माया–प्रेम र कमेडीमै अल्झिए नेपाली चलचित्र

माया–प्रेम र कमेडीमै अल्झिए नेपाली चलचित्र

काठमाडौं । सन् २००५ मा नयाँ दिल्लीको सडकमा माल्ती नाम गरेकी एक युवती एसिड आक्रमणमा परिन् । सोही विषयलाई लिएर चलचित्र ‘छपाक’ बन्यो । चलचित्रमा माल्तीको भूमिकामा नायिका दीपिका पादुकोणले अभिनय गरिन् । दीपिकालाई एसिड आक्रामणमा परेकी युवतीको भूमिकामा देखाइयो । चलचित्रमा उनको बिद्रुप अनुहार देखाइयो । जनवरी १० मा रिलिज भएको चलचित्रले समाजमा सचेतना बढाउने अपेक्षा गरिएको थियो । यस्ता चलचित्रले बक्स अफिसमा खासै राम्रो प्रभाव जमाउँदैनन् । त्यसैले यस्ता गम्भीर विषयमा थोरै मात्रै चलचित्र बन्छन् । यो जोखिम उठाएका थिए, मेग्ना गुल्जारले निर्देशकमा रूपमा । यसलाई फक्स स्टार स्टुडियो, दीपिका पादुकोण, गोविन्दसिंह सन्धु र मेग्ना गुल्जारले निर्माण गरेका थिए ।

नेपालमा भने यस्ता सामाजिक विषयमा कमै मात्रै चलचित्र बन्छन् । अक्सर लभस्टोरी, कमेडी, एक्सन चलचित्र बन्ने गरेका छन् । सामाजिक विषयमा पनि चलचित्र नबन्ने त होइन, तर निकै कम बन्छन् । 

सामाजिक विषय तथा घटनाप्रधान चलचित्रका लागि घटना तथा कथामा लामो अध्यनन, त्यसका सामाजिक तथा कानुनी पक्षमा गहिरो अध्ययन गर्नुपर्ने भएकाले यस्ता विषयमा नेपाली मेकरले खासै ध्यान दिँदैनन् ।

सामान्य विषयवस्तु माथि नै राम्रो चलचित्र बनाउन नसकिरहेकाले पनि नेपाली मेकरले समाजका गहन विषय कम उठान भएको निर्देशक प्रदीप भट्टराई बताउँछन् । कुनै पनि विषयवस्तुको गहिराइमा जाने र त्यसको डिटेल उतार्ने बानी लेखक र निर्देशकमा नरहेको र त्यो विस्तारै विकास हुने उनी बताउँछन् । 

“सामान्य विषयमाथि त हामीले न्याय दिन सकिराखेका छैनौं गम्भीर विषयवस्तु माथि अझै समय लाग्छ,” प्रदीप भन्छन्, “हामी चलचित्र बनाइराखेका छौंभन्दा पनि सिकिराखेका छौं भन्ने लाग्छ ।”

राष्ट्रलाई टेवा दिने, समाजलाई सचेत गराउने ठुल्ठूला विषयमा पनि चलचित्र बनाउन सकिने तर त्यस्ता चलचित्र राम्रो नबने मकेर र समाजकै लागि घातक हुने उनी बताउँछन् । 

“चलचित्र समाजमा सन्देश प्रवाह गर्ने ठूलो र सशक्त माध्यम पनि हो । ठुल्ठूला क्रान्ति र युद्धले दिन नसकेको सन्देश एउटा चलचित्रले दिन सक्छ,” निर्देशक तथा चलचित्र लेखक प्रदीप भन्छन्, “गम्भीर विषय उठान गर्ने तर भनेजस्तो बनाउन सकिएन भने त्यसले समाजमा आगो बाल्न पनि सक्छ ।” 

सरकारले पनि चलचित्रलाई काम नपाउनेहरूले गर्ने नौटङ्की र चलचित्रकर्मीले पनि यसलाई हल्का रूपमा लिने गरेको उनको गुनासो छ । 

नेपाली मेकर भर्खर चलचित्र बनाउन सिक्दै गरेको भन्दै उनी भन्छन्, “मैले पनि जात्रा सामान्य विषयमा बनाएको चलचित्र थियो । अरूको त म भन्न सक्तिनँ । तर आफ्नो कुरा गर्दा म आर्ट गर्न भर्खर सिक्दै गरेको बच्चा जस्तै हो, उसले रङ पोतिरहेको हुन्छ तर त्यो चित्र अन्तिममा कस्तो बन्छ भन्ने नै थाहा हुँदैन ।”

बजारमुखी चलचित्रकर्मीका कारण विषयमा विविधता आउन नसकेको निर्देशक नवीन सुब्बा बताउँछन् । निर्देशक तथा निर्माता बजारमा निर्भर भएका कारण गम्भीर विषय अपेक्षित रूपमा नआएको उनी बताउँछन् । 

“निर्देशक र निर्माता समावेशी नभएर पनि चाहेजस्तो विषय चलचित्रमा आउन सकेको छैन । निर्देशक÷निर्माता युवा, दर्शक पनि युवा भएर हो,” निर्देशक नवीन भन्छन्, “सायद ६०/७० वर्षका र १८/२० वर्ष उमेरका व्यक्तिले पनि चलचित्र बनाउने हो भने आ–आफ्नै उमेर समूहका विषय र प्रस्तुतिले ठाउँ पाउँछ ।”

चलचित्र बनाउने व्यक्ति पनि कहाँ बस्छ, त्यसले विषय र प्रस्तुतिमा अर्थ राख्ने उनी बताउँछन् । प्रायः काठमाडौंमा बस्ने व्यक्तिले चलचित्र बनाइरहेका कारण एउटै विषय र शैली दोहोरिएको बताउँदै निर्देशक नवीन अगाडि थप्छन्, “चलचित्रमा विविधता आउन मेकरको क्लासमा पनि विविधता हुनुपर्छ । सम्भ्रान्त परिवार र सामान्य दुवै वर्गका निर्माता/निर्देशकले चलचित्र बनाए पनि भेरिएसन आउन सक्छ ।”

निर्देशक नवीन धनगढी र झापाका निर्देशक/निर्माताले बनाउने चलचित्र फरक हुने बताउँछन् । 

नेपाली चलचित्र उद्योगले पाँच दशक बिताए पनि अझै पनि माया–प्रेम, बदला, जोकको थुप्रोबाट माथि उठ्न सकेको छैन । लार्जर देन लाइफबाट नेपाली चलचित्र फड्को मार्न नसकेको बताउँछन् निर्देशक नरेशकुमार केसी भन्छन् । 

“प्रविधि र वितरणमा नसके पनि कथा र कथा भन्ने शैलीमा पाँच दशकमा परिवर्तन आइसक्नु पथ्र्यो,” नरेश भन्छन्, “५० वर्ष लामो यात्रा गरिसक्दा पनि नयाँ प्रयोग गर्ने आँट र चुनौती मोल्न नसक्नु दुर्भाग्य हो ।” 

निर्मातासँग स्पष्ट उद्देश्य, निर्देशकसँग कथा भन्ने प्यासन, अभिनेता/अभिनेत्रीसँग नयाँ प्रयोग र रिक्स लिन नचाहने प्रवृत्ति नै चलचित्रले फड्को मार्न नसक्नुको कारण रहेको उनको भनाइ छ । चलचित्र निर्माणमा मिहिनेत गर्नुपर्छ भन्ने सोच नै मेकरमा नरहेको उनी गुनासो गर्छन् । 

जोखिम नउठाएसम्म सफलता हात पार्न नसक्ने नरेश बताउँछन् । “जुन कुरामा धेरै रिक्स हुन्छ, सम्भावना पनि त्यसैमा हुन्छ,” उनी भन्छन्, “लुट, झोला, पशुपतिप्रसाद, कालोपोथी रिक्स लिएर बनाएका चलचित्र थिए । यिनै सफल भए ।”

नरेश फुयाँल

ad