साहित्य
काठमाडौं । हामीले स्क्रिप्ट लेख्दा नै हरिवंश दाइलाई देखाएका थियौं । उहाँले राम्रो छ, ढुक्क भएर काम गर्दा हुन्छ भन्नुभएको थियो । ‘यत्तिको सिनेमा आँखा चिम्लिएर बनाउँदा हुन्छ, चल्छ’ भन्नुभएको थियो । उहाँले हामीलाई ‘मेरो आशीर्वाद छ’ भन्नु भएको थियो । हरिवंश दाइ र मदनकृष्ण दाइलाई जस्तोतस्तो कामलाई आशीर्वाद दिनु पनि हुँन्न । उहाँहरुको इमेजको पनि कुरा आउँछ । उहाँहरुले राम्रो छ भनेर पछि हेर्दा राम्रो भएन भने उहाँहरुको इमेजसँग जोडिन्छ । त्यसैले म ढुक्क छु ‘जात्रा’ चल्छ भन्नेमा । हुन त अरुले के भन्छ भन्ने भन्दा पनि काम कस्तो छ भन्ने कुराले अर्थ राख्छ । काम पनि राम्रो गरेका छौं । फेरि हरिवंश दाइले आफ्नो इमेजको ख्याल गरेर पनि राम्रो भन्नुभएको हो भनेर पनि हामी आशावादी छौं, ‘जात्रा’ चल्छ भन्नेमा ।
उहाँलाई प्रिमियरभन्दा अगाडि नै सिनेमा देखाउने योजना बनाएका छौं । उहाँले पनि ‘जात्रा’ एकपटक हेर्छु भन्नुभएको छ । उहाँहरु भाइटीकाको भोलिपल्ट अमेरिका जाँदै हुनुहुन्छ । त्यो भन्दा अगाडि नै सिनेमा देखाउँछौं ।
जुन २१ मा हरिवंशले सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस लेख्दै तलको फोटो पोस्ट गरेका थिए–लामो समय देखि मह संचारद्वारा निर्मित टेलिचलचित्रहरुमा मुख्य सहायक निर्देशक गरिराख्नु भएका भाइ प्रदिप भट्टराईले निर्देशन गर्नु लाग्नु भएको चलचित्र ‘जात्रा’ को छायांकन सुरु भएको छ चलचित्र ‘जात्रा’ को सफलताको सुभकामना दिन चाहन्छु ।
‘लुट’ र त्यसको सिक्वेलका निर्देशक निश्चल बस्नेतले त ‘जात्रा’ हेरिसक्नु भएको छ । उहाँले राम्रो छ भनेर सामाजिक सञ्जालमा पोष्ट पनि गर्नु भएको थियो । यस अर्थमा पनि सिनेमा राम्रो बनेको छ भन्नेमा हामी विश्वस्त छौं । आशा छ, दर्शकले मन पराइदिनु हुनेछ ।
प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘जात्रा’मा मुख्य रोलमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउतलगायतका कलाकारले अभिनय गरेका छन् ।
डार्क कमेडी ‘जात्रा’ मा न्युरोडका तीन जना नाई, कपडा र स्टेसनरी व्यापारीबीच पैसाका लागि भएको संघर्षलाई देखाइएको छ । सिनेमाको ट्रेलरमा पनि उनीहरु पैसाका लागि दुई नम्बरी धन्दामा सक्रिय देखिन्छन् । चलचित्र ‘जात्रा’ कात्तिक २६ गते रिलिज हुँदैछ । ‘जात्रा’ यो वर्ष रिलिज हुने सिनेमा मध्ये बहुप्रतिक्षित सिनेमा हो ।
महजोडीको सिनेमा पनि मैले निर्देशन गर्दैछु । स्क्रिप्ट करिब करिब तयार भइसकेको छ । अहिले म ‘जात्रा’ रिलिजको पूर्वतयारीमा रहेकाले त्यसमा समय दिन सकेको छैन । ‘जात्रा’ रिलिज भएपछि म त्यो सिनेमाको कामलाई अगाडि बढाउँछु । उहाँको सिनेमामा कथा हरिवंश दाइकै छ । यसमा भारी कमेडी भने हुने छैन । सस्तो विषय नउठाएर कमेडीका माध्यमबाट गम्भीर सामाजिक सन्देश दिने खालको हुनेछ ।
सिनेमामा मह जोडीसँगै अहिलेका चर्चित कलाकार पनि रहनेछन् । कतिसँग अफिसियल कुरा हुन बाँकी रहेकाले नाम सार्वजनिक नगरिए पनि अहिले मन पराइएका र कथालाई न्याय गर्नसक्ने कलाकारलाई नै सिनेमामा लिने मनस्थिति बनाएको छु ।
लोकेसन काठमाडौं हुने सिनेमाको काम भने हामीमै निर्भर रहनेछ । बजेट र अन्य कुनै पनि कुराले नरोकिने भएकाले सिनेमा चाँडै फ्लोरमा जानेछ । सिनेमा ०७४ मै हेर्न पाइनेछ ।
(चलचित्र ‘जात्रा’ का निर्देशक प्रदीप भट्टराई सँगको कुराकानीमा आधारित )
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ १४:५२
प्रतिक्रिया दिनुहोस्