विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको समग्र विकासमा भौतिक पूर्वाधार, मानव स्रोत र समुदायको लगानी महत्त्वपूर्ण हुन्छ । त्यसरी नै शिक्षण प्रक्रियाको पनि भूमिकाको पनि उत्तिकै महत्त्व हुन्छ । भौतिक पूर्वाधार र मानव संसाधनले पूर्ण भएका शिक्षण संस्था पनि शिक्षण प्रक्रियाको कारणले पछाडि परेको देखिन्छ ।
यसमा कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन, सह÷अतिरिक्त क्रियाकलाप जस्ता विषय महत्त्वपूर्ण हुने गर्छन् ।
अहिले अधिकांश विद्यालयहरूले भौतिक कक्षाको ठाँउमा अनलाइन तथा भर्चुअल विधिबाट सिकाइ अगाडि बढाइरहेका हुनाले विद्यार्थी सिकाइमा कक्षा शिक्षण प्रक्रियाको भूमिका झन् महत्त्वपूर्ण हुने देखिन्छ ।
कक्षा शिक्षण प्रक्रियामा विशेष गरेर शैक्षिक योजना, शैक्षिक सामग्री, छलफल तथा अन्तरक्रिया, कक्षा कोठा व्यवस्थापन, सूचना प्रविधि, गृहकार्य तथा परियोजना, सकरात्मक पुनर्बल, शिक्षण सुधार योजनालगायत कार्यमूलक अनुसन्धानजस्ता विषय पर्छन् ।
शैक्षिक योजना
कक्षा शिक्षणमा शिक्षकको तयारीलाई महत्त्वका साथ हेरिने गरिन्छ । शिक्षकले शिक्षण गर्नु पूर्व आफ्ना विद्यार्थीका लागि शैक्षिक योजना बनाउने चलन छ । शिक्षकले कक्षामा विद्यार्थी सिकाइका लागि शैक्षिक योजना तयार गर्र्दा वार्षिक तथा दैनिक पाठ योजनालगायत विभिन्न टिपोट गर्छन् । यसरी तयार गरी पठनपाठन गर्दा विद्यालयले विद्यार्थी सिकाइमा निश्चय नै सफलता हासिल गर्न सक्छ । वर्तमान सन्दर्भमा शिक्षकले अनलाइन तथा भर्चुअल माध्यमबाटै यी कार्यहरू गर्न जरूरी रहेको देखिन्छ
शैक्षिक सामग्री
त्यसैगरी अर्को महत्त्वपूर्ण पक्ष शैक्षिक सामग्री हो । शैक्षिक सामग्रीको व्यापक प्रयोग गरी विद्यालयले विद्यार्थी सिकाइमा सहजता ल्याउन सक्छ ।
एक जना अमेरिकन वैज्ञानिक बेन्जामिन फ्य्राङ्क्लिनले भनेका छन् – “सुनेको कुरा बिर्सन सकिन्छ भने देखेको कुरा सधैं स्मरण हुन्छ” ।
त्यसैले शिक्षण सामग्रीको निर्माण र सङ्कलन गरी कक्षा कोठामा सिकाइ गर्न सके निश्चय नै विद्यार्थी सिकाइ प्रभावकारी बन्छ ।
इन्टरनेटमा गुगल र अन्य विभिन्न प्लेटफर्मको मद्दतबाट विषयसँग सम्बन्धित सामग्रीहरू निर्माण र संकलन गर्न सकिन्छ । यसका लागि पावर पोइन्टदेखि युट्यूवलगायतमा सामग्री तयार गरेर सिकाइ कार्य गर्न सकिन्छ ।
विद्यार्थी केन्द्रित छलफल
त्यसरी नै विद्यार्थी केन्द्रित छलफल गर्नाले विद्यार्थीहरूको आत्मबल र आत्मविश्वास बढ्ने हुँदा विद्यालयले विद्यार्थी सिकाइमा उपलब्धी हासिल गर्नेगरेको देखिन्छ । यस्ता छलफल कार्य अनलाइन तथा भर्चुअल माध्यमबाट गर्दा निश्चय पनि विद्यार्थी केन्द्रित, खोज तथा सोचमूलक हुनु जरूरी हुन्छ । यस प्रकारको छलफल अन्तक्र्रियात्मक र विद्यार्थीलाई उत्साहित बनाउने किसिमको हुनुपर्ने देखिन्छ ।
अनलाइन र भर्चुअल विधिमा विद्यार्थीलाई सक्रिय सहभागी गराइराख्न शिक्षकले भाषाशैली, मनोभावना, आवेग र उत्तेजनालाई ध्यान पुर्याउन आवश्यक हुन्छ ।
त्यसैगरी विशेष आवश्यकता भएका विद्यार्थीलाई समेत सहयोग पुग्नेगरी उचित प्रकारको सामग्री व्यवस्थापन गरेर शिक्षण सिकाइ प्रभावकारी बनाउन जरूरी हुन्छ । यसका लागि अनलाइन र भर्चुअल माध्यमबाटै उपयुक्त सामग्रीको छनोट, सङ्कलन र निर्माण गरी विद्यार्थी सिकाइसँग जोड्न सकिन्छ ।
सूचना प्रविधि
विद्यार्थी सिकाइमा सूचना प्रविधिको प्रगोग अर्को महत्त्वपूर्ण पक्ष हो । शिक्षण प्रक्रियामा प्रविधिलाई जोड्न सके विद्यार्थी सिकाइ सहज बनाउन सकिन्छ । प्रविधि २१ औं शताब्दीको महत्त्वपूर्ण उपकरण भएको हुनाले यसको हरेक क्षेत्रमा प्रयोग हँुदैआएको छ ।
कम्प्युटर, प्रोजेक्टर, इन्टरनेट, स्मार्टबोर्ड र सेलफोनजस्ता सामग्रीको प्रयोग उचित तवरले गर्न सके सिकाइ अवश्य नै प्रभावकारी बन्न सक्छ । वर्तमान परिस्थितिमा अनलाइन र भर्चुअल विधिमा शिक्षण कार्य भइरहेको हुँदा यसको महत्त्व अझ बढेको छ ।
गृहकार्य तथा परियोजना
गृहकार्य तथा परियोजना कार्य अर्को महत्त्वपूर्ण विषय हो । नियमितरूपमा गृहकार्य र परियोजना कार्य दिँदा विद्यार्थीहरू लाभान्वित हुने भएकाले शिक्षकले यसमा ध्यान दिन जरूरी देखिन्छ ।
शिक्षकले विद्यार्थीलाई नियमित गृहकार्य तथा परियोजनाहरू दिएर परीक्षण गरी त्यसको पृष्ठपोषण समेत दिएको खण्डमा विद्यार्थी लाभान्वित हुन्छन् । यसमा सबै शिक्षकहरूको उत्तिकै सहभागिता हुनु जरूरी हुन्छ ।
सकारात्मक पुनर्बल
विद्यार्थी सिकाइमा सकारात्मक पुनर्बल पनि एउटा महत्त्वपूर्ण विषय हो । अमेरिकन मनोवैज्ञानिक स्किनरले –सकरात्मक आचरणका साथ विद्यार्थीलाई सिकाइ गरेको खण्डमा विद्यार्थीले त्यसलाई सकरात्मक ढंगले नै व्यवहारमा लागू गर्छन् भनेका छन् । शिक्षकले विद्यालयमा विद्यार्थीलाई सकारात्मक पुनर्बल दिने कार्य गर्नाले उनीहरूलाई एक प्रकारको ऊर्जा र हौसला प्राप्त हुन्छ । त्यसकारण अहिलेको सन्दर्भमा भर्चुअल र अनलाइन माध्यमबाट पनि विद्यार्थीलाई सकारात्मक पुनर्बल प्रदान गर्नु आवश्यक छ ।
शिक्षण सुधार योजना
विद्यार्थी सिकाइमा शिक्षण सुधार योजना पनि महत्त्वपूर्ण अंग हो । पाठ्यक्रमको अध्ययन गरी विषयवस्तु पाठ्यभारका आधारमा सुधार योजना तयार गर्ने, अद्यावधिक गर्ने साथै कमजोर विद्यार्थीका लागि सुधारात्मक, निदानात्मक र उपचारात्मक विधि अवलम्बन गर्ने, विषयगत शिक्षकहरूको बैठक बसी छलफल गर्ने, पेसागत विकाससँग सम्बन्धित अनुसन्धानात्मक एवम खोजमूलक कार्य गर्ने तथा लेख प्रकाशनजस्ता कार्य गर्दा शिक्षण सिकाइमा गुणस्तर वृद्धि हुनुका साथै शिक्षकको पेसागत दक्षतामा पनि अभिवृद्धि हुनसक्छ । यसबाट विद्यार्थी सिकाइमा मद्दत पुग्छ । वर्तमान अनलाइन र भर्चुअल शिक्षण प्रक्रियामा पनि यस्ता सम्पूर्ण कार्य विद्यालयमा शिक्षक र विद्यालयले गर्नसक्छन् ।
कार्यमूलक अनुसन्धान
विद्यार्थी सिकाइमा कार्यमूलक अनुसन्धान पनि महत्त्वपूर्ण पक्ष हो । शिक्षकहरूले आफ्नो पठनपाठनको विषयमा देखिएका समस्याको सम्बन्धमा कार्यमूलक अनुसन्धान गरी त्यसको निराकरणका लागि कदम चाल्ने गर्नाले सिकाइमा सुधार आउन सक्छ । शिक्षकले कार्यमूलक अनुसन्धान गर्दा विद्यार्थीको समस्या गत्ता लगाउन सहज हुने भएकाले सबै शिक्षकले कुनै न कुनै विषयको अनुसन्धान गर्नु जरूरी देखिन्छ ।