site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सिनेमा घर गोल्ड’ संसारकै सस्तो डिजिटल प्लेटफर्म हो 
Ghorahi CementGhorahi Cement

० ० ०
कोरोनाका कारण सिनेमा उद्योग ठप्प हुँदा विश्वका धेरै देशमा धेरै सिनेमा उपलब्ध डिजिटल प्लेटफर्ममा रिलिज भए । तर, नेपालमा भरपर्दो डिजिटल प्लेटफर्म र कन्टेन्टमाथि लगानी गर्ने डिजिटल एप नहुँदा त्यो सम्भव भएन । हल रिलिज नभएका चलचित्र खरिद गर्नसक्ने र आफैं कन्टेन्ट उत्पादन गर्न सक्ने डिजिटल प्लेटफर्म अभाव हुँदा नेपाली निर्माताका चलचित्र नौ महिनादेखि अलपत्र छन् । यो अवधिमा दर्शकले चलचित्र हेर्न पाएनन् । यसैलाई लक्षित गर्दै अभिनेता खगेन्द्र लामिछानेले लामो तयारीपछि केहीदिन अगाडि डिजिटल प्लेटफर्म ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेका छन् । गत शुक्रबार सार्वजनिक एपमा ६ नेपाली चलचित्र (डमरुको डन्डीबियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र) उपलब्ध छन् । साथमा स्ट्यान्ड अप कमेडी र सर्ट मुभी पनि राखिएको छ । वेब सिरिज र अन्य सामग्री तथा हरेक महिना एउटा चलचित्र रिलिज गर्दै जाने खगेन्द्रले बताएका छन् । उनै खगेन्द्रसँग नेपालमा डिजिटल प्लेटफर्मको बजार, फिल्म कल्चर, कन्टेन्टमा लगानी, सब्सक्रिप्सन, पेमेन्ट गेटवे, पाइरेसीलगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

० ० ०

लामो समयको आन्तरिक तयारीपछि डिजिटल एप ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गर्नुभयो, कस्तो छ प्रतिक्रिया ?
राम्रो प्रतिक्रिया आइरहेको छ । पहिलो चरणमा रहेकाले केही सानातिनो समस्या आएका थिए । तर, त्यसको समाधान तत्काल भइसकेकाे छ । दर्शकसँग प्रत्यक्ष कुरा गरेर तपाईंलाई के समस्या आइरहेको छ भनेर सोधेर समाधान गरिसकेका छौं । 

Agni Group

नयाँ एप भएकाले केही समस्या भएको अवस्थामा फोन गरेर के गर्ने भनेर सोध्नु भएकाे थियाे, हामीले तत्काल समस्याको सटआउट गरिसकेका छौं । त्यसैले दर्शकले राम्रो रेटिङ दिइरहनुभएको छ । फिल्म मेकर साथीहरूले पनि राम्रो काम सुरु गर्नुभयो । राम्रोसँग चलिरहेको छ । यसलाई अझै राम्रोसँग एड्भान्स बनाउँदै लैजानुपर्छ भनिरहनु भएको छ । यो मेरा लागि उहाँहरूको साथ पनि हो । सब्सक्रिप्सन मोडलमा नेपालमा पहिलोपटक एप आयो भनेर खुसी सेयर गरिरहनुभएको छ । 

संसारका ठूलाठूला एपहरू चाहे फेसबुक होस् वा इन्टाग्राममा त समस्या आइरहन्छ भने हाम्रो त सानो एप हो, इनिसियल फेजमा छौं । समस्या आउँछ स्वाभाविक हो । तर, समस्या समाधान गरिसकेका छाैं । 

Global Ime bank

वार्षिक पाँच सय रुपैयाँ शुल्क तोक्नुभएको छ । प्रयोगकर्ताहरूको संख्या कतिको उत्साहजनक देखिरहेको छ ? 
मान्छेलाई विश्वास नै लागिरहेको छैन, पाँच सयमा वर्षभरि चलचित्र हेर्न पाइन्छ भन्ने । एउटा चलचित्रको होला अथवा एक महिनाको होला भनेर कतिले त हामीलाई कल गरेर रि-कन्फर्म पनि गरिरहनु भएको छ ।

हामी पाँच सयमा १८ वटा चलचित्र मात्रै होइन, त्योसँगै अरु कन्टेन्ट पनि छन् । सर्ट मुभी, स्ट्यान्डअप कमेडीहरू पनि छन् । सिरिज पनि छन् । अरु कन्टेन्ट पनि आउँदै छन् । २०२१ मा जति पनि कन्टेन्ट आउँछन् पाँच सयमा हेर्न पाउनुहुन्छ भनिरहेका छौं । उहाँहरू छक्क पर्दै भन्नुहुन्छ- यो त अचम्मै भयो त, कसरी सम्भव भयो भनिरहनुभएको छ ।

अहिलेसम्म युट्युबमा फ्रिमा हेरिरहेकाले पैसा तिरेर हेर्दा पनि फ्रिमै हरिरहेको जस्तै होस्, दर्शकको लगानी न्यून होस् भन्ने नै हाम्रो सोच हो । पैसा तिरेर हेर्ने बानी पनि बसाउनुपर्छ । पैसा तिरेर हेरेपछि त्यसमा आफ्नो अपनत्व हुन्छ । पैसा तिरेर हेरेपछि गाली पनि गर्न पाउँछु, करेक्सन गराउन पनि सक्छु भन्ने दर्शकमा पनि अनुभूत हुन्छ । त्यसैले जतिसकिन्छ न्यूनतम गरौं भनेर पाँच सय मूल्य राखेका हौं । योभन्दा त तल झर्ने ठाउँ नै थिएन । हामीले तत्कालका लागि नाफाका लागि यो काम गरेका हैनौं । हामीलाई नाफा त हुँदै हुँदैन । सम्भवत: घाटा नै हुन्छ । प्रयोगकर्ताको बानी परिवर्तन गर्न यो काम सुरु गरेका हौं । 

त्यसो भए घाटाको व्यापार सुरु गर्नुभयो ?
घाटा नै त होइन । प्रयोगकर्ताको बानी परिवर्तनको प्रयास हो । तर, दीर्घकालीन रुपमा त फाइदा सोचेर नै सुरु गरिएको काम हो । अहिले केही घाटामा गए पनि दीर्घकालीन रुपम समग्र चलचित्र उद्योगलाई नै फाइदा पुग्छ भनेर गरेका हौं । 
 
केही महिनाअगाडि सार्वजनिक भएको डिजिटल एप खाडीमा बस्ने नेपालीले प्रयोग गर्न सकिएन भन्ने गुनासो गरेका थिए । ‘सिनेमा घर गोल्ड’ खाडीमा बस्ने नेपालीले सजिलै प्रयोग गर्न सक्छन् ? 
सक्नुहुन्छ । खाडीमा बस्नेहरूलाई पेमेन्ट गेटवेको समस्या हो । त्यसैले हामीले सिनेमा घर डिजिटल वालेटको व्यवस्था गरेका छौं । यसमा यहाँको ई-सेवाबाट पैसा पठाउन मिल्छ । त्यसैले संसारको जुनसुकै ठाउँमा भएको मान्छेको नेपालमा कसै न कसैसँग कनेक्सन हुन्छ । त्यसैले वालेटमा पठाउन लगाएर चलचित्र हेर्न सकिन्छ । यो सिनेमा घरको प्रयोजनका लागि मात्रै हो । खाडीमा मात्रै होइन अफ्रिकामा रहेको नेपालीले पनि हेर्न सक्नुहुनेछ । 

नेपाली डिजिटल एप प्रयोगका लागि पेमेन्ट गेटवे सहज छैन । ‘सिनेमा घर गोल्ड’ प्रयोगका लागि कसरी केबाट पैसा तिर्ने ?
सिनेमा घर डिजिटल वालेटबाहेक नेपालबाट बैंकका भिजा कार्डहरू चल्छन् । ई-सेवा र खल्ती पनि प्रयोग गर्न सकिन्छ । अरु पनि थप्दै लैजाने छौं । भारतमा अन्तिम चरणमा काम भइरहेको छ । त्यहाँ कम्पनी नै खोलेर इन्डियाको पेमेन्ट गेटवे इन्टिग्रेट गर्दै छौं । त्यसपछि इन्डियामा बस्ने नेपालीभाषीले पनि सजिलै सिनेमा घर गोल्डमा चलचित्र हेर्न सक्नुहुनेछ । 

सुरुमा आधा दर्जन सिनेमासँगै केही कन्टेन्ट राख्नुभएको छ । अब नियमित रुपमा कस्ता कन्टेन्ट कसरी राख्नुहुन्छ ?
सुरुमा ६ वटा चलचित्र रिलिज गरेका छौं । फेब्रुअरीमा दुईवटा चलचित्र रिलिज गर्नेछौं । त्यसपछि हरेक महिना एउटाका दरले फिचर फिल्म रिलिज गर्नेछौं । त्यससँगै सर्ट मुभी र स्ट्यान्ड अप कमेडी पनि छन् । वेब सिरिजहरू निर्माण गर्दै जाने छौं । त्यसपछि आफ्नै कन्टेन्ट पनि उत्पादन गर्दै जाने सोच छ । स्क्रिप्टहरू तयार छन् । 

तत्कालका लागि त बनिसकेका चलचित्रको डिजिटल राइट्स युट्युबहरूले लिइसकेका छन् । चलचित्रको अभाव हुँदैन ?
हामीले तत्कालका लागि हाइलाइट्स नेपालसँग सहकार्य गरेका छौं । हल रिलिज भएका तर युट्युबमा रिलिज नभएका चलचित्रसँग हामीले सहकार्य गरेका हौं । 

फिल्म मेकरहरूले पनि विस्तारै बुझ्दै जानुहुन्छ । सय वर्षका लागि चलचित्र अर्काका लागि दिनुहुँदैन भन्ने धारणा विकास हुँदै जान्छ । कसरी धेरैभन्दा धेरै माध्यमबाट आयआर्जन गर्न सकिन्छ भन्ने धारणा मेकरमा आउँदै जान्छ । धेरैले सय वर्षका लागि फिल्म बेच्न नहुने रहेछ भनेर भन्न थालिसक्नु भएको छ । अहिले ६ वटा चलचित्र कोही प्रोड्युसरको हातमा छ भने टेलिभिजन, एपहरूमा राखेर पैसा लिन सकिन्छ । दीर्घकालका लागि नेपाली चलचित्रको व्यापार नै ठीक ठाउँमा छैन । दर्शकले पनि निर्माताहरू बाँचे भने अर्को राम्रो बनाउन सक्छन् भन्ने बुझिदिनुपर्छ । दर्शक र फिल्ममेकर दुवैका लागि फाइदाको पक्ष हो । 

हल रिलिज नभएका चलचित्रहरू ‘सिनेमा घर गोल्ड’मा रिलिज हुने सम्भावना छ ? 
अहिले तत्कालका लागि हामीले यो प्लान गरेका छैनौं । पहिला त चलचित्र हलमा रिलिज गर्ने हो । हलकै लागि भनेर चलचित्र निर्माण गरिएको हुन्छ । हलमा जस्तो अन्य माध्यममा चलचित्र हेर्दा मजा आउँदैन । 
तर, लो बजेटमा बनेको चलचित्र छ र निर्माताहरूले एपमा राख्नुपर्‍यो भन्नुहुन्छ भने हामी त्यसका लागि पनि तयार हुन्छौं ।

तर, यसका लागि एकले लगानी गर्न सक्छ ?
त्यो तत्कालीन परिस्थितिमा हुने कुरा हो । कस्तो चलचित्र हो । सन्देश के दिन्छ, क्‍वालिटी कस्तो छ ? त्यो सबै हेर्छौं । हामीले पनि मापदण्ड बनाएका छौं । कन्टेन्ट र क्‍वालिटी उपयुक्त छ भने राख्छौं, पैसा त तत्कालीन परिस्थितिको कुरा हो । 

नेपालमा सिनेमा हेर्ने कल्चर नै विकास भइसकेको छैन । कसरी डिजिटल प्लेटफर्म सस्टेन हुन सक्छन् ? 
यसको जवाफ त मसँग छैन । फिल्म मेकर भएकाले फिल्म हेर्ने कल्चर हामीले विकास गर्ने प्रयास गर्नुपर्छ । हलमा जाने बानी हराइसकेका दर्शकलाई घरमै बसेर चलचित्र हेर्ने व्यवस्था मिलाउन सके उहाँहरूले पनि हेर्नुहुन्छ कि भन्ने लोभ हो । दर्शकको संख्या पहिलाकोभन्दा अहिले घटेको छैन । राम्रो र मनोरञ्जनात्मक चलचित्र आउँदा अहिले पनि ठूलो संख्यामा दर्शक हलमा जानुहुन्छ । हलमा छुटेका दर्शक लामो समय फिल्म हेर्न वञ्‍चित हुने भएकाले कुनै माध्यममार्फत पुर्‍याउन सके त्यसले चलचित्र हेर्ने बानी विकास गर्छ । चाहे हलमा, एपमा वा कुनै पनि डिभाइसमा हेरे पनि चलचित्र हेर्ने कल्चरको विकास हुन्छ । एपमा हेरे पनि फिल्म हेर्ने कल्चरको विकास हुन्छ । एपमा चलचित्र हरेपछि यसले यो एक्टर, एक्ट्रेस वा निर्देशकको अर्को चलचित्रचाहिँ हलमा गएर हेर्छु भन्ने सोचको विकास गर्न पनि सहयोग गर्छ । त्यसैले हलले एपलाई र एपले हललाई सहयोग गर्छ भन्ने लाग्छ । हलको प्रतिस्पर्धी एप र एपको प्रतिस्पर्धी हल कहिले पनि हुँदैन । दुवैको आ-आफ्नै बजार हुन्छ । 

युट्युबमा फ्रिमा चलचित्र हेर्न बानी परेका हामीलाई पैसा तिरेर डिजिटल प्लेटफर्ममा अभ्यस्त हुन त समय लाग्ला नि ?
पक्कै पनि हो । त्यसैले फ्रिमा चलचित्र हेरिरहनु भएका दर्शकलाई एउटै फिल्मका पाँच डलर, १० डलर तिर्नुस्भन्दा अन्याय नै हुन्छ । त्यसैले पैसा तिरेको अनुभव नै नहोस् भनेर वर्षमा पाँच सय रुपैयाँ शुल्क राखेका हौं । मैले त्यति धेरै रिसर्च त गरेको छैन । तर हामीले जानकारी पाएसम्म संसारको सबैभन्दा सस्तो प्याकेज हो यो । भारतमा वर्षको करिब दुई हजार रुपैयाँ तिर्नुपर्छ । यति धेरै कन्टेन्ट भएको भएको डिजिटल प्लेटफर्म यो सायद संसारकै सस्तो हो भन्ने लाग्छ । दर्शकलाई अन्याय नहोस् भनेर नै हामीले सस्तोमा हेर्न सकिने व्यवस्था मिलाएका हौं । पाँच सय मात्रै बरु ६ सय रुपैयाँ नै तिरिदिउँ न भन्ने भावना आवस् भन्ने हाम्रो उद्देश्य हो । बढी तिर्नुपर्‍यो कि क्या हो भन्ने दर्शकलाई नहोस् भन्ने लक्ष्य हो । दर्शकको प्रतिक्रिया पनि त्यस्तै नै आइरहेको छ । 

नेपाली कन्टेन्ट मात्रै राखेर डिजिटल एप चल्न सक्तैनन् भनेर नेपाली चलचित्रकर्मीहरू नै भन्छन्, हो ?
दर्शकलाई विभिन्न कन्टेन्टहरू हेर्न मन हुन्छ, त्यो स्वाभाविक पनि हो । म आफैं पनि हलिउड, बलिउड, कोरियन, इरानी, चाइनिज फिल्महरू हेरिरहेको हुन्छु । दोस्रो, तेस्रो चरणमा हामी यसमा पनि तयारी गर्नेछौं । तर, अहिले नै तत्काल नेपालीबाहेक कन्टेन्ट आउँदैन । पछिपछि भने अरु भाषाका चलचित्रहरु पनि राखिनेछ ।

डिजिटल एपको अर्को ठूलो समस्या भनेको कन्टेन्ट पाइरेसी हो, ‘सिनेमा घर गोल्ड’ यसबाट सुरक्षित छ ? 
हामीले सेक्युरिटी फिचरमा निकै मिहिनेत गरेका छौं । हामीले फोन नम्बर राख्नुपर्ने व्यवस्था गरेका छौं । फोन नम्बर कसै न कसैको नाममा हुन्छ । त्यसैले हाम्रो चलचित्र कसैले पाइरेसी गरेको अवस्थामा व्यक्ति पहिचान गर्न हामीलाई कठिन हुँदैन । सबैभन्दा बलियो पक्ष नै यो हो । अर्को कुरा हामीले दर्शकलाई सचेत पनि गराएका छौं, कन्टेन्टमा वाटरमार्क छ । अर्को पक्ष हाम्रो एपबाट स्क्रिन रेकर्ड गर्न मिल्दैन । मोबाइलमा, ट्याबलेटमा वा टेलिभिजनमा हाम्रो कन्टेन्ट हेर्न मिल्छ तर ल्यापटपमा मिल्दैन । कारण ल्यापटप नै धेरै पाइरेसी हुने ठाउँ हो ।

योभन्दा पनि दर्शकलाई यति सस्तोमा चलचित्र हेर्न दिइरहेका छन् विचरा किन पाइरेसी गर्नु भन्ने पनि लागोस् । अहिले टोरेन्ट डाउनलोड निकै कम भएको छ कारण सुलभ मूल्यमा डिजिटल प्लेटफर्मले कन्टेन्ट हर्ने व्यवस्था मिलाएका छन् । सस्तोमा पाएपछि पाइरेसीका कारण झेल्नुपर्ने कानुनी झमेलातिर कोही लाग्दैन भन्ने हो । तर पाइरेसी अपराध हो भन्नेचाहिँ हामीले पनि बुझाउनुपर्छ दर्शकलाई । 

हाम्रो एपबाट पाइरेसी हुँदै-हुँदैन भन्ने त होइन, कारण ठुल्ठूला देशका गुप्तचरका सूचना त वेब ह्‌याक गरेर पाइरेसी भइरहेका हुन्छन् । तर, हाम्रो उद्देश्य यति सस्तो हुँदाहुँदै के पाइरेसी गर्नु पैसा तिरेरै हेर्नुपर्छ भन्ने भावना जागृत गर्नु हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC