site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
प्रधानमन्त्रीज्यू, होम-आइसोलेसनमा रहेको मलाई तपाईंको सरकारले फोन गरेन त ?

प्रधानमन्त्रीज्यू, तपाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका कोरोना संक्रमित स्थानीय सरकारको निगरानीमा रहेको बताउँदै आएको छ । दिनमा कम्तिमा दुईपटक स्वास्थ्यकर्मीले फोनबाटै स्वास्थ्य अवस्थाबारे जानकारी लिन्छन् र आवश्यक परामर्श दिन्छन् तपाईं माताहातको स्वास्थ्य मन्त्रालय भनिरहेको छ । तर, प्रधानमन्त्रीज्यू, खोई तपाईंको स्थानीय सरकारले मलाई त फोन गरेन त ! किन प्रधानमन्त्रीज्यू, तपाईं जस्तै गफ लगाउने मात्रै हो तपाईंको स्वास्थ्य मन्त्रालय पनि । र, स्थानीय सरकार र जनप्रतिनिधि र कर्मचारीहरू पनि ।

जब, ममा कोरोना संक्रमण भएको रिपोर्ट आयो र सीटी भ्यालु (भाइरसको लोड) निकै न्यून थियो । मलाई निको हुन्छ कि हुँदैनभन्दा पनि अस्पताल भर्ना हुनुपर्‍यो भने कसरी धरौटी डिपोजिट गर्ने भन्‍ने तनावको पारोले शिखर नाघेको थियो ।

प्रधानमन्त्रीज्यू, तपाईंको सरकारले कोरोनाको दाऊ छोपेर व्यापार थालिसकेको छ । एकातिर शरीरलाई आरामको जरुरत थियो, अर्कोतिर महामारीमा व्यापार गरिरहेका अस्पतालमा डिपोजिट गर्नुपर्ने खबरले तनाव दिइरहेको थियो । प्रधानमन्त्रीज्यू, कारोनाको महामारीसँगै रोजगारी नगुमाएको म जत्तिको नागरिकको हविगत त यस्तो छ भने आमनागरिक जसले चैतदेखि नै कामकाज गुमाएर रित्तो हात जसोतसो ज्यान बचाइरहेका छन्, परिवार बचाइरहेका छन्, उनीहरूको अवस्था कस्तो होला ? उनीहरूलाई कोरोना संक्रमण भयो भने उनीहरू कोरोना आक्रमणले होइन त्यसपछि उपचारका लागि गर्नुपर्ने खर्चको जोहोबारे दिने मानसिक तनावले सास रोक्छ भन्ने तपाईंले सोच्‍नुभएको छ ?

Agni Group

तपाईं बसेको सहरको स्थानीय सरकारका अधिपति कोरोना पोजेटिभ देखिँदा पाँचतारे होटलको स्विट रुममा बसे ।

जनप्रतिनिधिलाई संक्रमण हुँदा सरकारी ढुकुटी खर्चिएर संक्रमितलाई हेलिकोप्टरले ओसार्यो । संक्रमित भएर म घरमै बसिरछु है भन्दा १४ दिनसम्म के, कसो भनेर एक कल फोन पनि नगर्ने तपाईंको सरकारको म नागरिक हुँ कि होइन ? कि नागरिक हुन तपाईंको झोला बोकेर अघिपछि लागेर हिँड्नै पर्ने हो ?

Global Ime bank

नागरिकको रक्षा र सेवा सुविधाको प्रबन्ध गर्न होइन प्रधानमन्त्रीज्यू, सरकारले कर उठाउने ? तपाईंले लगाएका हरेक कर मैले तिरेको छु प्रधानमन्त्रीज्यू । तपाईंका हरेक उर्दी मान्‍ने मैले तपाईंको सरकारलाई आजसम्म सहयोग नै गरेको छु । तर, तपाईंको सरकार म मरे/बाँचेको एक कल फोन गरेर बुझ्दैन भने तपाईंको सरकार नागरिकको सरकार हो कि तपाईं र तपाईं जस्तैहरूको राजनीतिक नेता कार्यकर्ताको मात्रै हो भनेर बुझुँ म ?

नेताहरू बिरामी हुँदा कसरी, कहाँ उपचार गरिन्छ ? आम नागरिकलाई भलिभाँती जानकारी छ । हालसालै एक नेतालाई कोरोना संक्रमण हुँदा दिल्ली लगिनुपर्ने आवाज उठ्यो । (भलै उहाँको उपचारमा कुनै कमजोरी नहोस् र उहाँ चाँडै निको हुनुहोस् मेरो कामना छ ।) इन्डियामा चाहिँ कोरोनाको औषधि उपचार हुन्छ ? हुँदैन । त्यही आईसीयू र भेन्टिलेटरमा राखेर अक्सिजन दिने हो । जुन नेताहरूका लागि चौबीसै घण्टा उक्त सुविधा नेपालमै उपलब्ध छ । यहाँ हजारौं नागरिक घर न घाटको भएर मृत्युलाई कुरेर बसिरहेका छन् । प्रधानमन्त्रीज्यू, त्यसप्रति तपाईं जवाफदेही हुनुपर्दैन ?

तपाईंले भन्‍नुभयो- गरिब, अशक्त, वृद्धवृद्धा तथा एकल महिलाई नि:शुल्क उपचार हुनेछ । तर, यसका लागि पहिचान खुल्ने सरकारी निकायको सिफारिस वा परिचयपत्र अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

तपाईंहरूले नै बनाएको संविधानले सरुवा रोगको उपचार सरकारले गर्नुपर्ने जनस्वास्थ्य ऐनमा उल्लेख छ । तर, प्रधानमन्त्रीज्यू, तपाईंको सरकार निःशुल्क परीक्षण र उपचार व्यवस्था गर्नू भन्‍ने अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा अपिल गर्छ । यो त संविधानको उल्लघंन मात्रै होइन नागरिकप्रतिको बेइमानी भएन र ? बेइमान सरकारको बेइमान प्रधानमन्त्रीका रुपमा तपाईंको नाम इतिहासमा दरिँदै छ भन्ने हेक्का छैन ? राज्यको सबैभन्दा ठूलो सम्पत्ति जनसंख्या, भूगोल र सार्वभौम सत्ता भन्‍ने तपाईं स्वयं राजनीतिज्ञ भएकाले म राजनीतिशास्त्रको विद्यार्थीले सम्झाउनुपर्दा म आफैंलाई लज्जाबोध भइरहेको छ ।

कारण तपाईंद्वारा शासित नागरिक हुँ म । राज्यको सम्पत्ति जोगाउन अग्रसर नहुने प्रधानमन्त्रीको नाम लिँदा मेरो छाती गर्वले चौडा अवश्य हुँदैन प्रधानमन्त्रीज्यू, बरु लाजले खुम्चिरहेको छ ।

प्रधानमन्त्रीज्यू, सरकारले सित्तैमा उपचार गरिदिन्छ भनेर कोही पनि संक्रामक भाइरस खोज्दै मृत्युको मुखमा जानीजानी ओइरिन जाँदैन । सावधानी अपनाउँदा-अपनाउँदै संक्रमित हुने नागरिकको उपचारबाट भाग्दा होइन दायित्व सम्झिएर उपचार गर्दा नै तपाईं र तपाईंको सरकारप्रति जनताले ताली ठोक्छन् ।

चाहेर कोही संक्रमित हुँदैन । संक्रमणबाट भाग्दाभाग्दै संक्रमित हुनेरहेछ प्रधानमन्त्रीज्यू । तपाईंलाई म आफै संक्रमित हुँदाको अनुभव सुनाउँछु :

कोभिड-१९ ले अरुको जस्तै मेरो पनि जीवन शैली बदलदिएको थियो । बिहानै सबेरै उठ्यो । ल्यापटप समात्यो । समाचार अपडेट गर्‍यो । खाना खायो । अनि फेरि ल्यापटप समात्यो, बस्यो । चैतयताको हरेक दिनको दैनिकी यही थियो । यसबाहेक दिनमा केही व्यक्तिसँग फोन संवाद हुन्थ्यो, समचारका लागि । कोभिड-१९ सिकाएको भनौं अथवा अभ्यस्त बनाएको भनौं हाम्रो जस्तो (अनलाइन समाचार पोर्टल) को काम घरबाटै पनि गर्न सकिन्छ भन्‍ने थियो । भलै समाचार स्रोतहरू फोन संवादमा कति खुल्छन् त्यो आफ्नै ठाउँमा छ । तर, काम ठप्पै भने हुँदोरहेनछ ।

आफू र परिवारलाई सुरक्षित राख्‍न कार्यालयले उपलब्ध गराएको यो सुविधा हामीले उपभोग गरिरहेका थियौं । अत्यावश्यक काम परे घरबाट निस्कियो, अन्यथा घरबाटै काम गर्‍यो । काम चलिरहेकै थियो । महामारीबीच दसैँ सम्मुखमै आइसकेको थियो । एकातिर आफ्नै स्वास्थ्य जोखिममा पर्थ्यो अर्कोतर्फ सरकारले बारम्बार भनिरहेको थियो । यो वर्ष जो जहाँ छौं, त्यहीँ दसैँ मानौं । भिड नगरौं । यात्रा नगरौं । सरकारकै आज्ञा शिरोधार्य गर्ने निर्णयमा पुगेको थिएँ, म । अर्थात यो वर्ष इटहरी नजाने काठमाडौं मै बस्‍ने ।

कात्तिक २ गते बैंक र एटीएम जानैपर्ने भयो । स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर थापाथलीस्थित माछापुछ्रे बैंक गएँ । डबल माक्स लगाएको थिएँ । हातमा स्यानिटाइजर बेलाबेलामा लगाइरहेको थिएँ । करिब २० मिनेटमा बैंकको काम सकियो । घर आएँ । खाद्य संस्थान जाऊँ कि भन्ने मनमा लागेको थियो । तर, भिड छ भन्‍ने सुनेपछि जाने आँट आएन ।

कात्तिक ३ गते पुतलीसडकमा सानो काम थियो । मध्याह्‍नको समयमा करिब १० मिनेटमा काम सकेर एउटा विद्युतीय सामग्री आवश्यक परेकाले शान्तिनगर पुगेँ । करिब आधा घण्टामा काम सकियो । अर्डर गरेको तेस्रो दिन ५ गते विद्युतीय सामग्री घरमा आइपुग्यो । यही दिन शरीर भारी भइरहेको थियो । ज्वरो आउला जस्तो भइरहेको थियो । तर, पनि समाचार लेखेँ । खाना खाएँ । सधैं झैं बेडमा पुग्दा ११ बजिसकेको थियो । त्यतिबेलासम्म शरीर दुख्‍न थालेको थियो । शरीरको तापक्रम बढेको महसुस भइरहेको थियो । राति एक बज्दा नबज्दै शरीरको तापक्रम बढेर १०२ डिग्री फरेनहाइट नाघ्यो । शरीर सहनै नसकिनेगरी दुख्यो । हात र खुट्टाका जोर्नी यसरी दुख्यो, युरिकेसिडको प्यासेन्ट भएर पनि त्यति धेरै दुखेको कहिल्यै महसुस गरेको थिएनँ ।

अक्सर ५ बजे उठेर समाचार अपडेट गर्ने म त्यो दिन उठ्न खोज्छु, तर सक्दिनँ । पटकपटक उठ्ने प्रयास गर्दा पनि नसकेपछि करिब सवा ६ बजे उठेँ । ज्वरो १०१ थियो । सिरकभित्रै बसेर पछिल्लो चौबीस घण्टाको विश्‍वको कोरोनासम्बन्धी समाचार अपडेट गरेँ । त्यति गर्दा हात-खुट्टाका जोर्नी र ज्वरो थेग्‍न मलाई हम्मेहम्मे परिरहेको थियो । हातका औंलाका जोर्नी दुखेर फतक्क भइसकेका थिए । बोल्ने जाँगर थिएन । शरीर शिथिल भइसकेकाले अफिसलाई म्यासेज लेखेँ- मलाई ज्वरो आएर काम गर्न सक्ने अवस्थामा छैन । यस्तै अवस्था रहिरह्‍यो भने आज मिटिङमा बस्‍न र काम गर्न पनि सक्दिनँ सायद । 

दिनभर ज्वरोले छाडेन । शरीर दुखेर औडाहा भइरहेको थियो । काम गर्ने कुरै भएन । ज्वरो आउने र शरीर दुख्‍ने क्रम रोकिएन । मभन्दा एक दिन अगाडिदेखि नै श्रीमतीलाई पनि हुबहु मलाई जस्तै भइरहेको थियो । हामी मोटामोटी निष्कर्षमा पुग्यौं- हामीलाई कोभिड-१९ संक्रमण भयो । कारण हामीले सुन्दै र चिनेजानेका संक्रमितले सुनाएको अनुभवका आधारमा हामीमा पनि लक्षण मिल्न आएका थिए ।  हामी यो निष्कर्षमा पुग्यौं- अब हामी कोठाबाहिर निस्कनु हुँदैन । घरमै पनि आमा र भाइसँग दूरी कायम गर्नुपर्छ । अन्यथा दुईजनामा रहेको संक्रमण चारैजनामा फैलिन्छ । जुन कुनै पनि हालतमा हुनै हुँदैन । (कारण आमा दमको बिरामी हुनुहुन्छ ।) यदि नचाहेको भयो भने अवस्था झन् जटिल हुन्छ ।

कोठा फरकफरक प्रयोग त गर्न सकिन्थ्यो । तर, शौचालय एउटै थियो । यसले भने तनाव दिइरहेको थियो । हामी कोभिड-१९ संक्रमण नै हो भन्‍ने करिब-करिब शत्‌प्रतिशत भएर बसे पनि अफिस र आफन्त तथा शुभेच्छुकले परीक्षण गराउन दिएको सुझावका आधारमा हामी कात्तिक ८ गते कान्तिपुर अस्पताल गयौं । त्यो दिन थियो, दसैंको मध्य अर्थात् महाअष्टमी । बिहान गरेको परीक्षणको रिपोर्ट दिउँसो ४:५५ मा मोबाइलमा आइपुग्यो । लेखिएको एटी अलर्टबाट आएको रिपोर्टमा लेखिएको थियो- योर कोभिड-१९ रिपोर्ट इज पोजेटिभ । दुवैजनाको म्यासेज उस्तै थियो । रिपोर्ट अपेक्षित नै थियो ।

अब मलाई हेर्नु थियो- संक्रमणको अवस्था (सीटी भ्यालु) शरीरमा कति छ ? http://www.covid.sooriyahealthcare.com खुल्दै खुलेन । आधा घण्टा, ४५ मिनेट बित्यो, एक घण्टा तर लिंक खुलेन । पैसा तिरको रिसिभमा सातवटा नम्बर थिए । पालैपालो फोन गरेँ । तर, कोहीमा आगमन कल निषेध गरिएको थियो भने केही नलाग्‍ने बनाएर राखिएका थिए । बल्लबल्ल एउटा नम्बरमा फोन लाग्यो । फोनमा भनियो वेबसाइट आधा घण्टामा खुल्छ । रिपोर्टको डिटेल त्यहीँ हुन्छ ।

सयौंपटक लिंक खोल्ने प्रयास गरेँ । तर खुलेन । केही साथीहरूलाई कोड पठाएँ । तर, केही सीप चलेन । त्यसपछि त्यही एउटा फोन पनि लाग्‍न छाड्यो । राति १० बजेपछि बल्ल लिंक खुल्यो । कोड नम्बर इन्टर गरेँ । रिपोर्ट रहेछ, एनजीईएनई : १४.४, ईजीईएनई : १५.४ र ओआरएफ १ ल्याब : १४.६ । साथीहरूको २७, ३३, ३२ सिटी भ्यालु हेरेको मैले आफ्नो रिपोर्ट देखेपछि बल्ल डर लाग्यो । श्रीमतीको पनि करिब उस्तै थियो ।

होम आइसोलेसनमा बस्‍नुको विकल्प थिएन । त्यसैले स्थानीय सरकारलाई जानकारी गराउनुपर्ने संघीय सरकारको अनुरोधअनुसार वडा कार्यालयलाई जानकारी दिएर घरमै बस्‍ने निधो गरेँ । अबेर भइसकेकाले अर्को दिन वडा कार्यालयलाई जानकारी दिन फोन गरेँ । सरकारी बिदा सुरु भइसकेकाले वडा कार्यालयमा फोन गर्नुको अर्थ थिएन । त्यसैले वडाध्यक्षलाई फोन गरेँ । आफू घरमै आइसोलेसनमा बस्‍न लागेको जानकारी गराएँ । उनले हुन्छ भने । को, कहाँ, कहिले, कति जना, कसरी बस्‍नुहुन्छ ? अवस्था कस्तो छ, केही सहयोग चाहिन्छ कि चाहिँदैन वडाध्यक्षले केही सोधेनन् । ए..., हुन्छ, हुन्छ...बाहेक उनले केही भनेनन् । मैले सोचेको थिएँ- मापदण्ड अनुसार आइसोलेटेड भएर बस्‍न मिल्ने ठाउँ छ कि छैन ? स्वास्थ्य सल्लाह आवश्यक परे फलानो स्वास्थ्यकर्मीसँग समन्वय गर्नू भनेर स्वास्थ्यकर्मीको नम्बर उपलब्ध गराउलान् । तर, उनलाई हो र... र हुन्छ हुन्छ भन्दै फोन राख्‍न हतार थियो ।

प्रधानमन्त्रीज्यू, मैले सरकारबाट अपेक्षा गरेँ तर तपाईंको सरकारलाई मतलब नै छैन । यही हो लोककल्याणकारी राज्य ?

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC