई थमाइएको अभियोगपत्रमा लेखिएको थियो, ‘सागर नेपाल सिरोज भन्ने प्रदीप नेपाल’ । अर्थात राजकाज मुद्दा लाग्नुअघि पनि म साहित्य लेख्थें– सागर नेपाल र सिरोज उपनाममा । एउटा पर्चामा ‘सामन्ती नाइके’ शब्द प्रयोग गरेको आधारमा म र मेरा केही साथीलाई १० वर्ष कैद र १० हजार जरिवाना तोकियो । हामीले विद्रोह ग¥यौं । नक्खु जेल विद्रोह । जेल विद्रोह गरेर बाहिर गएपछि म खतरनाक विप्लवकारी भएछु । देख्नेबित्तिकै गोली हान्नेसम्मको आदेश भएछ । त्यसैले प्रदीप नेपालको नाउँमा म केही लेख्न नसक्ने भएँ । यो सरकारी पाटोको कुरो भयो ।
 
यसको अर्को पाटो पनि छ । उतिबेला हामी उग्रक्रान्तिकारी थियौं । लेख्नु आफू प्रकाशमा आउन खोज्ने निम्नपुँजीवादी मनोवृत्ति हो भनेर गाली तहसम्मको आलोचना हुन्थ्यो । तर, म नलेखी बस्नै नसक्ने । म भोजपुरमा जन्मिएको हुँ । हाम्रो भोजपुरमा साहित्यको रस सधैं बगिरहन्छ । मेरा हजुरबाका काका कवि, मेरा हजुरबा कवि, मेरा दाजुहरू कवि । मलाई पढाउने सर कवि । कवि हुनु मेरो परिवारमा लज्जाबोधको विषय थिएन । त्यो एकप्रकारको गौरव थियो ।
 
यस्तो मान्छे म, नलेखी कसरी बस्न सक्थें र ? त्यसैले मैले पार्टी र सरकार दुबैतिरबाट लुकेर लेख्न एउटा छद्म नाम निकालें– सञ्जय थापा । म खुला भएपछि मेरा लागि सञ्जय थापा नामको प्रयोजन सकियो ।
 
८) त्यो भूमिगत सञ्जय थापा नामले अहिले पोल्छ कि पोल्दैन ? दुवै नाममा एउटा रोज्नुपरे कसलाई रोज्नुहुन्छ ?
मलाई केहीले पोल्दैन । मेरा कतिपय शुभेच्छुक पाठकलाई पोलेको छ । सञ्जय थापा नामप्रति उहाँहरूमा मोह पनि छ । तर, मलाई थाहा छ– सञ्जय थापा मेरो भूमिगत जीवनको बाध्यता थियो । त्यो बाध्यता सकिएपछि नामको प्रयोजन पनि सकियो ।
 
९) सञ्जय थापा नाम अब फेरि ब्युँतिन्छ ? 
ब्युँझिदैन । तर, साथीहरूको आग्रहलाई सम्मान गर्दै ०७३ सालको वैशाखदेखि मैले आफ्ना पुराना कृतिहरूको नयाँ संस्करण निकाल्दा सञ्जय थापाको नामलाई पनि समावेश गर्ने सोच बनाएको छु । यसो गर्दा प्रदीप नेपाल र सञ्जय थापा सँगसँगै हिँड्न पाउँछन् ।
 
१०) साहित्यलाई नाराकै रूपमा अघि बढाउनुभयो भन्ने आरोप लाग्छ तपाईंलाई । राजनीतिक विषयवस्तुमा आख्यान लेख्ने सबैजसो लेखकले खेप्ने साझा आरोप हो यो । राजनीतिक विषयवस्तुसम्बन्धी आख्यानले नारा बोक्नैपर्छ र ?
जसले आरोप लगायो, उसले मेरा कृति अध्ययनै गरेको छैन । यो मेरो निष्कर्ष हो । राजनीतिसँग नजोडिएको साहित्य कतै हुन्छ भन्ने लाग्दैन मलाई । तर, नारा र कल्पना कहिल्यै एक ठाउँमा नभेटिने साहित्य हुन् । हुन त कहिलेकाहीँ ‘हरे राम, हरे राम, राम राम हरे हरे’ जस्ता नारा सुन्दरता बोकेर बाँचिरहन्छन् । तर, यो अपवाद हो । मैले लेखेका ‘नन्दिता’, ‘पूर्वतिर’, ‘एक्काइसौं शताब्दीकी सुम्निमा’जस्ता उपन्यासहरूलाई भिन्न राजनीतिक मत राख्नेहरूले पनि नारा भनेका छैनन् ।
 
११) खगेन्द्र संग्रौला, हरि अधिकारीलगायत तपाईंका समकालीन लेखकसँग तपाईंको सम्बन्ध ठीक छैन भन्ने गाइँगुइँ सुनिन्छ । गाइँगुइँ मात्रै हो कि यसमा सत्यता पनि छ ?
यो प्रश्न तपाईंले मलाई नसोध्नु भए हुन्थ्यो । खगेन्द्र संग्रौला मेरो समकालीन होइन, मभन्दा अगाडिका प्रगतिशील लेखक हुनुहुन्छ । मैले कथा लेख्न थाल्दा उहाँले उपन्यास लेखिसक्नु भएको थियो । अहिले भने उहाँ एकजना विवादित टिप्पणीकार हो । हरि अधिकारीका बारेमा मसँग धेरै जानकारी छैन । तर, उहाँले लेख्ने गरेको पुस्तक परिचयलाई कसैले पनि राम्रो भनेको आजसम्म मैले सुनेको छैन । पातलो परिचय भएका ‘साहित्यकार’लाई मैले समकालीन लेखक कसरी मान्न सक्छु र ?
 
१२) अहिलेको साहित्य लेखनमा तपाईं गुमनामजस्तै हुनुभयो । राजनीतिमा पनि सक्रिय हुनुहुन्न । के गर्दै हुनुहुन्छ ? ‘तुफानअघिको सन्नाटा’ हो ?
अहिले मेरो राजनीतिक गतिविधि झन्डै–झन्डै शून्यको अवस्थामा छ । यसप्रति म चिन्तित छैन । मलाई लाग्छ– अब हाम्रो पालो सकियो । नयाँ भाइबैना, छोराछोरी राजनीतिमा अगुवा भएका छन् । अबको युगीन दायित्व अब उनीहरूको काँधमा जानुपर्छ । जहाँसम्म साहित्यको फाँट छ, त्यो मेरा लागि अहिले पनि उत्तिकै उर्बर छ । पछिल्ला ५–६ वर्षमा मैले ‘चरैवेति चरैवेति’, ‘बर्बरिक’, ‘एक हजार वर्ष’ शीर्षकमा उपन्यास, ‘पाइला टेकेर विदेशमा’, ‘कुञ्जिनीको गामबेंसी’ जस्ता नियात्रा निकालेको छु । आगामी भदौमा नयाँ उपन्यास ‘आमाको मन’ प्रकाशित हुँदैछ । ‘उहिलेका र अहिलेका कथाहरू’ शीर्षकमा प्रकाशित÷अप्रकाशित कथाहरूको एउटा सँगालो पनि यसै वर्ष बजारमा आउनेछ । साहित्यिक पत्रपत्रिकाका कथा, लघुकथा, कविता र गीत छापिएकै छन् । त्यसैले साहित्यको क्षेत्रमा मेरो सक्रियताप्रति म सन्तुष्ट छु ।
 
१३) बाँकी जीवन के गरेर बिताउनुहुन्छ ? राजनीति, साहित्यकर्म या अरु नै केही योजना छन् ?
राजनीति नागरिक दायित्व हो र मैले त्यो दायित्व पूरा गरें भनेर मैले माथि नै भनिसकेको छु । क्रियाशील जीवनमा उमेरको ठेस नलागुन्जेल म सामाजिक काम गरिरहेको छु, गरिरहनेछु । अहिले म मदनआश्रित स्मृति प्रतिष्ठान र मदनआश्रित प्राविधिक शिक्षालयको अध्यक्ष छु । म समी साहित्य प्रतिष्ठानको पनि अध्यक्ष हुँ । सँगसँगै इटहरीमा सञ्चालित सप्तकोशी एफएमको पनि अध्यक्ष छु । साहित्य त मेरा हात र मेरो दिमागले काम गरुन्जेलसम्म मसँगै रहिरहन्छ ।
 
१४) अबको दशक नेपाली साहित्यलाई हाँक्ने नामको सूची बनाउनुपरे क–कसलाई राख्नुहुन्छ ?
म समालोचक, समीक्षक होइन । साहित्यकारहरू पनि राजनीति, गुट र खेमामा बाँडिएका छन् । अहिले पनि कविताले भूपि शेरचनलाई जित्न सकेको छ जस्तो मलाई लाग्दैन । कथामा पनि पुरानैको मान बढी छ । धेरै होहल्ला गरिएका थुप्रै कृति पढें मैले पनि । तर, आफैं आख्यानमा समर्पित भएकाले होला– मैले त्यस्तो युगीन चेतना बोकेर समाज हाँक्ने कृति जन्मिएको पाएकै छैन अहिलेसम्म मैले । ती कृतिलाई असफल भन्छु म । तर, यो कुनै मूल्यांकन होइन । मलाई लागेको कुरो मात्र हो ।
 
१५) तपाईंको नजरमा नेपाली साहित्यले पाएका ५ वटा अजेय कृति कुन–कुन हुन् ? र, किन ?
–‘माधवी’ । किनभने, अहिलेसम्म मैले त्यस्तो कृति लेख्न सकेको छैन ।
–‘ऋग्वेद संहिता’ । किनभने, सभ्यता र ज्ञानको स्रोत हो त्यो ।
अरु खै के भनौं । नाम सम्झनै गाह्रो भो । 
 
आवरण तस्बिरः medianp.com
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १, २०७३  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC