site stats
विचार
रविको मुद्दाले एनआरएनलाई दिएको सन्देश

परिवार र आफन्त भेट्न सन् २०१५ मेमा रवि लामिछाने काठमाडौं झर्दा नेपालले विशाल भूकम्पको पीडा भोगिराखेको थियो । अमेरिकी नागरिकका हैसियतले उनी त्रिभुवन विमानस्थलको आगमनतर्फको अध्यागमनमा पुगेर ‘अनअराइभल’ भिसा लिए । 

नेपाल फर्केका बेलासम्म उनले १४ वर्ष अमेरिकामा बिताइसकेका थिए । अमेरिकी संस्कृति, नीति नियम, कानुन सिक्न १४ वर्ष पर्याप्त समय हो । तर, त्यतिन्जेलसम्म उनले अमेरिकामा न दाम कमाउन सके, न त नाम नै । अमेरिका जानुअघि उनले मिडियामा आर्जन गरेको नामसमेत धेरैको स्मृतिबाट हराउने अवस्था भइसकेको थियो । 

धेरै मानिसको लागि अमेरिका सपनाको संसार हो । आर्थिक आर्जनको दृष्टिले मात्र यो सपनाको संसार हो । बाँकी विश्वबाट आउने पहिलो पुस्ताका लागि अमेरिकाको अर्को परिचय भनेको संघर्षको संसार पनि हो । रविले डेढ दशक अमेरिका रहँदा दाम कमाउन सकेनन् । भएको नाम समेत गुमाइसकेका थिए । परिवारमा विखण्डन आइसकेको थियो । दाम कमाउन नसकेको उदाहरण उनी आफैँले पटकपटक ‘इन्टरभ्यु’हरुमा सार्वजनिक गरिसकेका छन् । 

S.A.U
Agani Group

नेपाल पुगेपछि भर्खरै खुलेका टेलिभिजनहरू र मिडियाको ‘क्रेज’ देखेर त्यतै लोभिए । विशेषगरी टेलिभिजन पत्रकारितामा आएको लहर देखेपछि उनले आफू अमेरिकी नागरिक भइसकेको तथ्यसमेत बेवास्ता गरेको देखिन्छ । नेपालमा विदेशी नागरिकले वैतनिकरूपमा काम गर्न श्रम विभागबाट स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, उनले त्यो प्रावधान पूरा नगरी टेलिभिजनमा काम गर्न थाले । त्यो पनि सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा । अझै त्यसमाथि प्रधानमन्त्रीसँग प्रत्यक्षरूपमा जनतासँग संवाद गर्ने र गराउने भूमिकामा । त्यतिखेरसम्म न त उनको राष्ट्रियता बारे कतै कुरा उठ्यो, न त कतै चर्चानै भयो । झन्डै तीन महिनासम्म उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधा साक्षात्कार गर्दै 'सिधा कुरा प्रधानमन्त्रीसँग' कार्यक्रम चलाए ।

अमेरिकाको यथार्थ हो नगर परिषद्को सदस्य भेट्न पनि निकै पापड बेल्नुपर्छ । किन, केका लागि, यसबाट के हुन्छ ? भेटघाटको लक्ष्य, उद्देश्य सबै खुलाउँदै ‘अप्वाइन्टमेन्ट’ माग्नुपर्छ । नेपालमा जस्तो सिधै टिभीको बुम तेर्स्याउँदै छिर्न कहाँ पाउनु ? अमेरिकी कंग्रेसम्यान, सिनेटर त धेरै उपल्ला पद भए । 

Global bank

नेपाली समुदाय धेरै भएको न्युयोर्क, टेक्सस, क्यालिफोर्निया, कोलोराडोलगायतका राज्यहरुमा बल्ल अमेरिकी नेतासँग पहुँच पुग्दैछ । आजभन्दा दशकअघि त एकातिर नेपालीहरू नै थोरै, त्यसमाथि अमेरिकी राजनीतिमा चासो राख्नेहरू झन् कम, भोट हाल्न जाने त झनै कम भएपछि यहाँका नेताले नेपालीलाई किन टेर्ने ? रवि लामिछानेले यो तथ्य भोगेकै हुनुपर्छ । 

नेपाल पुगेको केही महिनामै प्रधानमन्त्रीसँग टक सो चलाउने हैसियत भएपछि उनले कानुनी कुरामा अलिकति खेलाँची देखाए । अलिकति बल मिच्याइँ पनि गरे। सूचना विभागको प्रेसपास लिनुभन्दा जुत्ता पालिस गरेर बस्छु भनेर ध्वाँससमेत दिए । पत्रकारिता गरेको छु भन्ने तर पत्रकारिताको न्यूनतम कखराको रूपमा लिइने 'फाइभ- डब्ल्यू, वान-एच' लाईसमेत तिलाञ्जली दिएर कार्यक्रम चलाए । आफैँ पीडित खडा गर्ने, आफैँ वकिल, आफैँ न्यायाधीशको शैलीमा चलाइएको टिभी सोबाट उनले जनसाधारणका स्तरमा समर्थक त कमाए तर समाजको माथिल्लो वर्गभित्र ठूलो संख्यामा शत्रुता पनि बढाए ।

‘लो प्रोफाइल’मा रहेर काम गरिरहने हो भने समाजले खासै चासो दिँदैन । तर जब मानिसले ‘प्रोफाइल’ आर्जन गर्न थाल्छ समाजले दोष केलाउन सुरु गर्छ । तोरीको गेडामा समेत प्वाल पार्ने प्रयास गर्छ समाजले । 

अमेरिकी नागरिकता लिइसकेका रविले मिडियामा काम थाल्नुअघि धेरै कुरा सोच्नुपर्थ्यो । एक त, मिडियामा काम गर्नु आफैँमा खतराको खेल हो । एउटा पत्रकारले दिनमा जति प्रशंसा कमाउँछ त्यसको दुई गुणा बढी विरोधी आर्जन पनि सँगै गरिराखेको हुन्छ । 

त्यसमाथि अमेरिकी नागरिकता लिइसकेको व्यक्तिले 'नाकको डाँडी भाँच्चिनेगरी टुँडीखेलमा राखेर हान्नुपर्ने' जस्ता शब्द प्रयोग गर्दा नेपालको राजनीतिज्ञ, कर्मचारी वृत्त, व्यावसायिक क्षेत्र भएभरका सबै आक्रोशमा थिए । एउटा भनाइ नै छ - तपाईँ ९९ वटा असल काम गर्नुस् तर यो समाज तपाईँको एउटा कमजोरी खोज्न उद्यत हुन्छ । रविको मामिलामा पनि भयो यही र यस्तै । 

प्रशंसकको संख्या र शत्रुताको संख्यामा भएको बढोत्तरीसँगै उनले आवश्यकभन्दा बढी चर्चा आर्जिए । त्यसपछि उनको अमेरिकी नागरिकताको खोजी भयो । नेपालमा कमाएको ख्यातिले गर्दा उनले सन् २०१८ मा अमेरिकी नागरिकता त्याग्न दूतावासमा निवेदन दिए । 

अमेरिकाको नागरिकता लिँदा एक पटकमात्र सोधिन्छ राष्ट्रियताका बारेमा । त्यो पनि लिखित फर्ममा भरिएको हुन्छ । अमेरिकी नागरिकता प्राप्त गर्ने प्रक्रियालाई 'नेचुरलाइजेसन' भनिन्छ । 'नेचुरलाइजेसन' का क्रममा कतिवटा देशको नागरिकता छ भनेरसमेत खुलाउनु पर्दैन । शपथका दिन ‘ग्रीनकार्ड’ बुझाउनुपर्छ । तर, नेपाली नागरिकतामात्र होइन संसारका कुनै पनि देशबाट आएकाले पुरानो देशको नागरिकताको प्रमाणपत्र न त बुझाउनु नै पर्छ, न त देखाउन नै जरुरी हुन्छ ।

अमेरिकी नागरिकता प्राप्तिसँगै एउटा प्रमाणपत्र हुन्छ - 'सर्टिफिकेट अफ नेचुरलाइजेसन' लेखिएको । यो सर्टिफिकेट र ग्रिनकार्ड एकै होइनन् । नेचुरलाइजेसनले अमेरिकी चुनावमा उम्मेदवार हुन, भोट हाल्न र संघीय सेवाका जागिरमा प्रवेश गर्न बाटो खुल्छ । तर, ग्रिनकार्डले यी अधिकारहरू दिँदैन । चारित्रिक आचरण, नियम कानुनको पालना, देशलाई कर तिरेको विवरणलाई आधार मानेर ग्रिनकार्ड प्राप्त भएको ५ वर्षमा व्यक्ति अमेरिकी नागरिकताका लागि योग्य हुन्छ । त्यसका लागि ‘युनाइटेड स्टेट सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज’मा शुल्क तिरेर आवेदन दिनुपर्छ । अवस्था हेरेर तीन महिनादेखि डेढ दुई वर्षभित्र इन्टरभ्यु हुन्छ । त्यसमा उत्तीर्ण भएपछि मात्र अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ । नागरिकता दिने विशेष कार्यक्रम आयोजना गरेर अमेरिकी झन्डा बोकेर संविधान र कानुनको पालना गर्छु भनेर प्रतिज्ञा गर्नुपर्छ । 

अमेरिकाले व्यक्तिको चारित्रिक स्वभाव र पृष्ठभूमि निकै मिहिनरूपमा केलाएरमात्र नागरिकता प्रदान गर्छ । तैपनि, नेपालमा अंगीकृत नागरिकता लिनुभन्दा अमेरिकाको नागरिकता लिने प्रक्रिया सहज छ । 

नेपालमा नागरिकता बाँड्दा राष्ट्रियता कमजोर हुन्छ भन्ने ठूलो चिन्ता छ । नेपाली भूमिमै विदेशी पिता र नेपाली आमाबाट जन्मिएकाहरू अहिले पनि नागरिकताविहीन छन् । लाखौँ भुटानीलाई २० औं वर्षसम्म आफ्नो भूमिमा राखेर पनि गैरनागरिक बनाइरह्यो नेपालले । देखाउने कारण - त्यसरी नागरिकता दिँदा राष्ट्रियता कमजोर हुन्छ भनियो । अमेरिकाले बर्सेनि १० औं लाख विदेशी नागरिकलाई आफ्नो देशको नागरिक बनाउँछ । तर पनि अमेरिकाको राष्ट्रियता कहिल्यै कमजोर भएको सुनिएको र देखिएको छैन । 

नेचुरलाइज सिटिजनसिप दिने बेलायतको राष्ट्रियता कमजोर भएको कहिल्यै चर्चा हुँदैन । त्यस देशमा अहिले भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री छन् । क्यानडाले बर्सेनि हजारौं दक्ष र शिक्षित व्यक्तिलाई आफ्नो देश भित्र्याउँछ र प्रक्रिया अनि अवधि पुगेपछि नागरिकता लिने बाटो खुला गरिरहेको छ । क्यानडाको राष्ट्रियताका बारेमा कहीँ कतै टिप्पणी भएको सुनिदैन । बरु, थुप्रै आप्रवासीहरू क्यानडाको मन्त्रीसमेत भइसकेका छन् । अस्ट्रेलियाको पनि अवस्था त्यस्तै छ । त्यस देशको राष्ट्रियता कमजोर भएको कतै सुनिदैन । राष्ट्रियताको भूत देखाएर तर्साउने खेल नेपालमा पञ्चायतकालदेखिकै हो । 

एनआरएनका मुद्दा 

रवि लामिछानेको पुरानो नागरिकतालाई अदालतले मान्यता दिएन । नयाँ नागरिकता उनले लिनुपर्ने फैसला अदालतको रह्यो । यस फैसलाले संविधानबाट गैरआवासीय नागरिकताको प्रत्याभूति पाएका विदेशमा रहेका नेपालीको आशा र अपेक्षामा प्रहार भएको छ । संविधानमा गैरआवासीय नागरिकता दिने प्रावधान राखिएको र प्रस्तावित नागरिकता ऐनमा समेत त्यसका व्यवस्था रहेकोले पुरानै नागरिकताको निरन्तरता हुने अपेक्षा विदेशमा रहेका नेपालीहरूको थियो । तर, त्यस आशामा सर्वोच्च अदालत उदार हुनसकेन । एक हिसाबले रवि लामिछानेको काँधमा बन्दुक राखेर गैरआवासीय नेपालीमाथि प्रहार भएको छ । 

नेपालमा जन्मिएका वा नेपाली मूलका बाबुआमाबाट विदेशमा जन्मिएकालाई सहजरूपमा नेपाली नागरिकता दिँदा नेपाललाई कुनै पनि कोणबाट आर्थिक नोक्सानी छैन । न त राष्ट्रियतामा कुनै हानि नै पुग्छ । 

दुई दशकअघि अमेरिका आएका एक नेपालीले शनिबार यो टिप्पणीकारसँग भने - ‘नेपालले अलि उदार नीति लिएन भने हामीपछिको पुस्ताले त नेपाल नटेक्ने अवस्था हुँदैछ । हाम्रो पो आफन्त, नातागोता नेपालमा छन्, फोन सम्पर्क, नियमित भेटघाट छ । हाम्रो सम्पत्ति राख्न अवरोध गर्ने, कडाइ गर्ने हो भने त यतै जन्मिएर हुर्किएका हाम्रा छोराछोरी कसरी जान्छन् र त्यहाँ ? नेपाल सरकारले बाटो रोक्ने कि स्वागत गर्ने भन्ने अहिलेनै निधो गर्न जरुरी भइसकेको छ ।' 

झन्डै ४ लाख नेपाली अमेरिकामा छन् । दोस्रो पुस्ताका नेपाली युवा अहिलेनै विभिन्न ठूला कम्पनीका माथिल्लो तहमा पुगेका छन् । उनीहरूले आफ्ना सहकर्मी, सहपाठीसँग नेपालका बारेमा केही बताइदिँदा समेत देशलाई फाइदा पुग्छ । उनीहरु नेपाल गएर फर्किएपछि आफ्नो ठाउँका बारेमा बताउँदा अमेरिकीहरूलाई समेत नेपाल भ्रमणमा प्रोत्साहन पुग्छ । अहिलेनै बाटो रोक्ने हो भने दोस्रो पुस्ताका नेपाली नेपाल पुग्ने बाटो रोकिन्छ । त्यसको असर नेपाललाई नै पर्छ ।

अमेरिकी महादेशमै पर्ने कोस्टारिकामा २८ वर्षदेखि कार्यरत डाक्टर खगेन्द्र चापागाईले शनिबार सेयर गर्नुभएको एउटा अनुभव निकै महत्वपूर्ण छ । नेपाली बाबु र कोस्टारिकन आमाबाट जन्मिएको डा. चापागाईको छोरो केही समयअघि ६ महिना नेपाल बसेर फर्किए । नेपालमा छँदा सगरमाथाको बेसक्याम्पसम्म पुगे उनी । 

कोस्टारिका फर्किएपछि उनले आफ्ना सहकर्मी, सहपाठीसँग सगरमाथाका बारेमा यति सुन्दर र राम्रो वर्णन गरे कि त्यसबाट प्रभावित भएर नेपाल जान तयारको संख्या निकै बढेको छ । 

रविको मुद्दा टुंगो लागिसकेको अवस्थामा अब एनआरएन नेतृत्वले गर्नुपर्ने भनेको नागरिकता ऐनलाई अघि बढाएर गैरआवासीय नागरिकता तत्काल दिन सुरु गर्न पहल गर्नुपर्छ । यो तथ्यलाई प्रधानमन्त्री, मन्त्रीहरु, सबै राजनीतिक दललाई राखेर एउटा विशेष बैठक गरेर बुझाउन जरुरी छ । यो पनि बुझाउन जरुरी छ - अब अमेरिका, युरोप, अस्ट्रेलियाबाट जाने रेमिट्यान्स घट्ने र नेपालको सम्पत्ति बेचेर ती देशमा पुँजी पलायन हुने अवस्था बारे यथार्थ अवगत गराउन पनि जरुरी छ । 

गैरआवासीय नेपालीले चाहेको राजनीतिक अधिकारसहितको नागरिकता होइन । विदेशी नागरिकता लिइसकेका विदेशमा बसेका सबै नेपाली रवि लामिछानेजस्तो महत्त्वाकांक्षा बोकेर नेपालको राजनीतिमा पस्ने सोचका पनि छैनन् । उनीहरूलाई मात्र नेपालमा आफूले आर्जन गरेको रकमबाट जोडेको सम्पत्तिको रक्षा, पुर्ख्यौली सम्पत्तिको हक, व्यवसायमा गरेको लगानीबाट आर्जित नाफामा सहजता चाहिएको हो । भोट पूर्व मेचीदेखि पश्चिम महाकालीको सिमानाभित्र बस्नेले मात्रै हालुन् । उम्मेदवार उनीहरू नै भइरहुन् । विदेशमा बस्ने धेरैलाई यसमा चासो र खसखस केही छैन । तर, नागरिकताको बहानामा दाजुभाइबीच काटामारको अवस्था निम्त्याउने, घुस्याहा र छुल्याहा कर्मचारीले अनेकौं बहानामा दुःख दिने क्रम बढ्ने अवस्था आउने वातावरण बन्नु भएन । 

एनआरएन नेतृत्वको यतिखेरको काम भनेको ताल न तुलका वक्तव्यवाजी, सामाजिक सञ्जाल रंगाउनेभन्दा पनि तत्काल ऐनलाई पास गराउनेतिर पहल गर्ने हुनुपर्छ । फलाम तातेको समयमा प्रहार गर्दामात्र इच्छित आकार दिन सकिन्छ । सेलाइसकेपछि निकै कठिन हुनेछ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय