site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
झोलामा रहर र सपना !
Sarbottam CementSarbottam Cement

बिना अधिकारी 

“केही थान रहर, केही थान सपना र धेरै बाध्यता बाँधिएका छन् यो बोरामा !”

काठमाडौंको नयाँ बसपार्कमा गाडीबाट ओर्लँदै गर्दा कोही युवकको आवाज सुनेँ मैले । यसो फर्किएर हेरेको बिहान–बिहानै सडक सफा गर्न आउने सरकारी कर्मचारीले एक युवकको बोरालाई शंकास्पद ठान्दै केरकार गर्दै रहेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

युवक भने आफ्नो सम्पत्ति सुरक्षित गर्दै रहेछ, बोरालाई आफूसँगै तानेर । सफाइ कर्मचारीले बोराको बारेमा खै के बुझे कुन्नी ? प्रहरीलाई खबर गर्नुपर्छ भनेर चोकतिर लागे । म भने युवकको पहिलो वाक्यले नै ऊप्रति उत्सुक बनेकी थिएँ ।

उपत्यकामा चल्ने छोटो तथा उपत्यकाबाहिर पूर्व–पश्चिम दुवैतिरका लामो दूरीका बसहरू छुट्छन् नयाँ बसपार्कबाट । म पूर्व झापाबाट लामो दूरीको बस, त्यो पनि रात्रिकालीन सेवा चढेर बिहान ६ बजेतिर नयाँ बसपार्क आइपुगेकी थिएँ ।

Global Ime bank

पुस अन्त्यको छोटो दिन । कठ्यांग्रिदो जाडोले काठमाडौं उठेकै थिएन ! तर, लाग्यो– काठमाडौं आनन्दले कहिल्यै नै पो निदाउँछ र ? सहर चौबीसै घण्टा जागा हुन्छ, घाम मात्र पो लाग्दैन त राति । सुरा र सुन्दरीको मादकता अनि कृत्रिम बत्तीको झिलिमिली, दोहोरी र डान्सबारमा घन्कने संगीतको ताल... बस्, सहर जागा रहन अरू के नै चाहियो र ?

यति हुँदाहुँदै पनि सूर्यको किरणमा मुस्कुराउने सहर ब्युँझेकै थिएन । डर लाग्यो झिसमिसेमा एक्लै नयाँ बसपार्कमा यताउति गएर ट्याक्सी खोज्न पनि । मलाई चाबहिल पुग्नु थियो । फेरि, म रित्तो पनि थिइनँ । मसँग तीनवटा झोला थिए ।

म झोला नबोकी त्यसै जान्छु भनेको ममुले माने पो ! हरेकपटक घरबाट काठमाडौं आउँदा रित्तो हात, हलुकासँग आउनै पाइँदैन । चिनी, तेल, साबुन, सरफ, दाल, मसला, च्युरा, बारीमा फलेको तरकारी..., यस्तै–यस्तै खित्रिङमित्रिङ सामानले झोला थपिइरहन्छ । फेरि, आफ्ना किताब र लुगाको झोला त छँदै छ ।

म झगडा गर्छु ममुसँग झोला नबोक्नका लागि । तर, ‘आमाको माया तँलाई के थाहा ? पछि थाहा पाउँछेस्’, ममुको यही एक वाक्यले गलाउँछ मलाई । झोला लान्न भन्दै झगडा गर्ने र अन्त्यमा झोला बोक्नैपर्ने, यही क्रम चलिरहेको छ ।

‘झोलामा सामान होइन, आमाको माया र घरपरिवारको याद राखेकी छु । फेरि, यसमा तेरा रहर, सपना र बाध्यता पनि त छन् । यसको ख्याल गरेस् ।’ झोला बाँध्दै गर्दा ममुले भन्नुभएको थियो । म फेरि सम्झिएर झस्किएँ ।

यति बेलासम्म त पृथ्वी अलि उज्यालिएकी थिइन् । ‘वसुन्धरा, चक्रपथ, चाबहिल, गौशाला...’ खलासी कराउँदै गर्दा मैले म जाने रुटको गाडी लागेको थाहा पाएँ । एकपटक युवकलाई नभेटी जान मन लागेन । यसो नजर घुमाएँ । युुवक यथास्थानमा त्यही बोराको आडमा बसिरहेको रहेछ ।

बोल्न भनेर यसो अघि बढेकी अलि संकोच लाग्यो । के सोध्ने ? के बताउने ? सुरु केबाट गर्ने ? संवादले कसरी बिट मार्ला ? २७÷२८ वर्षको अपरिचित युवक र उत्ति नै वर्षकी युवतीबीच कस्ता गफ गर्ने ? मैले नानाथरी कुरा सोचेँ । बढी त नचाहिने कुरा नै सोचेँ ।

‘चिन्नु न जान्नुको मान्छेसँग किन पो तँलाई बोल्न मन लागेको होला ? अघिको गाडी चढेको भए सामाखुसी पुगी सक्थिस् ।’ एक मनले भन्यो । फेरि, त्यही मनले गाली ग¥यो, ‘जा न, अब गएर तपाईँ र मेरो झोलामा एउटै सामान पो रहेछ भन् ।’

अर्को मनले सम्झायो, ‘संकोच नमान् । गएर कुरा गर् । जिन्दगीमा कति धेरै मान्छेसँग भेट हुन्छ । सबैसँग तँ बोल्दिनस् । धेरैलाई त हेर्दा पनि हेर्दिनस् । तँ र ऊबीचमा केही समानता पक्कै छ । सायद, त्यो तिमीहरू बाँचेको अवस्था ।’

“नमस्कार ! तपार्इं मलाई चिन्नुहुन्न । तर, म तपाईँसित बोल्न मन लागेर आएकी । तपाईं कहाँबाट आउनुभएको ?” मैले अभिवादनसहित एकै श्वासमा तीन वाक्य बोलेँ ।

युवक एक छिन त असमञ्जमा प¥यो । सायद, पहिले त मेरो कुरा बुझ्नै समय लाग्यो ! विस्तारै बोल्यो, “नमस्कार ! हो नि मैले तपाईँलाई चिनिनँ । म पूर्वबाट आएको ।”

युवकको नम्र बोली र ‘पूर्वबाट’ भन्ने शब्दले मलाई थप कुरा गर्न मन लाग्यो । 
“पूर्व कहाँ ?” मैले सोधेँ । 
“पूर्व सुनसरी” – युवक ।
“सुनसरी ? कुन ठाउँ ?” – म ।
“कहाँ–कहाँ थाहा छ ?” – युवक ।
“सबै ठाउँ, पूर्वको सबै ठाउँ” – म ।
“म सुनसरी, इटहरीबाट” – युवक ।
“इटहरी कहाँ ?” मैले थप सोधेँ । 
“इटहरी, बूढीखोलाछेउ” – युवक ।

मैले यत्रो केरकार गर्दा उसले मलाई केही पनि सोधेन, दिक्क पनि लाग्यो । “मलाई त कोसीपूर्वका मान्छे सबै आफ्नै लाग्छन्,” उसले नसोधे पनि आफैँले बताएँ, “म पनि पूर्वबाटै हो नि ! झापा, पाडाजुँगे हो मेरो घर । मेरो नाम स्मृति शर्मा ।”

‘ए’ को भावमा टाउको हल्लाएपछि बल्ल सोध्यो, “तपाईँ यहाँ कहाँसम्म पुग्ने ?”
मैले आफू गौशाला जाने बताएपछि फेरि सोधेँ, “तपाईं कहाँ जाने ?” 
“चाबहिल,” उसले छोटो जवाफ दियो । 
“ए ! उसो भए तपाईँ र मसँगै जाऔँ । हामी यता वसुन्धरा हुँदै गयौँ भने छोटो पर्छ ।” मेरो प्रस्ताव उसले स्वीकार ग¥यो ।

हामी चक्रपथको गाडी चढ्यौँ । यात्राका क्रममा उसले आफू काठमाडौं पहिलोपटक आएको, साथी लिन आउँछु भनेर नआएको अनि कसरी जाने भनेर उसै अल्मलिएको बतायो । मैले अरू पनि धेरै प्रश्न सोधेँ ।

उसले समाजशास्त्रमा स्नातक र पत्रकारितामा स्नातकोत्तर तह उत्तीर्ण गरेको र यता अवसरको खोजीमा आएको बतायो । सँगै चाँडै नै एफएममा काम गर्ने पक्का भएको पनि बतायो ।

मलाई फेरि युवकको कुरा र स्वभावले नजिक तान्यो । ‘पत्रकारिताको विद्यार्थी भइकन पनि किन जिज्ञासु नभएको होला ? किन फारु गरेर बोलेको होला !’ यस्तै सोच्दै उसले नसोधे पनि मैले आफैँले आफू पनि पत्रकार भएको र एक निजी लगानीको दैनिक पत्रिकामा काम गर्ने बताएँ । मेरो कुरामा उसले खासै चासो दिएजस्तो लागेन ।

गाडी सुकेधाराबाट अघि बढिसकेको थियो । 
“तपाईँको र मेरो झोलामा त उस्तै सामान पो रहेछ ! मेरोमा चाहिँ आमाको माया र घरपरिवारको याद पनि छ है’ भन्दै गर्दा उसले केही प्रतिक्रिया नै दिन नपाई गोपीकृष्ण आइपुग्यो ।

ऊ जान्छु पनि नभनी बसबाट ओर्लिएर साथीलाई फोन गर्दै थियो । ऊ र म चढेको बसबीचको दूरी बढ्दै जाँदा म र ऊबीचको निकटता पनि घट्दै गयो । 
०००
दिनहरू बितिरहे । म दैनिक राजनीतिक, आर्थिक, सामाजिक यस्तै–यस्तै विषयमा रुमल्लिँदै समाचारको खेतीमा लागिरहेँ । उत्पादन फरक होला, तर समाचार उत्पादन गर्ने सञ्चारगृह पनि एक कारखाना नै हो । हामी श्रमजीवी पत्रकार सूचनारुपी कच्चापदार्थ संकलन गर्छाैँ । र, सञ्चारगृहरुपी कारखानामा ल्याएर त्यसको प्रशोधन गर्दै समाचार उत्पादन गर्छौँ ।

यसरी श्रमजीवी बनेर दैनिक नघोटिई न त सञ्चारगृह चल्छ न त जीविका नै ! यति गर्दागर्दै पनि दैनिक हातमुख जोर्न नै समस्या पर्छ ।

सञ्चारगृहमा गरिने दैनिक संघर्षले भविष्य उज्यालो नहुने संकेत त सुरुवाती क्षणमै पाएकी थिएँ । ‘न्युजरुम र क्लासरुम जोड्न गाह्रो छ’ गुरुहरूले पत्रकारिता पढाउँदै गर्दा कक्षाकोठामा भन्नुहुन्थ्यो ।

‘नेपालमा पत्रकारिता पढेर खासै काम छैन । पत्रकार भएर खान गाह्रो छ ।’ अग्रजका कुरा सुन्थेँ । खासै विश्वास लाग्दैनथ्यो । तर, जब क्लासरुम छोडेर न्युजरुममा छिरेँ र पहिलो दिनमा पहिलो रिपोर्टिङका लागि गएँ, यसले नै मलाई धेरै कुरा सिकायो ।

समाचार खोज्दै हिँड्दा पत्रकारिताले संघर्ष गर्न सिकायो । तर, यसै क्षेत्रमा गरेको झन्डै दशकको संर्घषले पनि अशातीत सफलता दिलाएन । तैपनि केही भइहाल्छ कि भन्ने आशमा सुदूर क्षितिजमा देखिएका मधुरा किरण पछ्याउँदै स्रोत र सूचनाकै खोजीमा लागिरहेँ ।

तावाको भ्यागुतो भुंग्रोमा ! सञ्चारगृह परिवर्तन गरेर पेसालाई निरन्तरता दिनु सिवाय अरू केही होइन । म पनि यही क्रममा चलिरहेँ । मैले पनि नाम चलेका तीनवटा सञ्चारगृहमा गृहकार्य सम्हालिसकेकी थिएँ ।

काम गर्ने स्थान परिवर्तन भयो । तर, म यथास्थानमा नै रहेँ । मेरा प्रकाशक, सम्पादक बदलिए । तर, मेरो परिस्थिति बदलिएन । फेरि, देशको राजनीतिक उथलपुथल, सञ्चार क्षेत्रमा राज्यको दमन, पत्रकारको असुरक्षा, श्रमशोषण, बढ्दो उमेरसँगैको थपिँदो जिम्मेवारी, निरस वर्तमान, अन्योल भविष्य...! यस्तै–यस्तै प्रतिकूलतामा पेसाको विकल्प खोज्ने मनस्थितिमा पुगेकी थिएँ ।

उसै तनावमा न्युजरुममा बसेर फेसबुक चलाउँदै थिएँ । एउटा फ्रेन्ड रिक्वेस्टले ध्यान तान्यो । यसो प्रोफाइल चेक गरेको तिनै पूर्वका पत्रकार युवकको रहेछ । म्युचल फ्रेन्ड पनि दुईजना मात्रै । ती पनि पत्रकार । मैले तत्काल साथी बनाएँ । फेसबुकले तिमीहरू साथी भयौ भन्दै थियो । मैले युवकसँग तत्काल संवाद सुरु गरिहालेँ । म्यासेजमा ‘हाई’ लेखी पठाएँ । उताबाट पनि जवाफ पाइहालेँ ।

मैले यसबीचमा ती युवकलाई धेरैपटक सम्झिएँ । तर, न त नाम, न सम्पर्क नम्बर । केही थाहा नभएर सम्पर्क गर्न सकेकी थिइनँ । मैले यही कुरा म्यासेन्जरमा बताएँ ।

‘एफएममा काम के भयो ? अहिले केमा, कता व्यस्त हुनुहुन्छ ?’ यस्तै धेरै जिज्ञासा लेखी पठाएँ । मैले ती युवकको सम्पर्क नम्बर मागेँ र मेरो पनि दिएँ । यी सबै म्यासेज पढिएको संकेत पाए पनि तिनको प्रतिउत्तर नै नपाई युवक अफलाइन भएको संकेत मिल्यो । सोचेँ– मेरा हरेक प्रश्न अनुत्तरित रहनेछन् । 
०००
अलमल–अलमलमै बित्छ समय । अन्योलमै बित्छ जिन्दगी । जिन्दगीका तीन दशकमा थप केही वर्ष उसै अन्योलमा बितिसके । नयाँ विकल्प नखोजे आफू मात्र होइन, आफूसँग आश्रितको पनि आशाको दियो निभ्न सक्छ ।

नयाँ केही गर्नलाई नखोजेको पनि कहाँ हो र ? तर, खै कुनै पनि नयाँ पाइलाले कहिले पनि लक्षित गन्तव्यमा पु¥याउन सकेनन् । सरकारी सेवामा प्रवेशका लागि प्रयास नगरेको पनि होइन, तर हात लाग्यो शून्य । 
अब भने पाइला केही फरक दिशामा चाल्दै थिएँ, म ।

कोठाबाट बाहिर निस्कँदै गर्दा फोन आयो । अपरिचित विदेशी नम्बर थियो । यता मैले फोन रिसिभ गर्नेबित्तिकै उताबाट परिचय दिँदै कुरा सुरु भयो । तिनै पत्रकार युवक रहेछन् । उनले मेरो खबर सोधे । तर, पूरा जवाफ पाउनुअघि नै आफ्ना कुरा भन्न थाले ।

‘काठमाडौं आउनेबित्तिकै साथीसँगको सम्पर्कले एफएममा काम गरेँ । तर, ६ महिनासम्म पनि पारिश्रमिक पाइनँ । उल्टै, कार्यक्रम उत्पादन भन्दै मेरो थप ६ महिनाको पैसा पनि डुब्यो । मिडियामै केही गर्छु भनेर टेलिभिजन र अनलाइनमा पनि काम गरेँ । तर, कमाइ र खटाइमा कहीँ पनि चित्त बुझाउन सकिनँ ।’

उसले आफ्ना कुरा निरन्तर राख्दै गयो, ‘सहरमा सपना पूरा नहुने देखेपछि म घर गएँ । पत्रकार भएर पनि प्रगति गर्न नसकेको भनेर सामाजिक सञ्जालका असामाजिक मित्रहरूले गिज्याउन थालेपछि फेसबुक नै बन्द गरेँ । भर्खरै हो नयाँ एकाउन्ट खोलेको । त्यसैले त थोरै साथी छन् ।’ उसले आफैँ स्पष्टीकरण दियो ।

म ऊसँगको एकोहोरो संवादमा यात्रा गरिरहेकी छु । मैले उसका कुरा सुनेकी मात्र छु । आफ्नो सुनाउन पाएकी छैन । ऊ फेरि बोल्यो, ‘स्नातकोत्तर गर्नुअघि सरकारी सेवा प्रवेशको सपना पूरा गर्न दुई÷तीन वर्षका धेरै रात अनिदो बिताएँ । तनाव र थकानले डाक्टरले प्रेस्कृप्सनपत्र दियो, तर आयोगले नियुक्तिपत्र कहिल्यै दिएन !’ उसले ठट्टाको भावमा गहिरो वेदना बोल्यो ।

‘तपाइंँले केही प्रश्नको जवाफ भेट्नुभयो होला । अरू पनि बताउँछु ।’ ऊ बोल्दै गर्दा सोचेँ– आज उसको बोल्ने पालो । मेरो सुन्ने !

‘म घर गएपछि बाले मेरो बिहे गर्दिने र विदेश पठाउने प्रस्ताव गर्नुभयो । घरको अवस्था र मेरो असफलाताका कारण मलाई यो विकल्प ठिक लाग्यो । मैले त्यसै गरेँ । अहिले म दुबईमा छु । राम्रै काम छ, कमाइ पनि चित्तबुझ्दो । तर, अहिले मेरो झोलामा तपाईँको भन्दा केही सामान फरक छ । यसमा मेरा रहर र सपना घट्दै गएका छन् । पूरा भएर होइन, पूरा गर्न नसकेर । अनि, बाध्यता बढेको छ, जुन पूरा गर्नैपर्छ । मेरो झोलामा आमाको माया कहिल्यै थिएन । थियो त केवल याद । त्यो पनि देख्दै नदेखेकी आमाको । मेरी आमा त म जन्मनेबित्तिकै मरेकी रे ! मलाई मेरी हजुरामा र बाले हुर्काको रे !’

यति बोलेपछि अलि भक्कानियो । मैले पनि मन थाम्न सकिनँ । आँसु खसेछ । ऊ फेरि रुन्चे स्वरमा बोल्दै थियो, ‘तपाईँको झोलामा त रहर र सपना घटेका होलान् है, पूरा भएर । अनि, बाध्यता त छँदै छैन होला ! आमाको माया र परिवारको याद अझ पनि ताजा होला ! तिनलाई जीवित राख्नुस् है । माया टुट्न नदिनू, यो त आशा र विश्वासको दियो हो ।’

उसले यति भन्दै गर्दा मन दुख्यो, फोन काटियो । म रोइरहेकी रहिछु । ट्याक्सी ड्राइभरले किन रोएको बहिनी, के भयो ? भन्दा पो थाहा पाएँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइसकेछ ।

फोन काटिएपछि सम्झिएँ– मैले मेरा झोलामा रहर र सपना घटेको बताउनै बिर्सिएछु । पूरा भएर होइन, पूरा गर्न नसकेर घटाएको । अनि, भन्नै बिर्सिएछु, बाध्यता बढेको झोला बोकेर म पनि उसकै अवस्थामा छु । म यति बेला प्रस्थानका लागि विमानस्थलको दुई नम्बर गेटमा लामबद्ध छु । यो उसलाई थाहा छैन ।

जसरी हामी झोला बोकेर घर छोडी सहर आयौँ, त्यसरी नै स्वदेशको सहर छोडेर विदेशी भूमिमा जाँदै छौँ झोला बोकेर । तर, उसले भनेजस्तो मेरो झोलामा आमाको माया र परिवारको याद निरन्तर छ । यसैको साथले त म सास फेर्नेछु । यसैको सहारामा त फेरि झोलामा नयाँ रहर र सपना साँच्नेछु ।    

इमेल ः bi_naad@yahoo.com

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC