site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतले कहिल्यै नेपालमा प्रजातन्त्र आओस् भनेको छैन 
Ghorahi CementGhorahi Cement

प्रदिप गिरी नेपाली कांग्रेसका बौद्धिक नेता हुन् । उनी पार्टीभित्र तथा बाहिर स्पष्टवक्ताको रुपमा चिनिन्छन् ।

नेपालको आन्तरिक राजनीति, अन्तर्राष्ट्रिय अवस्था, नेपालको परराष्ट्र सम्बन्धलाई नजिकबाट चिनेका उनै गिरीसँग बाह्रखरीले पछिल्लो राजनीतिक अवस्था, भूराजनीतिको असर, नेपालको आगामी यात्रालगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ ।
प्रस्तुत छ, गिरीसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंशः

अहिलेको राजनीतिक अवस्थालाई यहाँले कसरी हेरिरहनुभएको छ ? केपी शर्मा ओलीको व्यवहारलाई कसरी बुझ्नुभएको छ ? प्रजातान्त्रिक प्रणालीको प्रक्रिया यस्तै हुनेगर्छ ?

Agni Group

सरकार आउँछ जान्छ, यो स्वाभाविक प्रक्रिया हो । सबैजनाले अहिले भनेको के हो भने यो संविधान खतराको अवस्थामा पुग्यो । खतरामा पुर्‍याउने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् भन्ने धेरैलाई लागिरहेको छ । 

यो संविधान खतराको अवस्थामा पुग्यो । खतरामा पुर्‍याउने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै हुन्

शेरबहादुर देउवा गठबन्धन नेतृत्वको गठबन्धनले पनि भनेको छ– प्रधानमन्त्रीका हरेक कदमले संविधान खतरातर्फ गइरहेको छ ।
संविधान भन्ने एउटा पुस्तक २०७२ मा आयो । त्यो कति खतरामा छ ? भन्ने कुरा पहिले जान्नुपर्छ ।

Global Ime bank

संविधानले बनाउन खोजेको प्रणालीको मुलभूत विषय एकपछि अर्को गरी प्रहारमा परेको छ । संविधानको स्पिरिट के हो ?

पटक पटक चुनाव भएर जनता र देशलाई अर्थात् देशको अर्थतन्त्रलाई हुने खतरा के हो ? भन्ने पनि बुझ्नुपर्छ । बेलायतमा हेर्‍यौँ भने त्यहाँ ‘फिक्स्ड पार्लियामेन्ट’ छ ।

हामीले पनि ‘फिक्स्ड पार्लियामेन्ट’ नभने पनि त्यसको स्पिरिटमा बनाएका हौँ । तर त्यो किन अहिले संकटमा पर्‍यो किन बारम्बार चुनावको कुरा भइरहन्छ ? 

अर्कोतिर सरकार र संविधानभन्दा पनि केही फरक विषय छन् । 

बारम्बार चुनाव गराइरहनुको पछाडि भ्रष्टाचार पनि अन्तरनिहीत हुन्छ भन्ने कुरा भुल्नुहुँदैन । 

लगातार सरकार परिवर्तन हुँदा अस्थिरता आउँछ । अस्थिरताका साथसाथै समाजले नरुचाएका पात्रहरुको उदय हुन्छ । सरकार आउने जाने भइरहन्छ । 

बारम्बार चुनाव गराइरहनुको पछाडि भ्रष्टाचार पनि अन्तरनिहीत हुन्छ भन्ने कुरा भुल्नुहुँदैन । 

त्यसैले जुन भावना, जुन उद्देश्य र जुन सोचका साथ संविधान जारी गरिएको थियो, त्यस्तो त हुन सकेन । 

अब यसमा सबैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै लक्षित गरेका छन् । मुलुकको प्रमुख कार्यकारी भएको नाताले उनले जिम्मेवारी लिनैपर्छ । सचतेरुपमा नै यस पद्धती र आचरणप्रति नकारात्मक व्यवहार गरेको देखिन्छ । 

यसमा प्रतिपक्ष पनि ओभानो भने छैन । कसरी छैन भनेर प्रशस्त उदाहरण दिन सकिन्छ । प्रतिपक्ष दलको नेताको हैसियतले पाउने सबै सुविधा लिने तर खतरा मोल्न नचाहने ?

होइन भने सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेबित्तिकै विपक्षी गठबन्धनलाई विश्वासमा लिएर केही कदम चाल्नुपर्ने होइन ?
त्यसैले फेरि पनि भन्छु यो संविधान खतरामा परेको छ । 

सरकारले गरेका कामको विरोध गर्न प्रतिपक्ष अर्थात् शेरबहादुर देउवालाई के डर छ ? ओलीले संवैधानिक परिषद्देखि अनेक अध्यादेश ल्याएर अध्यादेशको शासन गर्दा पनि चुप छन् । 

प्रतिपक्ष दलको नेता हाम्रो शेरबहादुर देउवा हुनुहुन्छ । अर्कोतिर प्रचण्ड पनि यतिबेला प्रतिपक्षमै हुनुहुन्छ ।

कहिलेकाहिँ नेताले जोखिम उठाएर निर्णय गर्न सक्नुपर्छ । ज्ञानेन्द्रका विरुद्धमा २०६३–६३ होस् कि २०४६ सालमा राजा वीरेन्द्रका विरुद्धमा जनता सडकमा आउँदाको बेला होस्, जोखिम उठाइएको होइन ? त्यसबेला उछिट्टिएको गोलीले पनि मान्छे मारिन सक्थे । 

पहिलो कुरा जीवन नै जोखिम हो । हामीले अहिले कोरोनाविरुद्धको दोहोरो खोप लगाएको भए पनि सुरक्षित छौँ भन्न सकिने अवस्था त छैन । तर राजनीति अरु थप जोखिम हो । बेला मौकामा जोखिम लिन जान्नुपनि पर्छ । 

अहिले शेरबहादुर देउवाका बारेमा भन्दा उनले समय पाएर पनि जोखिम उठाउन नसकेकै हो ।

अहिले शेरबहादुर देउवाका बारेमा भन्दा उनले समय पाएर पनि जोखिम उठाउन नसकेकै हो । दुई महिना संसद् चलेको होइन ? दुई महिनाको संसद्मा अविश्वासको प्रस्ताव ल्याउन पनि किन नसकेको ? अविश्वास प्रस्ताव ल्याएको भए के हुन्थ्यो भन्नेतिर अहिले नजाऊँ । कतिसम्म भन्न सकिन्छ भने तर्कबाट माथि उठेर आस्थाका आधारमा कतिपय निर्णय नगरी स्वस्थ राजनीतिको सुरुवात हुँदैन ।

२०४६ सालमा यति सजिलै लोकतन्त्र आउला भन्ने लागेको थियो र ? हामी त त्यहाँ लागेको जमात हो । 

तर्कबाट माथि उठेर आस्थाका आधारमा कतिपय निर्णय नगरी स्वस्थ राजनीतिको सुरुवात हुँदैन ।
शेरबहादुर देउवाको विषयमा कुरा गर्दा दुईवटा केन्द्रीय समितिको बीचमा पदाधिकारीको नाममा निर्णय गराउनुहुन्छ ।

पदाधिकारी बैठकको निर्णयलाई पार्टीको निर्णय मानिन्छ ।

कांग्रेसको विधानमा पदाधिकारी समितिले दुई बैठकको बीचमा निर्णय गर्नेछ भनेर कहिँ लेखेको छ ?

यो शेरबहादुर देउवाजीलाई प्रश्न गर्न चाहन्छु । पदाधिकारीसम्म भन्नेलाई कांग्रेसको विधानले चिन्दैन । कांग्रेसको विधान र प्रजातान्त्रिक परिपाटीले चिन्दैन । बरु केन्द्रीय समितिभन्दा माथि भइपरि आउँदा हाम्रो विधानमा एउटा व्यवस्था गरिएको छ –त्यो हो कार्यसम्पादन समिति । 

केन्द्रीय समितिभन्दा माथिल्लो निकाय हो । त्यो अहिलेसम्म गठन नै भएको छैन । 

हाम्रो विधानअनुसार प्रत्येक वर्ष महासमिति बैठक हुनुपर्ने हो । महासमिति बैठक नेपालगञ्जमा भएको थियो २०५४–५५ तिर ।

त्यसपछि गणतन्त्र घोषणा गर्न र राजतन्त्र हटाउने बेला बोलाइयो, त्यसपछिका महासमिति भनिए पनि न त्यहाँ कुनै छलफल हुन्छ न कुनै निर्णय हुन्छ ।

मलाई भन्न कुनै संकोच छैन हाम्रो पार्टी एकदम अलोकतान्त्रिक तरिकाले चलिरहेको छ । 

नेपाली कांग्रेस पार्टी सभापति र सभापतिले इच्छा गर्नुभएका दुईचार जना व्यक्तिले चलाइरहेका छन् ।

मलाई भन्न कुनै संकोच छैन हाम्रो पार्टी एकदम अलोकतान्त्रिक तरिकाले चलिरहेको छ । 

वरिष्ठ नेता भन्ने चलन छ । वरिष्ठ नेतासँग पनि सभापतिले छलफल गर्नुहुन्छ । उहाँहरु बेला बेलामा मञ्चमै झगडा गर्नुहुन्छ । आज गरेको निर्णयलाई भोलिपल्ट वरिष्ठ नेताले ‘यो होइन’ पनि भन्न भ्याउनुहुन्छ ।

सभापति नै पार्टी, पार्टी नै सभापति बनेको छ । प्रधानमन्त्रीले म नै सरकार म नै देश भनेका छन्, पार्टीको अवस्था पनि त्यस्तै छ ।

