site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्दयी राजनीति ! निर्मम कोरोना !

राजनितिको विभिन्न परिभाषा छन् । राजनीतिले राज्यसत्ताको माध्यमबाट जनहितको काम गर्छ भन्ने जनतालाई बुझाइन्छ। तर, राजनीतिका नाममा इतिहासमा  मानिस किन मारियो ? मालिक र दासको रूपमा किन विभेद गरियो ? राजनीतिको नाममा  मान्छे मारिने शृङ्खला, मानिस-मानिसमा  विभिन्नरूपका विभेद किन कायम छ ? अत: राजनीतिको निर्दयीरूप विश्वव्यापी र अविछिन्न छ । यसको  पछिल्लो दृष्टान्त कोरोना प्रकोपमा असफल र कमजोर वैश्विक भूमिकालाई लिन सकिन्छ ।

अमेरिकी समाजशास्त्री सी. राइट मिल्सको समाजशास्त्रीय परिकल्पना सिद्धान्तअनुसार साधरण मानिससँग मानिस र समाजको, जीवनी र इतिहासको, आफू र संसारको अन्तरभूमिकालाई  आत्मसात गर्न आवश्यक ज्ञान धारण गर्ने क्षमता रहँदैन ।  समाजले असाधारण मानिसको खोजी गर्छ र साधारण मानिस असाधारण व्यक्तिको दिग्दर्शनमा आफ्नो भविष्य बनाउने परिकल्पना/प्रतिज्ञा गर्छ । यस्तै समाजशास्त्रीय कारणले  राजनीति/राजनीतिज्ञको भरोसा गरिन्छ ।  

विश्व परिदृश्य
कोरोना फैलिँदा शक्तिशाली देशहरुको रुवावासी जारी छ । खर्बौं डलर संचय गरेर राख्ने महाशक्ति राष्ट्रहरूको कोभिडसँगको लडाइमा कन्जुस देखिने, स्वास्थ्यमा प्रणाली असफल हुने स्थिति आयो । जनजीवन सामान्य राख्ने बहानामा नाफामुखी अर्थतन्त्र संरक्षण गर्न बन्दाबन्दी विरोधी मानसिकता बनाइयो, नागरिकको ज्यान जोगाउने निसर्त पहल भएन । फलत: सकेसम्म राज्यको कुल ग्राहर्स्थ्य उत्पादन ऋणात्मक नहोस् भनेर त्यसको लागि उद्योग व्यापार निरन्तर चलाउने पहल भइरहे । दोस्रो कोभिड लहर अनियन्त्रित भइरहेको छ । शक्ति राष्ट्रहरूसमेतले आफ्ना सबै नागरिकलाई खोप दिन सकिरहेका छैनन् । तर निर्दयी राजनीति आफ्नो शक्ति आर्जनको खेल छोड्न तयार छैन । भारतमा भएको चुनाव एवं  प्रतिष्ठाको रूपमा सम्पन्न  कुम्भमेलाले कोरोनाको डढेलो सल्काएको देखिन्छ। सकारात्मक उदाहरणको लागि चीन, न्युजिल्याण्ड, कोरियाजस्ता देश कोरोना नियन्त्रणमा सफल भएका छन् । त्यस्ता देशले अपनाएको राजनीतिक सिद्धान्त र प्रणालीको बारेमा अध्ययन जरुरी छ । तर, धेरैजसो देशको शासन प्रणाली प्रभावकारी नभएको, कोरोना प्रभावको लागि ठूला व्यापारीलाई सहुलियत घोषणा गरे पनि तल्लो तहको जनताको लागि  उल्लेखनीय कार्यक्रम घोषणा गरेको देखिँदैन । यसैले राजनीतिले जनसाधारणालाई नियन्त्रण/शासनमात्रै गर्ने र सुरक्षा/हित चाहिँ  मुठ्ठीभरकालाई मात्रै गर्ने देखिन्छ ।
शक्तिशाली भारतका सामान्य नागरिकले खोप नपाएको क्रन्दन, अक्सिजन नपाएर तड्पिएको, दाहसंस्कारका करुणाजनक दृश्यले राज्यले नगरेको होकि,नसकेको हो भन्ने प्रश्न उठ्छ ।  राजनीतिक प्रभुत्व र नाफाको लागि नेपालसहितको छिमेकीलाई खोप सौजन्यदेखि खोप विक्रीको 'बिजिनेस डिल' (हाललाई स्थगित) गरिरहेको छ । यस्तै दृष्टान्तले राजनीतिमा सामान्य मानिसप्रति करुणा कुन स्तरमा छ भन्ने देखाउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia


घरेलु परिदृश्य
कोरोना प्रकोपमा पनि राजनीतिका नाममा भेला, बैठक, शक्ति  प्रदर्शनमा कुनै 'मार्जिन' राखिएको देखिएन । टुँडीखेलमा मागीखाने जनतालाई महानगरले इज्जत बचाउन लखेटेको समाचार पुरानो भएको छैन । गोँगबुतिर भात खान लाम बस्नेको ताँती देखिन थालिसकेको छ। 

कुल गार्हस्थ्य उत्पादनको सकारात्मक प्रक्षेपण गरिएको छ । तर, गरिखाने जनताको विजोग/नकारात्मक स्थिति जताततै देख्नसकिन्छ । गौरीफन्टालगायतका नाकामा लागेको दोस्रो लहरको भिडबाट सहजै देख्न सकिन्छ नागरिकको हैसियत । भारतले नमुना (न्वागी) को रूपमा दिएको बाहेक खोप ल्याउने कोसिस सार्थक भएको छैन । अस्पतालमा अक्सिजन, शय्या नपाएर मर्नेको संख्या बढिरहेकोछ । वाग्मती किनारको विद्युतीय शवदाहगृहको क्षमताले नधान्दा तटमै अस्रेल्ति लास दाह गर्नु परेको छ । 

Global Ime bank

नारा-जुलुस, उद्घाटन-शिलान्यास, चुनाव गर्नै पर्ने ? आफूलाई चाहिएको कानुन अध्यादेशबाट ल्याउनु हुने, कानुन संशोधन गरेर चुनाव (राष्ट्रियसभा) सार्न किन नहुने ?? व्यापारीको वेदना सुनेर लकडाउन गर्न आँट नगर्ने, व्यपारी/लगानीकर्ताको मर्का बुझेर कर्जा ब्याजलगायतमा सहुलियत दिने  सरकारले निमुखाको बारेमा सोच्न पनि नहुने  ?  राजनीति गर्नेहरूमा मानिसप्रति किन दया पलाउँदैन ? इतिहासदेखि निरन्तर राजनीति  यति धेरै निर्दयी, लासहरूको बेवास्ता गर्दै पद बचाउने र पाउने खेलमा नै सबै शक्ति लगाइरहनुपर्ने !

राजनीति किन निर्दयी ?
गंभीर प्रश्न हो - राजनीति किन निर्दयी हुन्छ ? मान्छेको भलोका लागि राजनीति गर्नेहुँ भन्नेहरूले वा राजनीतिको शास्त्रार्थ गर्नेहरूले सहजै उत्तर दिन कठिन प्रश्न हो - किन राजनीति निर्मम हुन्छ ? राजनीतिले गर्ने 'डेलिभरी'को प्राथमिकतामा जनसाधारण किन पर्दैनन्  ? यी प्रश्नको विमर्श विश्वप्रणालीमा एवं स्थानीय स्तरमा  गर्नुपर्छ । 
१. विश्वप्रणाली
 कार्ल मार्क्सले वर्गसम्बन्धको आधारमा विश्वलाई  प्रणालीको व्याख्या गरे । सरलरूपमा अमेरिकी समाजशास्त्री इमानुएल वालस्टाइनले विश्व प्रणाली दृष्टिकोण अगाडि सार्दै देशहरुलाई तारा (मुख्य) र उपग्रह (सेरोफेरो) मुलुकका रूपमा विभाजन गरेका छन् । पुँजीवादी विश्वप्रणालीभित्र अन्तरनिर्भरता व्यापार, युद्ध, धर्म, राजनीति सबैमा देखिन्छ । पुँजीवाद नाफा कमाउने, बचत बढाउने सिद्धान्तमा विश्वास  राख्छ । मानवताभन्दा  महत्त्व पाउने नाफा, श्रमजीवीवर्गको अतिरिक्त दोहनबाट मात्रै संभव हुने भएकोले यस्तो  प्रणालीमा सामान्य मानिसको पक्षमा काम हुँदैन । पुछ्रे उदाहरणको लागि अहिले किन अक्सिजनको सिलिन्डरको अभाव हुन्छ ? नाफाको सिद्धान्तले वाणिज्यमा अनावश्यक /अधिकतम  स्टक नराख्नु भन्छ । महाव्याधि अपवादमा आउने भएकोले अधिकतम स्टक राखेर  पुँजी निस्क्रिय गराउनु नाफाको सिद्धान्तविपरीत हुन्छ । अर्कोतर्फ  वितरण प्रणालीमा (दलाल)लाई बेलगाम छुट दिएपछि नाफा अधिकतम गर्न आपूर्ति कम गरेर मूल्य बढाउने कोसिस पुँजीवादी प्रणालीको आत्मानुसार नै हुन्छ । यस्तो प्रणालीको संरक्षण गर्ने राजनीति दयालु हुने कुरै भएन ।

२. पुँजीवादी यात्रामा समाजवादी
समाजवादलाई आदर्शमान्ने राजनीतिक शक्ति विश्वमा धेरै छन् । नेपालमा त ९९ प्रतिशत सांसद समाजवादी विचारलाई आदर्श मान्नेहरू छन् । दुर्भाग्य, उनीहरू  पुँजीवादी उज्यलोमा आफ्नो यात्रा गर्न चाहन्छन् । नेपालको राजनीतिमा समाजवादी अभ्यासले कुनै ठाउँ पाएको देखिँदैन । उत्पादन वितरणमा  समाजवादी हस्तक्षेप छैन । निजीकरणलाई समृद्धिको ब्रह्मास्त्र ठानिएको छ । उत्पादन सम्बन्धमा परिवर्तन ल्याउने इच्छा शून्य छ ।  भौतिक विकासलाई मात्र उन्नति मानिन्छ । स्वास्थ्य, शिक्षामा खुलाबजार स्तरको निजीकरण छ । उदाहरणका लागि पैसा तिर्न नसकेर गरिब जनताको लासलाईबन्धकी राख्ने  निजी अस्पताल विस्तारको लागि  समाजवादी नेता/सरकारका  व्यक्ति 'ब्राण्ड एम्बास्डर' जस्ता भएर दौडिन्छन् । कोभिडको यस्तो आपतमा  भुइँतहको स्वास्थ्य सुरक्षाप्रति सरकार उदासीन देखिन्छ । पैसा हुनेहरू हवाई एम्बुलेन्समा र पैसा नहुनेहरू भगवानको भरोसामा ! यसरी राजनीतिको निर्दयीपन पोखिन्छ ।

सिद्धान्त 
लेखको प्रारम्भमा बयान गरिएको व्यवहार देखिँदैन राजनीतिको ।  सयकडा एक जनासँग भएको सम्पत्ति र विश्वका बाँकी व्यक्तिसँग भएको सम्पत्ति बराबर हुने, मान्छेको जीवनभन्दा नाफालाई प्राथमिकतामा राख्ने,  पुँजीवादी सिद्धान्तको विकल्पमा समाजवादको यात्रामा हिड्ने संकल्प हुँदा राजनीतिक संरचनागत ढाँचाको विकल्पका बारेमा छलफल गर्न सकिन्छ । यसर्थ समाजवादी सिद्धान्तको उज्यालोबाट राजनीतिक संरचना/अर्थराजनीति निर्देशित भयो भनेमात्रै वस्तुभन्दा मान्छेको मूल्य धेरै हुन्छ । 
दुनियाँभर समाजवादी हस्तक्षेप एकैपटक संभव हुँदैन । तर, समाजवादप्रति प्रतिबद्ध संविधानअन्तर्गत समाजवादको 'मसिहा' ठान्ने कम्युनिस्ट पार्टीको शक्तिशाली सरकार हुँदा पनि समाजवाद "युटोपिया' हैन भने  समाजवादको बाटोतर्फ देश किन. अगाडि नबढेको ? निष्कर्षमा सिद्धान्तको आलोकबाट च्युत भएपछि राजनीति नामको जुनसुकै प्रणाली भए पनि मुठ्ठीभरका लागि सत्ताखेलको क्रीडास्थलबाहेक अरू केही हुँदैन - निर्दयी राजनीति !


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC