site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महामारीका बेला राज्य कहाँ छ ? 

कोरोना महामारीले उग्र रुप लिँदै जाँदा देशका विभिन्न भूभाग “हटस्पट“का रूपमा देखिन थालिसकेका छन् । प्राकृतिक प्रकोप र महामारीजन्य विपत्तिका बेलामा सर्वसाधारणको मन कमजोर हुनु स्वाभाविकै हो । शत्रुले आक्रमण गरी जनधनको क्षति पु¥याउने सम्भावना तथा एकल प्रयासबाट रोकथाम गर्न नसकिने महामारीजन्य विपत्तिबाट सुरक्षाका लागि राज्यको परिकल्पना गरिएको हो । सामान्य अवस्थामा आफ्नो कमाइबाट करका रुपमा केही रकम छुट्टयाएर राज्य व्यवस्था सञ्चालन गर्ने र विपत्को घडीमा राज्यले जनताको सुरक्षा गर्ने उद्देश्यले आधुनिक राज्य संयन्त्रहरु अस्तित्वमा आएका हुन् । यसैले राज्यको वास्तविक परीक्षा विपत्को घडीमा हुने गर्छ भनिएको हुनुपर्छ । 

लोक कल्याणकारी काम गर्नु तथा सामूहिक हितका लागि अन्तर्राष्ट्रिय जगतसँग सम्बन्ध स्थापित गर्नु राज्यको पहिलो कर्तव्य हो ।

राज्यले जनता सिर्जना गरेका कारण जनताले शासन मान्नुपर्ने होइन । बरु जनताले राज्यको परिकल्पना र निर्माण गरेकाले राज्य जहिले पनि जनताको विश्वास गुम्न नदिन चनाखो भइरहनुपर्छ । राज्य शक्तिशाली र जनता कमजोरजस्तो देखिए पनि जनताले आफ्नो सुरक्षाका लागि आनै अधिकारमा सम्झौता गरी राज्यलाई नासोका रुपमा दिएका हुन् भन्ने राज्य संयन्त्रमा रहने व्यक्तिले बुझ्नु आवश्यक हुन्छ । यसो भएन भने सत्तासीन व्यक्तिहरु आफूलाई शासक र जनतालाई रैती सम्झी सम्पूर्ण कुराहरु आफ्नो कृपाका कारण जनताले प्राप्त गरेको भ्रममा परी निरङ्कुश र तानाशाह बन्न सक्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महामारीले त्रासदी उत्पन्न गर्न थाल्नुभन्दा पहिले नै सरकारले त्यसको रोकथाम तथा सुरक्षाका लागि उपयुक्त कदम चाल्न सक्नुपथ्र्याे । तर, नेपालको सन्दर्भमा स्वास्थ्यविद्हरुले चेतावनी दिइरहँदा र खुला सिमाना रहेको छिमेकी मुलुकमा थेग्नै नसक्ने गरी संक्रमण बढ्दै जाँदा पनि सरकार केन्द्र र प्रदेश सरकारहरुलाई सुरक्षित गर्ने अस्वस्थ जोडघटाउको खेलमा व्यस्त रह्यो । त्यसो त गत सालदेखि नै महामारी र जनताको सुरक्षाप्रति राज्य सञ्चालकहरु उदासीन रहँदै आएका छन् । 

लामो समयसम्म बन्दाबन्दी गर्दा अस्पतालहरूको स्तरोन्नतिमा ध्यान दिनु त कता हो कता जिम्मेवार निकायमा रहेका व्यक्तिहरु महामारीलाई खेलाँचीका रूपमा लिएर बेसार पानी र अम्बाको पातका कथा सुनाउन व्यस्त देखिए । जनतालाई एक किसिमको निर्देशन जारी गर्ने अनि आफ्नै निर्देशनलाई उल्लंघन गर्दै हिँड्ने प्रवृत्तिले पछिल्लो समयसम्म प्रश्रय पाइरह्यो । अझ विडम्बना त निर्देशन जारीमात्र गर्ने सरकारले यसपटक जनताको औषधोपचारको व्यवस्था गर्ने कामबाट समेत हात उठायो । मानसिकरुपमा जनता आत्तिएको अवस्थामा उनीहरुलाई ढाडस दिनु त कता हो कता झन् भयभीत पार्ने किसिमले बिरामीलाई अस्पतालमा ठाउँ नभएकोले सरकारले उपचारको व्यवस्था गर्न नसक्ने सूचना जारी भयो । सूचना जारी गर्नुभन्दा अगाडि सरकारले उपलब्ध स्रोत साधनको व्यवस्थापनका दिशामा भने कत्ति ध्यान दिएन । विपत्का बेला जनताप्रति कत्ति पनि उत्तरदायी नभई यस्तै सूचनामात्र जारी गर्ने हो भने सरकारको आवश्यकतै किन पर्छ र ? गम्भीर आशङ्का सिर्जना गरेको छ पछिल्लो सरकारी सूचनाले ।

Global Ime bank

 सूचना जारी गर्नुभन्दा अगाडि सरकारले सम्पूर्ण निजी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गर्न सक्नुपथ्र्याे ।

स्वास्थ्य संकटकाल घोषणा गरेर देशभित्रै उपलब्ध सम्पूर्ण स्रोत साधनलाई महामारी विरुद्धको लडाइँमा प्रयोग गर्नुपथ्र्याे । यसका लागि निजी अस्पताल तथा होटलहरुलाई क्वारेन्टिन र आइसोलेसन सेन्टरका रुपमा विकास गर्न सकिन्थ्यो । देशभित्र रहेका र विदेशमा रहेका स्वास्थ्य क्षेत्रका दक्ष नेपाली नागरिकलाई स्वयंसेवाका लागि आग्रह गर्न सकिन्थ्यो । यतिमात्र होइन अप्ठ्यारो समयमा देशभित्रका स्रोतसम्पन्न नागरिकलाई सहयोगका लागि आग्रह गर्न सकिन्थ्यो जसका कारण स्वःस्फुर्तरुपमा आर्थिक संकलन तथा भौतिक पूर्वाधारहरु समेत प्राप्त गर्ने अवस्था रहन्थ्यो । तर, सरकारले यस्ता काममा आफूलाई संलग्न राख्न चाहेन । 

विगतमा विवादित ओम्नीसँगको संलग्नता तथा अन्य विभिन्न भागमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेको सरकारले पारदर्शी किसिमका काममा रुचि नदेखाउनु र जनहितका काममा उसको अनुभव नरहनु पनि यसको एउटा कारण हो । स्वदेशी सहयोगबाट सम्भव नभए दातृ निकायसँग स्वास्थ्यसँग सम्बन्धित साधनको सहयोगका लागि आग्रह गरेहुन्थ्यो । तर, अब केही गर्न सकिन्न भन्दै मर्नुभन्दा अगाडि खुट्टा पसार्ने काम गरियो ।

सरकार जोगाइदिन र पार्टीका विवादबाट प्रधानमन्त्रीलाई कमजोर हुनबाट बचाउन बेला न कुबेला सर्वदलीय भेला आयोजना गर्ने राष्ट्रपतिले राष्ट्रिय संकटको बेला दलहरुसँग छलफल आयोजना गरी मिलेर संकट सामना गर्न आह्वान गर्न नसक्नु पनि रहस्यकै विषय बनेको छ । कोभिड नियन्त्रणका दिशामा राम्रो अनुभव भएको चीनसँग स्वास्थ्य सहयोग माग्न नसक्ने सरकार आफैँ महामारीको रापले पिल्सिएको भारतसँग सहयोगको हात पसार्न पुग्यो । भारततिर ढल्केका कारण सत्ता टिकेकाले उत्तरतिर सहयोग माग्न हिच्किचाउनु अनि बेमौसममा दक्षिणबाट सहयोग खोज्ने सरकारका कामले नेपालीलाई लज्जित मात्र बनाएन नेपालको कूटनीतिक क्षमतामाथि ठूलो प्रश्नचिन्ह पनि खडा गर्‍यो ।

पछिल्लो समय देशका विभिन्न भागमा “निषेधाज्ञा“को घोषणा गरिएको छ । संक्रमणको जालोलाई टुटाउने तथा स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्ने कामका लागि बन्दाबन्दीको घोषणा गर्ने गरिन्छ । तर, हाम्रो बन्दाबन्दी त्यस दिशातर्फ उन्मुख देखिँदैन । दैनिक श्रम गरेर गुजारा गर्ने मजदुरहरूको गुजाराका लागि कुनै पनि वैकल्पिक व्यवस्था नगरीकन गरिएको बन्दाबन्दी लामो समयसम्म जान सक्दैन । अघिल्लोपटकको बन्दाबन्दीमा यहीँ वर्ग नै सबैभन्दा बढी पीडित भएको थियो । यसपटक पनि सोही गल्ती दोहोरिने निश्चित छ । 

अर्कोतिर सहरी क्षेत्रमा बन्दाबन्दीको पालना नगन्य मात्रामा देखिन्छ । निजी सवारीसाधन भएका व्यक्तिहरुलाई बन्दाबन्दी महसुस नै भएको छैन । कुनै पनि कार्यालयको कार्ड देखाएका भरमा घुमफिर गर्न पाइने भएकाले मूल सडकमा सवारी साधनको चाप देखिन्छ । बिहेव्रतबन्धका नाममा भोजभतेर चलेकै छन् । निश्चित संख्याभन्दा बढी मानिस जम्मा हुन नपाउने भनिए पनि पर्याप्त सतर्कता र अनुगमनको व्यवस्था गरिएको छैन । यी सबै कुराहरुले बन्दाबन्दी देखाउने हाउमात्र बन्दै गएको छ भने महामारीले सहर गाउँ सबैतिर अत्यासलाग्दो वातावरण बनिरहेको छ । 

भारतबाट आएका व्यक्तिहरूको समुचित व्यवस्थापन हुन नसक्नु तथा काठमाडौंबाट भिडभाडमा मानिसहरु दूरदराजका गाउँठाउँमा पुग्नु सम्भावित संकटका पूर्वसंकेत हुन् । स्थानीय सरकारले महामारी नियन्त्रणका लागि खासै अग्रसरता देखाएका छैनन् । बाहिरबाट आएका व्यक्तिलाई निगरानीमा राख्ने तथा जनचेतना विकास गर्ने काममा संलग्न हुनुपर्ने स्थानीय तहहरु अहिले आफ्नो उपस्थिति नै देखाउन सक्ने अवस्थामा देखिएनन् । यी सब कारणले गर्दा राज्य संयन्त्र बेकम्मा बन्दै गएको छ भने त्यसप्रति जनभरोसा पूर्णरुपमा टुट्न थालेको छ । 

महामारीबाट उत्पन्न यस महाविपत्तिको समयमा सरकार प्रतिपक्ष एकजुट भई जनताको आत्मबल बढाउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्रोत र साधनको परिचालन गरी संकट सामना गर्नका लागि तयार हुनुपर्छ । यस्तो अवस्थामा राज्य तथा राजनीतिक दलहरु निदाएर बस्छन् भने नागरिक समाज जाग्न ढिलो गर्नु हुँदैन । अन्यथा, राज्य साँच्चै नै असफल हुनेछ ।

अधिवक्ता

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC