site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विष, विषय र विशेष

डा. पुण्यसागर मरहट्टा

  "साहिँली बज्यै ! तिमीसँग पैसा छ भने एक चिम्टी साइनाइड किनिदेउन । म यो पीडाबाट मुक्त हुन चाहन्छु ।" वाक्य ठ्याक्कै नहोला भाव यही थियो भन्छन् देखी, सुनी, पढी  जान्नेहरू महाकविको महाप्रस्थान अघिको अवस्थाको - शान्त भवन अस्पतालको शैयाबाट भनेका थिए रे ती अमूल्य निधिले ।  प्रत्युत्तरमा साँहिली बज्यैले के भन्नुभयो त्यो कतै लिखितममा भेटिएला तर यथार्थमा महाकविको पीडाबोध अकल्पनीय र अथाह हुँदो हो । आजभन्दा करीब साढे ६ दशकअघि एक जना महामनाले त्यसरी जगत् छाडेको नेपाली इतिहास छ ।

हो, निश्चय नै क्यान्सर पीडादायी हुन्छ । कसैलाई पनि त्यस्तो पीडा भोग्नु नपरोस् । नेपाली राजनीतिक जगतका ठालुलाईसमेत नपरोस् । हुनत, तिनले हाम्रा आशामा, आस्थामा 'साइनाइड' घोलिदिएका छन् । परन्तु, ती समेत क्यान्सरको चपेटामा नपरुन् । परेकैले पनि उपचार पाउन् । यहाँ सम्म म, हामी सही छौँ । गलत कहाँ पुगेपछि हुन्छौँ भने राज्यले दुई दर्जाका नागरिक बनाउन्जेल आफू उपल्लो दर्जा पाउने लालसा राख्छौँ हामी । अनि जब तल्लो दर्जामा दरिएको चाल पाउछौँ त्यसपछि कोहोलो मच्चाउछौँ । हामी क्रमशः खराब हुँदैगइरहेका छौँ । र यो दिनानुदिन खराब हुन हामीलाई कसैले प्रेरित गरिरहेको छैन, हामी आफैँ लागिपरेका हौँ ।  

Prabhu Bank
Agni Group
NIC Asia

समाजमा दुइ दर्जे भेदको विष पक्कै राजनीतिक नेताले घोलेका हुन् तर तिनलाई नेता हामीले नै बनाएका हौँ ।  आज हामीले सत्तोसराप गर्ने शेरबहादुर देउवा हुन् कि केपी ओली वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै किन नहुन्, हिजोका हाम्रा नायक थिए - दन्त्यकथाका राजकुमारजस्ता ।  हामीलाई लाग्थ्यो - ती आउने छन् र हाम्रा पीडा हर्ने छन् ।  'पीडा हर्ने छन्' बाट 'थप पीडा गर्ने छन्' को अवस्थामा पुगुन्जेल तिनलाई किन हामीले बोकिरह्यौँ ? हामीलाई बोकाइएको लोकतन्त्र अशक्त छ । हामीले बोकेर हिंडेको सर्वलोकहितकारी भनेर घोकाइएको  संविधान मृत छ । कतै हामी सिनो बोकेर त हिडिरहेका छैनौ ? यहाँलाई लाग्दो हो - मेरो कलम विष छादिरहेछ, म करेलाको रस भनिरहेछु यसलाई । मेरो तर्कमा विमत हुने मेरा लागि सहमत हुने जत्तिकै श्रद्धेय छन्  । त्यसकारण म आफूलाई लोकतन्त्रवादी ठान्छु । म विमती जनाउने सहमति गर्न जान्दछु ।

हामीले त्यो संस्कार सिक्यौँ ? सिकायौँ ? आफ्नो कुरा 'त' को 'र' हुनासाथ कतिजनाले अर्कोलाई दलाल देखेनन् ? कतिजनाले कोहोलो गरेनन्? सामाजिक सञ्जालमा एक अर्कामाथि हिलो छ्याप्दै गर्दा आफ्नो कछाड खुस्केको कतिलाई हेक्का रह्यो ? एक अदना नारीमात्र  हुन्थिन् सुजाता कोइराला भने उनले पाएको ५० लाखमा कसैले विरोध गर्दैनथियो ।  शैलजा आचार्यजस्ती संघर्षकी सगरमाथाका कुरा छोडिदिउँ वा आन्दोलनका क्रममा प्रहरी ज्यादतीका कारण गर्भमा रहेको बालक कालान्तरमा अपांग जन्मेको र त्यही बालकसमेत गुमाउन पुगेकी एक आमा कमला पन्तका समेत कुरा छोडौँ,  मेरी समवयी जीवन डंगोलको वा सरिता प्रसाईंको जतिमात्रै पनि सुजाता कोइरालाको चेत वा योगदान हुन्थ्यो भने सायद मेरा शब्द  पनि त्यति तिखा हुन्नथे होला उनीप्रति । बीपी कोइराला वा जीपी कोइरालालाई सम्मान दिने नाउँमा सुजाताको जय जयकार गर्ने हाम्रो विषाक्त मगज र मतिमाथि प्रश्न गर्नुअघि उनलाई हियाउनुको अर्थ छ ?

Global Ime bank

कोही कसैले कोइराला परिवारको दुहाइ दिन्छ भने त्यो भ्रम हो । कोइराला परिवारभित्रै ज्ञानेन्द्रको सरकारमा 'जदौ' बजाउने छन् । तिनका स्वस्तिवाचन अझै यदाकदा सुनिन्छन् ।  बीपी विवेकको कुरा गर्थे, गणेशमानजीले परिवारवादविरुद्ध जेहाद छेडे, किसुनजी निष्काम कर्मयोगमा विश्वास गर्थे । अनि अहिलेका वरिष्ठहरू ? विशिष्टहरू ? जब जब सुजाता कोइराला परिवारको दुहाइ दिन्छिन् मलाई प्रकाश दा, मनिषा र उनीहरूको राजा ज्ञानेन्द्रको स्थानीय निर्वाचनको बखतको तामझाम याद आउँछ । सँगै बीपी कोइरालाको पनि । बीपीले मोहन शमशेरलाई लोकतन्त्र सिकाएका थिए भन्छन् जान्नेहरू । शब्द बेग्लै होलान् भाव सायद यस्तो थियो - कोही कुनै परिवारमा जन्मेकै कारणले राज्यको उपल्लो तहमा पुगिरहने हो व्यवस्था लोकतन्त्र होइन । हुन पनि त्यो बोकतन्त्रमात्रै हो । म यो लेख भूगोलको त्यस कुनामा बसेर लेखिरहेछु जहाँका प्रधानमन्त्री आफैँ प्रधानमन्त्रीका छोरा हुन् ।

तर उनी प्रधानमन्त्रीको छोरा भएकैले प्रधानमन्त्री बनेका होइनन् । उनि कलिलो उमेरदेखि नै समाज सेवामा थिए ! राजनीतिमा आउन समाज सेवामा लागेका थिएनन । राजनीतिले उनलाई समाज सेवाबाट ल्याएको हो । अहिले सतहमा चलायमान देखिएका कोइराला परिवारका तीनै टाउका समाज सेवामा थिएनन् । थिए भने पनि समाज सेवाका लागि  थिएनन् । बरु ’कहीं पे निगाहें, कहीं पे निसाना' मात्र थियो । हामीले, त्यो विष रोपुन्जेल जयगान गरिरह्यौं । आज सुजातालाई आपत पर्‍यो, राज्यले नजराना चढायो । हामी हेरेको हेर्‍यै भयौँ र सुजातालाई सरापिरह्यौँ ।  मानवोचित संवेदना र होससमेत हराएर चर्किरह्यौँ, विष भने उहिल्यै घुलिइसकेको थियो ।  आशा के मात्रै थियो भने गिरिजाले हामीलाई पनि उपल्लो दर्जाको मान्छे बनाइदिनेछन् ।  विवेक बेच्ने हामी, खप्की खाइदिनु पर्ने सुजाताले ? सुजाता अन्य सामान्य नारीजस्तै आरोग्यको हकदार छिन् । तिनले रोगलाई जित्न सकुन्, शुभकामना !  साथै समाजमा लोकतन्त्रको नाममा घोलिएको विष निकाल्न लागुन् ।  र, यो पनि घामजस्तै छर्लंगै छ - अरू सर्वसाधारण पनि सुजाता झैं आरोग्यका हकदार हुन् । लोकतान्त्रिक राज्यमा सबैको अधिकार बराबर हुनुपर्छ । आशा छ, सुजाताले यो बुझ्नेछिन् । आशाले न दैनिन्दिनी चल्ने हो ।  आशा मरेको क्षणमा त दिनमै  रात पर्छ ।  

विष जत्तिकै  विषय पनि गम्भीर छ । हामी लगातार, निरन्तर कोलाहलका विषय खोजिरहेछौँ । अलिअघि लोकमानको रोइलो गरिरह्यौं, लाग्थ्यो - लोकमान नै सबै ह्बेथितिका जड हुन् । “लोकमानलाई हटाउन यत्न गरौँ, देशको पीडा हटाउन प्रयत्न गरौँ ।” सार्वजनिक चौतारीमा यो र यहीमात्र बहस चलिरह्यो । के बुझ्न हाम्रो समाज असफल रह्यो भने लोकमान  विषय नै होइनन् ।  विषय त हाम्रो लोकतन्त्रमा घोलिएको साइनाइड हो । त्यो विष घोलिएको लोकतन्त्रले लोकमान उमारेको मात्रै हो ।  विषय त हाम्रो अपूर्ण लोकतन्त्र हो जसले दुर्गन्धमात्र दिन सक्छ ।  यसले हामीलाई सुजाता, विद्या, खड्ग बन्ने बाटो दिँदैन, बरु छेक्छ । हामीलाई कोहोलोवाला क्यान्सरको संक्रमणले गाँजिसकेको छ । हाम्रालागि राष्ट्रिय ढुकुटी आकाशको फल हो । यसै मेसो 'तरकारीवाली' कोहोलो मच्चियो । यो कोहोलोले तरकारीवालीलाई ‘तिघ्रावाली’ बनाएर  शान्तिको सास फेर्‍यो । फेरि क्यान्सरवाली कोहोलो मच्चियो ।  तिनीविरुद्ध भन्न मिल्ने, नमिल्ने, श्लील, अश्लील सबै किसिमका कोहोलो सुनिए ।  आआफ्ना आग्रहका डम्फु बजे, बजाइए ।  त्यो कोहोलो माझ एउटा सामन्ती प्रवृत्तिको विरोधमा आगो ओकल्ने ठिटोमाथि डन्डा बर्साइयो ।  हिजो राजाका विरोधमा अनि परिवारवादका विरुद्ध बोल्दा 'दरवारिया' को टाँचा मारिएको एउटा कान्छो मन्त्री  विरुद्ध राँको बालियो ।  अहिले राँको बाल्नेहरूले के भुले होलान् भने हिजो उसैले 'राँको बाल्ने' हरूको बोली  उसका हजुरबा उमेरकासम्म पुर्‍याउने आँट गरेको थिय। ।

पद्धतिको निर्माण गर्छु भनेर कसिएको उसमाथि राजीनामा दे भन्नेहरूले सुजातालाई १ रुपियाँ दिए अरे ! ठीक गरे । त्यसैगरी  खड्ग ओली, सुशील कोइराला, विद्या भण्डारी आदिलाई  पनि उसैगरी समानुपातिक हिसाबले चन्दा दिँदा उचित हुन्थ्यो । खड्ग ओलीले त्यसो गर्दा २  रुपैयाँ ५२ पैसा, सुशील कोइरालाले मरणोपरान्त  हाराहारी ३ रुपियाँ, विद्या भण्डारीले २ रुपियाँ वरिपरि पाउँदीहुन् । रामवरणले १ रुपिया ५ पैसा जति पाउँथे । होइन भने यो कोहोलो एउटा पद्धति बसाउँछु  भनेर कम्मर कसेर लागेको एउटा तरुणलाई गिल्ला गरेर तुरिन्छ ।  र, दर्जे वर्गीकरणको खेलोमेलोमा यो पटाक्षेप हुन्छ ।  विषय त्यसैले लालबाबु पण्डित वा गगन थापा होइन ।  विषय बरु विषयान्तर गर्न माहिर हाम्रा वरिष्ठहरु हुन्, विशिष्टहरु हुन् ।  गगनले मैदान छाडे मेरो पालो आउँथ्यो भन्नेहरू, गगनलाई खँगार्न पाए करोडौँ लतार्न पाइन्थियो भन्नेहरू वा यसले त नियमै बनाएर काम देखाउन कस्सियो, हिरो पो हुने भयो भनेर तर्सिनेहरू राँके जुलुसमा गोलबद्ध भएका हुन् । उही ढलमा पौडिने गगन पनि दूधले नुहाएको त छैनन् नै होला तर  उनको राजनीतिक आयु धेरै छ । तर्क गर्छन्, अध्ययन गर्छन्, यो ठिटाको बाटो नछेक्दा राम्रै नतिजा आउँछ की भन्ने लाग्छ । र, जसले यसलाई गन्गने देख्छ र अनन्तकालसम्म कोहोलो मच्चाउँछ, उसले समेत सिन्कोमात्र भाँचेको भए पनि देश रसातलबाट उम्किँदो हो । लोकतन्त्र कोहोलो होइन ।

कोकोहोलोकै मेलोमा 'सुमन संग' नामक कार्यक्रममा एक असहाय नारीको पीडा देख्न पाइयो । ती नारीलाई सलाम तर सुमन त्यस कार्यक्रममा बिल्कुल चुकेका छन् । रवि प्राञ्जलको गजल कण्ठ पारेकी ती दिदीले आफ्नै गजल झैँ गरी सुनाइन् । सुमनले प्रशंसा गरे, अन्वेषण गर्ने आँट गरेनन् । कोहोलोमा होमा हो मिलाउने हो भने उनले आफ्नो पेसालाई बिल्कुल अन्याय गरे । यी दिदीले  ३ वटा प्रश्नको जवाफ गोलमटोल दिएकी छन् ।
१. ‘माइती छैनन् ।’  तर, उनी आफैँले २ दीदी, २ भिनाजुको कुरा गरेकी छन् । 
२. ‘उनको ओम अस्पतालको जागिर र नर्सिङ क्यारीयर थियो ।’ तर, उनैले सबै प्रमाणपत्र जलाइवरी त्यो क्यारियरको साटो फोहोरको थुप्रो रोजिन् । किन? उनको लोग्ने भनाउँदोले लगेर फ्याँकेको पनि होइन भनेकी छन् ।
३. ‘को हो उनको दानवी लोग्ने?’  के दानव चित्रित मनुवाको परिचय खोल्ने वा उसको सफाइदिने दुवै मौकाको नसबन्दी पत्रकारिताको आचारसंहिता भित्र पर्छ?
प्रश्न थुप्रै छन् । म लोग्नेमान्छेको बचाउ गरिरहेको छैन, म एउटाको जयगान गर्दा अर्काको मानमर्दन समेत गर्नुपर्दैन भन्ने ठान्छु । वास्तविक महिमा गान गरिनु पर्ने दीक्षा चापागाईँ अगाडि आउन् ।  यो चाहना सुमनले पनि पूरा गर्न सक्छन् । दीक्षाले पक्कै जानेकी होलिन् सत्यको अर्को पाटो । सत्य कटमेरो पचाउन धौ धौ पर्ने गर्छ र अर्धसत्य शायद अब्बल पत्रकारिताको ध्येय पनि होइन ।  यी कञ्चन दिदी सदा सुखी रहुन् भन्ने कामना समेत छ । तर, उनी सतही पत्रकारिता र कोहोलोको उडन्ते नायिका नबनाइउन् भन्दा अन्यथा नहोला । सतही पत्रकारिता बिकाउ हुन्छ ।  

पति पीडित मसला बिक्छ, देखाउँछन् । यस्ता पत्रकारिताले पत्नी पीडित पनि छन् भन्ने देखाउने हिम्मत गर्लान् ? समाज कोहोलोको अभ्यस्त भयो भनेर कोहोलो पस्किने पत्रकारिताले आक्रान्त छ हाम्रो समाज । कागले कान लागेको हो होइन छाम्ने फुर्सद छैन हामीलाई । हामीलाई त बेतोड कुद्नमात्र आउँछ ।  लोकतन्त्र वेग त  हो तर आवेग होइन ।  लाग्छ, हाम्रो विषाक्त अनि अपूर्ण  लोकतन्त्र अरूलाई धारे हात लगाउन सिकाउँछ तर अरूको स्थानमा बसेर सोच्न सिकाउँदैन । विवेक बेचिसकेपछि आवेगमात्र बाँकी रहने रहेछ कि बत्तिन सकिन्छ, बुझ्न सकिन्न । लोकतन्त्रले शालीनताको पक्षपोषण गर्छ, विमतिलाई बहसका माध्यमबाट सहमतिमा पुर्‍याउने प्रयास गर्छ । 

लोकतन्त्रले गाली, सत्तोसरापभन्दा तर्क गर भन्छ । हाम्रो लोकतन्त्र भने अपूर्ण छ, यसले चिच्याउने, च्याँठिने, उस्तै परे मुड्की  उज्याउनेलाई स्थान दिन्छ । यसले कुलीन भन्ने  वर्ग र धुलिन बाध्य वर्गमा समाजलाई वर्गीकरण गर्छ ।  सम्भवत: मेरो पुस्ता हिजो २०४६ वा २०६३ मा लोकतन्त्र भनिने यस्तो अजीवको  पद्धतिको निर्माणको  खातिर सडकमा उत्रेको थिएन ।  विषय हामीले खोजेको लोकतन्त्र विकृत होइन भन्ने हो ।

विशेष,  लोकतन्त्र गहिरिएर बग्ने नदीजस्तो हो जो धीर, गम्भीर हुन्छ । लोकतन्त्र हरेक दशकमा आउने खहरे होइन । लोकतन्त्रको धमनी विवेक हो । त्यसैले सकारात्मक स्पन्दन संरचनाका कुना कुनासम्म पुर्‍याउँछ । लोकतन्त्रले सबैलाई यो मेरो राज्य हो, मैले असल गर्दा मलाई असल हुन्छ भन्ने भरोसा दिन्छ, गलत गर्दा मलाई ठोक्छन् भन्ने त्रास पनि दिन्छ । मन्त्री बन्ने  र मगन्ते बन्ने समान अवसर दिन्छ । कोलाहल, कोहोलो, खुट्टा तानातान, उछिनपाछिन, ज्ञानी हुनेभन्दा धनी हुने होड  हामीलाई सिकाइएको विषाक्त लोकतन्त्र हो । सही लोकतन्त्र स्वस्थ प्रतिस्पर्धा गर, इलम गर, श्रम गर, होँचोहेलो नगर, बाँच र बचाउका अत्यन्तै आधारभूत सिद्धान्तमा आधारित हुन्छ । यसले कुनै लफ्फाजी बक्नु, बोक्नु नै पर्दैन ।

सुजाताले दान पाइन् । यो चिन्ताको  विषय होइन । चिन्ता 'बसाल्न लागेको पद्धतिमाथि बोलिएको धावा' मात्र पनि होइन । चिन्ता राजनीतिको आवरणमा गरिने ठूलाठूला घोटालामा मुछिएका हरेकले यसरी रकम पाउने र माटो खोस्री माम उमार्ने गरिब सिटामोल नपाई मर्ने अवस्थाको हो । मैले चिनेको लोकतन्त्रले आधारभूत ज्ञानका लागि शिक्षा र बाँच्नका लागि आधारभूत स्वास्थ्य सेवा दिन्छ । म गलत हुन सक्छु तर मेरो अन्तर्यले के भन्छ भने नेपालका दुस्मन छैनन्, लोकतन्त्रमा दुस्मन हुँदैनन्, प्रतिस्पर्धी हुन्छन् । तर हाम्रा नेता भनाउँदा अधिकाधिक हास्य अभिनेताका मतिहीन, उरन्ठेउला र विवेकशून्य सबैखाले झुन्डले हामीलाई एउटा हाउगुजीभित्र कैद गरेका छन् । हामी तसर्थ बाह्यजगत्को मायाबाट क्रमशः वञ्चित र दयामा अधिकाधिक आश्रित हुँदैगइरहेका छौं । हाम्रो समाज त्यो हाउगुजीबाट नतर्सिने बन्नै बाँकी छ । भारत, चीन, अमेरिका, रूस, युरोप त्यस्ता हाउगुजी बनाइएका छन् जसको प्रयोग गर्दा तपाईँ तर्सिनु हुन्छ, म तर्सिंन्छु । त्यसैको प्रयोग गर्दै आएका छन् हाम्रा विकृत लोकतन्त्रका ठेकेदारले, हिजोका राजासमेत यी भन्दा फरक थिएनन् । सही लोकतन्त्रमा कसैले डराउनै  पर्दैन । प्रतिस्पर्धामा डराउनेले कुनै उन्नति गर्नै सक्दैन ।

 र, केही व्यक्तिगत अनुभूतिका कुरा - किन डीभी भर्न वा पीआर लिन कम्मर कसिरहेछ समाज? जबाफ स्पष्ट छ - ऊ त्यहाँ जान खोजिरहेछ जहाँ ऊ जे बन्न सक्छ, त्यो बन्ने वातावरण छ । आफ्ना क्षमताका कारण एउटा विशेष उचाइ हासिल गर्नसक्ने सम्भावना छन् । नमान्न पाउनु हुन्छ तर वास्तविकता के हो भने नेपालमा रहेको अपाहिज लोकतन्त्रले नै त्यसलाई मलजल दिइरहेको छ । मुलुक छाड्न हौस्याइरहेछ । सही लोकतन्त्र आएका दिन त्यही समाज नाकको चालले आफ्नो माटो खोस्रिन  फर्किन्छ । बिपी कोइराला सही थिए । भन्थे - मानिस ब्रेडले होइन, ब्रेनबाट सञ्चालित हुन्छ । हाम्रो लोकतन्त्रमा विवेक हराएको छ, विवेक हाल्नु परेको छ । केही अग्रज दाजुहरूले पञ्चायतको अन्त्यतिर छातीमा उनिदिएको ब्याजबाट निस्केर बोले एक दिन । बीपीले - केटा, लेख् न, भनिदे न मेरो नाम तिनको आधिकारिक दस्तावेजबाट झिक्न भनेर । म मछिन्द्रनाथको भोटोजस्तो सालमा एकपटक देखाइने वस्तु होइन । त्यति भनेर ती गए । सँगै सीके प्रसाई पनि रहेछन्, ती पनि फर्केर गए । बीपीको नेपाली काँग्रेस जसले सिङ्गो राष्ट्रमा विवेक हाल्न सक्थ्यो हिजो, आज उसको  बिपीसँग साइनो छैन । भलै उनका रगत त्यतै कतै पिच्पिच गर्दा होलान् ।

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७३  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC