करिब २४ वर्षअघि मैले पत्रकारिता सुरु गर्दा अर्थशास्त्रमा स्नातोकत्तर गरिरहेको हुनाले द काठमाडौं पोस्टको आर्थिक समाचार हेर्न अह्राइयो । आर्थिक समाचारको स्रोत खोज्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स र सम्बद्ध सरकारी कार्यालयमा जाने र समाचार संकलन गर्ने पेसामा रमाइयो । मैले समाचार संकलन गर्न जाँदा नेपाल चेम्बर अफ कमर्समा निकै धेरै कार्यक्रम हुन्थे । त्यसबेला चेम्बरको अध्यक्ष हुनुहुन्थ्यो – श्री बनवारीलाल मित्तल ।
उहाँसँग मेरो व्यक्तिगत परिचय भने महेशकुमार अग्रवाल चेम्बरका अध्यक्ष भएपछि अझ प्रगाढ भयो । हरेक जसो कार्यक्रममा मित्तलजी निकै प्रभावशाली भाषण गर्नुहुन्थ्यो । चेम्बरका पूर्व अध्यक्ष बनवारीलाल मित्तलको नाम धेरै पटक पत्रिकामा प्रकाशित गरेपछि बिस्तारै कार्यक्रमपछि हुने चियापानमा बोलचाल हुन थाल्यो । उहाँले पनि यो फलानो व्यक्तिको समाचार द काठमाडौं पोस्टमा प्रकाशित हुन्छ भन्ने थाहा पाउनु भयो । अलि टाढै भए पनि बोलाएर गफ गर्नुहुन्थ्यो ।
व्यक्तिगत व्यवहारमा एकदमै मिजासिलो । आर्थिक विषयमा जुनसुकै मामिलामा पनि खरर भाषण गर्न सक्ने, तर राजनीतिको विषयमा सार्वजनिकरूपमा धेरै नबोल्ने । व्यक्तिगत कुराकानीमा भने राजनीतिको आरोह, अवरोह र षड्यन्त्रको हिसाबकिताब गर्न खुबै रमाउने । यसैपनि धनीभन्दा विद्वान् व्यक्तिले प्रभावित पार्ने स्वभाव भएको मलाई कसैले भनिदियो – उहाँ त छ, सात वटा भाषा फरर बोल्नुहुन्छ । नभन्दै, कार्यक्रमहरूमा नेपाली र अंग्रेजीमा मजाले भाषण ठोक्ने, अरू बेला नेवारसँग नेवारीमा, मारवाडीसँग मारवाडीमा बोल्ने । मेरा लागि निकै उपयोगी समाचार स्रोत हुनुभयो मित्तलजी । म उहाँलाई मित्तलजीनै भनेर बोलाउने गर्थें । मेरा बाभन्दा करिब ८ वर्ष जेठा भए पनि मित्तलजीलाई मैले अरू सम्बोधन गर्न सकिन र मेरो यही सम्बोधन स्वीकार्य पनि भयो ।
कुनै पनि विषयमा गहिरिएर अध्ययन गर्ने मित्तलजीको अनुभव धेरै थियो । त्यो अनुभवबाट सिक्न मैले व्यक्तिगत भेटघाट बढाएँ । मुम्बईमा बसेर आफूले कसरी नेपाली विद्याथीको संघ बनाएर संघर्ष गरेँ भन्ने विषयदेखि कसरी त्रिशुलीको बाटो बनाउँदा आफूले ठेक्का लिएको र कति पटक मृत्युसँग निकटतम भएर पनि बाँचेको घटना सुनाउनु हुन्थ्यो । पुराना मन्त्री र सचिव को कति सज्जन र कति दुर्जन थिए ? कतिपल्ट सरकारी निर्णयमा आफूले कसरी प्रभावित पारेंँ भनेर पनि बेलीविस्तार लगाउने उहाँको स्मरण शक्ति देखेर म छक्कै पर्थें ।
मैले विद्वान्मात्र सम्झेर संगत गरेका मित्तलजीको त आर्थिक कारोबार पनि निकै ठूलो रहेछ । उहाँको परिवारको कपडाको ठूलो व्यापार रहेछ । तर, आफूले कपडाको व्यापार नगरेर निर्माण व्यवसायमा हात हालेकोमा उहाँलाई गर्व थियो । पहिले त्रिपुरेश्वरस्थित अफिस भवनमा निकै साधारण तरिकाले बस्नुहुन्थ्यो । बिस्तारै हेलिकप्टर सञ्चालकका रूपमा आफूलाई अघि बढाउनु भयो । त्रिपुरेश्वरको अफिसको रूपरंगमा पनि परिवर्तन भयो । दुईतला माथि उहाँको भव्य अफिस पनि बन्यो । तर माओवादी आतंकका बेला उहाँको अनन्या एयरको एम आई १७ हेलिकप्टर जिरीमा आगो लाग्यो । अर्को एक ठाउँमा अर्को हेलिकप्टरमा माओवादीले हानेको गोली पनि लाग्यो ।
उहाँलाई हेलिकप्टर जलेकोमा ठूलो चित्त दुखेको रहेछ । मैले एकपल्टको भेटमा त्यसै सोधिदिएँ – “हेलिकप्टर जलेर त फाइदा भयो भन्छन् नि इन्स्योरेन्सको पैसा आएर ।” उहाँको मैले चित्त दुखाएको सायद यो एउटै घटना थियो । “प्रतीकजी, आफ्नो सन्तान नष्ट भएको हेरेर कसैलाई पैसा कमाउन मन हुँदैन,” – भन्नु भयो । त्यसपछि मैले त्यो विषयमा खासै कुरा गरिन । पछि त्यो एयरलाइन्सको नामनै परिवर्तन गरेर श्री एयर रह्यो । श्री एयर भएपछि ृहाँले नेपालको सबैभन्दा ठूलो हेलिकप्टर कंपनी बनाएरै विश्राम लिनुभयो ।
नेपालका गिनेचुनेका सज्जन व्यापारीमा पर्ने मित्तलजी धेरै विषयमा जानकारीमूलक कुराहरू सुनाउनु हुन्थ्यो । सरकारले अलि कर छल्ने वा आफूलाई विश्वास नभएको व्यापारीलाई समर्थन गर्नुहुन्न भन्दै एउटा उदाहरण सुनाउनु भएको थियो – भारतमा पोलिस्टर कपडाको व्यापारमा धिरुभाइ अम्बानीले लाइसेन्स लिने भएपछि त्यस बेलाकी प्रधानमन्त्री इन्दिरा गान्धीले कलकत्ताका ठूला व्यापारी बिडला (कुमार मंगलम बिडलाका बाबु) लाई बोलाएर उनलाई पनि सो लाइसेन्सका लागि निवेदन दिन अह्राइछिन् । त्यसबेलाको लाइसेन्स राजमा यत्रो महत्वपूर्ण लाइसेन्स पाउनु कम ठूलो अवसर थिएन । अर्बौंको कमाइ हुने पक्का थियो । उनले प्रश्नवाचकरूपमा हेरेपछि गान्धीले भनिछन् – “उसलाई लाइसेन्स दिन बाध्य भएँ, एउटा राम्रो, स्वच्छ व्यापारिक घरानाले पनि पाओस् भनेर तिमीलाई पनि मौका दिन खोजेकी हुँ ।” यो उदाहरण कति सत्य हो त्यो थाहा छैन, तर राज्यले इमानदार उद्योगपतिलाई संरक्षण गर्नुपर्छ भनेर उहाँले सिकाउनु भएको ज्ञान मैले पनि धेरैलाई सुनाएको छु ।
म आर्थिक रिपोर्टर हुँदा महिना वा दुई महिनामा एकपल्ट एकदुई घन्टा बसेर गफ गर्ने चलन नै बनाएका थियौँं । तर, पछि आर्थिक रिपोटिङभन्दा अलि फराकिलो क्षेत्र हेर्नुपर्ने भएपछि भने भेटघाट पातलिएको थियो । तर पनि कुनै पार्टी वा कार्यक्रममा उहाँलाई देखेँ भने नभेटी र नमस्कार नगरी म सकभर निस्कन्न थिएँ ।
मैले उहाँलाई चिनेको करिब १०–१५ वर्षपछि थाहा भयो उहाँ र मेरा ससुरा ईश्वरीराज रेग्मी सँगै पढ्ने साथी हुनुहुँदो रहेछ । हनुमान साहु (मित्तलजीको बुवा) को कपडाको गोदाममा बसेर उहाँहरू सँगै पढ्नुभएको रहेछ । यो नयाँ नाताले पनि हाम्रो पुरानो सम्बन्ध प्रगाढ बनायो तर हाम्रो एक आपसको सम्बोधनमा बदलिएन । उहाँ प्रतीकजी भन्नुहुन्थ्यो, म सकभर नाम लिएर बोलाउन्नथिएँ । तर, नामै लिनु परेको बेला मित्तलजी नै भन्थें ।
बीचमा निकै समय हाम्रो भेट भएन । गत वर्षको भदौ महिनातिर म उहाँको कार्यालयमा भेट्न गएको थिएँ । उहाँको घरबाट ल्याइने शुद्ध शाकाहारी भोजन, छोडाएको चना, रोटी, दाल आदि दुईवटा थालमा राखेर खायौँं । उहाँको लन्च, मेरो भने खाजा भयो । विगतमा पनि बारम्बार यसरी सँगै बसेर लन्च–खाजा खाने गरिएको थियो । म बाह्रखरी खोल्ने सुरसारमा थिएँ । उहाँको केही सल्लाह पनि लिएँ । व्यापारमा जस्तै पत्रकारितामा पनि इज्जत (ब्राण्डनेम) बनाउन सकेको खण्डमा कुनै पनि हालतमा असफल हुनुपर्दैन भन्नुभयो ।
हिँडने बेलामा मैले भने – “तपाईंका साथी, मेरा ससुरा त आजकाल साह्रै कमजोर हुनुभएको छ । तपाईं त एकदम तन्दुरुस्त र ‘एक्टिभ’ देख्छु ।” अलि होँचाहोँचा कदका मित्तलजीले दुवै हातका मुठ्ठी कसेर तलमाथि गर्दै खुट्टा पनि घुँडाबाट खुम्च्याएर दौडन खोजेजस्तै गरेर भन्नुभयो – “अँ म त एकदम ठिक छु । केही समस्या छैन ।”
त्यति स्वस्थ्य मित्तलजीलाई छाडेर हिंडेको मैले २०७२ मंसीरमा उहाँको देहान्तको समाचार सुनेर विश्वासै गर्न सकिनँ । तर उहाँका घरमा छोरा सुधीरजीलाई कोरामा बसेको देखेपछि मेरा बुबा समान उमेरका साथी मित्तलजीले मलाई छाडेर जानु भएको पत्याउन करै लाग्यो ।
आज मेरा साथी मित्तलजी बित्नु भएको एक वर्ष पूरा भएको छ । जहाँ भए पनि उहाँको आत्माले पक्कै पनि शान्ति पाएको हुनुपर्छ । एक जना इमानदार, सज्जन, मृदुभाषी र समाजसेवी व्यापारीलाई भगवानले पनि यथास्थान उपलब्ध गराएका होलान् भन्ने विश्वासका साथ ।
तस्बिर : www.myrepublica.com