site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजमार्गका खाना सम्झनै नपरोस् !
Sarbottam CementSarbottam Cement

भोकले रन्थनिएको थियो दिमाग । कुनै खाली कोठामा बोल्दा इको फर्किएझैँ पेट पूरै आवाज दिइरहेको थियो । त्यही आवाजले मन बिगारिरहेको थियो ।

दिनभर केही कप चिया, आधा ग्लास कोक र थोरै चनाका गेडाबाहेक केही परेको थिएन, पेटमा । गाउँ पुगेपछि फेरि चिया थपिने चाँजोपाँजो मिल्यो ।

गाउँमै भेटिए रवि अधिकारी (रवि राहु) दाइ । अमेरिकाबाट आएका उनी भरतपुरमै थिए । (भरतपुर अर्थात् महोत्तरी जिल्ला, गौशाला नगरपालिकाभित्रको एक गाउँ) ।

Prabhu Bank
Agni Group
NIC Asia

भोकको औषधि जरुरी थियो । त्यही खोज्ने मनसायले रवि दाइको कानमा पारेँ, ‘रवि दाजु, मुरही कचरी खाइला न मिल्तै कि ? बडजोर भूक लागल है !’

अघिल्लो दिन रवि दाइसँग फोनमा गाउँ आएर मुरही–कचरी खाने कुरो गरेको थिएँ । हुन पनि भनेजस्तै भयो । बाटोमा खासै केही नखाएकाले भोकले टाउको रिङ्ग्याउँदै थियो । थोरै भए पनि पेटमा केही परोस् भन्ने चाहना थियो ।

Global Ime bank

त्यसैबखत मनु अधिकारी दाइ बोले, ‘राजेश बाबू, प्याजी है, गरमगरम । चल्तै कि !’

प्याजीको नाम सुन्नासाथ मुखबाट पानी रसायो । चार दशकअघि खजुरी रेल्वे स्टेसनमा खाने गरेको प्याजी र मुरही–चिउराको सम्झना भयो ।

तर, यतिखेर जे भेटिन्छ त्यही खाने कुरो भयो । र, हामी चार – विमल मामा (डा. विमलकुमार शर्मा), मनु दाइ, रवि दाइ र म ठेला दोकानतिर लाग्यौँ ।

ठेला रवि दाजुको लङ्गोटिया साथीको रहेछ । ठेलामा प्याजी त थिएन, प्याजको चहकिलो कचरी र आलुचप भने थियो । त्यही चप र कचरीसँग मुरही चुडाको पनपियाइ गरियो ।

मैले मुरही र कचरी थपेरै खाएँ । भोकको मुखमा बुजो कसेरै लगाउनु थियो । सायद त्यसैले होला, घरमा भात पाकिसकेको थाहा हुँदाहुँदै पनि थपेर खाएको थिएँ ।

कि यहाँ यसो पनि भन्न सकिन्छ– पेट त भ¥यो, मन भरिएन !

करिब आधा घण्टा पेट शान्तिमा लागेर घर फर्कँदा अर्को खेपको चिया तयार थियो । अँध्यारोले सर्वत्र छोपिसकेको भए पनि काठले बनेको मामाघर बत्तीको उज्यालोमा चम्किरहेको थियो ।

भरतपुरस्थित मामाघरको सामियाना लागेको आँगनमा म पहिलोपटक उभिएको थिएँ । र, सोचिरहेको थिएँ– जलेश्वरबाट यहाँ आइपुग्न मलाई ५८ वर्ष पो लाग्यो !

उत्निखेरै चियाको कप मेरो हातमा प¥यो । र, फेरि एक कप चिया सुर्कने उपक्रममा लागेँ । 
०००
गएको माघ तेस्रो साता । भरतपुरको यात्रा जुरेको छ । त्यसैले बिहानै तयार भएँ । गाडी समाउन कोटेश्वर पुग्नु छ । विमल मामासँग कोटेश्वरमै भेट्ने कुरो भएको थियो । त्यसैले हिँड्नुअगाडि एक कप चिया पिउने मेसोमा लागेँ म ।

बाटोमा पाइने चियाले धीत मर्दैन । यसैकारण एक कप मिठो चिया आफैँले बनाएर सुर्किएँ । त्यसै बेला फोन आयो विमल मामाको, ‘महानटार चोकमा उभिरहनु । म त्यहीँ पिकअप गरूँला ।’

करिब सवा आठ बजे बिहान हामी दुवै मामा–भान्जा कोटेश्वर चोकमा ब्याग झुन्ड्याएर उभिएका थियौँ । मामाको घुँडोले दुःख दिएकाले साथमा भरथेगका लागि मकुवा लाठी पनि राख्नुभएको छ ।

भरतपुरसम्म जाने माइक्रोको टिकट लियौँ । टिकट काट्नेले भने, ‘हामी १५÷२० मिनेटमा हिँड्छौँ ।’

हामीले कोटेश्वर छोड्दासम्म नौवटा त्यस्ता १५ मिनेट बितिसकेको थियो । बस र जीपका सञ्चालकको यस्ता १०÷१५ मिनेटले यात्रु सधैँ मारमा पर्ने गरेका छन् । तर, यात्रुको मारमा कसलाई चासो ! केको सरोकार !

आखिर जानु त छ नै । मनमनै मुर्मुरिए पनि मरिच चाउरिएसरी चाउरिनुबाहेक अरू कुनै उपाय थिएन । त्यसैले बिहानी चिसोमा केही राहत होस् भनेर मामा र म नजिकैको एउटा चिया पसलमा छि¥यौँ ।

यो हामी दुवैको तेस्रो कप चिया थियो । घरमै कालो र गोरो गरेर मैले दुई कप भ्याइसकेको थिएँ । त्यस्तै थियो होला मामाको पनि ।

‘भगीना, यिनले एकाध घण्टा यसरी नै झुलाउने भए ।’ मामाले भनेजस्तै समय माथि चढिरहेको थियो । तर, यात्रु आइरहेका थिएनन् ।

फेरि एक कप चिया उदरस्थ गर्ने कुरो चल्यो । ‘हुन्छ’ भन्दै एउटा पसलमा छि¥यौँ । तर, यसपटक चिया पिउनुभन्दा त्यसको निहुँमा शौचालय जानुपर्ने थियो । माइक्रोबस रोकेको ठाउँमा सार्वजनिक शौचालय थिएन । कोटेश्वरमा रहेको सार्वजनिक शौचालय पुग्न त्यहाँबाट १५ मिनेटभन्दा बढी हिँड्नुपर्ने हुन्थ्यो ।

फलतः मनले चिया नमागे पनि पसलेसँग ‘चिया खाऊँ है’ भन्दै ‘ट्वाइलेट कता छ ?’ भन्ने प्रश्न तेर्स्यायौँ ।

९.४५ मा दुई÷चार यात्रु आइपुगे । तिनलाई साढे ९ मा आउन भनिएको रहेछ । हामी भने आठ बजेदेखि कोटेश्वरमा टन्डेली मारिरहेका थियौँ । गाडी लाइनमा आफ्ना मानिस नभएपछि यस्तो सास्ती भोग्नुपर्दो रहेछ । आफ्ना भए त दालभात दाबेरै पुगिन्थ्यो होला, हैन मामा !

सवा १० मा मात्रै गाडीले कोटेश्वर छोड्यो । अनि, विस्तारै गति पक्डियो । धुलिखेलतिर पुगेपछि गाडीलाई तेल खुवाउने समय आयो । त्यही मौकामा केही यात्रु हल्का भए । आफू कोटेश्वरमै हल्का भएकोले ओर्लने कष्ट गरिनँ ।

यहीँदेखि भोकका कारण पेटले साइरन बजाउन थालेको थियो । अब सोचाइ अन्तै नमोडी हुन्न भन्ने लाग्यो ।

त्यसैले त्रिचन्द्र कलेजमा तीस वर्षभन्दा बढी इतिहास पढाएका विमल मामालाई सोधेँ, ‘इतिहास विषयमा विद्यार्थी नै पाइँदैनन् रे मामा ! पढ्ने मानिस नै नभए भोलिका दिनमा इतिहास कसले लेख्ने ?’

‘इतिहास मात्रै होइन भान्जा, नेपाली, संस्कृति, पुरातत्त्वजस्ता विषयमा पनि विद्यार्थी पाइन छोडेका छन् । र, त्यसले कालान्तरमा अनुसन्धानका क्षेत्रमा असर त गर्छ नै । त्यसैले विद्यार्थीलाई आकर्षित गर्न विश्वविद्यालयहरूले विशेष योजना ल्याउनुपर्छ । फरक सुविधा वा छात्रवृत्तिको व्यवस्था गर्न सक्नुपर्छ । त्यसपछि मात्रै यतातिर आकर्षण बढ्न सक्छ ।’

अहिलेका युवा पढ्नलाई विदेश जाने, पढाइ सिध्याएर उतै बस्ने र नेपाल नफर्कने प्रचलन बढ्दै गएकोप्रति मामाले चिन्ता व्यक्त गर्नुभयो ।

‘भकुन्डे त पुग्न लाग्यो होला’ सोच्दै थिएँ, माइक्रो रोकियो । ड्राइभरले चियाचमेनाका लागि केही समय छुट्ट्याए । सबै यात्रु ओर्लिन थाले । भकुन्डे नपुग्दै अलिक माथिको डाँडा रहेछ यो ।

हामी मामा–भान्जा पारिलो घाममै बसेर चना र चिया खान थाल्यौँ । अलिक आडिलो हुने भएकाले चना मात्रै मागेका थियौँ । अरू खानेकुराले खासै तानेन ।

त्यसपछि गुडेको गाडी एकैचोटि खुर्कोट नपुग्दै खाल्टेमा अडियो । त्यहाँ गनेर एक–दुइटा मात्र दोकान थिए । अर्थात्, ‘खाए खा नखाए घिच !’ स्मरण गराउने ठाउँ थियो त्यो ।

गाडीबाट ओर्लेर हामी दुवैले हातमुख धोयौँ । विमल मामालाई यसपटक बाटोले दुःख दियो । अलिक असहज महसुस भएकाले खाना नखाने जनाउ दिनुभयो । बरु, कोकको खोजी गर्नुभयो ।

मैले भातै खाने सोचेँ । तर, हिम्मत भएन । भोक लागे पनि होटेलको खानाले तान्न सकेन । अरूले खाना खाइरहँदा खानाको रूपरङ देखेरै भोक मरिसकेको थियो । अगाडिको डाँडाको रङ उडेजस्तो भात ! सुनकोसीझैँ देखिने पातलो दाल ! तरकारी र मासुको आकारप्रकार त चक्षुमैत्री थिएन भने स्वाद कस्तो थियो होला !

म पनि मामाकै पछि लागेँ । यसरी कोकले नै भोक मार्ने निष्कर्षमा पुग्यौँ हामी ।

थोरै तलतिर रहेको एउटा पसलमा कोक फेला प¥यो । र, हामीले बियरको ग्लासमा कोक हालेर सुरुप्प पा¥यौँ । सितनमा नुनिलो बिस्कुट खोजेको, त्यो पनि भेटिएन ।

मैले सम्झिएँ, नारायणघाट हुँदै जनकपुर जाँदाको समय । १०÷१५ वटा होटेल भएको पुल्चोकमा बस रोकिन्थ्यो । छानेर छिर्न पाइन्थ्यो । नभए पुल्चोक पेट्रोल पम्पछेउको ‘पटियाला होटेल जिन्दावाद !’ भन्दै त्यहीँ छिरिन्थ्यो । आठ÷दश रुपैयाँ महँगो भए पनि स्वादिलो खाना खाइन्थ्यो । पेट भर्थ्यो । मन पनि भर्थ्यो ।

तर, अचेल धेरै होटेल भएको ठाउँमा गाडी रोक्नै छोडेका छन् । त्यही एक्ले होटेलमा छिर र जेजस्तो दिन्छ खाऊ ।

सबै बाटोमा अहिले यस्तै अवस्था छ । धुलिखेल–बर्दिबास होस् वा नारायणघाट जाने बाटोमा होस्, ग्राहकलाई मिठो र स्वादिलो खुवाऊँ भन्नेतर्फ कुनै होटेलवालाको ध्यान गएको देखिँदैन ।

यस्ता लाइन होटेलमा सरकारी अनुगमनको आस गर्नै सकिँदैन । दसैँताका अनुगमनको हल्ला सुनिन्छ । हल्लाले मात्र खाना मिठो हुँदैन !

लामो यात्रा गर्दा अधिकांश यात्रुले भोग्ने समस्या हो, स्वाद न ब्यादको खाना । १०÷२० रुपैयाँ बढी लिएरै भए पनि यात्रुलाई मिठो खाना दिऊँ, मज्जाले खाना खाऊन् भन्ने दृष्टिकोणबाट लाइन होटेल कहिल्यै चलेको देखिएन ।

चालकले होटेलको विकल्प भएको ठाउँमा गाडी रोकिदिए यात्रुले केही राहतको सास फेर्न पाउँथे होलान् । तर, अहँ ! चियाधरि पिउनलाई पनि सोच्नुपर्ने अवस्था अचेल राजमार्गमा देखिन्छ ।

२०३४÷०३५ सालतिर भैँसेमा गाडी नै गाडी हुन्थे, खाना खानलाई अडिएका । र, हरेक पसलमा उत्तिक्कै भीड हुन्थ्यो । खाना पनि त्यस्तै मिठो खुवाउँथे तिनले । तर, अचेल त्यस्तो भेटिदैन ।

यतिखेर २०५५ सालतिरको एउटा प्रसंगको सम्झना भइरहेछ । जनकपुर जाने क्रममा नारायणघाट छिचोलेर नाइट बसले मकवानपुर छुँदै थियो । मध्यरातको छेउछाउको समय ।

त्यसैबीचमा एउटा भर्खर बनेको सानदारको होटेलअगाडि बस रोकियो ।

निठाहा खाली पेट निद्रा के लाग्थ्यो, नाइट बसमा । आँखा झिमिक्कै नपारी त्यहाँ पुगेको थिएँ । होटेलका कुर्सी, टेबुल र सरसफाइ देखेर भातमै धावा बोलौँ लाग्यो र सुरुमै खानाको कुपन काटेँ । त्यस्तै चलन रहेछ ।

तर, जति राम्रो र सुन्दर होटेलको आवरण थियो, त्यतिकै नमिठो र स्वादविहीन थियो । खाना खाएकामा पछुतो भयो । बरु, चाउचाउ फाँकेको भए हुन्थ्यो भन्ने लाग्यो ।

आज २५ वर्ष बितिसक्दा पनि राजमार्गका लाइन होटेलहरूले ग्राहकको मन जित्न सकेका छैनन् ।

विमल मामा पनि बाहिरफेर हिँड्दा राजमार्गतिरका होटेलमा खाना खानै छोडेको बताउँदै हुनुहुन्थ्यो ।

रमाइलो त के थियो भने, यसपटक भरतपुरसम्मको यात्रा कुनै उपवासभन्दा कम थिएन, हाम्रा लागि ।

सिन्धुलीगढीको सेल्फीडाँडामा सुन्तला र जुनार बग्रेल्ती देखिए । तर, खाली पेटमा अमिलो झोलले ज्यानलाई राम्रो गर्दैन भनेर मामा–भान्जा दुवै मौन बस्यौँ । धन्न त्यहाँ बिस्कुट पाइयो र दुईचार पिस चपाएर भोकको आनन्द लियौँ ।

माइक्रोका यात्रु कोही उँघिरहेका थिए त कोही झ्यालबाट सिन्धुलीका रमाइला दृश्यमा नजर दौडाउँदै थिए ।

टाइम कार्ड देखाउँदै÷लेखाउँदै बेलुका पाँच बजे गौशाला बजारस्थित निगौल चोकमा माइक्रोले विश्राम लियो । यति बेलासम्म गाडीमा हामी तीन÷चारजना मात्रै बाँकी थियौँ ।

अब गौशालाबाट भरतपुर कसरी जाने ? अप्ठेरो आइलाग्यो । धेरै टाढा त होइन, मात्रै तीन किलोमिटर पर हो गाउँ । तर, मामाको घुँडो दुखाइले हिँड्न सम्भव थिएन । कुनै गाडी सरसामल किन्न आइपुगेको छ कि भन्ने बुझ्न फोन लगाए ।

ठिक त्यसै बेला श्याम मामा (श्याम पोखरेल)को गाडी छेउमै आएर रोकियो । मामाकै गाडीमा बस्यौँ । थकित ज्यानका हामीलाई यति बेला ठूलो राहत मिलेको थियो ।

कुरा गर्दै जाँदा श्याम मामाले भन्नुभयो, ‘हामी त काठमाडौंबाटै आउँदै हो, बिहान १० बजे नै हिँडेको ।’

‘हत्तेरिका ! त्यस्तो थाहा भएको भए त श्याम दाजु, हामी मामा–भान्जा तपाईंसँगै टाँस्सिने थियौँ,’ विमल मामाको मुखारविन्दबाट निस्कियो । र, केही बेर मज्जाले हाँस्यौँ हामी ।

श्याम मामाको गाडी गौशालापारिको मडहा नदीमाथि खडा पुल पार गरेर भरतपुरको बाटोमा धुलो उडाउँदै कुद्यो ।
०००
यो लेख्दै गर्दा रवि दाजुका ‘यार’ले बनाएको कचरी र चप सम्झना आइरहेको छ । गाउँको ठेलामा पाक्ने यस्ता लोकल खाजा राजमार्गमा खडा होटेलहरूको भन्दा कताकता स्वादिलो ।

वास्तवमा त्यही मुरही–कचरीले यात्राको थकान र अघोषित उपवास तोडेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC