site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
लोकतन्त्रको रखबारी मूल्य

लोकतन्त्रलाई निरन्तर सजग समर्थन र संस्कार अर्थात् रखबारी चाहिने तर बाँकी अन्य सबै शासन प्रणाली सरकारको दरो पकडको जकडमा बलियो पारिने रहेछ । विश्वका बहुसंख्यक मुलुक लोकतन्त्र शासित छन् । केही कम्युनिस्ट अधिनायकत्व र सैनिक वा धार्मिक तानाशाही व्यवस्था भएका मुलुकको राजनीति एक पक्षीय र सरकारी जकडमा शासित देखिन्छन् । नाम चाहिँ सबै प्रकारको प्रणालीले जनता र देशहितको नै लिन्छन् ।

जनता, नागरिक समाज, विभिन्न राजनीतिक दल र संवैधानिक अंगहरुबीच शक्ति पृथकीकरण वा सन्तुलन नै चनाखो समर्थनको स्रोत हुन् । र, लोकतन्त्रका यी सबै आवश्यक अवयव पनि हुन् । सत्ता प्रायः लोकतन्त्रप्रतिकूल अनुदार हुने मानिन्छ । जनताबाट मत समर्थन लिएर बन्ने सरकारी सत्ता जनतालाई नै आफ्नो दासत्वमा थिच्ने प्रयास गर्छ । सत्तामा लोकतान्त्रिक संस्कारको कमीले प्रायः यस्तो अवस्था हुन्छ । 

लोकतन्त्रविनाको सरकारी सत्ताले जनता र देशहित भन्ने तर जनता र तिनको स्वतन्त्र चिन्तनलाई बन्दी बनाउने गर्छ । जनता बन्दी हुनुको अर्थ देश नै बन्दी हुनु हो । जहाँ चेतना बन्दी बनाइन्छ त्यहाँ देश, जनता यी दुवैको हित कसोरी ? त्यहाँ त नागरिक सार्वभौम स्वायत्तता सरकारी परिभाषामा संकुचित गरिने नै न हो । सञ्कुचनमा कसको कस्तो हित ?   

Agni Group

सरकारी सत्ताको यही अनुदार प्रवृत्तिलाई निरुत्साहित गर्न नै जनता, अर्को शब्दमा नागरिक समाज र संवैधानिक संस्थाको निरन्तर खबरदारी खाँचो पर्ने रहेछ । लोकतन्त्र आयो, सबै थोक पूरा भयो ठान्ने प्रवृत्तिमा समाज शिथिल भए क्रमशः सत्ताको अनुदारवादी नङ्ग्रा लोकतन्त्रको छातीमा धसिँदै जानेछ । अन्ततः हेर्दाहेर्दै तानाशाही ग्रहणले सार्वभौम जनअधिकार खर्लप्पै निलिदिन्छ । त्यसपछि लोकतन्त्र खोजियो भने समाजले ठूलो मूल्य चुकाउनु पर्नेछ वा तानाशाही जाँतोमा पिसिनु पर्नेछ । 

लोकतन्त्रमा नागरिक समाजले खबरदारी गर्ने सबैभन्दा ठूलो र प्रभावकारी अस्त्र अभिव्यक्ति स्वतन्त्रता हो । अभिव्यक्ति खासगरी स्वतन्त्र प्रेसका माध्यमबाट मुखरित हुन्छ । बहुल भाव वा मानवीय भाषामा स्वतन्त्र प्रेसले सामाजिक चेतना र परिवर्तनको प्रतिनिधित्व गर्छ । लोकतन्त्रको पहिलो मानक स्वतन्त्र प्रेस वा निर्बाध अभिव्यक्तिको अवसर सुरक्षित हुनु हो । 

Global Ime bank

दल, समाज, विशेषज्ञ वा सबैसबै र सरकार पनि सार्वजनिक अभिव्यक्त हुने माध्यम स्वतन्त्र प्रेस नै हो । स्वतन्त्र प्रेसमात्र पक्षविपक्ष सबै विचारको प्रतिनिधित्व गर्न समर्थ हुन्छ । विज्ञप्ति, वक्तव्य वा भीषण भाषण सबै सार्वजनिक हुने प्रेस नै आधार हो ।

आलोचनात्मक चेत खोसिने ‘अन्यथा’ प्रेसको नाममा सरकारी स्तुति र कीर्तन मण्डलीको अस्तित्वमात्र रहन्छ । अधिनायकवादी वा तानाशाही मुलुकको प्रेस, पत्रकारिताले गर्ने वा गर्न पाउने समाचार, विचार प्रवाहले नै यो सबै बुझाएकै छ । 

तानाशाहीले फणा फिँजाउन सुरु ग।ेसँगै प्रारम्भ हुन्छ अभिव्यक्ति स्वतन्त्रता र निर्बाध प्रेसको कर्ममाथि प्रहार । यहाँ कम्युनिस्ट पार्टीका नेता केपी ओली नेतृत्वमा सरकार बनेपछि ल्याइएका आधा दर्जनभन्दा बढी कानुन र विधेयक प्रेस स्वतन्त्रता खोस्ने उद्देश्य प्रेरित रहेको सबैको जानकारीमा छ । मर्यादित पत्रकारिताको खोल ओढाएर ल्याइएका ‘विष कुम्भ पयो मुखम्’ जस्ता कानुनको सहारा लिएर स्वतन्त्र विश्लेषकलाई धम्काउने, पत्रकारलाई थुन्ने र प्रेसलाई भयभीत गर्ने प्रयास निरन्तर जारी छ । कारण ? 

यस मामलामा समाजको एउटा समूह भ्रमित र अर्को वर्गको नियत नै प्रेस स्वतन्त्रता विरोधी छ । प्रेस र सामाजिक सञ्जालको केही कमी कमजोरीलाई विषय बनाएर स्वतन्त्र प्रेसको चिरहरण गर्ने ‘भ्रमित र बदनियत’ दुवै समूहको उद्देश्य मिलन जान अन्जानमै हुनपुगेको छ । प्रेस र सामाजिक सञ्जाललाई एउटै बाटामा मिसमास गर्ने कि नगर्ने ? यो जारी बहसको विषय हो । यी समूहले भने आफ्नो जानकारी, चेत र विचार निर्माणको उज्यालो स्रोत स्वतन्त्र प्रेस, पत्रकारिता नै हो भन्ने स्वबुझाइप्रति आँखा चिम्लिएका छन् । 

स्वतन्त्र प्रेस मासियो भने सँगसँगै लोकतन्त्र पनि मासिनेछ । प्रेस स्वतन्त्रता पत्रकारले आफ्नो स्वार्थमा प्रयोग गरेको मान्ने ‘भ्रमित र बदनियत’ दुवै समूहले बुझनुपर्ने चाहिँ स्वतन्त्र प्रेस जनताको जानकारी र आवाज सबै हो । यसको अभावमा आफ्नै जानकारी र आवाज रोकिने भन्ने यिनले बुझ्नुपर्छ ।

नागरिकको लागि लोकतन्त्र अतुलनीय मूल्यवान छ । उदाहरण लिऊँ – माछाको लागि पानी, जीवनको लागि लोकतन्त्र । बाच्नु स्वायत्त गतिशीलतासमेत नै हो । मानिसको गतिशीलता बहुआयामिक हुन्छ । बहुआयाम नै लोकतन्त्रको विशेषता हो ।

लोकतन्त्रलाई सही मार्गमा अघि बढाउन नै जनता, नागरिक समाज, स्वायत्त संवैधानिक अड्ग र स्वतन्त्र प्रेसको रखबारी निरन्तर चाहिन्छ । अधिनायकवादी सत्ताले यी सबैलाई आफैँ चलाउँछ, आफ्नै इच्छा र स्वार्थमा हिँडाउँछ, सर्वेसर्वा आफैँ बन्छ । 

उदाहरणमा, यतिबेला बर्मा र थाइल्याण्डको शासन सत्तालाई हेरियो भने लोकतन्त्रको मूल्य, महत्त्व बुझ्न सकिन्छ । त्यहाँका नागरिकले लोकतन्त्रको लागि लडेको लामो संघर्ष वा दिएको असीमित कुर्बानी हृदय विदारक छ । लोकतन्त्र र नागरिक स्वायत्तताका लागि हजारौँ बर्मेलीले दिनदिनै जीवन दिएको खबर छ । सत्ता तानाशाही आफ्नै नागरिकको जीवन मारेर आफूलाई बचाउन खोज्दैछ । अरु के चाहियो यसभन्दा निर्मम उदाहरण ?

थाइल्याण्डका स्वतन्त्रतापेक्षी नागरिक पनि धेरै वर्षदेखि संर्घषमै छन् । कहिले कडा र कहिले सुस्त हुन्छ त्यहाँको संघर्ष तर त्यहाँको राजशाही र सैनिक सम्मिलित सत्ता किन नागरिकको अपेक्षा र लोकतन्त्रप्रति संवेदनशील हुँदैन ? थप अरु उदाहरण किन ? लोकतन्त्रको भोक र मूल्य कति चर्को हुँदो रहेछ ? यतिले नै बुझ्नेलाई पर्याप्त हुन्न र ? विश्लेषकहरु भन्दैछन् – बर्मा र थाइल्याण्डका शासकबीच सहकार्य हुने सम्भावना बढ्दै छ, किन ? लोकतन्त्र विरुद्ध ? 

अरु मुलुकको उदाहरण प्रसंगवश आएकोमात्र हो । हाम्रै देशको सन्निकट इतिहास नै साक्षी छ । लोकतन्त्र खोसिएका नेपालीले लोकतन्त्रका लागि गरेको लामो संघर्ष र दिएको असीमित कुर्बानी । हजारौँ सहिद, अभिभावक, आफन्त बलात् गुमाएको लाखौँलाख प्रतिनिधि पुस्ताले पाखण्डी सत्ता ढलाएर ल्याइएको हो लोकतन्त्र । यो सस्तो छैन ।

नेपालको लोकतन्त्रमा सत्ता सञ्चालक पनि लोकतन्त्रका विरोधी भएका छन्, छन् । प्रजातान्त्रिक मूल्य, मान्यता विरोधि सत्ताको प्रवृत्ति र चरित्रलाई परास्त गर्न नागरिक समाजको समग्र अड्.गले थप बढी लोकतन्त्रको अम्यास गर्नुपर्ने भएको छ । खबरदारी आवश्यकता थप बढेको छ । यतिबेलाको राजनीतिक किचलोले नागरिक समाज पनि शिथिलजस्तो भएको छ । कतै तानाशाहीले फणा नउठाओस् र लोकतन्त्र ननिलोस् ! थप सजग हुनु आवश्यक भयो । 

लोकतन्त्र गयो भने सुधार र आग्रह, आवाज सबै अवरुद्ध भयो । विश्व इतिहास यही भन्छ । हामी पनि विश्व साक्षी नै हौँ । नागरिक चेतको निरन्तर सक्रियता लोकतन्त्रको रखबारी गर्ने मूल्य हो । नागरिक अस्मिताको उत्थानमा लोकतन्त्रको प्रयोग पनि नागरिक चेतनाकै सक्रिय परिणाम हो ।           
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC