बेइजिङ । चीनले पाँच सांसदसहित नौ बेलायती नागरिकमाथि प्रतिबन्ध लगाएको छ । चीनको विषयमा ‘झुठ र अफवाह’ फैलाएको आरोप लगाउँदै चीनले उनीहरुमाथि यात्रा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । ती प्रतिबन्धित व्यक्तिहरु बेलायतमा चीनको कडा आलोचक मानिन्छन् ।
उइगर मुस्लिम अल्पसंख्यकमाथि भएको मानवअधिकार हननको विषयमा सोमबार बेलायत सरकारले चालेको कदमको प्रतिवादस्वरुप चीनले प्रतिबन्ध लगाएको समाचारमा बताइएको छ ।
सोमबार बेलायत, युरोपेली संघ, अमेरिका र क्यानडाले संयुक्त रुपमा चीनको सिन्जान प्रान्तका केही अधिकारीहरुमाथि यात्रामा प्रतिबन्ध लगाएका थिए ।
चीन सरकारले सिन्जान प्रान्तको एक शिविरमा उइगर मुस्लिमलाई हिरासतमा राखेको छ । उनीहरुलाई चरम यातना दिनुका साथै यौन र श्रम शोषण गरेको आरोप लगाइएको छ ।
प्रतिबन्ध लगाइएका बेलायती नागरिकलाई चीन, हङकङ र मकाउमा प्रवेश निषेध गरिएको छ । यहाँस्थित उनीहरुको सम्पत्ति रोक्का गरेको चीन सरकारले उनीहरुसँग कारोबार गर्ने चिनीयाँलाई कारबाहीको चेतावनी दिएको छ । बीबीसीबाट