बेइजिङ । चिनियाँ रकेट लङ मार्च ५ बीको अनियन्त्रित भाग हिन्द महासागरमा खसेको छ ।
बेइजिङको समयानुसार आइतबार १०ः२४ मा वायुमण्डलमा प्रवेश गरेको रकेटको सो भाग माल्दिभ्सको पश्चिमतर्फ महासागरमा खसेको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रकेट अनियन्त्रित भएपछि अमेरिकी र युरोपेली साइटहरुले उक्त रकेटको अनुगमन गरिरहेका थिए । अमेरिकी रक्षासचिव लोयड अष्टिनले चीनको लापरबाहीका कारण रकेट आफ्नो कक्षबाट बाहिर गएको बताएका छन् ।
चिनियाँ रकेटको सो भाग वायुमण्डलमा पुनः प्रवेश गर्नुअघि मानव बस्तीमा खस्ने चिन्ता व्यक्त गरिएको थियो । तर, चिनियाँ सञ्चामाध्यमहरुले भने रकेटको अनियन्त्रित भाग महासागरमा खस्ने आँकलन गर्दै सम्भावित जोखिमलाई पश्चिमा सञ्चारमाध्यमले अतिरन्जित गरेको दाबी गरेका थिए ।
अन्तरिक्ष अन्वेषणमा चीनले निकैपछि मात्र हात हालेको हो । रुस र अमेरिकापछि सन् २००३ मा मात्र पहिलोपटक अन्तरिक्षयान पठाएको चीनले सन् २०२२ सम्ममा आफ्नै अन्तरिक्ष केन्द्र सञ्चालनमा ल्याउने महत्वकांक्षी योजनासहित काम गरिरहेको छ ।
गएको अप्रिल २९ मा पृथ्वीको सतहभन्दा ३७५ किलोमिटरमाथि दीर्घवृत्ताकार (इलिप्टिकल) कक्षमा उडाइएको थियो । १८ टन तौल भएको रकेटको सो भागलाई वायुमण्डलबाट नियन्त्रित रूपमा खसेको पछिल्ला केही दशकयताकै सबैभन्दा ठूलो वस्तु बताइएको छ ।