site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सत्ताको स्वाद

जनादेश नभए पनि नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट यसपटक सत्ताकाे यात्रा थालेकाे छ । प्रदेश नम्बर २ काे सरकारमा पनि कांग्रेस सहभागी भइसकेकाे छ । अधिकांश युवा कार्यकर्ता सत्ता यात्राको थालनी देखेर उत्साही पनि भएका देखिन्छन् ।

केही खण्डखातिर परेन र प्रदेश प्रमुखले राष्ट्रपतिकाे सिको गरिनन् भने गण्डकीमा त सरकारकाे नेतृत्व नै गर्ने सम्भावना बढेकाे छ । प्रदेश नम्बर १, लुम्विनी र वाग्मतीमा पनि कांग्रेस सरकारमा पुग्नसक्छ । संघमा त राष्ट्रपतिले पदको मर्यादा राखेकी भए कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री भइसकेका हुन्थे ।

प्रतिबन्धित कालमा पनि नेपाली कांग्रेसकाे कार्यालय शनिवार बन्द हुन्थ्याे । जनमत संग्रहका बेला कसैले शनिवार पार्टी कार्यालय बन्द नगर्न सुझाव दिँदा पार्टीका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको उत्तर हुन्थ्यो - कांग्रेस त सत्ताको स्वाद चाखिसकेकाे पार्टी पो त ! किसुनजीको विनोदमा व्यङ्ग्य थियो कि हाजिरजवाफी मात्रै ? जे भए पनि राणा शासन सकिएपछि सत्ताकाे स्वाद चाख्नेमा कांग्रेसजन पनि पर्छन् र त्यसकाे मूल्य पनि चुकाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

राणाविरुद्ध २००७ मा सशस्त्र जनक्रान्तिको नेतृत्व गरेर, २०१७ सालपछि राजाकाे निरङ्कुश शासनविरुद्ध दुईपटक सशस्त्र आन्दोलन र २०३६, २०४२, २०४६, २०६२/६३समेत थुप्रैपटक शान्तिपूर्ण जनआन्दोलनकाे नेतृत्व कांग्रेसका नेताले गरेका थिए ।

यस्तै  २०१५ र २०५६ मा जनताले दिएकाे सत्ता राजाले कांग्रेसका हातबाट खाेसे । अर्कातिर २०५१ मा जनादेश नपाए पनि चलखेल गरेर कांग्रेस सत्तामा पुग्याे र सबैभन्दा बढी बदनाम पनि भयाे । 

Global Ime bank

यसैगरी जनादेशविपरीत २०६४ पछि पनि कांग्रेस सरकारमा गयाे । संविधान सभाकाे दोस्राे निर्वाचन २०७० पछि कांग्रेस जनादेश पाएरै सत्तामा गएकाे थियाे तर कम्युनिस्टहरूकाे गठबन्धनले टिक्न दिएन । यद्यपि, त्यही गठबन्धन भत्काएर कांग्रेस दोस्रो संविधान सभाको अन्त्यतिर फेरि सरकार गएकाे थियो ।

अहिलेसम्म  २०७० मा एकपटक बाहेक अधिकांश चुनाव  पनि कांग्रेसकै नेतृत्वमा भएका छन् । तर २०७४ काे निर्वाचनमा भने जनताले कांग्रेसलाई अलि खुम्च्याइदिए । सबै कम्युनिस्टहरू एक भएर चुनाव लडेकाले मात्रै कांग्रेस हारेकाे भने हाेइन । सम्भवतः कांग्रेसलाई ‘पाठ’ सिकाउन पनि जनताले हराइदिएका हुन् ।

यसबाट देखिन्छ - कांग्रेस कि त स्पष्ट जनादेश पाएर सत्तामा गएकाे छ नभए क्रान्तिकाे नेतृत्व गरेर सत्तामा पुगेकाे छ । यी दुवै नभएका अवस्थामा २०५२, २०५६ र २०७४ मा राजनीतिक गठबन्धनकाे नेतृत्व गरेर सत्तामा पुगेकाे छ । र २०५२ तथा २०७४ मा देउवा प्रधानमन्त्री भएका छन् ।

यसपटक भने पहिलेकाे जस्ताे अवस्था हाेइन । संघ वा गण्डकीमै पनि कांग्रेस सरकारमै पुग्ने निश्चितता छैन । तैपनि, नियतिले नेपाली कांग्रेसलाई पुनः राजनीतिकाे केन्द्रमा स्थापित गराउन खाेजेकाे भने देखिएकाे छ ।

विडम्बना, यसपटक कांग्रेसले सरकारमा जान खासै प्रयत्न गरेकाे हाेइन । जनादेश त झन् छँदै छैन । कम्युनिस्टहरूले पहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र पछि नेकपा (एमाले) भित्र रडाकाे नमच्चाएकाे भए कांग्रेस सरकारमा जाने प्रश्नै उठ्ने थिएन । र, यी दुवै रडाकाेमा नेपाली कांग्रेसकाे भूमिका रहेन ।

यस्ताे अवस्थामा  संघमा पनि सत्तामा पुग्यो कांग्रेस ध्वस्त पनि हुनसक्छ । यस्तै, जरासन्धका दुई शरीरजस्ता जाेडिनेबित्तिकै अजेय हुनपुग्ने कम्युनिस्टहरू कांग्रेससँग धरै डराए भने चुनाव अघि फेरि एक हुनसक्छन् । 
विशेषगरी एमालेकाे महाधिवेशनले ओलीबाहेक अर्को नेतृत्व चुनियाे भने कम्युनिस्ट एकता र आन्दोलनका नाममा फेरि ध्रुवीकरण हुने सम्भावना छ । नेपाली कांग्रेसकाे महाधिवेशनबाट देउवाबाहेक अर्को प्रभावकारी नेतृत्व छानियाे भने पनि अहिले साथ दिने कम्युनिस्टहरूलाई असहज हुनसक्छ । 

अहिले सरकारमा जाँदा सभापति देउवाकाे महाधिवेशनमा ध्यान गएन वा महाधिवेशनमा सरकारी साधनस्राेतकाे दुरुपयाेग भयाे भने कांग्रेसका लागि त्याे निकै दुर्भाग्यपूर्ण हुनसक्छ । प्रदेश २ मा त मन्त्री छनाेटको विषयमा असन्तुष्टि सुरु भइसकेकाे छ । सत्तामा पुग्नेबित्तिकै असन्तुष्टी र अन्तरकलह सुरु हुने  त कांग्रेसको पुरानै रोग हो । 

सत्तामा पुगेपछि राज्यका सबै संयन्त्रलाई हेप्ने बानी नेपाली राजनीतिकर्मीकाे छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीकै जति जडता नभए पनि सभापति देउवालगायतका कांग्रेसका नेता कार्यकर्ता पनि विधि र प्रक्रिया मिच्न खासै हिचकिचाउँदैनन् होला । 

अर्कातिर, केही दिन यता सर्वोच्च अदालतले विधिकाे शासनलाई बढी नै महत्त्व दिन थालेकाे छ । विशेषगरी, पहिले राजनीतिक दलकाे कार्यक्षेत्र मानेर अदालतले पन्छाउने गरेका विषयमा आदेश र फैसला आउन थालेकाे देखिन्छ ।

अहिले एमाले, माओवादी, सजपालगायतका दलका प्रदेश सभा सदस्यहरूमाथि भएकाे कारबाहीलाई बदर गरेर सर्वोच्च अलालतले पार्टीमा शीर्ष नेताले पनि विधि र प्रक्रिया मान्नुपर्ने स्पष्ट सन्देश दिएको छ ।

याे सन्देशको सङ्केत बुझ्ने हो भने नेपाली कांग्रेसकाे आगामी महाधिवेशन विधि र प्रकिया पूरा पालन गरेर कानुनले दिएकाे मितिभित्रै गर्नुपर्ने हुन्छ । हुनत, सभापति देउवाले जसरी पनि निर्धारित मितिमा महाधिवेशन गर्ने अठोट सार्वजनिक गरेका छन् । 

परन्तु, कोभिड-१९ काे महामारीमा परम्परागत शैलीमा महाधिवेशन सम्भव भने देखिँदैन । र अहिले धेरै ठूलो कार्यकर्ता पङ्क्तिले शङ्का गरेजस्तै ठूला नेता बसेर भागबन्डामा महाधिवेशन टुंग्याउन खोजे अवैध ठहरिने त अहिलेकै नजिरले स्पष्ट भइसकेको छ ।

अर्थात्, अहिले जनादेशविना आइपुगेकाे सत्ता  कांग्रेसका लागि ‘तातो पिँडालु’ हुनसक्छ । कांग्रेस कार्कर्ताकाे उत्साह सत्ताको स्वादै नपाई सेलाउन पनि सक्छ । सत्ताले कार्यकर्ता नेता दुवैलाई अल्छी, लोभी र विलासी बनाउँछ । 

सत्ताको स्वाद नपाउनेहरू ‘भारण्ड’ बन्न बेरै लगाउँदैनन् । नेकपा र एमालेभित्र भारण्डको जन्म नभएको भए कांग्रेस सत्ताको ढाेका खुल्ने थियो र ?

नेताले नियतिलाई पनि डोर्‍याउन सक्छ भन्छन् । नेपाली कांग्रेसमा नेता भए नभएको अब देखिनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC