वासिङ्टन । कोरोनाभाइरसविरुद्ध प्रयोग हुँदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो ।
अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । परीक्षणबाट खोप लक्षणयुक्त कोरोनाभाइरसको संक्रमण रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको पनि पुष्टि भएको छ ।
त्यसैगरी, यो खोपले रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको अधिकारीहरुले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रु पोर्ल्डले नयाँ अध्ययनको नतिजाले खोपको प्रभावकारिता पुनः प्रमाणित गरेको दाबी गरे ।
युरोपेली मुलुकलगायत कतिपय मुलुकहरुले खोपको प्रभावकारिता र उपयोगिताप्रति शंका गर्दै खोप लगाउन रोकिरहेका बेला यो नतिजा सार्वजनिक भएको हो ।
यो नतिजा सार्वजनिक भएसँगै खोप लगाउन छाडेका मुलुकहरुले खोप लगाउने अभियानलाई फेरि निरन्तरता दिने अपेक्षा गरिएको छ । तर, कतिपय देशहरुले भने युरोपेली औषधि नियामक निकायले खोप सुरक्षित र प्रभावकारी नै रहेको बताएपछि फेरि लगाउन थालेका छन् । विश्वका धेरै देशमा लाखौँ व्यक्तिले यो खोप लगाइसकेका छन् । कतिपय देशहरुले अहिले पनि यो खोप लगाउने कार्यलाई निरन्तरता दिइनै रहेका छन् ।
कतिपय देशहरुले यो खोप लगाउन रोकेको र कतिपयले यो खोपप्रति शंका उब्जाइरहेका बेला यो नतिजा सार्वजनिक भएपछि त्रसित भएकाहरु फेरि ढुक्क हुने भएका छन् । रासस/एएफपी