नयाँदिल्ली । भारतस्थित अमेरिकी बहुराष्ट्रिय पिज्जा ब्रान्ड डोमिनोका १० लाख उपभोक्ताको क्रेडिट कार्ड विवरण ह्याक भएको छ ।
१० लाख भारतीय उपभोक्ताको क्रेडिट कार्ड विवरण र १८ करोड अर्डरको ‘डाटा ब्रिच’ भएको इजरायलस्थित साइबर सेक्युरिटी फर्म हड्सन रकका सेक्युरिटी रिसर्चर एलन गलले जनाएका छन् ।
ह्याक भएको उक्त डेटाबेसमा नाम, फोन नम्बर, ठेगाना, सोसल लगइन टोकनलगायत व्यक्तिगत विवरणहरु रहेको गलले ट्विटरमार्फत् जानकारी दिएका बिजनेस इनसाइडरले जनाएको छ ।
सो डाटाबेस ह्याकरले बिक्री गरिसकेको छ । डाटाबेस खरिदकर्ताले उक्त विवरणहरु डार्क वेबसाइटमा बिक्रीका लागि राखेर १० बिटक्वाइन माग गरेका छन् । जसको मूल्य अहिले करिब पाँच लाख ७० हजार अमेरिकी डलर हुन आउँछ ।
भारतीय प्रयोगकर्ताको विवरणबाहेक ह्याकरले कम्पनीको आईटी, कानुनी र वित्तीय विभागका २५० कर्मचारीको विवरणसमेत ह्याक गरेको छ ।
गत महिना मोबि क्विकको डाटा सार्वजनिक गर्ने ह्याकरले नै डोमिनोको डाटा ब्रिच गरेको बताइएको छ । पछिल्लो समय भारतको बिगबास्केट, अनएकेडेमी, जसपेलगायत धेरै कम्पनीको डेटा ब्रिच भइसकेको छ ।