पार्टीमा यो अवस्था गिरिजाबाबु हुँदा पनि थियो । शेरबहादुरजीलाई मात्रै दोष दिन चाहन्न । अहिले अलि बढी चाहिँ भएको छ । 
मैले कांग्रेसलाई विगत दुई वर्षका घटनाक्रमबाट छुट्ट्याउन चाहेको हो ।

सभापति नै पार्टी, पार्टी नै सभापति बनेको छ । प्रधानमन्त्रीले म नै सरकार म नै देश भनेका छन्, पार्टीको अवस्था पनि त्यस्तै छ ।

कांग्रेस भन्ने पार्टीलाई धेरैको सहानुभूति छ तर नेतृत्वले काम गर्न सकेन ।  

यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने मान्छेले राजनीतिको लक्ष्य सत्ता पनि भन्छन् । सत्ता भन्नाले प्रधानमन्त्री मात्रै होइन, गाडी, घोडा, सुख सुविधा, आफ्नाको नियुक्ति (राजदूत होस् या अख्तियार), विदेश भ्रमण त्यसलाई पनि सत्ता नै भनिन्छ । 

अहिले पनि नियुक्तिमा यति प्रधानमन्त्रीको भाग, यति विपक्षी दलका नेताको भाग, यति प्रधानन्यायाधीशको भाग भनेर आइरहेका छन् त समाचार । त्यो पनि सत्ता सुख होइन ? 

सिद्धान्तको अनुशरण गर्दा कतिसम्म जाने, सत्तालाई प्रमुखता कसरी दिने ? भन्नेमा दुईखालका राजनीति देखिन्छ ।

एउटा के हुन्छ भने सिद्धान्तका लागि केही चाहिँदैन त्यसको ज्वलन्त उदाहरण हुनुहुन्छ मोहनविक्रम सिंह ।

मोहनविक्रम सिंह पनि राजनीतिमा हुनुहुन्छ । हस्तक्षेप गरिरहनुहुन्छ, लेख आइरहेको हुन्छ, उहाँ सिद्धान्तको राजनीतिमा हुनुहुन्छ । 

अर्को अलिकति पनि सत्ताको आशा देख्नेबित्तिकै चिप्किइहाल्ने । महमा झिँगा बसेझैँ बसिहाल्ने । यो विश्वभर नै हुन्छ । जो शक्तिका लागि सिद्धान्तलाई माध्यम बनाउँछन् र शक्तिको दुरुपयोग गर्छन् । 

यो छिमेकमा पनि देखिन्छ । त्यसमा हाम्रो शेरबहादुर देउवा पहिलो श्रेणीमा पर्नुहुन्छ । यसमा ढुक्क पर्नुहुन्छ । यो समस्या गिरिजाबाबुमा पनि थियो । 

शेरबहादुरजीको संघर्षको भन्दा पनि सुविधा र सत्ताको राजनीति हो ।

केपी शर्मा ओलीसँग देउवालाई विगत महिनामा व्यक्तिगत संकोच पनि भयो होला । शेरबहादुरजीको संघर्षको भन्दा पनि सुविधा र सत्ताको राजनीति हो ।

तर मैले उहाँलाई क्षमा गरिदिन्छु । यस्तो तरिका संसारभरि बहुमत हुन्छ । राजनीति भनेको सत्ताको खेल हो अरु केही पनि होइन भन्ने मान्यता संसारमा छ । 

तपाईंहरुले मलाई नेता भन्नुभयो तर म नेता त होइन राजनीतिज्ञ पनि भन्ने कि नभन्ने अवस्था छ ।

कांग्रेसभित्र तपाईंले देखेको अहिलेको संकट के हो त ?

पार्टीमा जुन तहको संकट छ । जुन तहको विकटता छ । यसका बारेमा केही भन्छु । सायद पार्टीभित्रबाट पनि समाधान हुँदैन । यसमा मिडिया या बाहिरी व्यक्तिको पनि भूमिका हुन्छ ।

अंग्रेजीमा एउटा शब्द छ नि ‘मिडियोक्रेटी’ (साधारण स्तर), त्यस्तै हो हाम्रो अहिले । तर कतिपय मान्छे अति प्रतिभाशाली हुन्छन् नै जस्तो बीपी कोइराला हुनुहुन्थ्यो, किसुनजी हुनुहुन्थ्यो । 

कहिलेकाहिँ अति साधारण मान्छे पनि निकै महत्वपूर्ण इतिहास भएर आउँछ । यसको छर्लगं उदाहरण छ– तुलसी गिरी प्रतिभाशाली व्यक्ति हुन् । सूर्यबहादुर थापाको चतुरतामा पनि शंका छैन । तर उनीहरुको उत्तराधिकारी मरिचमान भए ।

मरिचमान व्यक्ति होइन एउटा प्रवृत्ति हो । हरेक व्यवस्थामा एउटा खास सामाजिक र आर्थिक कारणले जुनसुकै ठाउँमा जो पनि पुग्न सक्छन् । जो बनिदिए पनि हुन्छ ।

कहिलेकाहिँ परिस्थिति कस्तो आउँछ भने लामो समयसम्म कुनै देश काल र परिस्थितिको द्वन्द्वबाट अप्रभावित क्षण हुन्छ । त्यो बेलामा जसलाई राखे पनि भयो । जसले शासन गरे पनि हुन्छ । दुईवटा शक्ति लड्दै छन् । भोलि सत्तामा एउटा पुग्छ नै यो बीचमा जसलाई राखिदिए पनि हुन्छ । दुईवटा शक्ति हाम्रो संसारमा देखिँदैछ । 

हाम्रो व्यवस्थालाई संसदीय व्यवस्था भन्दैन । यदी बेलायतको व्यवस्था संसदीय हो भने यो होइन ।

यहाँनेर जोड्न खोजेको हाम्रो व्यवस्थालाई हो । हाम्रो व्यवस्थालाई संसदीय व्यवस्था भन्दैन । यदी बेलायतको व्यवस्था संसदीय हो भने यो होइन ।

संसदीय व्यवस्था कागजको पानामा लेखिएको व्यवस्था मात्रै होइन । संस्कार, परम्परा, वर्ग संरचना, आर्थिक अवस्था हो । सञ्चारदेखि न्यायालयसम्म तिनको इमान्दारिता र प्रमाणिकता पनि हो ।

मलाई के लाग्दैछ भने अहिले एउटा युगको अन्त्य हुँदैछ । एउटा नयाँ युगको सुरुवात हुँदैछ । अहिलेको संकटमा को प्रधानमन्त्री हुन्छ भन्ने होइन । को मुख्यमन्त्री हुन्छ भन्नेमात्रै होइन । 

जुन व्यवस्थालाई स्वीकार गरेर हिँडेका छौँ, त्यो होइन । त्यसको यति ठूलो अनभिज्ञता छ नेपाली कांग्रेसभित्र पनि । यो आम कार्यकर्तामा भनेको होइन । 

गाउँघरमा राजनीतिक कार्यकर्ताको अवस्था पृथक छ । सांसदसम्मको भनौँ न । अहिले पनि एसपी, डीएसपी, सीडीओले मनपरी गरेकै छन् ।

संघीयता आए पनि केही पैसा खर्च गर्नेबाहेकको अधिकार जनप्रतिनिधिलाई छैन ।

कांग्रेसभित्र हेर्‍यौँ भने कैयौँ युवाहरु निकै प्रतिभाशाली हुनुहुन्छ । गगन थापा, प्रदिप पौडेल, कल्याण गुरुङ, धनराज गुरुङसहित अरु कैयौँ नेता हुनुहुन्छ ।

मन्त्रीको अवस्था त्यस्तै छ । सचिव, सहसचिवले टेर्दैन । अवस्था त यस्तो छ नि । कांग्रेसभित्र हेर्‍यौँ भने कैयौँ युवाहरु निकै प्रतिभाशाली हुनुहुन्छ । गगन थापा, प्रदिप पौडेल, कल्याण गुरुङ, धनराज गुरुङसहित अरु कैयौँ नेता हुनुहुन्छ ।

व्यक्तिगतरुपमा कुरा गर्दा जो पनि प्रभावित हुन्छ । तर यिनीहरु जब केन्द्रीय समितिमा साझारुपमा प्रस्तुत हुन्छन् त्यसबेला गुटको कुरा आइहाल्छ ।

सामूहिकरुपमा उनीहरु जब निर्णय गर्छन् त्यहाँ कांग्रेसको परम्परावादी दायरा आइहाल्छ । हामी प्रजातन्त्रवादी, हामी संसदवादी, हामीले संवैधानिक राजतन्त्र किन छाड्यौँ त्यो पनि भन्छन् ।

त्यो एउटा लक्ष्मणरेखाबाट उम्किनै सक्दैनन् । व्यक्तिगतरुपमा एकदम राम्रा छन् उत्तर पनि खोज्छन् । तर समूहमा हुँदा कुन गुटमा लाग्ने हो लागिहाल्छन् ।

उठेको सवालको पनि तहमा जाँदैनन् । कुनै पनि विषयमा छलफल हुँदैन । 

नागरिकताजस्तो ठूलो विवाद आयो । त्यसमा कांग्रेसभित्र के छलफल भयो ? दुईघण्टामा छलफल सिध्याइदिन्छन् । 

चुच्चे नक्साको बारेमा कांग्रेसको कुन निर्णय देशलाई भलो हुनेगरी आयो ? ओलीले गरे, कांग्रेसले मान्यो । ओलीले लत्याए, हामीले पनि लत्यायौँ । यसमा हाम्रो स्वतन्त्र अडान के हो त ? युवा नेताको धारणा चाहिँदैन ? त्यो हाम्रो विदेश नीति र भौगोलिक अवस्थाको बारेमा महत्वपूर्ण निर्णय हो । पार्टीमा छलफल खोइ ? युवा नेताले पनि आफ्नो विवेकलाई बन्धक बनाइदिएका छन् । गुटको इन्ट्रेस्टभन्दा माथि उठ्नै सकेनन् । 

चुच्चे नक्साको बारेमा कांग्रेसको कुन निर्णय देशलाई भलो हुनेगरी आयो ? ओलीले गरे, कांग्रेसले मान्यो । ओलीले लत्याए, हामीले पनि लत्यायौँ । यसमा हाम्रो स्वतन्त्र अडान के हो त ?

गुटमा भाग पाइन्छ । कति प्रतिशत भाग पाइन्छ भन्ने छ । ६० प्रतिशत शेरबहादुर देउवा र ४० प्रतिशत रामचन्द्र पौडेल भए पुग्यो ।

अब कांग्रेसबाट आशा छैन तर ‘डेमोक्रेटिक क्याम्प’बाट चाहिँ छ ।

६० प्रतिशत शेरबहादुर देउवा र ४० प्रतिशत रामचन्द्र पौडेल भए पुग्यो ।

अर्को विषय हेरौँ न–

चुनाव यस्तै खर्चिलो भइरह्यो भने मुलुकमा स्वस्थ किसिमको व्यवस्था बन्दैन । यो कुरा सबै मान्न तयार छन् तर छलफल गर्न तयार छैनन् ।

चुनावलाई खर्चिलो बनाउन रोक्ने उपाय के हो भनेर किन छलफल हुँदैन ? 

अहिले दल बदलको कुरा आयो । कसले निकालेको मान्ने कसले निकालेको नमान्ने ।

राजनीति कमजोर भएको बेला ‘जुडिसियल एक्टिभिजम’ हुन्छ । यो विश्वभर हुन्छ, यहाँ पनि भयो । 

तर दल बदल कहाँबाट सुरु भयो त । अन्य देशमा कस्तो छ हामीले त्यो पनि हेर्नुपर्ने हुन्छ । भारतमा दल बदलको अवस्था बेग्लै थियो । 

भारतमा जयप्रकाशजी कहिले पनि चुनाव लड्नुभएन तर उहाँले दल बदलसम्बन्धी बडो महत्वपूर्ण विषय उठान गर्नुभएको छ ।

पार्टीका टिकटमा जितेर आएको हुनाले पार्टीप्रति दायित्व छ तर सरकारले जनविरोधी काम गर्दा पार्टीले लोकविरोधी आचरण गर्दा सांसदलाई अधिकार छ, जनताको कुरा सुनेर जहाँ मन छ त्यहीँ भोट देऊ ।

तर यदि अर्को दललाई समर्थन गरेर अर्को दलमा गएर मन्त्री बन्यौ भने बदनीयत मानिनेछ । मन्त्री बनेको या लाभको पदमा गएको दिनमा सदस्यता खारेज हुनेछ ।

सरकार ढाल्न महत्वपूर्ण कुरा भएन तर अर्को सरकारमा जान भएन भन्ने उहाँको प्रस्ताव थियो । यो कुरा इन्दिरा गान्धीले मान्नुभएन । 

अहिले नेपालको कुरा गर्दा या पार्टीको कुरा गर्दा अहिलेको नेतृत्वबाट यस्ता कुराको आशा राख्न त सकिँदैन १० वर्षपछि पार्टी र देश चलाउँछु भन्नेले सम्बोधन गर्नुपर्दैन ?

यहाँले भनेको नयाँ प्रकारको व्यवस्था कस्तो हो ? त्यहाँ कसरी प्रवेश गरिँदैछ त ?

मैले त व्यवस्था र प्रणालीभन्दा पनि माथि उठेर भन्छु कि हामी नयाँ युगमा प्रवेश गर्दैछौँ । केहीदिनअघि नारायण वाग्लेलगायतका २८ जनाले जुलुस निकाले । त्यहाँ उनीहरुले बी एन्ड सीलाई सम्बन्धन दिन सरकारले षडयन्त्र गरेको भन्दै विरोध गरे ।

त्यसबाहेक अहिले हेर्नुस् महिलाले निकालेको आन्दोलन, जस्तै हिमा विष्टलगायतले जुलुस निकाले नि । त्यो मात्रै होइन अहिले १९–२० वर्षका युवाहरुले वातावरण बचाऔँ भन्दै आन्दोलन गरेका छन् । यो सहजै बुझ्न सकिन्छ यी आन्दोलन आगामी दिनमा झनै सशक्तरुपमा उठ्ने छ ।

यो सत्ताका लागि भएको होइन, जनस्तरबाटै भएको हो । जस्तो अहिले गिटी ढुंगा निकासीमा जति बहस गर्नुपर्ने हो हुन सकेको छैन । ल्याटिन अमेरिकामा पनि विदेशी जान्थे । त्यहाँ पनि नजाऔँ हामीले हाम्रै उदाहरण दिऊँ । पोखरीमा माछा मार्दा बिऊसमेत मारेर हिँड्दा के हुन्छ त्यस्तै हुनसक्छ । साम्राज्यवादी अर्थात् बाहिरबाट आएको मान्छेलाई बिऊको माया हुँदैन । आफ्नो पोखरी छ भनेमात्रै बिऊको चिन्ता हुन्छ ।

आगामी सन्ततीलाई चुरे दिऊँ, यसबाट खानु छ उनीहरुलाई माया हुने भयो । होइन भने जसरी पनि पैसा कमाऊँ भन्नेलाई त यसको माया हुँदैन ।

व्यक्तिको नाफाको लोभले व्यवस्थालाई अस्तव्यस्त नगरोस् । यसमा प्रश्न उठ्न थालेको छ । यस्ता शक्ति समाजमा उदय भएका छन् ।

यिनीहरुलाई यो तथाकथित् संसदीय व्यवस्थामा हामीले अटाउन सकेका छैनौँ । 

त्यसैले मैले भनेको नयाँ प्रणाली बनाउनुपर्छ । त्यो भनेको बढीभन्दा बढी स्थानीय शक्तिलाई बलियो बनाउनुपर्छ । स्थानीय शक्ति भन्नाले अहिलेको गाउँपालिका भन्न खोजेको होइन । भन्न खोजेको के हो भने प्रेस सम्बन्धी कुनै कानुन ल्याउनु छ भने प्रेससँग सम्बन्धित व्यक्ति संस्थाको सहमतिमा मात्रै अघि बढाउनुपर्‍यो ।

त्यसैले मैले भनेको नयाँ प्रणाली बनाउनुपर्छ । त्यो भनेको बढीभन्दा बढी स्थानीय शक्तिलाई बलियो बनाउनुपर्छ ।

सरोकारवालासँग छलफल नगरी कुनै कानुन ल्याउनु भएन । सिंगो वर्ग र सिंगो समूह समाजका विरुद्ध लक्षित हुनुभएन । 
सामाजिकताबिना मनुष्य बाँच्न सक्दैन । अहिले धेरै कुरा कोरोनाबाट पनि सिक्न सकिन्छ ।

विषयमा अलिकति परिवर्तन गरौं । भारत र चीनको बीचमा हामी कसरी पेलिएका छौँ ? हामी यस्तो अवस्थामा कसरी जोगिने ?

पछिल्लो सय वर्षमा नेपालमा काम पनि गरेको, योग्य पनि भएको, प्रतिभाशाली, बहुमुखी, सुदर्शन व्यक्तित्व भएका मान्छे हुन् बीपी कोइराला ।

यसमा कुनै विवाद नै छैन । बीपी कोइरालाले प्रजातन्त्रमा भारतले सहयोग गर्छ भनेर भारत जानुभएको होइन ? ‘जेलबाट छुटेपछि सीधै भारत गएँ, इन्दिरा गान्धीसँग भेटेँ । उनले के चाहिन्छ भनिन्, मैले यति पैसा चाहिन्छ भनेर भनेँ’ भनेर बीपीले नै भन्नुभएको छ । उहाँले आत्मवृतान्तमार्फत भन्नुभएको छ ।

एकठाउँमा भनेको भए त्यसै भनेको होला भन्ने हुन्थ्यो चारठाउँमा यो कुरा लेखिएको छ । उहाँका भाइ गिरिजाप्रसाद कोइरालाले त कहाँसम्म लेख्नुभएको छ भने ‘पैसा सकियो भारतसँग माग्न गएँ, त्यहाँ जाँदा के हाम्रो पैसा लिन्छौ ? बैंक लुट न भन्नुभयो, उनीहरुको नक्कली नोट पनि बनाएँ’ भनेर भन्नुभएको छ । 

समग्रमाभन्दा उहाँ पनि भारत जानुभएको हो । 

भारतमा पनि बीपीको उचाइ कुनै पनि नेताको भन्दा कम थिएन ।  बीपी र जयप्रकाशले बसेर कुरा गरेको मैले सुनेको छु ।

जयप्रकाश जेठो हुनाले बीपीले दाजुजस्तो मान्नुहुन्थ्यो तर कुराकानीमा बराबरी स्तर देखिन्थ्यो । त्यस्तो योग्य मान्छेलाई कसरी भ्रम पर्‍यो भारतले मलाई प्रजातन्त्रमा मद्धत गर्छ भनेर ? कहिँ कतै कुटनीतिको किताबमा दुई देशको सम्बन्धमा अर्को देशको स्वार्थमा तपाईँलाई मद्धत गर्छ होला र ? यो कुनै किताबमा लेखेको छ ? 

बीसौँ शताब्दीमा एकदमै चर्चित भएका ‘हेनरी केसिन्जर’ को प्रसिद्ध किताब छ– डिप्लोमेसी ।

उनले स्पष्टरुपमा वर्णन गरेका छन् । राज्यको उत्पत्तिदेखि सबैको कुरा छ । हजार पृष्ठको पुस्तकको निष्कर्ष छ– प्रजातान्त्रिक प्रणालीले हाम्रो व्यवस्थालाई मद्धत गर्छ र सफलतामा पुर्‍याउँछ भन्ने हामीलाई विश्वास छ । लोकतान्त्रिक पद्धतीबाट हाम्रा लक्ष्य पूरा भएनन् भने हामी अन्य बाटो अपनाउन तत्पर रहन्छौँ ।

भारतले हाम्रो हितमा काम गर्छ भनेर कहाँ लेखिएको छ ? यो कुरा कसले भनेको छ ? कुन शास्त्रमा भनेको छ ? कुन देशमा भनेको छ ? भारतल त्यत्रो महान लोकतान्त्रिक देश हो भने भुटानमा किन लोकतन्त्र कायम नगरेको ?

यति कुरा स्पष्ट भनेपछि अहिले यहाँ हेरौँ– कांग्रेसका नेताले यो कुरा किन बुझेको छैनन् । नेपालको गिटी ढुंगा होस् या अन्य कुरा भारतले हाम्रो हितमा काम गर्छ भनेर कहाँ लेखिएको छ ? यो कुरा कसले भनेको छ ? कुन शास्त्रमा भनेको छ ? कुन देशमा भनेको छ ? भारतल त्यत्रो महान लोकतान्त्रिक देश हो भने भुटानमा किन लोकतन्त्र कायम नगरेको ? भुटानमा त गरेन ल छोडौँ – बर्मामा वर्षौँदेखि लोकतन्त्रका लागि संघर्ष भइरहेको छ । आङ सान सू ची त्यत्रो वर्ष लडिन् खोइ त्यहाँ के गर्‍यो त भारतले ? 
नेपालमा यो भ्रम किन उत्पन्न भइरहेको छ त ? झट्ट हेर्दा बीपी भारत जानुभयो, ४६ सालको आन्दोलनमा भारतले सहयोग गर्‍यो, ०६२–६३ मा भएको जनआन्दोलनमा सहयोग गर्‍यो भन्ने लाग्छ तर त्यतिमात्रै होइन ।

२०४६/०४७ सालको आन्दोलन हतियार विषयक सम्झौतामा नेपालले अवज्ञा गरेका कारण भएको हो कि गणेशमान सिंहले आह्वान गरेका कारण भएको थियो ? यी कदमको अन्तरमा जानुभयो भने भारतले कहिल्यै पनि नेपालमा प्रजातन्त्र आओस् भनेको छैन । भारतले थुप्रै असल काम पनि गरेको छ त्यो मलाई थाहा छ । 

भारतले कहिल्यै पनि नेपालमा प्रजातन्त्र आओस् भनेको छैन ।

नेपालभित्र अन्तरयुक्तरुपमा अप्रजातान्त्रिक प्रणाली छ । 

एकैछिन संविधानको कुरा छोड्नुस् । समाजको कुरा गर्नुस् । समाज र राष्ट्रको आफ्नै संरचना छ । त्यो काठमाडौंका बुद्धिजीवीलाई अप्ठेरो पर्छ । 

नेपालमा तीन थरीका नागरिक छन्ः आदिवासी, मधेसी र खस आर्य । यी तीनवटा मुख्य हुन् ।

नेपालमा १० प्रतिशतले ९० प्रतिशतलाई शासन गर्छ । यहाँनेर भारतले खाइदिन्छ भन्ने महेन्द्रको मनोविज्ञानले पनि काम गर्छ ।

‘नेपाल भारतले खाइदिन्छ, म भएरमात्रै हो’ भनेर नेपालमा तानाशाहले अप्रजातान्त्रिक तरिकाले शासन गरिरहेका छन् ।

सिक्किमको उदाहरण दिएर खाइदिन्छन् । प्रजातन्त्रको नाममा खाने आउँछन् ।

हामीले भारत र चीनसँगको सम्बन्ध कस्तो हुने भनेर कहिल्यै छलफल पनि गरेका छैनौँ । अनि विपक्षीले पनि भारतले हटायो भन्ने ! 

‘नेपाल भारतले खाइदिन्छ, म भएरमात्रै हो’ भनेर नेपालमा तानाशाहले अप्रजातान्त्रिक तरिकाले शासन गरिरहेका छन् ।

६ महिनाअघिसम्म भारत केपी ओलीको कट्टर विरोधी भनिएको होइन ? हटाउन पाए हुन्थ्यो भनेको सुनियो, अहिले सामन्त गोयल आए सम्बन्ध बदलियो भन्ने छ । 

के ६ महिनामा एकअर्ब बढी नागरिक भएका राष्ट्रको ६ महिनामा नीति परिवर्तन हुन्छ ? 

भारतको नीति स्थायी छ । नेपालको प्रधानमन्त्री भएर के बोलेको भनेर पत्ता लगाउनुपर्‍यो । कानुनीरुपमा सानो र ठूलो देशको अधिकार बराबर हुनुपर्ने हो तर वास्तविकरुपमा त्यस्तो छैन । 

छरछिमेकीसँग झगडा भइरहन्छ । तर गालीलाई त्यो हदसम्म पनि लैजानुहुँदैन ताकि भोलि आफैँलाई लाज लाग्ने अवस्था आओस् । 

अहिलेका प्रधानमन्त्रीले आफूलाई धेरै ज्ञानी सम्झनुहुन्छ । तर सत्ताको उपयोग हुन सकेन । उहाँले दुरुपयोग बढी गर्नुभयो । जुन गिरिजाबाबुले गर्नुभएको थियो । 

प्रधानमन्त्री भएको भोलिपल्टदेखि निहुँ किन खोजेको ? प्रचण्ड पनि प्रधानमन्त्री हुनासाथ पशुपति, सेनापति, राष्ट्रपतिसँग निहुँ खोजेर बस्नुभयो । 

सत्तामा पुगेपछि परिपक्व व्यवहार गर्नुको सट्टा सिंगौरी खेल्न थालेपछि समस्या आउँछ । 

गिरिजाबाबुले पार्टीभित्र, कर्मचारीसँग, बाहिर जताजतै निहुँ खोज्नुभयो, सत्ताको नसा चढेपछि यो समस्या हुन्छ । 

मैले त चीन, भारत, अमेरिका केही भन्दिन किनकि उनीहरु त खोज्छन् आफ्नो स्वार्थ । तर यहाँ हामीले नरमरुपमा आफ्नो अडान राख्न सक्नुपर्‍यो नि ! हामीले व्यवहार गर्न नजानेको हो । एकातिर लम्पसार पर्ने खुट्टैमा ढोग्ने अर्कोतिर देखाइदिन्छु भन्ने ।

भारत र चीनलाई हामीले समान व्यवहार गर्नुपर्छ भन्ने धारणा पनि छ यो सही हो कि होइन ?

बीपीले यसलाई निकै राम्रोसँग भन्नुभएको थियो । चीन हाम्रो राम्रो साथी हो तर भारत साथीभन्दा निकटतम मित्र हो ।

अहिले हामीलाई सफल राजनीतिज्ञ चाहिएको छ । सफल राजनीतिज्ञ त्यो हो जसले अरुले हानेको ढुंगा जम्मा पारेर घर बनाउँछ ।

भारत पनि आजको मितिमा आवश्यकताभन्दा बढी अहंकारले पोषित छ । 

तर अहिलेको अवस्थामा हामीले चीनसँग दुरी राख्न सक्छौँ त ?

बीपीले के लेख्नुभएको छ भने– उहाँले माओसँग सहयोग माग्नुभयो । यो कुरा बीपीको आत्मवृतान्तमा पनि छ । त्यहाँ चीनले ‘हामीले तिमीलाई जति पनि पैसा दिन सक्छौँ । हामीसँग पैसाको कमी छैन । तर तिमीलाई भारतले कति दिन्छ ?’ भनेर भन्यो ।

यो किन भनेको भने कुनै पनि देशको सामरिक नीति दुईजना नेताको भावुकताले निर्धारण गर्दैन । सबैभन्दा महत्व हो भूराजनीति । अपवाद हुन सक्छ । हाम्रा नदी, हाम्रा खोला छन् नि यसले पनि नीति निर्धारणमा सहयोग पुर्‍याउँछ । खोलाले बाटो निर्धारणमा सहयोग पुर्‍याउँछ ।

चीनले बेला बेलामा दिएको अनुदान, भारतले गरेको नाकाबन्दीमा दिएको सहयोग छ । भारतमा यतिधेरै भारत विरोधी भावना बढेको छ यसमा दुवै पक्षको कमजोरी छ ।

नेतालाई उनीहरुले भ्रष्ट बनाइसकेका हुन्छन्

नेतालाई उनीहरुले भ्रष्ट बनाइसकेका हुन्छन् अनि भारतले यहाँका जनतालाई हेप्न थाल्छ जनताले त्यो कुरा सहँदैनन् । जनताले भारतको ऋण खाएको हुँदैन त्यसैले भारतविरोधी भावना बढेको हो ।

यो समस्या बढी छ त्यो समाधान गर्नैपर्छ ।

जनताले भारतको ऋण खाएको हुँदैन त्यसैले भारतविरोधी भावना बढेको हो ।

भारतको यहाँ भएका दूतावासका अधिकारीले दिल्ली पुगेर नेपाललाई चीनले खान्छ सहयोग बढाउनुपर्‍यो भने नेपाली अधिकारीले पनि त्यही भने ।

दुर्भाग्य त के छ भने यो नेताहरुको वक्तव्यमा छ । हामी फसेका छौँ । यो समस्याको समाधान गर्न ओली या देउवाले सक्नुहुँदैन ।

नयाँ पुस्ताले गर्नुपर्ने हो । तर उनीहरु पनि गुटको पछि लागे ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC