वासिङ्टन । अमेरिकाले अन्तर्राष्ट्रिय यात्रा गर्नुपूर्व पुनर्विचार गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
कोरोना संक्रमण जोखिमका कारण विश्वका ८० प्रतिशत देशमा यात्रा नगर्न विशेष चेतावनी जारी गर्ने तयारी भएको भन्दै यहाँको राज्य विभागले यात्राको योजनाबारे पुनर्विचार गर्न भनेको हो ।
गत अगष्टमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा निर्देशिका रद्द गरेपछि अमेरिकामा हालसम्म अन्तर्राष्ट्रिय यात्रामा कुनै चेतावनी जारी गरिएको छैन ।
“यात्रा गर्न कोभिड–१९ महामारीको ठूलो जोखिम कायमै छ । ती जोखिमको कारणले राज्य विभाग अमेरिकी नागरिकलाई विदेश यात्रामा पुनर्विचार गर्न आग्रह गर्छ,” विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विभागले प्रत्येक देशका लागि छुट्टा–छुट्टै स्वास्थ्य सुरक्षा निर्देशिका जारी गर्ने तयारी गरेको जनाइएको छ । संक्रमणको उच्च जोखिम रहेका ८० प्रतिशत देशलाई ‘लेभल–४’ वा ‘यात्रा नगर्ने’ क्षेत्रका रुपमा वर्गीकृत गरिनेछ । बाँकी २० प्रतिशत देशमा पनि यात्रालाई निरुत्साहित गरिने समाचार संस्था एपीले जनाएको छ ।
कुन देशलाई कुन समूहमा विभाजन गरिने भन्ने विभागले खुलाएको छैन । आगामी साता प्रत्येक देशका लागि छुट्टै निर्देशिका जारी गरेपश्चात नै यसको ज्ञात हुनेछ ।