नेपाल कृषि प्रधान देश हो - हामीले सुन्दै, पढ्दै र मान्दै आयौँ । अधिकांश नेपालीको जीविकोपार्जनको मूलआधार कृषि नै भएकोले यसलाई देशको अर्थतन्त्रको मेरुदण्ड पनि भन्न सकिएला । केन्द्रीय तथ्याङ्क विभाग, २०७७ अनुसार देशको लगभग ६०.४ प्रतिशत जनसंख्या खेतीपातीमा संलग्न रहेको कृषि तथा वन समूहको कुल गार्हस्थ्य उत्पादनमा २७.०८ प्रतिशत योगदान छ । तैपनि, देशको अर्थतन्त्रको एक चौथाइ भाग समेटेको कृषि क्षेत्र निर्वाहमुखी खेतीमै सीमित छ ।
भौगोलिक बनावटका दृष्टिले नेपाल तराई, पहाड र हिमाल गरी तीन भेगमा विभाजित छ । प्रत्येक भेगमा छुट्टाछुट्टै हावापानी पाइने हुँदा संस्कृति, रहनसहन, परम्परा, खानपिन आदिमा पनि भिन्नता पाइनु स्वाभाविक नै हो ।
तराईमा झापाको केचानाकलन (समुद्री सतहदेखि ६० मिटर उचाइ) देखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सम्म पुग्दा उपोष्ण, न्यानो समशितोष्ण, शितोष्ण, लेकाली, र टुण्ड्रा गरी पाँच प्रकारका हावापानी पाइन्छन् । यद्यपि, कृषिजन्य कामहरु ५००० मिटरको उचाइसम्म मात्र सम्भव छ । यसरी हावापानी नै फरक भएपछि त्यहाँ बासस्थान भएका जीव तथा वनस्पतिमा पनि पृथकता आउनु उचितै हो। पहाडमा पाइने सल्लो तराईमा पाइँदैन, तराईमा फल्ने आँप पहाडमा फल्दैन ।
यहाँ अनुकूलनको बारेमा धेरै चर्चा आवश्यक नपर्ला जसले गर्दा जैविक विविधता उत्पन्न हुन्छ । नेपाल जैविक विविधतामा पनि सम्पन्न देश हो । जैविक विविधताले धनी देशको सूचीमा नेपाल एसियाको एघारौं र विश्वको पच्चीसौं स्थानमा आउँछ ।
कृषि प्रधान देश, जैविक विविधताको भण्डार, संस्कृति र रहनसहनमा धनी देश, यावत् विविध क्षेत्रमा धनी देश कहलिए पनि नेपालको कृषि खेती प्रणाली भने मूलधारका केही खाद्यान्न र खाद्य बालीमै सीमित रहेको पाइन्छ । जैविक विविधताले ढाकिएको साथै भूमिपूजन र खाद्यवस्तुमा आधारित चाडपर्व मनाउने, प्रकृति पूजनलाई प्राथमिकता दिने समूहको बाहुल्य भएको देशमा कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धान, मकै, गहुँ, आलु, र मसुरोजस्ता बालीको मात्र नाम अगाडि आउनु तथा अन्य बाली नगन्य मात्रामा मात्र देखा र्नु विडम्बना हो ।
नेपालमा मात्र नभई विश्व परिदृश्यमा समेत यिनै बालीको प्रधानता छ । विश्वमा मानव जातिको खाद्य आवश्यकताको ८० प्रतिशत वनस्पतिले पूर्ति गर्ने गरेको छ । पृथ्वीमा उपलब्ध करिब ३० हजार खानयोग्य मानिएका प्रजातिमध्ये जम्मा १५०-२०० प्रजाति मानवले खेती गर्दै आएको पाइन्छ। विश्वको ७५ प्रतिशत खाना १२ प्रजातिका वनस्पति र ५ प्रजातिका जनावरले धानेको देखिन्छ । तीमध्ये मानवलाई चाहिने क्यालोरी र प्रोटिनको ६० प्रतिशत तीन प्रजातिका बाली ( धान, मकै र गहुँ ) ले दिने गरेको विश्व खाद्य संगठनको निचाेड छ ।
विश्व सहश्राब्दी विकास लक्ष्य हुँदै दिगो विकासका लक्ष्य पूर्तितर्फ लम्किरहँदा गरिबी र भोकमरी निवारण एवं खाद्य तथा पोषण सुरक्षाका अवधारणा पनि उत्तिकै सशक्त हुँदैगएका छन् । यससम्बन्धी कार्यक्रम, परियोजनाहरू नेपालमा पनि कार्यन्वयन नभएका भने होइनन् । तर, आधाभन्दा बढी जनसंख्या कृषिमा संलग्न भए पनि नेपालका ८ प्रतिशत जनसंख्या कुपोषणको सिकार भएको तथ्यांक छ । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका पर्याप्त खाना र पोषिलो खानेकुराबाट वञ्चित छन् ।
खाद्यान्न अभावले तराईभन्दा पहाडी र हिमाली भेगका जनसंख्यालाई असर गरेको देखिन्छ । खाद्य सुरक्षा भनेको खाद्यवस्तुको आपूर्ति र पहुँच हुनुमात्र होइन । शरीरलाई आवश्यक पोषक तत्त्वलाई खानामार्फत कसरी लिन सकिन्छ भनेर जान्नु र त्यसैअनुरुप उपभोग गर्नु पनि हो । हामी नेपाली खाना भन्नेबित्तिकै दाल, भात, तरकारी भनेर बुझ्छौँ । यसले शारीरिक श्रम गर्ने वर्गका लागि अडिलो खान्कीको रूपमा काम पनि गर्छ । तर, हामीले के पनि बुझ्नु आवस्यक छ भने शरीरको आवश्यकतालाई पूरा गर्न दाल, भात, तरकारी नै खाइराख्नु अनिवार्य भने हाेयन । ती खानाबाट प्राप्त हुने पोषक तत्त्व बराबर अझ भनौ त्यसभन्दा बढी पोषक तत्त्व अन्य खान्कीबाट प्राप्त गर्न सकिन्छ । अन्य खान्कीजस्तै कोदोको ढिँडो, फाफरको रोटी, जौको सातु, मकैको आँटो लगायतका रेसादार खाना मूलधारका खान्कीको राम्रो विकल्प पनि हुन् । हाम्रो खाना संस्कृति कस्तो बनिदियो भने कोदो, फापर, जौ, आदिबाट बनेका खाद्य वस्तुलाई हेयको दृष्टिले हेरिन्छ, गरिबको खान्की भनेर उपेक्षा गरिन्छ । तर, त्यही गरिबको खान्की भनिने ढिँडो अहिले विलासी भोजन बनेकाे छ । मैदाले बेरिने मम फाफरकाे पीठोमा बनाउँदा ‘हेल्दी मम’ बनेर बिक्छ ।
अर्को विडम्बना के पनि छ भने पहाड र हिमालका खेतीयोग्य जमिनमा हामी सकेसम्म धान नै रोप्न खोज्छौँ र कोदो, फापर ओझेलमा पर्छन् । अन्त्यमा ती अन्न भारतबाट आयात हुन पुग्छन् । पछिल्लो वर्षमात्र नेपालमा पन्ध्र अर्ब रुपैयाँ बराबरको कोदो आयात गरियो ।
माथि नै उल्लेख गरिसकियो नेपाल जैविक विविधतामा सम्पन्न छ । त्यसको करिव २८ प्रतिशत कृषि जैविक विविधताले ओगटेको छ । स्थानीय तवरमा प्रशस्त पाइने तर बाली सुधार नगरिएका र वैधानिक खेतीको अभावमा करिब २०० प्रजातिका बाली यहाँ ओझेलमा परेकाे मानिन्छ ।
बालीहरू ओझेलमा पर्नुको कारण हाम्रो खेती प्रणालीलाई पनि मान्न सकिन्छ । नेपालमा तराई, पहाड, हिमाल सबै भेगमा सिञ्चित अवस्थामा धान बालीकाे खेती गरिन्छ भने वर्षामा भर पर्नुपर्ने जग्गामा प्रायः मकै खेती गरिन्छ । त्यसको अर्थ हो मुख्य बाली धान वा मकै रहेछन् ।
हिउँदमा गहुँ, तोरी, मसुरो, आलुको खेती गरिन्छ । कोदो, फापर, जौ, भटमासजस्ता पोषिला बाली बाँकी जग्गामा लगाइन्छ । तिनलाई कि त बारीको डिलमा रोपिन्छ नभए खेर जाने जग्गामा लगाइन्छ । यसरी हामीले बहुउपयोगी बालीहरूलाई हेला गरिरहेका छौं । फलस्वरूप, नेपालीहरू धान, गहुँ, मकै, तरकारी बाली आदिमै निर्भर रहनुपर्ने बाध्यता छ ।
सरकार कृषि विकास रणनीति भन्दै कृषी व्यवसायीकरण र खाद्य सुरक्षाका परियोजना संचालन गर्छ तर उपेक्षित बालीहरूका लागि खासै केही गर्न खोजेको देखिँदैन । देशमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चालु छ जसमा १०६ जोन र १६ सुपरजोन संचालनमा छन् । अधिकांश जोन, सुपरजोन धान, गहुँ, मकै, आलु, नगदे बाली र मसला बालीमा केन्द्रित छन् । सरकारबाट नै यी बाली उपेक्षित भएको सहजै बुझ्न सकिन्छ ।
दिगो कृषिको अवधारणा पनि अघि सार्ने र रैथाने बालीका हकमा सुधार कार्यक्रम नगर्ने हो भने आफ्नै ठाउँमा सजिलै उत्पादन हुनसक्ने बाली बाहिरबाट आयात गर्नुपर्ने अवस्था सधैँ नै रहनेछ ।
नेपालमा अरु थुप्रै उपेक्षित प्रजातीहरू छन् । खाद्य तथा कृषि संगठनले ‘फ्युचर स्मार्ट फुड’ भनेर थुप्रै सम्भावना बोकेका अन्न, दलहन, कन्दमूल, तरकारी बाली र मसला बालीहरूको वर्गीकरण गरेको छ । यसमा लट्टे, फाफ़र, तिते फाफ़र, चिनो, कागुनो, कोदो, तरुल, पिँडालु, सखरखण्ड , सिङ्गाडा, मास, बोडी, बकुल्ला सिमी, गहत, भटमास, इस्कुस, सितलचिनी, मेथी, अमला, बेल, चिचिन्डो, आलस, च्युरी, सिलाम, ओखर आदि पर्छन् । यी बालीहरू रैथाने प्रजातिका हुने हुँदा र स्थानीयले नै संरक्षण गर्दै आएको हुनाले कम लागतमा धेरै उत्पादन लिन सकिन्छ । यिनको अर्को सबल पक्ष भनेको अति सीमान्त भूमिमा पनि धेरै उब्जनी लिन सकिन्छ । दलहन तथा कोसेबालीमा पाइने ‘नाइट्रोजन फिक्सिंग ब्याक्टेरिया’ले जमिनको उर्वरता बढाउन मद्दत गर्छ । स्थानीयरूपमा उपलब्ध हुने, पोषक तत्त्वले भरिपूर्ण, वातावरण सुहाउँदो र आर्थिकरूपमा पनि फाइदाजनक देखिने भएकाले उपेक्षित बालीहरूमा फ्युचर स्मार्ट फुडको रूपमा स्थापित हुबे प्रबल सम्भावना देखिन्छ ।
उपेक्षित बालीमा अझै सरोकारवालाको नजर पर्न सकेको छैन। यिनको संरक्षण हुनु आवस्यक किन पनि छ भने जैविक विविधतामा यिनको महत्त्वपूर्ण भूमिका रहन्छ । उपयोगमा नआउँदा बिस्तारै किसानले यी बालीलाई बिर्सन सक्ने अवस्था आयो भने लोपै हुने जोखिम पनि हुन्छ । बाली सुधार गरी खेतीयोग्य बनाएर वैधानिक खेती गर्न सक्ने हो भने देशले दिगो कृषि र खाद्य सुरक्षामा एक फड्को मार्न सक्ने छ ।
थोरै लागतमा, सीमान्त जग्गामा, कठोर हावापानीमा समेत राम्रो उत्पादन दिन सक्ने र पोषक तत्त्वले भरिपूर्ण भएकाले एकातर्फ खाद्य आपूर्ति पनि बढ्ने र अर्कोतर्फ़ पोषण सुरक्षा पनि हुने हुँदा किसान साथै सरकारको पनि यसमा ध्यान जानु आवश्यक छ। अहिलेको अवस्थामा मुटुरोग, मधुमेह जस्ता दीर्घरोगका बिरामीका लागि समेत फाफ़र, कोदो, जौ, तरुलजस्ता रेसादार खाना फाइदाजनक मानिन्छ । यिनको माग सहरमा बढ्दो छ । त्यसैले पहाडी र हिमाली भेगका किसानको लागि राम्रो आम्दानीको स्रोत पनि बन्न सक्छ ।
दुःखको कुरा त के छ भने विश्वले चिनेको हाम्रै खाद्य वस्तु हामीले चिन्न सकेनौं । हिमालयन सुपर फुड, फ्युचर स्मार्ट फुड भनेर चिनिएका खाद्यान्न हामीले निम्न आयस्राेत भएकाले खाने कुरा हो भनेर हेला गरेका छौँ । खानाले मान्छेको स्तर मापन गरियो ।
विदेशी खानामा रमायौँ । नजिकको तीर्थ हेला भनेझैं हामीले स्ट्रबेरी त चिन्यौ, ऐसेलु चिनेनौ । रोजमेरी चिन्यौ, जिम्बु बिर्सियौँ।
ओट्सको महत्त्व बुझ्यौ तर बारीको डिलमा उम्रेको जाैलाई झार भनि उखेल्यौँ । चामलको स्वादले कोदो, फापरमा मुख बिगारियाे । हामीले काफल चिन्न सकेनौ, बयर चिनेनौ, ड्रागन फ्रुट रोप्न जान्यौ, मेवा, कटहर रोप्न जानेनौ । प्रोटिन ‘डाइट’मा पैसा फाल्न सिक्यौँ तर जौ, भटमास, चना पिन्न जानेनौ । रैथाने साकिनी, प्वाँखउल्टे, घाँटीखुइले चिनेनौ ब्रोइलर कुखुरा चिन्यौ । घरमा पाहुनालाई ढिँडो दिन लाज मान्यौ, होटेलमा महँगोमा किनेर ढिँडो र गुन्द्रुकको झोल खायौँ । जौको सातु, तरुल, सखरखण्डजस्ता पोषिला खान्की खान चाडपर्व विशेष नै पर्खिन्छौँ ।
यस्ता उपेक्षित र ओझेलमा परेका बालीहरूलाई खेती प्रणालीमा जोड्नु आवश्यक छ । किसानलाई विभिन्न तालिम तथा चेतनामूलक कार्यक्रम संचालन गरी यिनको महत्त्वबारे बुझाउनु जरुरी छ । सरकारले यस्ता बालीको सुधार साथै व्यावसायिक खेतीबारे ध्यानाकर्षण गराउनु आवस्यक छ । एकल बाली प्रणालीलाई छोडी एकीकृत अथवा मिश्रित बाली प्रणालीमा खेती गरी उपेक्षित बालीलाई मूलधारमा ल्याउने पहल गर्न सकिन्छ । यति गर्न सके पक्कै पनि देशले जनताको खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न सक्नेछ । साथै निकट भविष्यमा खाद्यवस्तु आयात गर्नुनपर्ने अवस्थामा पुग्नेछ ।
(कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवामा अध्ययनरत)