अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको शनिबार साँझ औपचारिक उद्घाटन भएको छ । शुक्रबारदेखि नै अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संसारभरी छरिएर रहेका नेपालीलाई नेपालसँग जोड्न आफू सँधै प्रतिबद्ध रहेको बताए । ''आज पर्याप्त स्रोत र साधनको अभावमा देश गुज्रिरहेको छ । यस्तो संकुचित अवस्थामा त्यसको पूर्ति गैरआवासीय नेपालीहरुका अनुभव र अभ्यासबाट हुन्छ भन्ने अपेक्षा छ । तपाईँहरुको अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ '' थापाले भने ।
कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रबाट निकै महत्वपूर्ण योगदान पुर्याएको तर सरकारले इच्छाशक्ति देखाएर काम गर्न नसकेको उनको तर्क थियो ।
उनले भने, ''महामारीमा हामीबीच नयाँ अनुभवहरु भएका छन् । उन्नत संरचनाहरु बनेका छन् । यी सबैकुरा हुँदै गर्दा पनि राजनीतिक नेतृत्व जुन इच्छाशक्तिका साथ आउनु पर्ने थियो त्यो देखिएन ।''
कोरोना महामारीले स्वास्थ्यसँगै आर्थिक तथा सामाजिक संकट समेत निम्त्याएकाले सरकार, गैरआवासीय नेपाली, राजनीतिक दल र सबै सरोकारवाला समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा उनको छ ।
समितिले आयोजना गरेको ३ दिने सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले स्वास्थ्य समितिको यो सम्मेलन निकै अर्थपूर्ण भएको बताए । ''देशबाहिर रहेका ६० लाखभन्दा बढी नेपालीको स्वास्थ्यमा समितिले निकै मत्वपूर्ण भूमिका खेलेको छ । कतिपय राजदूतावास नभएका मुलुकमा रहेका नेपालीका लागि समितिले उल्लेखनिय भूमिका निर्वाह गरेर यो सधैका लागि चाहिन्छ भन्ने प्रमाणीत गरिदिएको छ,'' अध्यक्ष पन्तले भने ।
राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले समितिको सम्मेलन उपयुक्त समयमा भएको बताए । पछिल्लो समय विश्वमा महामारीका रुपमा फैलिएको कोभिड –१९ ले स्वास्थ्यमा मात्रै नभएर आर्थिक, समाजिक क्षेत्रमा पनि निकै ठूलो असर पारेको र यसको असर लामो समयसम्म कायम रहने बताए ।
''हाम्रोे मातृभूमि कोरोनासँग लडिरहेको छ । हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ,'' कार्यक्रममा उनले भने ।
दुईसयभन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको उक्त सम्मेलनमा एनआरएनएका प्रतिनिधिहरु, विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति थियो । ३ दिने सम्मेलन विश्व नेपाली स्वास्थ्य घोषणा पत्र जारी गर्दै आइतबार (आज) सकिनेछ ।
फाइल तस्बिर