site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कमजोर सत्ता जहिल्यै दमन र हिंसामा उत्रन्छ
Sarbottam CementSarbottam Cement

जबजब संविधानमाथि संकट देखा पर्छ, सामाजिक न्याय सङ्कुचित बन्दै जान्छ, लोकतन्त्र कमजोर बन्दै गएको प्रतीत हुन्छ, नागरिक अगुवाहरू सडकमा निस्कने गर्छन् । यो नेपाली समाजको विशेषता नै बन्ने गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नागरिक समाज पुनः आन्दोलित भएको छ । त्यसो त नागरिक अगुवाहरू धेरै अगाडिदेखि आन्दोलित थिए । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण, गुठी विधेयक आदिविरुद्ध उनीहरूको आवाज सडकमा मुखरित हुँदै आएको थियो । संसद् विघटनपछि भने उनीहरूले संविधान, लोकतन्त्रमाथि नै खतराको महसुस गरेका छन् । तेस्रो जनआन्दोलन सुरू भएको घोषणा पनि गरेका छन् । 

नागरिक समाजको आन्दोलनप्रति सरकार असहिष्णु पनि देखिन्छ । शान्तिपूर्ण सङ्घर्षमा उत्रिएका नागरिक अगुवाहरूलाई सोमबार भाटभटेनी अगाडि पानीको फोहोरा प्रयोग गर्दै दमन गरेपछि र केही घाइते भए । शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । नागरिक अगुवाहरू आन्दोलनलाई फरक तरिकाले अगाडि बढाउने र अझै सशक्त बनाउने गृहकार्यमा पनि जुटिरहेका छन् । यही सन्दर्भमा नागरिक अगुवा सञ्जीव उप्रेतीसँग  बाह्रखरीका अक्षर काकाले गरेको कुराकानीको सम्पादित अंशः–

Prabhu Bank
Agni Group
NIC Asia


व्यवस्था परिवर्तनको लडाइँ लडेको १५ वर्ष पनि व्यतीत भएको छैन पुनः अर्को आन्दोलनको जरुरत किन पर्‍यो ?

जहिले–जहिले आन्दोलन हुन्छ, प्रजातन्त्र, लोकतन्त्रले गति लिएजस्तो, लय समातेजस्तो अनुभूत हुन्छ । त्यसको केही समय नबित्दै प्रतिगमन हुन्छ । बारम्बार यस्तो हुँदै आएको छ । खास गरेर पहिलो संविधानसभाको अवसानपछि प्रतिगमनको शृङ्खला चल्दै गइरहेको छ । अझ भनौँ न त्यसले तीव्रता पाउँदै गएको छ । २०६२–६३ सालको जनआन्दोलनको आदर्श न्यायमा समान पहुँच थियो । सबैका लागि लोकतन्त्र थियो । त्यसको एककिसिमको छाया, प्रतिविम्बन पहिलो संविधानसभामा थियो । धेरैखालको प्रतिनिधित्व थियो नि त्यहाँ ।

Global Ime bank

पहिलो संविधानसभा विघटन भएपछि प्रतिगमनले टाउको उठाउने मौका पाएको छ । र, मुलुक त्यतातिर नै गइरहेको छ । सामाजिक न्यायको मुद्दा ओझेलमा परेका छन् । लोकतन्त्रको सट्टामा अधिनायकवादी चरित्र हावी हुँदै आएको छ ।

अहिले तपाईं–हामीले देखिरहेका छौँ । अधिनायकवादको केन्द्रीय चरित्रका रूपमा ओली अगाडि आइरहेका छन् । विधि, प्रणाली मात्र होइन संविधान नै मिच्ने, यो त कुनै लोकतान्त्रिक चरित्र होइन । यसमा ओलीलाई मात्रै पनि दोष दिन मिल्दैन । प्रचण्ड, माधवकुमार नेपाल, पार्टीमा जोजो हुनुहुन्छ यसमा उहाँहरूको भूमिका छ । कांग्रेस पनि त्यही हो । उसले पनि सही अर्थमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेको छैन । 

गणतन्त्र संस्थापनापछि हामी २०३० तिर लम्कनुपर्ने हो । विज्ञान–प्रविधितिर फड्को मार्नुपर्ने हो । उपलब्धिहरूलाई संस्थागत गर्दै, बलियो बनाउँदै जानुपर्ने हो । त्यसमा पछि छौँ नै । राजनीतिक मुद्दाहरूमा झन्झन् पछाडि फर्कंदै छौँ । अहिले त हामी सन् २०१० तिर पो फर्किएर हेर्नुपरेको छ । त्यहाँ हामीले केही गल्ती, त्रुटि गर्‍यौँ कि भनेर ।

पहिलो संविधानसभाको अवसानसँगै प्रतिगमनको भ्रूण विकसित हुन थालिसकेको थियो ?

प्रतिगमनको भ्रूण त त्योभन्दा पनि पहिल्यैदेखि थियो । केपी ओलीकै पृष्ठभूमि हेर्ने हो भने पनि उहाँ कुनै परिवर्तनकारी मानिस होइन । उहाँ त संघीयता विरोधी नै हो । केपी ओली प्रतिनिधि पात्र मात्रै हो, अरू थुप्रै मानिसहरू छन्, जसले परिवर्तन रुचाइरहेका थिएनन् ।

पहिलेको सामन्तवादी व्यवस्था पितृसतात्मक पनि थियो । त्यो सयौँ वर्षदेखि चल्दै आएको थियो । त्यसले केही मानिसहरूलाई लाभ पनि पुर्‍याइरहेको छ । आफ्नो फाइदालाई कसले हटाउन चाहन्छ र ! कोही आदर्शवादी हुन्थ्यो भने पो मेरो फाइदा जेसुकै होस् तर म यसलाई नामेट बनाउन चाहन्छु, यो व्यवस्थाको अवशेष पनि राख्दिनँ, सामाजिक न्याय स्थापना गर्छु भन्थ्यो । त्यस्ता मानिस त अपवादमा मात्रै हुन्छन् । 

अतः नेपाली समाजमा, मूलतः राजनीतिमा प्रतिगमनको बीजहरू पहिलेदेखि नै थिए । सन् २०१० पछि झन् क्रियाशील भएर, झाँगिएर आए ।

 

 

क्रान्तिपछि त्यस्ता बीजहरू कसरी झाँगिन पाउँदा रहेछन् ? नेपाली समाज, राजनीति कहाँ चुक्यो ?

हरेक क्रान्तिपछि परिवर्तन नचाहने तत्वहरूको विस्थापन राजनीतिक दलहरूले नै गर्नुपर्थ्यो । कुनै अमुक पार्टीमा मात्र होइन, सबै पार्टीहरूमा अधिनायकवादी चरित्र देखिन्छ । नेताहरूको जीवनशैली, चिन्तन प्रणाली सामन्ती नै देखिन्छ । राजा र जनताबीच ठूलो खाडल थियो । २०६२–६३ जनआन्दोलनपछि त्यो खाडल पुरिने अपेक्षा थियो । जनप्रतिनिधि र जनताबीच कुनै पनि ग्याप नदेखियोस् । देखिन्थ्यो भने पनि मेटिएर जाओस् भन्ने आम चाहना थियो । एउटै सतहमा हिँड्न सकून् । तर, त्यो अपेक्षा पूरा हुन सकेन ।

नेताहरूको बोल्ने तौरतरिका, उनीहरूले जुन जीवन बाँचेका छन्, स–साना कुरा नै हेरौँ न छर्लङ्ग नै हुन्छ नि । गणतन्त्रपछि नेताहरूको कार्यशैलीले सोपानतन्त्र बढाउने काम गर्‍यो । 

यो त भयो राजनीतिको समस्या । यहाँ नागरिक समाजको पनि समस्या छ । नेपालको मात्रै होइन, बाहिरको नागरिक समाजको अवस्था हेर्नुभयो भने पनि उस्तै पाउनुहुन्छ । देशमा ठूलो घटना आइपर्‍यो । संसद् विघटन भयो, संविधानमाथि आक्रमण भयो, राजालाई फ्याँकेर गणतन्त्र ल्याउनुपर्‍यो भने धेरै मानिसको मनमा आँधीहुरी चल्छ । हुण्डरी पैदा हुन्छ । त्यतिबेला ह्वात्तै सडकमा आउने कुरा हुन्छ ।

नागरिक आन्दोलन कुनै एनजीओ होइन । यसको पार्टी हुँदैन । तलबी कार्यकर्ता र भत्तावाला पनि हुँदैनन् । कुनै सङ्घ, सङ्गठन पनि हुँदैन । खल्तीबाट पैसा हालेर र अभियान हुँदा ‘क्राउड फन्डिङ’मार्फत् चलेका हुन्छन् । 

मुलुकमा भइरहेको हुन सक्ने प्रतिगमनलाई रोक्न नागरिक समाज निरन्तर आन्दोलित भइरहनुपर्थ्यो । क्रियाशील भइरहनुपर्थ्यो । तर, यसको प्रकृति कस्तो छ भने क्रियाशीलतामा निरन्तरता दिन सक्दैन । एनजीओ बनाउने कुरा आएन । एनजीओ बनाउँदा दाताको कुरा आउँछ । उनीहरूको स्वार्थअनुकूल चल्नुपर्ने हुन्छ, त्यो त हामी विलकुलै चाहँदैनौँ । 

अहिले त संसद् विघटन, राजनीतिक सङ्कटजस्तो ठूला प्रकृतिका घटना भयो । तर, हामीकहाँ त समस्या नै समस्या छ । खोकनामा समस्या भइरहेको छ । त्यहाँ नागरिकहरू मर्कामा परेका छन् । कमलपोखरीजस्तो सम्पदा मासिँदैछ । यस्ता प्रकृतिका समस्यामा स्थानीयस्तरमै मानिसहरू जागृत हुनुपर्छ । उनीहरूको आवाज मुखरित तुल्याउनुपर्छ । त्यसो गर्न सक्ने हो भने हरेक क्षेत्रमा समस्या पर्ने, बोल्न पाउने अधिकार मिचिनेबित्तिकै नागरिकहरू जागरुक हुन थाल्छन् । आन्दोलित हुन थाल्छन् । प्रतिगमनले बढ्ने मौका पाउँदैन ।

घरअगाडिको सडक भत्काउँछन् । वर्षौंसम्म छारोधूलो उडिरहेको हुन्छ । वर्षामा हिलाम्य हुन्छ । फोहोर थुप्रिएर प्रदूषण व्याप्त हुन्छ । सरकारलाई कुनै वास्ता हुँदैन । यस्ता समस्या कति हुन्छन् कति । सूक्ष्म तहमा, स–साना मुद्दाहरूमा नागरिकहरूलाई जागरुक तुल्याउने, उपस्थिति देखाउने हो भने नागरिक आन्दोलनलाई पनि सदाबहार जीवित राख्न सकिन्छ ।

केपी ओली प्रवृत्ति एकैपटक उजागर भएको होइन, यो शृङ्खलाको रूपमा अगाडि आइरहेको छ । सडकमा निस्कँदामात्रै आन्दोलन हुने होइन, यसका अनेक रूप छन् । लेखेर, बोलेर पनि अधिकारको पैरवी हुनसक्थ्यो, त्यसमा पनि नागरिक समाज चुकेको हो कि ?

आम मानिसको पंक्ति उहाँको उखानटुक्कामा रमायो । उहाँको बोलीको हाँस्य मूल्य त छ, त्यसमै ताली बजाएर बस्नेहरूको ठूलो पंक्ति हामीकहाँ थियो । अद्यापि देखिन्छ ।

उनको कार्यशैलीको सुरूदेखि नै विरोध हुनुपर्थ्यो । यसको मुख्य दोष प्रचण्ड, माधवहरूलाई नै जान्छ । पार्टीभित्र एकलौटी अघि बढ्न थालेपछि उहाँहरूले त्यसलाई रोक्न सक्नुपर्थ्यो । नेकपा कांग्रेस पार्टी त होइन, कम्युनिस्ट पार्टी हो । त्यसको आफ्नै मूल्य, प्रणाली छ । सामाजिक न्याय, कम्युनिस्ट आचरणबारे त बुझेको छ नि । 
कम्युनिस्ट पार्टीले अधिनायकवादी चरित्र ग्रहण गर्‍यो, कुनै समय रसिया, चीनमा टिक्यो होला । त्यो पनि स्टालिनको पालामा ।

अहिले त कम्युनिज्मको सही अभ्यास कतै भएको छ जस्तो पनि मलाई लाग्दैन । 

केपी ओलीलाई चाहिनेभन्दा बढी शङ्काको सुविधा दिएकाले पनि यो अवस्था निम्तिएको हो कि ? राजनीतिक दलहरूले नगरे पनि नागरिक तहबाट त निगरानी हुनसक्थ्यो नि ?

केपी ओली जन्माउने हामी सबै पनि हौँ । राजनीतिक तहबाट हेर्ने हो भने नेकपा नै हो । केपी ओलीले अधिनायकवादी शैली देखाउन थालेपछि नेकपाका कार्यकर्ता, विपक्षी पार्टीहरू पनि उहाँको टुक्का, हँस्सीमजाकमा अलमलिनु हुँदैनथ्यो । बेलैमा लगाम कस्नुपर्थ्यो । उहाँहरूसँग त मास छ । कार्यकर्ता पंक्ति छ । जतिबेलै आन्दोलित हुनसक्छन् । नागरिक समाजसँग त केही छैन । 

संसद् विघटित छ । संविधानको साँधसीमा मिचिएको छ । नेकपाकै एउटा समूह सडक सङ्घर्षमा छ । नागरिक समाज सडकमा पानीका फोहोरासँग सिँगौरी खेलिरहेको छ । तर पनि प्रधानमन्त्री मानिसहरू भेला गर्दै भाषण गर्दै हिँडिराख्नुभएको छ ! त्यो ऊर्जाको स्रोत के होला, के लाग्छ तपाईंलाई ?

एउटा कुरा त उहाँको अहम, दम्भ नै होला । हरेक मानिसमा अहम् हुन्छ नै । शक्तिको केन्द्रमा गएपछि मानिसलाई भ्रम पनि पैदा हुन्छ– सर्वेसर्वा म नै हुँ । राज्य म नै हुँ । सरकार म नै हुँ । मबाहेक यो देशलाई गर्न सक्ने अरू कोही छैनन् भन्ने लाग्दो हो । यो एउटा ‘साइकोसिस’ पनि हो । उहाँको दिमागी अवस्थाको जाँच कसले गरिदिने ? त्यसको पत्ता कसरी लगाउने ?

वास्तवमा सरकारमा बस्नेहरूको दिमागको अवस्था ठीक छ कि छैन भनेर जाँच पनि हुनुपर्ने हो । त्यो त व्यवस्था यहाँ छैन । तर भन्न सकिँदैन । विश्वमा यस्ता ठूल्ठूला नेताहरूमा त्यो समस्या देखिएको छ । उनीहरूले निरङ्कुशता चरित्र प्रदर्शन गर्न थाल्छन् । अधिनायकवादी बन्दै गएका उदाहरण प्रशस्तै छन् ।

अधिनायकवादी शासकहरूले राष्ट्रियताको मुद्दाचाहिँ किन बोक्दा रहेछन् । राष्ट्रियताको मुद्दामा के त्यस्तो तागत हुन्छ ?

राष्ट्रियताका मुद्दाहरूलाई यस्ता थुप्रै शासकहरूले बोक्दै आएका छन्, अरूअरू देशमा पनि । राष्ट्रियताका मुद्दामा मानिस मर्न, मार्न, मारिन तयार हुन्छन् नि । पहिले धर्मका नाममा राजनीति हुन्थ्यो । १८, १९ औं शताब्दिमा राष्ट्र–राज्यको प्रणालीको विकास भयो । त्यसपछि धर्मको मुद्दा कमजोर बन्यो । राष्ट्र, राष्ट्रियताको नाममा मानिसहरू लड्न थाले । मर्न थाले । त्यो झगडा पुरुषहरूले नै गर्थे ।

राष्ट्रियताको जुन सङ्कथन छ, यो पुरुष प्रधान नै हो । लडाइँ–झगडा हुनेबेलामा महिलाहरूलाई ‘आउनुस् राष्ट्रियताका निम्ति लडौँ भन्ने, झाँसीको रानी बन्नुपर्छ’ भनेर उक्साउने, युद्धको समाप्तीपछि तपाईं त सीताजस्तो बन्नुपर्छ’ भनेर घरभित्रै खुम्च्याउँछ र नेतृत्वमा आफैँ आउन चाहन्छ, यो त चलिरहेको छ । राष्ट्रियताको सङ्कथन नै ‘हामी’ र ‘उनीहरू’ भन्ने छ । बोर्डर (सीमा) यतामा हामी, बोर्डर बाहिरका उनीहरू । हाम्रै बोर्डरभित्रका पनि केही मानिसहरू उनीहरूका हुन् भन्ने नै यसको सङ्कथन हो ।

राष्ट्रियता आवश्यक नै छैन मेरो तर्क होइन । आदर्श संसारमा सीमा चाहिँदैन । चराचुरूङ्गीहरू निर्वाध हिँडिरहेका छन् । उनीहरूलाई सीमाको मतलव छैन । सीमाको सर्जक मानिस हो । हामीले मन पराए पनि, नपराए पनि राष्ट्र र राज्यको विश्व–व्यवस्था छ, त्यो त चली नै रहने देखिन्छ । हामीले राष्ट्रियता चाहिँदैन भने पनि विश्वले यिनीहरूलाई भौगोलिक राष्ट्रियता नचाहिने रहेछ, यिनीहरू बडा आदर्शवादी रहेछन्, यिनीहरूलाई निर्वाध भिसा त दिँदैनन् । विरोधाभाषको अवस्था छ । राष्ट्रियताको सीमाबारे बुझेको छ फेरि राष्ट्रियताका निम्ति लड्नु पनि पर्नेछ । कुन किसिमको राष्ट्रियता अहिलेको मुद्दा हो ।

राष्ट्रियताका भाष्यमा, एउटा जातको, एउटा भूगोलको, एउटामात्रै लिङ्गको प्रतिनिधित्व हुनुहुँदैन । बहुसांस्कृतिक हुनुपर्‍यो । हिमाल, पहाड, तराई समेटिनुपर्‍यो । सबै मूल अटाउनुपर्‍यो । सबैलाई अपनत्व महसुस हुनुपर्‍यो । त्यसबाट मात्रै राष्ट्रियताको सही भावना निस्कन्छ ।

‘चीनबाट आएकोभन्दा भारतको कोभिड–१९ भाइरस खतरा’, प्रधानमन्त्रीले भारतलाई यसो भन्नुभयो भन्ने तर्कले राष्ट्रियताको प्रबर्द्धन हुनसक्दैन । अहिले प्रधानमन्त्री केपी ओलीले निम्न कोटीको राष्ट्रियता प्रदर्शन गरिरहेछन् ।

सामाजिक मुद्दाहरू चाङ लागिसक्दा पनि नागरिक आन्दोलन जसरी जागृत हुनुपर्ने थियो, सशक्त ढङ्गले आउनुपर्ने थियो, त्यसमा कमी देखिन्छ । कारण के होला ?

त्यसमा अनेक कारण हुँदा रहेछन् । अहिले हामी संसद् पुनःस्थापना हुनुपर्छ भनिरहेका छौँ । केही पार्टी पनि हामीसँगै छन् । प्रचण्ड–माधवकुमार नेपालहरूले त भनिरहेका छन् नि । पुनःस्थापना भए प्रचण्ड, माधवकुमार नेपाललाई सोध्ने यही प्रश्न हो, जुन अहिले हामी सडकमा सोधिरहेका छौँ । लोकतन्त्रको देखावटी प्रस्तुति होइन । संरचनाको पिँधमा रहेका मानिसहरूलाई उपलब्ध हुनुपर्‍यो । तिनीहरूको पहुँचमा हुनुपर्‍यो ।

दिनहुँ सात–सातजना महिला–बालबालिकाहरूको बलात्कार हुन्छ । बलात्कार त हुन्छ, सबैभन्दा डरलाग्दो त अझ के छ भने उनीहरूले उजुरी नै दिँदैनन् । किनभने न्यायप्रणालीलाई विश्वास नै गर्दैनन् । अदालतमा गएर न्याय पाउँछौँ भन्ने उनीहरूलाई रत्तिभर विश्वास छैन भने यो कस्तोखालको लोकतन्त्र ?

९० प्रतिशत महिलाले यौनिक हिंसाको उजुरी गर्दैनन् । उनीहरूलाई हाम्रो प्रणालीप्रति कुनै भरोसा छैन । एकातिर हामी समाजवादको कुरा गरिरहेका छौँ । अर्कोतिर लोकतन्त्रको अवस्था यस्तो छ !

त्यही कारणले होला हैन, अहिले संसद् विघटनसम्बन्धि मुद्दाबारे अदालतमा बहस, पैरवी भइरहेको छ । तर, हामी ढुक्क हुन सकिरहेका छैनौँ र सडकमा खबरदारी गर्न निस्कनुपरेको ?

एकदमै । त्यसरी बस्न नपाउँदा मलाई एकदमै पीडाबोध भइरहेको छ । छटपटी भइरहेको छ । नत्र अहिले कोरोनाका कहर छ । त्यो आतङ्क साम्य भइरहेको छैन ।

नागरिक समाज रहरले आन्दोलनमा उत्रिएको छैन । रहरले पानीका फोहोरासँग पौँठेजोरी खेलिरहेको छैन ।

प्रधानमन्त्रीको कदमले तेस्रो जनआन्दोलन निम्त्याएकै हो त ? कहाँ पुगेर यो आन्दोलनले विश्रान्ति लिएला ?

आन्दोलनलाई कसरी अगाडि बढाउने भनेर हामी गृहकार्यमै छौँ । सबैसँग छलफल पनि गरिरहेका छौँ । मैले अघि नै भनेँ– वास्तवमा नागरिक आन्दोलनले निरन्तरता पाइ नै रहनुपर्ने हो । नागरिक आन्दोलन टुङ्गिने भनेको कहिले ? कि न्यायिक र पूर्ण लोकतान्त्रिक समाजको निर्माण हुनुपर्‍यो । राज्यले न्यायका सिद्धान्तहरूलाई पूर्णरूपमा आत्मसात, अङ्गीकार गर्नुपर्‍यो । त्यो अवस्था नपुग्दा त समस्या निम्त्यिाइ नै रहन्छन् ।

अहिले त ठूलो तहको मुद्दा सामुन्नेमा आयो । स–साना घटना दिनहुँ भइरहेका छन् । जसले नागरिक आन्दोलनको आवश्यकता देखाइरहेका छन् । कमलपोखरी मासिँदैछ । खोकनामा नागरिक पीडित छन् । सडक बनाउने नाममा नागरिकको उठिबास लगाइन्छ । सरकारले हेर्दैन । एउटा मात्रै नागरिक पनि कतै अन्यायमा पर्‍यो भने त्यसमा पनि आवाज उठाउनुपर्‍योभन्दा यो अनन्तसम्म चलिरहन्छ ।

तर, यसमा निरन्तर लागिरहन समस्या छ । नागरिक समाजको प्रकृति नै अस्थायी छ । अस्थायीरूपमा निर्माण भएकाले स्थायीरूपमा आन्दोलित भइरहन कठिन पनि हुँदो रहेछ ।

कतिपय सन्दर्भमा नागरिक आन्दोलन राज्यलाई सहयोगी पनि हुन्छ । अहिलेको सत्ता नागरिक आन्दोलनको उपज पनि हो । तर, हिजो त यसले आफ्नो विद्रूप अनुहार देखायो ! दमनमा उत्रियो ! किन होला ?

प्रधानमन्त्रीलाई, यो सरकारलाई सर्वेसर्वा मै हुँ भन्ने भ्रम छ । प्रधानमन्त्री ओलीले त भनी नै सक्नुभएको छ नि–‘मलाई हटाउन चाहनुहुन्छ तपाईंहरू ! मलाई कसैले हटाउनै सक्दैन ।’ ‘स्थायी सरकार नै मै हुँ’ भनिराख्नुभएको छ । त्यो अहमको भेलले कुनैदिन उहाँलाई डुबाउने छ । तर, अहिले उहाँले त्यसलाई तागत सम्झिइराख्नुभएको छ ।

अस्तिको दमन हेर्दा, यस्तो कामचाहिँ एउटा सत्ता जो आफैँमा सशङ्कित छ । नागरिकबाट भित्रभित्रै डराएको छ, अरूका कुरा सुन्नै चाहँदैन, त्यसले गर्ने गर्छ । जब सत्ता दमनमा उत्रन थाल्छ, बुझ्नुपर्छ, भित्रभित्रै त्यसको आत्मबल क्षीण बन्दै गइरहेको छ । कमजोर बनिरहेको छ । सत्ता मक्किँदै गइरहेको द्योतक पनि हो यो ।

राज्य एकदमै बलियो छ भने उसले नागरिकलाई बोल्न दिन्छ । ‘ल भन्नुहोस् न त के कुरा हो तपार्ईंहरूको’ भनेर । त्यसका छेकबार लगाउँदैन । नागरिक बोल्दैमा कुनै विध्वंस मच्चिने त होइन । सरकारलाई कुनै क्षति त पुग्दैन ।

सरकारमा एक प्रकारहको हतासा देखिन्छ । सबैबाट तर्सिएको छ । असुरक्षित महसुस गरिरहेको छ ।

 

 

निहत्था नागरिकबाट सरकार किन तर्सनुपर्‍यो ?

खै किन हो ? त्यो त सरकारले जान्ने कुरा हो । हामीले त सरकारको गतिविधिबाट मूल्याङ्कन गर्ने हो । त्यस्तै देखिन्छ । हुनसक्छ, सरकारलाई चरम आत्मविश्वास छ । त्यो भ्रममा आधारित छ । अर्कोतिर, भित्रभित्रै आशङ्का र शङ्काले घर गरिरहेको छ । यिनीहरू सडकमा आइ नै सके, यिनीहरू जुनसुकै बेला खतरा बन्न सक्छन्, यिनीहरूलाई दमन नै गर्नुपर्छ ।

नागरिक आन्दोलन आफैँमा एकट्ठा हुन सकेको छैन । विभाजित पनि देखिन्छ । अर्को, हिजोका आन्दोलनहरूमा अग्रपंक्तिमा रहेकाहरू पनि आज निस्क्रियजस्तो देखिन्छन् । कारण के होला ?

अहिले हामी आन्दोलनको प्रारम्भिक दिनमा छौँ । मुद्दामाथि बहस पनि चलिरहेको छ । आन्दोलन उठ्दै जाँदा मानिस थपिँदै जालान् । यसमा हामीले अझै वर्कआउट गर्न जरुरी छ । नागरिक आन्दोलनमा आउनेहरू विभिन्न विचारका हुन्छन् । उनीहरूको राजनीतिक सोच, चिन्तन नै फरक–फरक हुन्छ । कसैलाई विभिन्न स्वार्थले डोर्‍याएर आन्दोलनमा ल्याएको हुन्छ । फरक–फरक पृष्ठभूमि, स्रोतहरू हुनसक्छन् । यो विविधतालाई मेटाउन सकिँदैन । तथापि, हामीबीच कति साझा कुराहरू छन् । त्यसलाई एकतृत गरेर अगाडि बढ्नुपर्छ । आह्वान गर्नेबित्तिकै सबै एकैपटक सडकमा आइहाल्छन् भनेर सोच्नु पनि हुँदैन ।

संसद् विघटनको मुद्दा विचाराधीन रहेकाले नागरिकहरू स्वःस्फूर्त आन्दोलित भइरहँदा अदालतप्रतिको भरोसा अझै कमजोर बनाउँछ कि ! अदालतलाई स्वतन्त्र निर्णय गर्न बाधा पुर्‍याउँदैन ? 

घुम्दैफिर्दै त्यही कुरा आउँछ । न्यायप्रणालीप्रति पूर्ण विश्वस्त हुन सकेको भए आन्दोलनको जरुरत नै पर्दैनथ्यो । हामीले स्वीकार गरौँ या नगरौँ देशका न्यायप्रणालीप्रति शङ्का छ । न्याय पालिकाले स्वतन्त्र रूपमा काम गर्न सक्छ कि सक्दैन भन्ने परीक्षा पनि हो यो ।

न्यायपालिकाप्रति नागरिकको भरोसा टुटेकाले हामी सडकमा आएका हौँ । संसद् विघटन गलत हो भनेर अदालतले निर्णय गर्‍यो भने फेरि अदालतप्रति भरोसा फर्किन्छ ।

कथम् भएन भने निर्वाचनमार्फत् मुलुक सही ट्र्याकमा आउँछ कि आउँदैन ?

परिस्थिति यस्तो तरल छ कि अहिले केही भन्नै सकिँदैन । राजनीतिक दलहरूको भूमिका के हुन्छ ? उनीहरू कसरी अगाडि बढ्छन्, अदालतले के गर्छ सबै कुराले यसको निर्धारण गर्छ । नागरिक समाज त सडकमा बसेर खबरदारी गर्ने हो, त्यो त हामीले जारी नै राख्छौँ ।

संसद् पुनःस्थापना भए पनि नभए पनि हामीले गर्ने कामचाहिँ प्रस्ट छ । सामान्य कुरा छ । लोकतन्त्र कहाँ साँघुरिँदै गएको छ ? किन साँघुरिँदै गएको छ ? सामाजिक न्याय किन कमजोर बन्दै गयो ? सन् २०१० पछि सामाजिक न्यायका क्षेत्रमा कहाँकहाँ छिद्र देखा परे ? जो आए पनि हामीले गर्ने प्रश्न यही हो ।

शासकीय व्यवस्था ‘फेलियर’कै सङ्केत पो हो कि ? जहाँ केपी ओलीजस्तो शासक जन्मन सक्छ । जुन संविधानबाट आफू प्रधानमन्त्री भयो त्यही संविधान मास्न उद्यत पनि हुन्छ भने कतै यही व्यवस्थामै कमजोरी छ कि ? हामीले बहस त गर्नुपर्‍यो नि ।

संविधान संशोधनको कुरा पनि उठिराखेको छ । त्यसमाचाहिँ तपाईंहरूको धारणा के छ ?

संविधान संशोधन आवश्यक छ । कति मानिसलाई यो संविधानप्रति अपनत्व बोध नै छैन । यो संविधान जलाउने मानिस पनि छन् नि । उनीहरूका कुरा पनि सुनौँ न । उनीहरूले न्याय पाएका छैनन् कि ? असन्तुष्ट मानिसको कुरा सुन्ने धीरता हामीमा हुनुपर्‍यो नि । संरचनागत असहनशीलताले उनीहरूका कुरा सुन्न, बुझ्न तयार भएका छैनौँ कि ।

संविधान आफैँमा गतिशील दस्तावेज हो । कागजमा लेखिएको कुरा हो । ढुङ्गामा लेखिएको संविधान त होइन । संसार यति चाँडै परिवर्तन भइरहेको छ, मानिसको विचार दिनानुदिन परिवर्तन भइरहेको, संविधानचाहिँ सधैँ एउटै भएर बसिरहन सक्छ त ? सक्दैन । संविधानको यो धारा, उपधाराले लोकतन्त्रलाई साँघुरो बनाइरहेको छ, मानिसले पाउनुपर्ने न्यायलाई असहज बनाइरहेको महसुस छ भने त्यसबारे छलफल गर्न हामी सधैँ तयार हुनुपर्छ ।

नागरिक आन्दोलनले चेतना निर्माण र सामाजिक जागरणका क्षेत्रमा उल्लेख्य काम गरेको छ । तर, सधैँ ‘डलरको खेती’ भनेर आन्दोलनको मानमर्दन गर्ने काम पनि भइरहेको छ, किन ?

यसमा कुनै आश्चर्य मान्नुपर्दैन । सत्ताले यस्तो भाष्य निर्माण गर्छ । उसको वैधानिकतालाई अस्वीकार गर्न, निषेध गर्न यस्ता खालको बहसहरू भइरहन्छन् । यो सजिलो खालको ‘डिस्कोर्स’ पनि हो । ट्वीटर, फेसबुकहरूमा पनि हामीहरूप्रति असहमत हुनेहरू छन् । हामीहरूप्रति असहमत हुनु उहाँहरूको अधिकार हो । असहमति पनि तार्किक हुनुपर्‍यो ।

केही कुरामा चित्त बुझेन सीधै ‘डलरवादी’ भन्दियो । मैले लैङ्गिक अवस्थाबारे धेरै अगाडि अनुसन्धान पनि गरेको थिएँ । यहाँ कुनै मानिसलाई अपमानित गर्नुपर्‍यो, त्यसलाई अस्वीकार गर्नुपर्‍यो भने, महिला छ भने ‘चरित्रहीन’को उपमा भिराइदियो, पुरुष छ भने ‘दलाल’को संज्ञा दियो । त्यसपछि बहस अगाडि बढ्नै सक्दैन । त्यत्तिमै समाप्त हुन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC