मस्को । रुसले चेक रिपब्लिकका २० कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसले उनीहरुलाई एक दिनको समय दिएर रुस छाड्न आदेश दिएको बीबीसीले जनाएको छ ।
शनिबार चेक रिपब्लिकनले ७२ घण्टाको समय दिएर १८ रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । निश्कासन गरिएकाहरु रुसी कूटनीतिज्ञहरु गुप्तचर एजेन्ट रहेका चेक रिपब्लिकले जनाएको छ । सन् २०१४ मा एक हतियार डिपोमा भएको विस्फोटमा उनीहरुको संलग्नता रहेको चेक सरकारको आरोप छ ।
सुरुमा सामान्य दुर्घटना भनिएको उक्त विस्फोटलाई पछि चेक रिपब्लिकको गुप्तचर निकायले रुसी गुप्तचरले घटाएको आशंका गरेको थियो ।
चेक सरकारको कदमको प्रतिउत्तरस्वरुप रुसले २० कूटनीतिज्ञलाई निश्कासनको घोषणा गरेको हो । रुसविरुद्ध प्रतिबन्ध लगाएको अमेरिकालाई खुसी पार्न चेक रिपब्लिकले यस्तो कदम चालेको रुसी आरोप छ ।
केहीदिन अघि मात्र अमेरिकाले गत वर्ष ‘सोलारविन्ड्स’मा ह्याक गरेको, युक्रेनलाई धम्क्याएको र सन् २०२० को अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको भन्दै १० रुसी कूटनीतिकलाई देश निकाला गरी प्रतिबन्ध लगाएको थियो ।