मयूर यातायातले बस चलायो, साझाले साउन १ देखि चलाउने

मयूर यातायातले बस चलायो, साझाले साउन १ देखि चलाउने

काठमाडौं । सरकारले स्वास्थ्य सुरक्षालाई विशेष ख्याल गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि व्यवसायीले भने विभिन्न माग राख्दै आएका छन् । लकडाउन खुकुलो बन्दै गएको अवस्थामा सार्वजनिक यातायात खुला गर्नुपर्ने माग गर्दै आएका व्यवसायीले सरकारले खुलाउने निर्णय गरेपछि भने आफ्ना माग पूरा नगरेसम्म गाडी नचलाउने भन्दै आएका छन् ।

तर, यही बीचमा कम्पनीमा दर्ता भएर सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आएको मयूर यातायातले भने गाडी चलाउन सुरु गरेको छ । मयूर यातायातका सञ्चालक दीपक भण्डारीले तीन वटा गाडी सञ्चालन सुरु गरेको बताए । उनले सरकारले भनेको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै गाडी सञ्चालन गरेको बताए । “सुरुमा तीन वटा गाडी सञ्चालनमा ल्याएका छौं । गाडीको संख्या विस्तारै थप्दै जाने तयारी गरेका छौं,” उनले भने ।

यता, साझा यातायातले पनि साउन १ गतेदेखि बस सञ्चालनको तयारी गरेको छ । साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले बस सञ्चालनको तयारी गरिरहेको बताए । यद्यपि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णयबारे आधिकारिक रुपमा जानकारी नआएकाले पत्र लेखेर कुन सुरक्षा विधि अपनाएर सेवा सुरु गर्ने भन्ने विषयमा जानकारी माग गरिएको उनले बताए ।

“सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय रहेको मिडियाबाट मात्रै थाहा पाएका छौं । तर, औपचारिक रुपमा हामीलाई जानकारी नआएकाले यसबारे पत्राचार गरेका छौं,” उनले भने । सरकारलाई पत्र पठाउँदै गाडी मर्मत गर्न, चालक तथा सहचालक ल्याउन र स्वास्थ्य सुरक्षाको तयारी पनि गरिरहेको उनले बताए । “सरकारलाई पत्र लेख्दै खोल्ने तयारी पनि सँगसँगै गरेका छौं,” उनले भने ।

कुन विधिबाट गाडीको  ‘डिसइन्फेक्सन’ गर्ने हो, त्यसबारे पनि जानकारी माग गरिएको उनले बताए । तुलाधरले ४० सिट क्षमताको गाडी २० जना मात्रै राखेर गुडाउँदा सर्वसाधारणको अवरोध हुन सक्नेतर्फ पनि ध्यान दिँदै त्यसका लागि प्रशासनले पनि सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

“भक्तपुरबाट काठमाडौं गाडी चलाउँदा सर्वसाधारणको चाप पनि पर्न सक्छ । २० जना यात्रु चढाएपछि ढोका बन्द गरेर चलाउन पाउने हो वा होइन, त्यसको पनि जानकारी मागेका छौं,” उनले भने । बस सञ्चालन गर्न केही ढिला भए पनि सबै प्रक्रिया र सुरक्षाको विशेष व्यवस्था गरेपछि मात्रै सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।

फाइल तस्बिर

ad