निवृत्त शिक्षकको बकपत्र

माधव सयपत्री

एकतीस वर्षे जागिरे जीवनबाट अवकाश लिएको छु । मेरो हातमा राजीनामा स्वीकृत भएको शिक्षा विकास समन्वय इकाइ, रामेछापको ठाडो ब्यहोराको एकथान पत्र छ । पत्रको अन्तिममा एउटा वाक्यांश छ– ‘.....शैक्षिक उन्नयनमा तपाईँबाट निवृत्त शिक्षकको हैसियतले आवश्यक सहयोगको अपेक्षा गरिएको छ ।’

बेलाबखत मलाई यही वाक्यांशले कोतर्छ । चिमोट्छ । र, लखेट्छ । हैन, निवृत्त शिक्षकबाट राज्यले त्यस्तो के अपेक्षा राखेको रहेछ ? निवृत्त भएका ककसलाई राज्यले शैक्षिक उन्नयनमा उपयोग गरेछ ? कोकोबाट रायसुझाव लिएर शैक्षिक योजना बनाएछ राज्यले ? मलाई थाहा छैन, राज्यले निवृत्त शिक्षकलाई कस्तोकस्तो ठाउ“मा प्रयोग गरेको छ ? कहाँकहाँ अवसर दिएको छ ?

शिक्षण पेसा मेरो अपेक्षित र इच्छित थिएन । यसमा म हठात् एवम् बलात् धकेलिएको थिएँ । उच्चशिक्षा अध्ययनको खर्च जोहो गर्न म केही समय यसमा ‘अल्मलिएको’ थिएँ । तर, समय मेरो लक्ष्यविपरीत हिँडिदियो । समयले मलाई धोका दियो । र, समयले मलाई यै पेसामा स्थायीरूपमा घचेटिदियो । उच्चशिक्षा अध्ययनका सारा बाटातत्कालका लागि बन्द भए ।

मैले जागिर खाएँ कि जागिरले मलाई खायो ! बाइसवर्षे लक्का जवानलाई बाउन्नमा पुर्‍याएर छाडिदियो यै जागिरले । चार/चार महिनाको ज्याला पर्ख“दा पर्खँदैै तीन दशक समयचाहिँ मलाई छाडेर प....र पुगिसकेछ ।पक्कै, मैले जागिर खाएको हैन, जागिरले मलाई खाएको हो ।आज समयको एउटा सङ्गीन विन्दुमा पुगेर सोच्दैछु । हिँड्ने बाटो बदलिएको छ । दिशा बदलिएको छ । गोडाका चालहरू बदलिएका छन् । जीवनको लय विशृङ्खलित भएको छ । नियमित ‘वृत्ति’, ‘निवृत्ति’ भएको छ । 

अब मेरो गोजीमा दुई रङका कलम हुने छैनन्, कालो र रातो । कलमै नबोक्न पनि सक्छु । नबोक्दा पनि चल्छ । पुलुक्क समय हेर्नका लागि नाडीमा घडी हुने छैन । किनभने मलाई दश बजे स्कुल पुग्नु छैन। पात्रोमा घरिघरि गते, बार, तारिख हेर्नुपर्ने छैन । कोठामा पात्रो नझुन्डिन पनि सक्छ । तिथिमिति पनि विस्मृत हुन सक्छन् । पूर्व हिँडेको मानिस पश्चिम मोडिन पनि सक्छ । पश्चिम लागेको मानिस पूर्व फर्कँन पनि सक्छ । उठ्ने, बस्ने, खाने, पढ्ने, सुत्ने र हिँड्ने सारा कृत्य एउटा तालमा हुन्थ्यो ।सायद,अब बेतालमा हुनेछ ।

+++++

ऊबेलाएसएलसी गरेका मान्छे गाउँमा थिएनन् भन्दा पनि हुन्छ । भए कतै कतै एक दुईजना मात्रै । जसले एसएलसी पास गर्‍यो, प्राविमा उसको मास्टरी जागिर पक्काजस्तै थियो । मेरो पनि गाउँमा गाउँलेले नै स्कुल खोलेका रहेछन् । घरको दश/दश रुपियाँ उठाएर मास्टरलाई मासिक तीनसय तलब दिएका रहेछन् । तीनैसय तलब खानेगरी मलाई गाउँलेले नयाँ मास्टर बनाए, २०४५ असोजमा ।

माघमा सरकारी दरबन्दी नै आयो । प्राथमिकतामा मै परेँ । गाउँलेले गाँसै काटेर चन्दा बटुल्नु नपर्ने भयो । म सरकारी ढुकुटीबाट तलब लतार्ने मास्टर भएँ । महिनाको नौसय दुई रुपियाँका दरले चार महिनामा एकैपटक तलब बुझिने भइयो । अघिपछि खल्ती रित्तो भएपनि चारचार महिनामा एकदुई दिन पुटुस्स हुन थाल्यो ।

दसैँतिरको तलब बुझ्दा खुब रमाइलो हुन्थ्यो । दसैँखर्चसहित पाँच महिनाको तलब हातमा । तर, सदरमुकामबाट तलब बोकेर आउँदा गल्छी–कुइनेटामा छाती ढक्क फुल्थ्यो । सुनिन्थ्यो, ‘मास्टरको तलब बोकेर गएको हेडमास्टरलाई लुटे रे ! काटे रे !’ अगिपछि को मान्छे हिँड्दै छ, दच्कीदच्की, वर्कीफर्की हिँड्नुपर्ने । सातसात घन्टा हिँडेर राति घर आइपुग्दा जिउ गलेको फर्सी हुन्थ्यो । न बोल्न सकिने, न चल्न सकिने । कैँडा लागेर तीन दिनसम्म हल न चल ।

‘लौ, मास्टरले तलब ल्याए रे !’ कस्ले भन्दो होला ? हातहातमा फोनै भएजस्तो । बिहान पाँचसात जना गाउँले आँगनमा हाजिर भइसकेका हुन्थे । एउटा भन्थ्यो— ‘सर, दसैँ कसरी मान्ने होला ? भुराभुरीलाई लुगा पनि ल्याको छैन ।’ अर्को भन्थ्यो — ‘अहिलेसम्म मासुको टुङ्गो छैन ।’ अर्को कराउँथ्यो — ‘सर, धानको गेडै छैन ।’

हैन, म कतिका गनगन सुनूँ ! ‘जोगीको घरमा सन्यासी पाहुना’ भनेजस्तो । म अन्कनाउथेँ । उनीहरू आँगनको डिल छोड्दैनथे । पहिला नै ‘तलब आएपछि दिन्छु’ भनेर आश देखाएका गाउँलेलाई दिनु कि भर्खरै आएकालाई ? म दोधारमा पर्थेँ । आफ्नो पनि टार्नु बुझाउनु, दसैँतिहार सबै त्यै तलबको भर । अब चाडबाड आफू मान्नु कि अरूको मनाइदिनु ! मलाई किलकिले लाग्थ्यो । धर्मसङ्कट भनेको पनि त्यस्तै होला ।

म दुईचार सयका दरले पैसा बाँड्न थाल्थेँ । मानौँ, म ठूलो जमिनदार हुँ, अन्नपात बेचेको पैसा मसँग बिटाका बिटा छ । म कुलीन उद्योगपति हुँ, मसँग चुड्कीमा मान्छे नचाइदिने नखत छ । म उपल्लो श्रेणीको ठेकदार हुँ, मँग मजदुर चुसेको नोटको चाङ छ । तर, मसँग कति छ ! आठदश हजारमात्रै छ ।

दुईचार सय रिनका लागिघन्टौंआँगन/दलान/खाटमा कुरिरहने ती अधिकांश याचकी गाउँले साथी अचेल गाउँमै छैनन् । बेलैमा सहर पसे उनीहरू। लाख र करोडका कुरा गर्न थालेका छन् । मलाई भने अभैm हजार ‘ठूलो’ लाग्दैछ । यस्तै रहेछ– ‘जा गिर्’ ।

+++++

फेरि शिक्षाको तालुकवाला अड्डाकै कुरा गरूँ । कहिले ‘जिल्ला शिक्षा कार्यालय’, ‘कहिले जिल्ला शिक्षा अधिकृतको कार्यालय’ हुँदै शिक्षाको यो तालुके अड्डा संघीय व्यवस्थामा ‘शिक्षा विकास तथा समन्वय इकाइ’ नामधारण गर्न पुगेको छ। यसको न्वारान भएको भयै छ । नाम बदलिएको बदलियै छ । तर, यसको चरित्र किञ्चित बदलिएको छैन ।उही रुढी र सन्दिग्ध चरित्र यथावत छ यसको ।

यसले ‘भुईँ शिक्षक’ लाई ‘शिक्षक’ देखेन । मान्छेजस्तो पनि गरेन । अड्डामा जा“दा ‘के सर? सञ्चै हुनुहुन्छ ?’ भनेर कहिल्यै सोधेन । सदरमुकामतिरै गणेश परिक्रमा गरिहिँड्ने दले, झोले, कुण्डले, मण्डले शिक्षकलाई फूलमालाले स्वागत गरिरह्यो । ‘तपाईं किन स्कुल नगएको ? के छ काम यता ?’ भनेर कहिल्यै छड्के सबाल गरेन उनीहरूलाई । कतै नहिँड्ने, कक्षाकोठालाईजीवन्त बनाइराख्ने शिक्षक महिनामा एकदुई पटक अतिआवश्यक कागजपत्र लिएर जाँदा ‘यो पुगेन, ऊ पुगेन’ भन्दै हकारिरह्यो तालुके अड्डाले । अनि ‘गुणस्तर गुणस्तर’ भनेर फलाकिरह्यो । हुकुमी गाली गरिह्यो शिक्षकलाई। के गर्दा गुणस्तर आउँछ, कहिल्यै बुद्धि लडाएन ।खाली छिर्के हानेर शिक्षकलाई मात्रै लडाइरह्यो ।

तालुके अड्डालेन्यून बेतनी शिक्षकबाट ‘खाजा’ खाइरह्यो, अनेक अनेक बहानामा । काम छिटो गरिदिने बहानामा । कार्यसम्पादन मूल्याङ्कनमा ‘फुलमार्क’ नै चढाइदिने दिने आश्वासनमा । सम्बन्ध ‘न्यानो’ बनाउनेहरूको काम भयो, बढुवा पनि भयो ।भौतिक निर्माण एवं सम्भारका प्याकेज आउँदा घिनै लाग्दो सौदावाजी गर्न पनि पछि परेन यो । कमिसन हेरेर कार्यक्रम दियो । चाहिँदै नचाहिँने ठाउँमा पनि बिल्डिङ्ग र शौचालय । खर्दार, सुब्बा, अधिकृत, ओभरसियर र इन्जिनियरसापहरूका केही वर्षमै सहर र सदरमुकाममा महल ठडिए । शिक्षाको गुणस्तर भने उनीहरूको भव्य महलको भित्तामा गएर टाँसियो । 

नयाँ दरबन्दीमा जागिर पनि उनीहरूकै पत्नीहरूले खाए । सालासाली, भान्जाभान्जीलाई चिठ्ठा पर्‍यो । सरुवा–बढुवामा उनीहरू नै अघि लागे । निमुखाहरूको कार्य सम्पादन फाराम रित्तो पठाइदिए । नम्बर दिएपनि खल्तीकै दिनुपर्लाझैं गरे ।

जिल्लाको शैक्षिक तालुके अड्डा यति अघोरी छ, जे आयो मजाले पचाउँछ । सोझ् खाँदैन । खाएको देखिँदैन । चोरबाटोबाट खान्छ । सिमेन्ट खान्छ । रड खान्छ ।जस्तापाता खान्छ । बालुवालाई हलुवा मानेर खान्छ । नखाई एउटा टेबुलको फाइल अर्को टेबुलमा सार्दैन ।

अहिले झन् ‘अघोरीहरू’ को पँजनी भएको छ ।उता नगरपालिका रे, यता गाउँपालिका रे । सबैतिर खानेहरूकै दबदबा छ । काम कताबाट हुन्छ, थाह छैन । तर खाने कामचाहिँ चारैतिरबाट हुन्छ ।वडावडामा नयाँ नयाँ अवतारमा राजाहरू जन्मेका छन् । ती पनि शिक्षाका नाउँमा मजैले ढाडिन थालेका छन् । जनताको घरदैलाको सरकार जनताबाटै टाढिँदैछ । 

यो बेलातालुके अड्डा दाह्रानङ्ग्रा निकालेको बाघजस्तो भएको छ । अधिकारजति सबै पालिकातिर गयो रे ! सिङ्गै खसी मार हानेर ह्याकुलोको स्वाद मारेको जिल्ला शिक्षा कार्यालय, आज सानो इकाइमा खुम्चिएको छ । समय हो, समय ।  बुभ्mनुस्, समयले बादशाहलाई पनि सडकमा ओराल्छ ।

+++++

म देख्थेँ– केही ठालु शिक्षकहरू होटेलका अँध्यारो कोठामा बसेर शिक्षाका अँध्यारा योजना बनाइरहेका हुन्थे ।कसलाई कुन भड्खालोमा हाल्ने हुन्, पत्तै हुँदैनथ्यो । शिक्षामा बिचौलियाहरूको चकचकी देखेर टाउको रन्किन थाल्थ्यो । एउटा ‘भुईँ शिक्षक’ ले शिक्षाका अग्रदूतविरुद्ध कसरी मुख खोल्न सक्थ्यो र !
कुन यताको ? कुन उताको? उसलाई कता पुर्‍याउने ? त्यसलाई कता झटारो हानिदिने ? तिनकै सिफारिसलाई लालमोहरमानेर तालुके अड्डाले निमुखा शिक्षकलाई प्यादा बनाइरह्यो । न काङग्रेसी शिक्षकका नेता बोले न कम्निस्टी शिक्षकका अगुवा बोले ।

यहाँ दलालहरू शिक्षक छन् । व्यापारीहरू शिक्षक छन् ।नेताहरू शिक्षक छन् । अनेक मुखुण्डोधारी पत्रकारहरू शिक्षक छन् । अझैं पनि उनीहरूलाई कक्षाकोठामा उभिरहनु पर्दैन । हाकिमलाई समेत सरुवा हान्ने पावर उनीहरूसँगै छ । सदरमुकामतिरै हु“दो चक्कर लगाए हुन्छ । जो साँच्चै शिक्षक छऊ पाखामा छ । अभरमा छ । भर दिने कोही छैन ।

पटकपटक शिक्षक आन्दोलन भयो । स्कुलमा हड्ताल भयो । स्कुल बन्द भए । नौथरी शिक्षकका नौरङ्गी माग उठे । अनेक पटक वार्ता भयो । जिल्लामा वार्ता । क्षेत्रमा वार्ता । केन्द्रमा वार्ता । कतिका व्यक्तिगत स्वार्थ थिए, कतिका राजनीतिक । कतिलाई राजधानीतिर छलाङ मार्नु थियो ।  कुनै ठालु शिक्षकको माग पूरा गरिदिन सारा शिक्षक सडकमा आउनुपर्ने । साना नानीहरूले पुस्तक बन्द गर्नुपर्ने । आवाज रोक्नुपर्ने । कस्तो विडम्बना !

सरकारले पँहुचविहीन शिक्षक लखेट्यो । माओवादीले पनि उनीहरूलाई नै शिक्षक दपेट्यो । माओवादीले ‘चन्दा ले’ भन्यो । सरकारले ‘चन्दा किन दिइस् ?’ भन्यो । एउटा बन्दुकबाट छलियो, अर्को बन्दुकको मोहोरीमा पर्‍यो शिक्षक । तैपनि स्कुल छाडेन । गाउ“ छाडेन । खुकुरीको धारमा ज्यान राखेर स्कुल आउनेजाने गरिरह्यो । नानीहरूको आवाजलाई मुखर बनाइरह्यो । 

पुस्तकका पानाबाट लुम्बिनी पढायो । पोखरा देखायो । जनकपुर घुमायो । इलाम डुलायो ।भूगोल पढायो । भूगोलमा अन्तर्देशीय सयर पनि गरायो । तर ऊ कहिल्यै आफ्नो जिल्लाबाट राजधानीबाहेक जानै पाएन । उसकै नाममा ठालुहरू अमेरिका पुगे । अस्ट्रेलिया घुमे । भारत, जापान, थाइल्यान्ड, जर्मनी, फ्रान्स कतिकति । जुन कुराको जानकारी शिक्षकले कक्षाकोठामा दिनुपर्ने हो, ऊ कहिल्यै कतै जान पाएन । कतै अवसर दिइएनतर सबै उपलब्धि उनीहरूबाटै खोजियो ।

+++++

निवृत्त शिक्षकबाट राज्यले धेरै लिन सक्छ । वर्षौ“ कक्षाकोठामा बिताएका, अनुभवले खारिएका, कतिपय विशेष पहिचान बनाएका शिक्षक पनि छन् । उनीहरूलाई कक्षाकोठा के हो, थाहा छ । कक्षाकोठा कस्तो हुनुपर्छ, त्यो पनि थाहा छ । पाठ्यक्रम र पाठ्यपुस्तकमा कहाँकहाँ गल्ती कमजोरी छन्, त्यो पनि थाहा छ । कस्तो बनाउनुपर्छ, त्यो पनि जान्दछन् । उनीहरू एउटा ‘पेन्सनर’ मात्र भएर नबसून् । संघीय सरकारले काम देओस् । प्रदेशले सरकारले खटाओस् । स्थानीयतहले उपयोग गरोस् । मलाई लाग्छ, निवृत्त शिक्षकहरूले ‘हुँदैन’ ‘सक्दिन’ अवश्य भन्ने छैनन् । 

शिक्षकका पेसागत भनिएका सङ्गठनहरूले राखेका कतिपय माग उचित पनि थिए/छन् । आन्दोलनबाटै शिक्षकका कति हकअधिकारहरू स्थापित भए । शिक्षकलाई सौतेनी व्यवहार गरिरहने सरकार शिक्षकको अगाडि झुक्यो । सम्झौता गर्‍यो । किस्ताबन्दीमै भएपनि धेरथोर माग पूरा गर्‍यो । तर बुभ्mनुपर्छ, शिक्षकका माग पूरा भएरमात्रै ‘शिक्षा’ माथि उठ्दैन । अब उनीहरूले उद्देश्य फेर्नुपर्छ । चरित्र बदल्नु पर्छ । कक्षाकोठालाई बेवास्ता गरी गरिएका आन्दोलनले शिक्षक कहाँ बलियो हुन्छ ! विद्यार्थी, कक्षाकोठा र सिकाइ बलियो बनाउने माग राख्नुपर्छ । अबको आन्दोलन यतातिर सोझियोस् ।    – sayapatrim@gmail.com

 

     

ad