site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संघर्षकी प्रतिमूर्ति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
–उपेन्द्रराज पाण्डेय
संसारभरका यहुदीहरू जहाँसुकै रहून्, उनीहरूको इजरायलसँग भावनात्मक सम्बन्ध हुन्छ । इजरायली धर्म, संस्कृति र रहनसहनप्रति उनीहरूको लगाव रही नै रहन्छ । अमेरिकामा रहेका युरोपेलीहरू आफ्नै पुस्तैनी संस्कृति, भाषा र चालचलनसँगै नजिक हुन्छन् । अफ्रिकी अमेरिकीहरू पनि अफ्रिका र अफ्रिकाप्रतिको आफ्नो भावनात्मक सम्बन्धलाई त्याग्न सक्दैनन् ।
 
विभिन्न कालखण्डमा विभिन्न देशका मानिसहरू एक देशबाट अर्को देशमा बसाइँ सर्न बाध्य भए भने कतिपयलाई बाध्य बनाइयो । युरोपेलीहरू मानव सभ्यताको जग बसाल्ने नाममा संसारका विभिन्न कुनामा पुगे । युद्धले क्षतविक्षत भएका कोरियन, जापानी नागरिकहरू अमेरिका, युरोपतिर आफूलाई स्थानान्तरण गरे । अफ्रिकी नागरिकहरूलाई भने दासको रूपमा अमेरिका, युरोप पु¥याइयो । फलामका सिक्रीमा जनावरलाई झैं बाँधेर उनीहरूको शारीरिकमात्रै होइन, मानसिक शोषण पनि गरियो । प्राचीनकालदेखि नै आफ्नो जन्मभूमि छाडेर गएका यहुदीहरू आज पनि आफ्नो इतिहासलाई बिर्सिन सकेका छैनन् ।
 
आफ्नो देश वा समुदाय छाडेर अन्य मुलुक गएर बस्नेहरूले सिर्जना गर्ने साहित्यलाई डायास्पोरिक साहित्य भनिन्छ । केही वर्षदेखि विश्व साहित्यमा डायस्पोरा र डायस्पोरिक साहित्यको निकै चर्चा हुन थालेको छ । विभिन्न प्राकृतिक प्रकोप, युद्ध र अशान्तिले गर्दा आफू बस्दै आएको ठाउँ छाड्न बाध्य हुन्छन् भने कोही सुख–समृद्धिको आशमा । आफ्नो संस्कृति, परम्परा र रहनरसहन छाडेर पराईको संस्कृति अँगाल्नुपर्दा एक किसिमको पीडाले सताउँछ । आफ्नोपनको अभावले सताउँछ । मानिसहरूलाई नोस्टाल्जिक बनाउँछ । स्मृतिमा आफ्नै भूगोल, संस्कृति छाइरहन्छ । यस्तै स्मृतिहरूलाई विभिन्न साहित्यकारहरूले आफ्ना रचनामा समावेश गरेका छन् ।
 
डायस्पोरिक जीवनका विभिन्न आयामलाई साहित्यिक रूप दिने लेखकहरूमा भी एस नइपाल, सलमान रुस्दी, राजा राओ, हनिफ कुरेशी केही भारतीय नाम हुन् । अफ्रिकी डायस्पोरालाई उतार्ने लेखकहरूमा टोनी मोरिसन, माया एन्जेलोलगायतको नाम अगाडि आउँछ । मोरिसन र एन्जेलोका रचना केवल डायस्पोरामा मात्रै केन्द्रित छैनन्, उनीहरूका रचनामा अफ्रिकी–अमेरिकीहरूले अमेरिकामा बस्दा भोगेका रंगभेदपूर्ण व्यवहार, अन्याय र अत्याचारका बारेमा पनि सशक्त आवाज उठाएको पाइन्छ । तर, पनि उनीहरूको अफ्रिकी समाज र संस्कृतिप्रतिको आकर्षण र अमेरिकी संस्कृतिप्रतिको विकर्षण स्पष्टै देख्न सकिन्छ उनीहरूको रचनामा । अमेरिकालाई रंगभेदी समाजको समस्याले गाँजेका बेला जन्मेकी एन्जेलोका रचनामा आफूले भोगेका पीडाका साथै आफ्ना पुर्खाहरूको संस्कृतिप्रतिको मोह झल्किन्छ ।
 
माया एन्जेलोेको नाम लेखकमा मात्रै सीमित छैन । उनी एक कुशल गायिका, नृत्यांगना र नाटककार पनि हुन् । त्यसो त उनले सन् १९६४ मा अमेरिकामा भएको अफ्रिकी–अमेरिकी नागरिक आन्दोलनमा अग्रणी भूमिका खेलेकी थिइन् । आन्दोलन निर्णायक बिन्दुमा पुगेका बेला उनी घाना विश्वविद्यालयमा काम गर्थिन् । त्यतिबेला नै उनको आन्दोलनका अगुवा माल्कोम एक्ससँग भेट भएको थियो । उनले एक्सलाई अफ्रिकी–अमेरिकन युनिटी गठनका लागि सघाइन् । तर, सन् १९६५ मा एक्सको हत्या भयो । मार्टिन लुथर किङ जुनियरसँग उनको आन्दोलनको स्वरूप र प्रकृतिबारे मतभेद थियो । किङ महात्मा गान्धीको अहिंसात्मक आन्दोलनको पक्षमा थिए भने एक्स आल्दोलनलाई सफल बनाउन हिंसाकै सहारा लिनु परे पनि लिनुपर्छ भन्ने विचारका पक्षमा थिए । एन्जेलोले किङद्वारा स्थापित साउदर्न क्रिस्चियन लिडरसिप कन्फ्रेन्सकी सक्रिय सदस्यका रूपमा मात्रै काम गरिनन्, उनले संस्थाको आर्थिक सहायताका लागि महत्वपूर्ण भूमिका पनि निर्वाह गरिन् । पछि उनले सोही संस्थाको उत्तरी भेग हेर्ने जिम्मेवारी सम्हालिन् । आफ्नो प्रसिद्धिको उपयोग गर्दै उनले संस्थाका लागि चन्दा उठाइन् । सन् १९६८ मा किङको हत्या भएपछि उनले केही समय मानसिक तनावमा बिताइन् । किङको हत्या उनको जन्मदिनमै भएकाले एन्जेलोले केही वर्ष आफ्नो जन्मदिन पनि मनाइनन् ।
 
मानवअधिकारकर्मीका रूपमा समेत परिचित एन्जेलोले अमेरिकी नगरिकबीच समानताका लागि आफ्ना रचनामा समेत वकालत गर्दै आएकी थिइन् । निकै संघर्षपूर्ण जीवन बिताएकी उनले बार डान्सरका रूपमा समेत काम गरिन् । त्यतिमात्रै होइन, आफ्नो अभाव टार्नकै लागि यौनकर्मीका रूपमा समेत काम गर्नुपरेको उनी बताउँछिन् । उनको बाल्यकालको कथा पनि कम दर्दनाक र पीडादायी छैन ।
 
सात वर्षको उमेरमा आफ्नै आमाका प्रेमीबाट बलात्कारको शिकार हुन पुगेकी थिइन् उनी । आमाका प्रेमी फ्रिम्यानलाई प्रहरीले पक्राउ त ग¥यो तर एकदिनमै रिहा भए । रिहा भएको चार दिनपछि उनी मृत फेला परे । हल्ला फैलियो कि एन्जेलोका मामाले उनको हत्या गरे । त्यस घटनापछि उनी करिब पाँच वर्ष मौन रहिन् । भनिन्छ– उनी आफ्ना दाजु बेली जोन्सनसँग बाहेक कसैसँग बोलिनन् त्यो अवधिमा । उनले आफ्नो चर्चित संस्मरण ‘आई नो ह्वाइ द केज्ड बर्ड सिंग्स’मा भनेकी छन्, “मैले सोचें मेरो आवाजले उसलाई मा¥यो । मैले त्यो मान्छेलाई मारें किनभने मैले उसको नाम भनें । त्यसपछि मैले सोचें, अब म कहिल्यै बोल्नेछैन किनभने मेरो आवाजले जोसुकैलाई मार्न सक्छ ।” उनकै शिक्षक बर्थ फ्लावर्सले त्यो मौनता तोड्न सहयोगी भूमिका खेलिन् ।
 
एन्जेलोका रचनाहरू केवल निराशा र पीडामा मात्रै केन्द्रित छैनन् । उनी प्रेम र रोमान्सका बारेमा पनि कलम चलाउँथिन् । अफ्रिकीहरूलाई रोमान्स गर्न आउँदैन भन्ने भनाइलाई खण्डन गर्दै उनले अमेरिकी राष्ट्रपति बाराक ओबामा र फस्र्ट लेडी मिसेल ओबामाको उदाहरण दिँदै ‘इसेन्स.कम’लाई अन्तर्वार्ता दिने क्रममा भनेकी थिइन्, “धेरै मान्छेलाई यो भ्रम छ कि श्वेतहरूमात्रै रोमान्स र प्रेममा निपूर्ण हुन्छन् । अश्वेतहरू केवल सेक्समा मात्रै । जब राष्ट्रपति ओबामा र मिसेलको नाच हेरें, मलाई लाग्छ– हामी अश्वेतहरू पनि कम रोमान्टिक छैनौं ।”
 
उनको कवितामा अफ्रिकी संगीत ज्याजको प्रभाव पाउन सकिन्छ । त्यसो त उनले कविता वाचन गर्दा हल नै गुञ्जायमान हुन्थ्यो । उनी हाउभाउका साथ कविता वाचन गर्थिन् । नाटकमा काम गर्ने भएकाले पनि हुन सक्छ– उनको प्रस्तुति सुन्दर हुने गथ्र्यो ।
 
एन्जेलो सधैं आफूलाई अफ्रिकी संस्कृति र रहनसहनसँग नजिक पाउँथिन् । टमस उल्फसँग आफ्नै कृति ‘अल द गड्स चिल्ड्रेन निड ट्राभलिङ सुज’को शीर्षकसँग असहमति राख्दै उनले भनेकी थिइन्, “तिमीले कहिल्यै घर छाड्न सक्दैनौ । तिमी जहाँ जान्छौ, घर लिएर जान्छौ । तिम्रो औंलाको नङमा, तिम्रा केशहरूमा, तिम्रो हँसाइमा तिमीले आफ्नो घर पाउनेछौ ।”
 
अफ्रिका र अफ्रिकी संस्कृतिप्रतिको आकर्षणले होला– एन्जेलोले सन् २००८ मा आफ्नो डीएनए परीक्षण गराएकी थिइन् । उक्त परीक्षणले उनी सियरालियोनको मेन्डे समुदायको सन्तति भएको पत्ता लाग्यो । आफू अफ्रिकी–अमेरिकी भए पनि उनले दुईपटक श्वेत नागरिकसँगै विवाह गरिन् । सन् १९५१ मा ग्रिक नागरिक टोस एन्जेलोस्ाँग विवाह गरेको चार वर्षमै उनले पारपाचुके गरिन् । त्यसपछि सन् १९७३ मा वेल्सका पाउल डी फुसँग विवाह गरेकी एन्जेलोले सन् १९९८ मा पारपाचुके गरिन् । आफ्नो कृति ‘इभन द स्टार्स लुक लोनसम’मा उनले त्यो विवाहलाई स्वर्गमै तय भएको भनेकी छन् ।
 
माया एन्जेलोले औपचारिक शिक्षाभन्दा पनि आफ्नै अनुभव र भोगाइबाटै धेरै कुरा सिकिन् । सन् १९४१ मा सानफ्रान्सिस्को लेबर स्कुलमा नृत्य र नाटकका लागि छात्रवृत्ति पाएकी उनले बीचमै आफ्नो अध्ययन छाडेर केबलकारमा काम गरिन् । तर, पनि उनको योगदानको कदर गर्दै विश्वका विभिन्न विश्वविद्यालयबाट ३० भन्दा बढी मानार्थ विद्यावारिधि पाएकी छन् । त्यतिमात्रै होइन, उनले पुलित्जर पुरस्कारसहित थुप्रै साहित्यिक सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन् । उनी आफ्ना आफन्तजन र साथीभाइबीच डा. एन्जेलोका नामले चिनिन्छिन् । 
एन्जेलोले केबल अफ्रिकी–अमेरिकीका पक्षमा मात्रै बोलिनन् । सन् १९६० को दशकको सुरुवातमा क्युबाली नेता फिडेल क्यास्ट्रोको खुलेरै प्रशंसा गरिन् । त्यतिमात्रै हाइन, उनले क्युबाली पत्रिका ‘रिभोलुसन’मा आफ्नो कथा पनि छपाइन् । सन् १९८१ मा प्रकाशित आफ्नो कृति ‘द हार्ट अफ वुमेन’मा आफूले क्यास्ट्रोको समर्थन गर्नुको कारण खुलाउँदै भनेकी छन्, “निश्चय नै क्यास्ट्रोले आफूलाई कहिल्यै श्वेत मानेनन् । त्यसैले उनी मेरा लागि ठीक छन् । अमेरिकीहरूले रसियनलाई मन पराएनन् । अश्वेत नागरिकहरूले भन्ने गर्थे– संसारमा त्यस्तो साम्यवादी मुलुक छैन, जसले मेरा हजुरबुबालाई दास बनाए । त्यस्तो साम्यवादी मुलुक छैन, जसले मेरो बुबालाई कोर्रा हिर्काए, डोरीमा झुन्ड्याए, जसले मेरी आमालाई बलात्कार गरे ।”
 
उनले साम्यवादी सिद्धान्तले पनि पिछडिएका र अल्पसंख्यक समुदायका पक्षमा आवाज उठाउने भन्दै त्यसको समर्थन गरेकी थिइन् । त्यसैले त उनका रचनाहरूमा अल्पसंख्यक समुदायमा रहेका अफ्रिकी–अमेरिकीका पक्षमा आवाज उठाएको पाइन्छ । त्यसो त उनी अफ्रिकी–अमेरिकी लेखकहरूले भिन्न किसिमको भाषा प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्थिन् । उनका रचनामा अफ्रिकी लवजका शब्दको बाहुल्यता पाइन्छ ।
 
लेखनबाहेक अन्य क्षेत्रमा काम गरे पनि उनले प्रसिद्धि कमाएको भने लेखनबाटै हो, त्यो पनि संस्मरणबाट । उनको संस्मरणका सात भाग छन् । कतिपय समीक्षकले उनका संस्मरणलाई आत्मपरक उपन्यासको रूपमा व्याख्यासमेत गरेका छन् । उनको आत्मकथाको पहिलो संस्करण प्रकाशित गर्न उनका लेखक साथी जेम्स बाल्डविनले झक्झक्याएका हुन् । मार्टिन लुथर किङको हत्यापछि लगभग निष्क्रिय रहेकी उनलाई बाल्डविनले नै लेख्न अभिप्रेरित गरेका थिए । सन् १९६८ मा बाल्डविनले कार्टुनिस्ट ज्युल्स फेइफरकोमा डिनरका लागि लगेका थिए । सबै आगन्तुक पाहुनाले पालैपालो आ–आफ्ना बाल्यकालका कहानी सुनाए । एन्जेलोको कहानीले फेइफरकी श्रीमतीको मन छोयो र अर्को दिनै ‘¥यान्डम हाउस’का सम्पादक रोबर्ट लुमिससँग एन्जेलोको भेट गराइदिइन् । सुरुमा लेख्न अस्वीकार गरेकी एन्जेलोले बाल्डविन र लुमिसको आग्रहलाई स्वीकार्दै ‘आई नो ह्वाई द केज्ड बर्ड सिंग्स’ लेखेकी हुन्, जसले उनलाई विश्वमै चिनायो ।
 
बाल्यकालमा भोगेको पीडा बिर्सन उनले सानै उमेरदेखि साहित्यमा रुचि राखिन् । उनले कविताको बुझाइबारे भनेकी छन्, “तपाईं जबसम्म कविता जिब्रो, दाँत र ओठबाट आएको महसुस गर्नुहुन्न, तबसम्म तपाईं कवितालाई माया गर्नुहुन्न ।”
 
उनले आफ्नो पहिलो संस्मरणको शीर्षक पाउल लरेन्स डन्बारको कविता ‘सिम्प्याथी’बाट लिएकी हुन् । संस्मरणको शीर्षकले पिँजडामा थुनिएको चरालाई इंगित गरे पनि ‘आई नो ह्वाइ द केज्ड बर्ड सिंग्स’ सिक्रीमा बाँधिएका अफ्रिकी दासहरूको चित्रण हो । संस्मरणमा आफूले भोगेको बलात्कार पीडाको वर्णन भए पनि सम्पूर्ण अफ्रिकी–अमेरिकीहरूले सदियौंदेखि भोगिआएको पीडा हो ।
 
उनका चर्चित कृतिमध्ये विभिन्न शीर्षकमा प्रकाशित सात संस्मरणबाहेक ‘मम एन्ड मी एन्ड मम’ र कविताहरूमा ‘स्टिल आई राइज, ‘फेनोमेनल वुमेन’ र ‘जस्ट गिभ मी अ कुल ड्रिन्क अफ वाटर बिफोर आई डाई’ चर्चित छन् । उनले समानता र न्यायका पक्षमा मात्रै होइन, अफ्रिकी डायस्पोरामा समेत कलम चलाउँदै साहित्यमार्फत अफ्रिकी संस्कृतिको सम्वद्र्धनमा योगदान पु¥याएकी छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १, २०७३  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC