लण्डन । लिभरपुलका फरवार्ड प्लेयर मोहमद सलाहले इजरायल र प्यालेस्टाइनबीच भइरहेको युद्ध रोक्न आवश्यक कदम चाल्न विश्व नेतााहरुसँग आग्रह गरेका छन् । सलाहले सामाजिक सन्जाल ट्विटरमार्फत् निर्दोष मानिसहरुको हत्या र हिंसा रोक्न पहल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनलगायत विश्व नेताहरुसँग आग्रह गरेका हुन् ।
“निर्दोष मानिसहरुको हत्या र हिंसा रोक्न आफ्नो शक्तिले भ्याएसम्मका सबै प्रयास गर्न विगत चार वर्षदेखि मेरो घर बनेको देशको प्रधानमन्त्री (बोरिश जोनसन) हित विश्व नेताहरुलाई म आह्वान गर्छु । इनफ इज इनफ,” सलाहले ट्विटरमा लेखेका छन् ।
गत सोमबार जेरुसेलमस्थित मस्जिदमा इजरायली प्रहरी र प्यालेस्टिनीबीच भएको झडपमा सयौं प्यालेस्टिनी घाइते भएका थिए । उक्त झडपपछि विद्रोही समूह हमास र इजरायलबीच दोहोरो बम वर्षा भइरहेको छ । हमासले जेरुसेलममा रकेट आक्रमण गरेपछि इजरायलले मंगलबार हमासको नियन्त्रणमा रहेको गाजा क्षेत्रमा हवाई हमला गरेको थियो । त्यसपछि पुनः हमासले इजरायली सहर तेल अविवमा मिसाइल प्रहार गरेको बताइएको छ ।
हमास र इजरायलबीच भएको दाहोरो आक्रमणमा परी कम्तिमा ४० जनाको मृत्यु भएको समाचारहरु सार्वजनिक भएका छन् । सलाह इजरायलको दक्षिण–पश्चिमी छिमेकी इजिप्टको राष्ट्रिय फुटबल टिमका क्याप्टेन समेत हुन् ।