पटना । बिहार प्रहरीले विधानसभामै विपक्षी दलका सांसदहरुमाथि धरपकड गरेको विषयले अहिले भारतको बिहार राज्य तरंगित भएको छ ।
बिहार विधानसभाबाट पारित भएको विशेष सशस्त्र प्रहरीसम्बन्धी विधेयकको विरोध गर्ने विपक्षी दलका सांसदहरुमाथि प्रहरीले हातपात गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त विधेयकमा प्रहरीले पक्राउ पुर्जीबिना नै जो कोहीलाई शंकाको आधारमा पक्राउ गर्न र हिरासतमा राख्न सक्ने अधिकार दिएको भन्दै विपक्षी सांसदहरुले विरोध जनाएका थिए । मंगलबार साँझ अबेर गरी विधानसभाबाट पारित भएको विधेयकको विरोधमा विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए ।
विपक्षी राष्ट्रिय जनता दल (आरजेडी)का सांसदहरुले कागजात च्यातेर विधानसभा प्रमुख विजयकुमार सिन्हालाई घेराबन्दी गरेपछि अवस्था जटिल बनेको हो । त्यसपछि सयभन्दा बढी प्रहरी परिचालन गरी विपक्षी सांसदहरुलाई बाहिर निकालिएको थियो ।
प्रहरीले महिला सांसदहरुको कपाल तानेको र लात्ती हानेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । आरजेडी र सीपीआई(एम) दलका सांसदहरुले प्रहरीले आफूहरुलाई निर्घात कुटपिट गरेको बताएका छन् ।