“मैले यस्तो रूप र चरित्रको त कल्पना पनि गरेको थिइनँ । कसरी यति धेरै कुरूप र विरूप भए मान्छेहरू ?”
पृथ्वीलोक निवासी मान्छेहरूको बदलिँदो रूप र चरित्र देखेर ब्रह्माजीले अचम्मित हुँदै नारदजीलाई बोलाएर तुरुन्तै आदेश दिए–
“हे नारद, भूलोक गएर एउटा यस्तो मान्छेलाई खोजेर लिएर आऊ, जो स्वार्थी, बैगुनी, धूर्त, जाली, फटाहा, कुटिल केही नभएको होस् ।”
“हस् प्रभु !”
आज्ञा शिरोपर गर्दै नारदमुनी पृथ्वीलोक हान्निए ।
चारैतिर चहारे । हरिद्वार गए, वृन्दावन गए, पशुपति गए । अड्डा, अखडा, मन्त्रालय, न्यायालय सबैतिर धाए । जताततै धूर्त, चोर, फटाहा मात्रै भेटे !
प्रत्येक मनुवाको मन, मुटु र नाडी छामे । सबै बैगुनी, स्वार्थी र कठोर मात्र देखे ।
एउटा पनि गुण भएको मान्छे भेट्न सकेनन् र निराश भएर पृथ्वीलोकबाट फर्किए ।
ब्रह्माजीले नारदमुनीलाई निराश देखेर सोधे, “खै त नारद, मान्छे ?”
“कोही छैन प्रभु । हजुरले बनाउनुभएको मान्छेमा त खोटैखोट मात्र रहेछ । एउटै पनि गुण रहेनछ !”
नारदमुनीले पृथ्वीलोकबाट बोकेर लगेको मानवरूपी एउटा आकृति अगाडि सार्दै भने–
“ल लिनुस्, यो यन्त्रमानव । मान्छेले बनाएको यो मान्छेभित्र ती बैगुनहरू छैनन् प्रभु !”
(हेटौँडा)