श्रीओम श्रेष्ठ ‘रोदन’
नेपाली साहित्यमा कथाको कुनै सन्दर्भ जोडिनासाथ पोषण पाण्डेको नाम अग्रपंक्तिमा नै आउँछ । कथा साहित्यमा उनको बलियो उपस्थितिले गर्दा यसो हुनु अस्वाभाविक पनि होइन । कथाको लोकप्रियता, प्रतिनिधित्व र पाठ्यक्रमीय दृष्टिले पनि पोषण पाण्डेको नामले ‘भिनाजुको स्विटर’लाई विशेष स्मरण गराउँदछ ।
स्रष्टाहरू बहुविधाका धनी भए पनि विशेष प्रसिद्धि र प्रतिष्ठित भने एउटै विधामा हुने गरेका छन् । स्रष्टाबाट विविध विधामार्फत गरिएका योगदान हुँदाहुँदै पनि एउटै विधामा सीमित हुनु वा गराउनु सिर्जना र सर्जक दुवैप्रतिको अन्याय हो ।
यसको ज्वलन्त उदाहरण बनेका छन्, कवि पोषण पाण्डे । यसको अधिक दोषभार स्थापित समालोचक भनेर मानिएकाहरूकै कारण हो भन्नु अन्यथा हुने छैन । सिर्जनालाई परिचित र स्थापित गराउने काम समालोचकहरूका समालोचनाबाट नै हुुने गरेको विगत छ ।
कवि पोषण पाण्डेका दुईवटा कृतिहरू प्रकाशित भइसकेका छन् । नेपाली कथा साहित्यका प्रतिनिधि हस्ताक्षर भएर पनि कविता क्षेत्रमा उनको चर्चा नहुनु अनौठो पनि लाग्दछ ।
हालै स्थापना भएको पोषण पाण्डे–तीर्थ सदनले प्रकाशनमा ल्याएको कवितासंग्रह ‘मेरी नैनी’ बजारमा आएपछि यो चर्चा सान्दर्भिक बनेको हो । यसपूर्व कवि पाण्डेका दुई कवितासंग्रह ‘वटवृक्षको उद्घाटन’ (२०२५) र ‘मनसा’ (२०५२) तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनबाट प्रकाशित छन् ।
नेपाली साहित्यका मानक प्रकाशन संस्थाबाट प्रकाशित भएका कविताकृति भएर पनि कविका रूपमा पोषण पाण्डे ओझेल पर्नु खोजीको विषय नबन्ला भन्न सकिन्न ।
यसले पनि समालोचकहरूको ध्यान आकृष्ट हुुन नसकेको प्रष्ट हुन्छ । अझ पहिलो कविताकृति प्रकाशन गर्ने प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित लेखक–कलाकार परिचयकोशमा पनि पोषण पाण्डेलाई कथाकारका रूपमा मात्र परिचित गराइएको छ । प्रज्ञा–प्रतिष्ठान आफैँले आफैँमाथि गरेको व्यंग्यले कवि पाण्डेको व्यक्तित्व भने अपूर्ण देखिएको र अवमूल्यन भएको छ ।
कवि पाण्डे भौतिक रूपमा नरहनु भएको २९ वर्षपछि स्थापना भएको संस्थाद्वारा प्रकाशनमा ल्याएको ‘मेरी नैनी’मा ६२ वटा कविता संग्रहीत छन् । यसको प्रकाशनले कवि पाण्डेको मूल्यांकन हुन नसकेको कविताका बारेमा आजका पाठकलाई अवगत गराउने काम भएकोले प्रशंसनीय छ । पोषण पाण्डे कथाकार मात्र हुन् भन्ने भ्रम चिर्न पनि यसले सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
प्रस्तुत कवितासंग्रहमा वि.सं.२०२८ देखि २०४५सम्म लेखिएका कविताहरू छन् । केही पत्रिकामा प्रकाशित र धेरै अप्रकाशित छन् । कविताहरू जीवनवादी र प्रकृतिप्रदत्त छन् । समकालीन समाजको आस्था, परम्परा र विसंगतिलाई विम्ब र प्रतीकका माध्यमबाट प्रकट गरिएका छन् ।
कवि पाण्डेले मानवीय मूल्य र मनोविज्ञानलाई सहज रूपमा उतार्न सकेका छन् । आडम्बरप्रतिको असन्तुष्टि, विकृति र विसंगतिप्रतिको आक्रोश पनि कलात्मक रूपबाट कवितामा प्रस्तुत भएका छन् ।
धर्तीप्रतिको आस्था र जन्मभूमिप्रतिको कृतज्ञ भाव पनि पाण्डेका कवितामा पटक–पटक प्रकट भएका छन् । जिन्दगी सजिलोसँग बाँच्नको लागि मृत्युपूर्व नै अनुभूति गर्न सक्नुपर्नेजस्तो गहिरो दर्शनलाई पनि कवि पाण्डेले कवितामा प्रवाहित गरेका छन् । कविताहरू छोटाछोटा छन् । तर, अर्थका दृष्टिले बृहत् खालका छन् ।
म आफ्नो मनको मुखमा तिम्रो मुस्कान खोली राखूँला
यी साँच्ची नै आँखा त यो पो हो भनेर
हेर्ने आँखालाई चिनाइ रहूँला
परेलाले आँखालाई हिफाजत गरिराखेजस्तै
म त्यस्तै त्यस्तै
तिमीलाई मुटुभित्र छिपाइ राखूँला
के आँखा पनि त्यस्तो हुन्छ र
आँखैलाई देख्न नसक्ने ?
के आकाश पनि त्यस्तो हुन्छ र
आकाशलाई छुन नसक्ने ?
(मेरी नैनी, पृष्ठ १२३/२४)
सत्यजस्तो लाग्नुु नै काव्यको उत्कण्ठा, उद्वेग र सिर्जनाको पराकाष्ठा ठान्ने कवि पाण्डे मानिसका सूक्ष्म अनुभूतिलाई कवितामा पस्कन सिपालु देखिन्छन् । राष्ट्र र राष्ट्रियताका सन्दर्भमा पनि उनका कविताहरू खरोसँग उत्रिएका छन् ।
जीवन बाँच्ने उपक्रममा घटेका सामान्य सन्दर्भलाई पनि कवि पाण्डे मनोवैज्ञानिक रूपले विश्लेषण गर्छन् । यस संग्रहका कविताहरूले मानवीयता, प्रेम, यौन र स्वतन्त्रताको पक्षमा दह्रो वकालत गरेका छन् । कवितालाई जीवन्त बनाउने कारीगरी सिप देखाएका छन् ।
यथार्थमा ‘मेरी नैनी’मा संग्रहीत विभिन्न क्षेत्र र सन्दर्भका कविताहरूमार्फत आफुनो काव्यिक विशिष्टतालाई फेरि एकपटक प्रमाणित गर्न सफल भएका छन्, कवि पाण्डे ।
यस संग्रहको प्रकाशनले साहित्यकार पोषण पाण्डेलाई कविताको माध्यमबाट पनि बिर्सन नमिल्ने र बिर्सन नसक्ने अपेक्षा गर्न सकिन्छ । एकजना स्थापित र प्रतिष्ठित कथाकारलाई कविको रूपमा स्थापित गराउन खोज्नु यथार्थमा नै स्रष्टाप्रतिको सम्मान र श्रद्धाञ्जली पनि भएको छ ।