एजेन्सी । पश्चिमी जगतकाे शक्ति कम हुँदै गर्दा चीन थप शक्तिशाली बन्दै गएको कुरा कोरोना महामारीले प्रष्ट बनाएको छ ।
गत वर्षको जुनमा चीनले कोरोना महामारी नियन्त्रण गर्न अपनाएको तरिकाले पश्चिमा राष्ट्रहरूको प्रजातन्त्रभन्दा उसको शासनशैली उपयुक्त रहेको सन्देश दिएको छ ।
अमेरिका र युरोपले महामारी र लकडाउनको मार भोगिरहँदा चीनियाँहरूको दैनिकी सामान्य अवस्थामा आइसकेको थियो । होटल, रेस्टुरेन्ट खुल्न थालेका थिए भने मानिसहरू कन्सर्टमा सहभागी भइरहेका थिए ।
चीन कोरोना महामारीपछि चलायमान भएको पहिलो अर्थतन्त्र मात्र होइन, सन् २०२० को तेस्रो त्रैमासमा पाँच प्रतिशत आर्थिक वृद्धि गर्न सफल एक मात्र ठूलो अर्थतन्त्र भएको राष्ट्र हो । यसैकारण चीनले यसअघि अनुमान गरिएभन्दा छिटो अमेरिकालाई पछि पार्ने भविष्यवाणी समेत हुन थालेको छ ।
चीन रूसपछि कोरोना भाइरसको खोप निर्माण गर्ने दोस्रो राष्ट्र हो ।
सत्तामा बलियो पकड
“निर्दयी तरिका अपनाएरै भएपनि सी चिनफिङ महामारी नियन्त्रण गर्न सफल रहे”, सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिजकी निर्देशक बोनी ग्लेजर भन्छिन् । यो सफलतालाई नै चीनले आफ्नो साम्यवादी व्यवस्था पश्चिमा लोकतान्त्रिक प्रणालीभन्दा ज्यादा उपयुक्त रहेको प्रमाणका रूपमा पेश गरेको उनले बताइन् ।
चीनको यो सबै सफलताको पछाडि सी चिनफिङ नै रहेका विज्ञहरू बताउँछन् । यसले चीन र कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको ‘माला जप्ने’ चीनमा राष्ट्रपति सीको छवि निर्माण गर्न ठूलो भूमिका खेलेको छ ।
सान डियागोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर सुजैन सिर्क भन्छिन्, “सी चिनफिङ महामारी अघिदेखि नै सत्तामा बलियो पकड बनाउन सुरु गरेका थिए । यद्यपि उनको लक्ष्य पूरा गर्न कोरोना महामारीले सहयोग गरेको कुरामा कुनै शंका छैन । यदि महामारी आएको थिएन भने उनका लागि यो काम जटिल हुने थियो ।”
सुरुवाती हारदेखि सफलतासम्मको यात्रा
मार्चको सुरुवातमा कम्युनिस्ट पार्टीको भर्चुअल बैठक बस्यो । जहाँ पहिलोपटक चीन सरकारले महामारीमाथि विजय पाएको घोषणा गर्दै खुसीयाली मनायो । चीनियाँ कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने ग्लोबल टाइम्सकाअनुसार सी चिनफिङ नेतृत्व थिएन भने महामारीको लडाइँमा चीनले पश्चिमा राष्ट्रहरूलाई पछि पार्न सक्दैन थियो ।
वासिङ्टनस्थित थिंक ट्यांक ब्रुकिङ्स इन्स्टिच्युटका चीनियाँ मामलाका विशेषज्ञ रेयान हेस भन्छन्, “कोरोना महामारी नियन्त्रण गर्न अपनाएको तरिकालाई सफलतामा बदल्न चीनले धेरै कोसिस गर्याे । यसलाई अमेरिका र अन्य देशको प्रजातान्त्रिक प्रणालीसँग तुलना गरिनुपर्छ ।”
भ्याक्सिन डिप्लोमेसी
कोरोना महामारी नियन्त्रणमा पाएको सफलताका बाबजुद चीनको अन्तर्राष्ट्रिय छविमा भने सुधार आएन । गत वर्षको अक्टोबरमा गरिएको एक अध्ययनकाअनुसार सन् २०२० मा विकासशील देशमा चीनको छवि निकै नकारात्मक हुन पुगेको थियो ।
ब्रुकिङ्स इन्स्टिच्युटका चिनियाँ मामला विशेषज्ञ रेयान हेस भन्छन्, “गत वर्ष धेरै विकसित देशहरूमा चीनको सार्वजनिक छवि खस्कियो । चीनको नेतृत्वले आफ्ना जनताका लागि के–के गरिरहेको छ भन्ने सन्देश चीनभित्र त प्रचार भयो, तर बाहिरी विश्वले यो विषय पत्याइरहेको छैन ।”
रेयान हेस यसको पछाडि धेरै कारणहरू रहेको बताउँछन् । जसमध्ये सुरुमा कोभिड–१९ को विषय लुकाउनु, चीनको हङ्कङ र ताइवान नीति, सिन्जियान प्रान्तमा उइगर मुसलमानको मानवअधिकार हनन् लगायतसँग सम्बन्धित रिपोर्टहरू मुख्य रहेको उनको बुझाइ छ ।
चीनले धेरै देशहरूमा मास्क, प्रोटेक्टिभ इक्विपमेन्ट किट लगायतका स्वास्थ्य सामग्री विक्री गर्याे । यद्यपि ती सामग्री गुणस्तरीय नभएको भन्दै केही देशहरूले फिर्ता समेत गरिदिए ।
सोही समयमा चीन कोरोना भाइरसको खोप ‘गेमचेन्जर’ बन्यो । चीन कोरोना खोपको पेटेन्ट दर्ता गर्ने सुरुका देशहरूमध्ये एक बन्न सफल भयो । मोर्डेना र फाइजरको तुलनामा प्रभावकारी नमानिए पनि चीनियाँ खोप विश्वका गरिब देशहरूका लागि विकल्प बनेको छ ।
“महामारीको सुरुवातमा सी चिनफिङ अति नाजुक स्थितिमा थिए । तर, अब उनी पहिले भन्दा शक्तिशाली बनेका छन् । सायद उनी एकमात्र नेता हुन् जसको तुलना माओसँग गर्न सकिन्छ । महामारीले उनका लागि तेस्रो कार्यकाल सुनिश्चित गरेको छ,” सुजैन सिर्कले भनिन् । बीबीसी हिन्दीबाट ।